सहरः ढल बग्नलाई सहज बाटो बनिदिएका छन् तीर्थस्नान नदीहरू

कविताः वसन्तमा निसासिएको सहर

लक्ष्मी थापा

मनमोहक वसन्त ऋतुलाई मात खुवाउँदै
यतिबेला तुवाँलोको बाक्लो च्यादर
ओढेर बसेको छ सहर
तुवाँलो फाट्न
न त बर्सिन सकेको छ बादल
न त सूर्यको प्रकाशले छेड्न सकेको छ तुवाँलो
र पोत्न सकेको छ सहरमा घामको उज्यालो ।

सहरले छातीभरि फस्टाएको
अशोभनीय कङ्क्रिटको जङ्गलमा
धुँवा र धुलोले गाढा पेन्टिङ गरेका छन्
पखालिन न त मेघ गर्जिएर
वर्षाको रूप लिन सकेको छ ।

हावाले गहिरो मित्रता बढाएको छ
सहरले हर प्रहर फ्याँकिरहने विषाक्त दुर्गन्धसँग
ढल बग्नलाई सहज बाटो
बनिदिएका छन् तीर्थस्नान नदीहरू ।

मुख्य सडकका चोकहरू
बिहानबिहानै डम्पिङ साइटमा परिवर्तन भएका हुन्छन्
त्यस्तै परे थाहा हुन्न कति दिनसम्म यही रूपमा रहन्छन्
छिः छिः र थुः थुः का तिरस्कृत शब्दका
बान्ता खाइरहन्छन् आफूलाई सभ्य ठान्ने
सहरलाई कन्टेनर मान्ने मानवका ।

सहर यतिबेला विवश बन्दै छ
विश्वका प्रदूषित सहरका नाममा
आफ्नो नाम दाखिला गराउन ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button