हामी टिचर नै ‘सेक्स’बारे खुलेर छलफल गर्न सक्दैनौं भने ‘स्टुडेन्ट’लाई कसरी ज्ञान दिन सक्छौँ ?

कथाः यौन शिक्षा

सागर ‘मणि’ थापा
चोभार ओपी, कीर्तिपुर-७

समय भर्खर बिहानको पौने एघार बजेको छ । एक सामुदायिक विद्यालय । हेडसरको अफिस । दृश्यमा छन्- हेडमास्टर प्रदीप र सेकेण्ड हेडमास्टर मनीता म्याम । दुवै कुर्सीमा बसेका छन् । मनीता म्याम ‘म्यागजिन’ पढिरहेकी छिन् ।

प्रदीप सरचाहिँ फाइलको काम गरिरहेका छन् । उनीहरूको एक चरण गफ भइसकेको छ । अतः मनीता म्यामको मुहार भर्खरै खुर्सानी टोकेकी केटीजस्तो देखिन्छ । किन कि प्रदीप सरले अनौठो किसिमको प्रस्ताव राखिदिएका हुन्छन् ।

उता कक्षा ५ र ६ का ढोकामा देखिन्छन्- चपला म्याम र हरेराम सर । चपला म्यामले कक्षा ५ का भाइबहिनीहरूलाई पाठ गर्न दिएकी छिन् । तिनीहरू अनुशासित देखिन्छन् । हरेराम सरका भाइबहिनीहरूका भागमाचाहिँ २-२ पृष्ठ ‘ह्याण्डराइटिङ’ परेको छ ।

चपला म्याम दुई पाइला अघि सरेर भन्छिन्- ‘कुरा बुझ्नुभयो हरेराम सर ! हेडसरको प्रस्ताव सुनेदेखि मलाई पनि भित्रभित्रै रिस उठिराखेको छ । तर हामीजस्तो अस्थायी टिचरको कुरा कसले सुन्छ र ।’

हरेराम सरले मिसको कुरालाई त्यत्ति महत्व दिएनन् । उनले आफ्नै विचार सुनाए- ‘हेडसरले समयको मागलाई बुझेर त्यस्तो प्रस्ताव ल्याउनु भएको होला नि चपला म्याम । तर विद्यार्थीहरूको ‘सर्भेक्षण’ गरेपछि नै भन्न सकिन्छ, हेडसरको प्रताव लागू हुन्छ वा हुन्न भन्ने कुरा ।’

अब दृश्य फेरिएको छ । हलजस्तो कोठामा ‘टिचर’ हरू खाजा खान लागेका छन् । हेडमास्टरबाट बहसको थालनी हुन्छ । उनी भन्छन्- ‘मनीता म्यामले असजिलो मान्नुभयो । अब कसले बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने आँट गर्ला त ?’

हेडमास्टर खाजाको ‘प्लेट’ तान्दै टिचरहरूको मुखतिर पल्याकपुलुक हेर्न थाल्छन् । हरेराम सर चिउराको गाँस निलेर सुझाव पेस गर्छन्- ‘वास्तवमा प्रदीप सरले उठान गनु भएको विषय त्यत्ति जटिल त होइन । यद्यपि, त्यो विषय अध्यापनका लागि मनीता म्यामभन्दा उपयुक्त टिचर अरू नहोलान् कि ?’

हरेराम सरको विचारलाई सबैजसोले स्वागत गरे । मनीता म्याम उमेरले छिप्पिसकेकी थिइन् । तर अविवाहित । अतः उनले आँखा तरेपछि हरेराम सर चुप्प लागे । खाजा खाँदै गरेको चम्चा रोकेर भावना म्यामले टिप्पणी गरिन्- ‘यो ‘सेक्स एजुकेसन टिचिङ’ गराउने रे भन्ने कुरा सुनेर मलाई पटक्कै चित्त बुझेको छैन । तपाईँलाई मन परेको छ चपला म्याम ? उमेर पुगेपछि केटाकेटीहरूले सबै कुरा थाहा आपैm जानिहाल्छन् नि । कसले आँधी लगाइदिएछ हाम्रो हेडसरलाई ?’

फेरि सबैजसो टिचरहरूले विवादास्पद मुन्टो हल्लाए । खास कुरा यस्तो थियो- रुकू मेडम हेडसरकी पत्नी हुन् । एक गैरसरकारी सँस्थाकी अध्यक्ष । सँस्थाको नाम हो, ‘गुन्द्रुक-मस्यौरा’ ।

रुकू मेडमको सँस्थाले ‘यौन छलाङ’ शीर्षकमा एउटा सर्भेक्षण गरेको रहेछ । सरकारी स्वास्थ्य सङ्गठनले र ‘गुन्द्रुक—मस्यौरा’ ले एकैखाले तथ्याङ्क निकालेका रहेछन् ।

जस्तोः

१. हस्तमैथुन गर्नेहरूको सङ्ख्या ६५ प्रतिशत । उमेर १५ वर्षदेखि २५ वर्षसम्म ।

२. विवाहअघि यौनसम्पर्क गर्नेहरूको सङ्ख्या १५ प्रतिशत । २७ प्रतिशत पुरुष र ७ प्रतिशत महिला ।

३. अप्राकृतिक मैथुन गर्ने पुरुष ९ प्रतिशत । महिला ११ प्रतिशत ।

४. विवाहपूर्व ‘गर्लफ्रेण्ड’ वा ‘ब्वाइफ्रेण्ड’ बीच यौनसम्पर्क गर्ने सहरिया केटाकेटीको सङ्ख्या ४७ प्रतिशत । आदि । आदि ।

उपर्युक्त तथ्याङ्कले हाम्रो सरकारको नारा ‘बिहेबारी, २० वर्ष पारी’ लाई ठूलो चुनौती दिइरहेको छ ! अनि पो रुकू मेडम तथा अन्यका सँस्थाहरूलाई अतर्राष्ट्रिय सँस्थाहरूले ‘डलर’ ओइराइरहेका छन् ।

तथ्याङ्क बोलिरहेको थियो, १५-१६ वर्षको कलिलो उमेरमै हाम्रा सन्ततिहरू ‘यौनखेल’ मा रमाउने भइसकेका छन् ! गर्भ बोकेका छन् । गर्भ तुहाएका छन् । शरीर बर्बाद पारेका छन् । देशको विकासमा लाग्नुपर्ने जनशक्ति ‘यौनलम्पट’ भएपछि सरकार पक्ष र अन्य वर्गहरू पनि चिन्तित हुनु स्वाभाविक हो ।

अन्ततः त्यो स्कुलमा विद्यार्थीहरूलाई यौनशिक्षा दिने निर्णय भयो ।

कक्षा लिने क्रममा हरेराम सरले भूमिका बाँध्दै भन्न लागे- ‘तिमीहरू भनेका काँचो माटो हौ । जस्तो भाँडो बनाउन खोज्यो, त्यस्तै बन्छौ । आज म कोर्षभन्दा बाहिरको विषय पढाउन गइरहेको छु । हल्ला नगरी सून है ? केही जिज्ञासा भए लाज नमानी सोधे हुन्छ । मैले यौनशिक्षा पढाउँदै छु ।’

एक बालकले सोध्योे- ‘सर, मान्छे कसरी जन्मिन्छ हँ ? यो हरिले भन्छ कि, ऊ त आकाशबाट खसेको रे !’ उसको भनाइ सुनेर पूरै कक्षा हाँस्यो ।

हरेराम सर विषयलाई घनिभूत पार्दै लैजाने चेष्टा गर्दैछन्- ‘तिमीहरूले बाख्राले पाठा पाएको, गाईले बाछा जन्माएको त देखेकै हौला । हो, मान्छे पनि उसरी नै जन्मिन्छ । हरि पनि त्यसरी नै जन्मेको हो । अहिले तिमीहरू कच्चा छौ । ठूल्ठूला कुरा बुझ्दैनौ । तिमीहरूले के मात्र बूझ भने, हाम्रो शरीरमा भएको तर बाहिर देखाए लाज लाग्ने अङ्गहरूको सरसफाइमा राम्रो ध्यान दिनुपर्छ ।’

हरेराम सर बताउँदै थिए ।

एउटी केटीले उठेर सोधी- ‘सर, केटी मान्छेले केटाले जस्तै गरी किन उठी उठी पिसाप गर्न सत्तैmनन् ?’

बीचैमा एक चतुर केटो उठेर बोल्यो- ‘किन कि तिमीहरूको त्यो भित्र टाँस्सिएको हुन्छ, त्यसैले….!’

भो त अब ! उसले त्यत्ति के भनेको थियो, क्लासमा केटीहरूले बबाल मच्चाए ! फोहर कुरा बोल्यो भनेर केही केटीले दुईचार डिम्मा लगाइहाले ।

हरेराम सर बेसरी चिच्याए । मानौँ, कसैले गुलेली हानेको मट्याङ्ग्रोले उनको पुर्पुरो छेडिएको छ । उनी चिच्याएपछि कक्षा सामसुम भयो ।

झ्यालबाहिर मा.वि.तहका छात्रछात्राहरूको भीड लागेको रहेछ ! बडो चाख मानेर यौनशिक्षाको पढाइ सुनिरहेका रहेछन् । सरले हकारेर लखेटे ।

दिउँसोतिर कक्षा खाली थियो । हरेराम सर र भावना म्याम पुस्तकालयमा थिए । हरेराम सरले अप्रत्यासितरूपमा सोधे- ‘भावना म्याम ! तपाईँलाई थाहा छ, ‘श्वेतपदर’ भनेको कस्तो रोग हो ?’

म्यामले विचारै नगरी जवाफ दिइन्- ‘आई डोन्ट नो ।’

सरलाई अलि रिस उठ्यो । लाग्यो, भावना म्याम कि त यौनरोगको बारेमा खुल्न चाहन्नन् । कि भने आडम्बरी स्वभाव देखाइरहेकी छिन् ।

तब सरले तताउँन खोजे- ‘महिलालाई लाग्ने रोगबारे पनि अवगत नभए तपाईँ केको महिला ! केको टिचर ! तपाईँको जनेन्द्रियबाट गन्हाउँने सेतो पानी बगेको छैन कहिल्यै ? हो, त्यही सेतो पानीलाई…!’

‘हरेराम सर…!’ भावना म्याम बेसरी चिच्याइन् । एकछिन् त आँखै देखिनन् । भाउन्न भएर ढल्लिन् कि भन्ने वातावरण सिर्जना हुन गयो ।

एकछिपछि भावना म्यामले चेताउनी दिइन्- ‘मसँग यस्तो लाजभाँडको कुरा गर्न शरम लाग्दैन तिमीलाई ? पर्ख, तिमीलाई कारवाही नगराई त कहाँ छाड्छु र म !’

नभन्दै भावना म्याम अफिसमा पुगिन् । हेडसरकहाँ केही कुरा थपेर उजुरी दिइन् । तब त हेडसरले ‘अर्जेन्ट मिटिङ कल’ नगरी सुखै पाएनन् ! चाँडै स्कुल छुट्टी भएपछि विद्यार्थीहरू ‘हुर्रे’ गर्दै घरघरतिर लागे ।

मिटिङमा हेडसरले स्पष्टीकरण मागे- ‘यो के भइरहेछ हरेराम सर ? समय समयमा के हुन्छ हँ तपाईँलाई ? तपाईँलाई यौनशिक्षा अध्यापन गर्न अनुमति दिनुको मतलव यो होइन कि, बेला न कुबेला यौनको विषय उठान गरेर हैरान पार्नोस् ! हरेक कुराको सीमा हुन्छ के । माफी माग्नोस् भावना मेडमसँग ।’

केही पुरुष टिचरहरू हाँसिरहेका थिए । मनीता म्याम उदेक मानेर हेडसरको अनुहार निहारिरहेकी थिइन् ।

भावना म्यामलाई हेडसरको प्रस्तावले मात्र पुगेन ।

भावना म्याम बाझेको शैलीमा भन्न लागिन्- ‘कस्तो कुरा गर्नुहुन्छ प्रदीप सर पनि ! माफी त अन्जानमा गल्ती गर्नेलाई पो दिइन्छ त । हरेराम सरले त सरासर मेरो मानमर्दन गरेका छन् ! माफीले मात्रै पुग्छ ? भन्नोस् टिचर साथीहरू । पुग्छ माफीले मात्र ?’

‘उसोभए मैले जागीरबाट राजीनामा दिनुप-यो ?’ असह्य भएपछि बारुद बन्न विवश भए हरेराम सर । उनी भावना म्यामलाई सोध्छन्- ‘बाहिर माता सरस्वतीको मूर्ति छ । उक्त मूर्तिमा छोएर कसम खान सक्नुहुन्छ ? एकचोटिको मानवीय भूलको सहारा लिएर मलाई ‘चरित्रहीन’ बनाउन पाउनुहुन्न यहाँहरूले ।’ हरेराम सर झुकेनन् ।

टिचरहरूले मुखामुख गरे । हेडसरको नजरले भन्थ्यो, हरेराम सर गलत छैनन् । सेकेण्ड हेडमास्टर मनीता म्यामले समस्यालाई सहजै अवतरण गराउने उपाय निकालिन् ।

उनको प्रस्ताव थियो- ‘अबदेखि ७ कक्षादेखि १० कक्षासम्मलाई मात्र यौनशिक्षा दिने गरौँ । अनि अर्को कुरा, केटीहरूलाई म्यामले र केटाहरूलाई सरले पढाउने छन् । अबदेखि हामीले पनि समूहमा बसेर यौनको विषयमा बहस, छलफल र बिचारहरू शेयर गर्ने गरौँ । अनि त बिस्तारै सहज भैहाल्छ नि ।’

मनीता म्यामको प्रस्ताव सर्वसम्मतिले पास भयो । अस्तिसम्म यौनशिक्षाबारे खुल्न नसक्ने तिनी । आज यस्तो प्रस्ताव ल्याएपछि केही टिचरहरू भित्रभित्रै गद्गद् भइरहेका थिए ।

अर्को दिन ।

कक्षा ८ । आधाभन्दा बढी खाली छ । मनीता म्यामबाट यौनशिक्षाको पढाइ भइरहेको छ- ‘तिमीहरूमध्ये कोको नछुने भएका छैनौ ? हात उठाऊ ।’

‘लास्ट बेन्च’ मा बस्ने होची गरिमाले हात उठाइन् । त्यो देख्नासाथ कक्षामा खितितिती सुरू भइहाल्यो । म्यामले खित्किनेहरूलाई साफसँग झपारिन् ।

तब गरिमाले समस्या राखिन्- ‘मेरा सखीहरू १२-१३ वर्षमै नछुने भैसके । तर म १५ वर्षकी हुँदा पनि भएकी छैन । किन म्याम ?’

म्यामभन्दा पहिल्यै मसली नामकी केटी जान्नेसुन्ने पल्टिइन्- ‘कुपोषणले गर्दा यस्तो भएको हो । गरिमाको डिम्बासय नै छैन होला ! डिम्ब पनि उत्पादन हुँदैन होला । नछुने हुने भनेको डिम्ब फुटेर रगत बग्ने त हो । हैन त मनीता म्याम ?’

म्याम बोल्न पाएकी छैनन् । बीचैमा अर्कीको जिज्ञासा प्रकट भयो- ‘म्याम, म्याम । भुँडी बोकेकी आइमाई किन नछुने हुँदिन हँ ?’

म्यामले भनिन्- ‘मसली, तिमीले अघि भनेकी कुरा साँचो हो । यो कुरा पनि बताइदेऊ सबैलाई ।’

मसली लाजै नमानी भन्छिन्- ‘स्त्रीको डिम्ब र पुरुषको शुक्रकीटको मिलन भएपछि बच्चा बन्ने प्रक्रिया सुरू हुन्छ रे नि त । स्त्रीको डिम्बासयमा मानव-भ्रुण उत्पन्न भएपछि डिम्ब फुट्ने त चान्सै भएन नि । हैन त म्याम ? यी कुराहरू मलाई नर्स दिदीले भनेर जानेकी हुँ ।’

म्यामले प्रशंसाका शब्दहरू व्यक्त गर्न पाइनन् । आँ मात्र गर्न भ्याइन् । किनभने बाहिरतिरबाट मात्तेको एक केटाले डिस्टर्व गरिदियो- ‘आमा बन्न त बाउ पनि चाहियो नि हैन त मसली ? हाहाहा…! हाहाहा…!’

म्याम लौरो बोकेर बाहिर निस्किन् ।

एकदिन हेडसरले समीक्षात्मक बैठक बोलाए । विषय उही थियो- यौनशिक्षा कक्षाको प्रगति । एकाएक मनीता म्यामको मुख रातो भयो । हरेराम सरचाहिँ सामान्य नै थिए ।

ती दुई शिक्षकले पेस गरेका ‘रिपोर्ट’ को कागज हेडसरले लिएका थिए । उनले विद्यार्थीहरूबाट प्राप्त जिज्ञासाहरू हेरे । हेडसरलाई वाचन गरेर सुनाउनै लाज लाग्यो ।

सारांशमा भन्नुपर्दा विद्यार्थीहरूको जिज्ञासा जायज नै थिए । जस्तो, कुकुरले सम्भोग गर्दा जोल्ठिने कुरा, हस्तमैथुनबारेको जिज्ञासा, मान्छेको शरीरमा कति वर्षको उमेरमा वीर्य उत्पादन हुन्छ भन्ने कुरा, मुखमैथुनबारेको कुरा आदि । आदि ।

केही टिचरहरू हाँसोलाई जबरजस्ती दबाउने प्रयासमा थिए । कोहीको खित्का फुस्किहाल्यो । प्रायजसो म्यामहरू लाजले मुन्टो निहुराइरहेका थिए ।

कोहीलाई असह्य भयो । बैठक छाडेर हिँड्न लागे । तब हेडसर रिसाए । जान लागेका शिक्षकहरूलाई रोकेर कडा चेताउनी दिए- ‘हामी टिचरहरू नै ‘सेक्स’ को बारेमा खुलेर छलफल गर्न सक्दैनौं भने ‘स्टुडेन्ट्स’ लाई कसरी ज्ञान दिन सक्छौँ ! हेडमास्टरको कुरा नमान्ने तपाईँहरू ?’

चपला म्याम रिसाइदिइन्- ‘यो एकदमै अपजसे काम हो हेडसर ! तपाईँ नै भन्नोस् त । घरमा छोराछोरीसँग ‘कण्डम’ को बारेमा कहिल्यै छलफल गर्नुभएको छ ? नढाँटी भन्नोस् है ।’

अहँ, हेडसरले जवाफ दिन सकेनन् । टिचरहरू ट्वाँ परेर उनको रातो मुख निहारिरहेका थिए ।

अर्को दिन…।

मनीता म्यामले कक्षा १० मा यौनशिक्षाको ‘क्लास’ लिइन् । अचेलका केटीहरू कमका छन् र ! तिनले यस्ता यस्ता प्रश्न गरे, सुनेर म्याम हैरान भइन् । कत्ति कोसिस गर्दा पनि जवाफ नदिई सुखै पाइनन् । उनी मुख रातो पार्दै हस्तमैथुनबारे बताउँदै थिइन् ।
अन्ततः घण्टी लाग्यो । केटीहरूले छाड्नै मानेका थिएनन् । म्यामले आफूलाई ‘दाम्लो चुँडाएर भागेको गाईको’ हालत बनाइन् ।

अर्को कक्षाबाट त्यही हालतमा आइरहेका हरेराम सरको टाउकोसँग उनको टाउको ढ्वाङ्ग जुध्यो ।

दुवैजना बेसरी कराए- ‘ऐया नि आ..म्मा…!’

‘मरेँ नि बा..ब्बा…!’

सर र म्याम टाउको छाम्दै अफिसतिर लागे । त्यहाँ टिचरहरूको ‘मिटिङ’ बस्दै थियो । एकएक जना गर्दै सबै टिचरहरू जम्मा भए ।

हरेराम सरले बताए- ‘एनजीओ र सरकारी तथ्याङ्कलाई समेत माथ गर्ने रहेछन् हाम्रा केटाकेटीले ! मलाई त के लाग्यो भने नि, वास्तवमा ‘सेक्स एजुकेसन’ को ‘क्लास’ त हामीलाई पो चाहिने रहेछ ! प्रत्येक घरघरमा ‘अश्लील म्याग्जिन’ पाइन्छ ।’

‘हातहातमा मोबाइल फोन छ । टीभी, डीभीडी, सीडी, केके हुन् केके । हुनेले घरैमा हेर्छन् । नहुनेले साथीभाइका घरमा गएर हेर्छन् । अहिलेका बच्चाहरू यत्ति धेरै ‘एड्भान्स’ भइसकेका रहेछन्, बताएर साध्यै छैन !’

‘थ्यौरी मात्र पढाएर भएन रे । ‘प्राक्टिकल’ गरेर देखाउनु प-यो रे ! अब हेडसर नै भन्नोस्, यो ‘सेक्स एजुकेसन’ पढाएर लाभ हुन्छ कि हानी ? बाबा, मेरो त दिमागै पन्चर हुन लागिसक्यो हेडसर !’

‘त्यत्तिसम्म छाडा त नहोलान् है हाम्रा बच्चाहरू !’ चपला म्यामले आलोचना गरिन् । उक्त आलोचनालाई कसैले सकारे । कसैले नकारे ।

बैठकको निश्कर्ष निकाल्दै हेडसरले भने- ‘खासमा हामी भ्रममा रहेछौँ । अहिले स्वास्थ्य र शारीरिक शिक्षामा दिइएको पाठले नै विद्यार्थीहरूलाई पर्याप्त ज्ञान पुग्दोरहेछ नि । ‘एक्स्ट्रा कोर्ष’ को आवश्यकता नै रहेनछ । यो ‘गुन्द्रुक-मस्यौरा’ को पछि लागेर हामी बेवकुफ भयौँ । भोलिदेखि बन्द ।’

बैठक समाप्त भयो ।

त्यो निर्णयको समाचार स्कुलभरि फैलियो । लाग्थ्यो, वनमा डँढेलो लागेको छ । स्कुलमा हङ्गामा मच्चियो ! विद्यार्थीहरूले बबाल गरे ! ‘सेक्स एजुकेसन’ को कक्षा रोकेकोप्रति उनीहरूले विरोध गरे । विद्रोहको स्वर उराले ।

अन्ततः हड्ताल गरे । हेडसरको निर्णय नउल्टिन्जेलसम्मका लागि स्कुलमा ताल्चा ठोकिदिए । उता गुन्द्रुक-मस्यौराको केन्द्रीय कार्यालयमा पनि त्यो खबर तात्तातै पुग्यो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button