बहुरुपी

कविता

प्रतिमा पन्थी

यै मन दुख्छ
भारी भई छातीभरी
सासको गति बदलिन्छ
मुटुको चाप बदलिन्छ
फुट्लाजस्तो हुन्छ, भित्रभित्रै ।

यै मनले
कहिले दुखै दुखबीच
खोज्छ खुसीका अवशेषहरू
कहिले खुसीका दर्जनौ कारण छोडी
समाई बस्छ पिडाको एक लहरो
लहरोले पहरो थर्काउँछ
मनलाई अध्याँरोमा फर्काउँछ
सबै मनकै काम हो ।

कहिले सबैको चित्त
नापिनापी राख्न सक्ने
कहिले आफै भत्किएर
प्रियहरुलाई पोल्ने
जानिनजानी मनले सताउँछ
बेचैन बनाउँछ, भित्रभित्रै ।

यै मन हो
कहिले मच्चिदै एक्लै क्षितिज ‌छुन्छ
कहिले शिथिल बनी
भासिन्छ, भित्रभित्रै ।

साह्रै बहुरुपी
कहिले ठिकै
कहिले सम्हाल्नै नसकिने
दुख्ने …
यै मन हो ‌
यो मनले तहल्का पिट्छ, भित्रभित्रै ।

यै मन हो
जसले कहिले मायाले
संसार बदल्न खोज्छ
कहिले आफै बदलिन्छ
संसारको रंगमा …
निराश हुन्छ,
प्रतिविम्ब खोज्दै हिंड्दा
ठेस लागेका छेउकुना
छाम्दै रुन्छ, भित्रभित्रै ।

यै मन
दुख्छ केहि बेर
घाउ पनि सुक्छ
भुल्छ कतै, प्रयास गर्छ
अध्यारोमा छामछुम गर्दै,
यै मन हो
जसले सधै सधै उज्यालो खोज्छ
उज्यालो खोज्छ …

यै मन हो
जसले मन्थनले
कहिले अनेक व्यथाका सञ्जिबनि भेट्छ
कहिले मठ्ठ हुन्छ
मठ्ठ, डडेलोपछिको वनजस्तो !

हो ! डडेलो पछिकै वनजस्तै …
जसरी वन पलाउँछ
मन पनि पलाउँछ
उज्यालो हुन्छ
मन केहि समय फेरि खुसी हुन्छ

यो न छाम्न मिल्ने
न आकार न प्रकारको
दुख्ने, दुखाउने
हाँस्ने, हसाउँने
सबैभन्दा शक्तिशाली त !
यै मन रैछ …


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button