हामीमा दुरी छ, दरार छ

कविता: सम्बन्ध

मित्र ‘उराठी’ गौतम
अमरपुर, गुल्मी, हालःतिलोत्तमा -२, रुपन्देही

तिमीमा दम्भ छ
ममा दम्भ छ
थोरै थोरै अहमता छ
त्यसैले त
हामी बिचमा दुरी छ
सम्बन्धमा दरार छ ।

त्यो बाल्यकालमा
सँगसँगै हुर्के बढेको
सँगैसँगै खेले पढेको
तर आज
तिमी कहाँ ?
म कहाँ ?

प्रविधिले संसार
साँघुरिएको बेला
दुर भूगोलको
अपरिचित त आज मित्र छ
ऊ सँग सम्वाद छ
एक किसिमको प्रेमालाप छ ।

यता
तिमी र म भने
भूगोल नजिक भए पनि
मन टाढा भएको छ
किनभने
हामीमा अहङ्कार छ
हामीमा इर्ष्या छ ।

न तिम्रो इर्ष्याले
मेरो केही घट्छ
न मेरो डाहाले
तिम्रो केही खोसिन्छ
फगत हामी कुण्ठित छौं
यसै यसै पीडित छौं ।

त्यसैले
थोरै तिमी झूक
थोरै म झुक्छु
त्यो दम्भ
त्यो अहङ्कार
मिल्काइदिऊँ रछ्यानमा
र, जोडौँ फेरि सम्बन्ध सूत्र
जसले पुनरावृत्ति गराओस् बाल्यकाल
जसले रोमाञ्चक बनाओस् यो संसार ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button