समस्या लुकाउने होइन, फाल्ने हो

कविताः जङ्घार

सोनाम सज्जन किराती

एउटा सकसपुर्ण
समयको जङ्घारमा उभिएर
निरन्तर बगिरहेको इतिहास
कसैलाई पढ्न अल्छी लाग्छ
हेर्न, बुझ्न अप्ठेरो मान्छ
बदलिन त झन
कति कठिन होला ?
अझ लेख्न कति गार्‍हो थियो होला ?
तर पनि खोज्न पछि हटेन
लेख्न रोकिएन
सत्यको मसिले
उज्यालोको महत्त्व कोरिरहेछ
विगतको यथार्थ देखाएर ।

जो कोही किन नहोस्
उसको एउटा पक्ष विगत
अर्को पक्ष वर्तमान
र, भविष्यप्रतिको आकर्षणमा
मान्छे बाँचिरहन्छ
हिँडिरहन्छ ।

यही प्रकृयामा घटित
घटनाहरुको उल्लेख्यता
नकारको विरुद्ध सकार
सकारको विरुद्ध नविनता
जइरहन्छ इतिहास बनेर
हो यही चेतना
जोसित फराकिलो छ
उही हो इतिहासको धरातल
जस्लाई रसातालमा डुबाएर
मद्होस हुनु कदापि ठिक होइन ।

हामीले सके बदलिएको समाज
लेखिरहनु पर्छ
लेखिएको कुरा
सत्य सावित हुनुपर्छ
यसरी चेतनाको विकास
अभ्यस्त हुन्छ
जति अभ्यास
समस्याको जराहरु खोजेर
उखेल्न सहज हुन्छ
साना मसिना जरा हुँदै
मूल जरा पक्डेर उखल्ने हो
समस्या लुकाउने होइन, फाल्ने हो ।

धर्मान्धले देशमाथि जाँदैन
जहाँ कि
स्वर्ग र नर्कको कुरा
छँदै छैन ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button