कवितामा विपद् चिन्तन

पुस्तक समीक्षा: आलोचनात्मक यथार्थपरक कविता

निमग्ना घिमिरे
उपप्राध्यापक, रत्नराज्य क्याम्पस, काठमाडौं (त्रिभुवन विश्वविद्यालय)

मित्र ‘उराठी’ गौतमद्वारा रचित कविताहरूको सङ्ग्रह हो– लकडाउनको उपहार । २०७७ सालमा प्रकाशित प्रस्तुत सङ्ग्रहमा गद्य लयमा संरचित जम्मा सत्ताईसवटा कविताहरू सङ्गृहीत छन् ।

प्रस्तुत सङ्ग्रहका कविता कोरोना भाइरस र लकडाउनको सन्दर्भसँग सम्बन्धित देखिन्छन् । कोरोना भाइरस सन् २०१९ को अन्त्यतिर वा डिसेम्बरमा पहिलो पटक चिनमा देखा परेको एक प्रकारको सरुवा रोग हो; जसलाई ‘२०१९ नोभेल कोरोना भाइरस’ नाम दिइएको छ । जनावरबाट सर्ने एक प्रकारको भाइरस भनिए तापनि यो भाइरस मानिसबाट मानिसमा सर्दै विश्वका विभिन्न देशमा फैलिँदै गएर महामारीको रूप लिएपछि यसबाट बच्न मानिस–मानिसका बिच भेटघाट हुन नदिई आपसी दूरी कायम गर्नुपर्ने स्वास्थ्य विज्ञहरूको रायबमोजिम विभिन्न राष्ट्रहरूले ‘लकडाउन’ गरेको पाइन्छ । यस महामारीबाट नेपाल पनि प्रभावित हुन थालेपछिनेपाल सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको अवस्थामा यस कवितासङ्ग्रहका रचयिता पनिघरको चार दिवारभित्रै थुनिएर बस्न बाध्य हुनु परेको तर पनि दैनिक जीवनको व्यस्तताबाट केही हदसम्म छुटकारा मिलेको र आपूmले आपूmलाई माया गर्न तथा आफ्ना लागि समय दिन सकेको फलस्वरूपप्रस्तुत कवितासङ्ग्रह जन्मिएको उनको विचार छ ।

विषयवस्तुगत विविधता पाइने प्रस्तुत सङ्ग्रहका ‘म मान्छे भएको छु’, ‘आहा ! कस्तो गज्जब छ लकडाउन’, ‘विजय भयो ! विजय भयो !!’, ‘कोरोना आयो क्या गज्जब भयो’, ‘कोसँग बताऊँ म यो दुःखको सवाई’ शीर्षकका कविता कोरोना सङ्क्रमण र कोरोना फैलिए सँगसँगै गरिएको लकडाउनसँग सम्बन्धित छन् । यसको पहिलो कविता ‘म मान्छे भएको छु’ मा कोरोना सङ्क्रमण बढ्दै गएपछि लकडाउन गरिएको जसले गर्दा कविलाई दैनिक जीवनको व्यस्तताबाट केही हदसम्म छुटकारा पाएको अनुभूति भएको, शरीरले घरको चार दिवारभित्रै बन्दी भएर बस्नु परेको भए पनि मनले भने स्वतन्त्रता पाएको महसुस गरेको भाव अभिव्यक्त भएको छ । यस कवितामा लकडाउनका कारण आपूmले साँच्चै मान्छे भएर बाँच्न पाएको कविको भाव यसरी व्यक्त भएको छ:

बिहानदेखि बेलुकासम्म
निश्चित समयतालिकाअनुसार
मेसिनजस्तै चल्ने म
मेरा पुर्खा,
आदि मानवजस्तै
स्वतन्त्र भएको छु
उन्मुक्त भएको छु
म साँच्चै मान्छे भएको छु
फरक यत्ति हो कि,
ती मेरा पूर्वज
स्वतन्त्र, उन्मुक्त दौडन्थे
म भने निस्कनै नमिल्ने
चार दिवारभित्र बन्दी छु
तथापि, अहिले बल्ल मान्छे भएको छु ।
हो साँच्चै मान्छे भएको छु
(लकडाउनको उपहार पृ. २) ।।

उल्लिखित कवितांशमा हाम्रा पूर्वज आदि मानवले स्वतन्त्र र उन्मुक्त जीवन बाँच्न पाएका थिए तर मानव सभ्यताको विकास सँगसँगै मान्छेको जीवन सङ्घर्षपूर्ण र जटिल बन्दै गएको तथा अनेक थोकमा ब्यस्त हुनुपर्दा स्वतन्त्र ढङ्गले आफ्नो जीवन बाँच्नै नपाएको कविको विचार अभिव्यञ्जितछ । यसमा बरु लकडाउन भएपछि आफूले मान्छेकारूपमा बाँच्न पाएको आफूलाई महसुस भएको कविको आशय प्रस्तुत छ । प्रस्तुत सङ्ग्रहकोअर्को कविता ‘आहा ! कस्तो गज्जब छ लकडाउन’ मा कोरोना सङ्क्रमण फैलिए सँगसँगै गरिएको लकडाउनले समानताको पाठ पढाएको, यावत दैनिकी ठप्प हुन पुगेका कारण भ्रष्टाचार, झैझगडा, चोरी–डकैती, चेलीबेटी बेचबिखनका कुरा पनि बन्द भएका, साथै सवारी दुर्घटनाबाट हुने गरेका मृत्युका खबर पनि सुन्नु नपरेको, वायु प्रदुषण कम हुन गई वातावरण स्वच्छ र निर्मल हुन पुगेको भन्ने कविको विचार प्रस्तुत छ । त्यसैगरी ‘विजय भयो ! विजय भयो !!’ शीर्षकको कवितामा एक्कासि आपूm कोरोनाबाट सङ्क्रमित हुन पुगेको, भाइरसले निकै सताएको र स्वास्थ्य समस्या झेल्नु परेको तर अन्ततः कोरोना भाइरसमाथि आफूले विजय हासिल गर्न सफल भएको कविको भाव अभिव्यक्त छ । ‘कोरोना आयो क्या गज्जब भयो’ शीर्षकको कवितामा कविले कोरोना सङ्क्रमण बढेसँगै लकडाउन गरिनु, घरबाहिर निस्कनु पर्दा मुखमा मास्क लगाउन अनिवार्य गरिनु आदिले भ्रष्टाचारी, दूराचारी, बलात्कारी, व्यभिचारी आदिलाई भने मुख लुकाएर बस्न पाएका वा मौका मिलेको भन्दै व्यङ्ग्य गरेका छन् ।

प्रस्तुत सङ्ग्रहका कतिपय कवितामा लैङ्गिक विभेदको चित्रण गर्दै त्यसको आलोचना गरिएको छ । त्यस्ता कविताहरूमा ‘मलाई माफ गर प्रिय म हारेको छु’, ‘हे भगवान् ! उज्यालो नहोस् भोलि बिहान’, ‘ठिक गरेँ या बेठिक गरेँ’ आदि रहेका छन् । यीमध्ये ‘मलाई माफ गर प्रिय म हारेको छु’ कवितामा ‘म’ ले सोर वर्षे यौवनले भरिएकी युवतीलाई बिहे गरी पत्नीका रूपमा घरमा भित्र्याएको, आपूmले बिहे गरेर ल्याएदेखि नै आपूmले पत्नीलाई समान रूपमा व्यवहार नगरी विभेद गरेको, आपूm पनि पितृसत्तात्मक समाजमा हुर्किएको एक पुरुष भएकाले पितृसत्तात्मक मानसिकताबाट ग्रसित भएकाले पत्नीप्रति त्यस्तो असमान व्यवहार गरी पीडित तुल्याएको भन्ने कुरा धेरै वर्षपछि मात्रै आपूmलाई महसुस भएको र पश्चाताप लागेको आशय अभिव्यक्त छ । यसमा नेपाली समाजमा लैङ्गिक विभेद विद्यमान रहेको र त्यसको अन्त्यका लागि पुरुषले नारीलाई साथ दिनुपर्ने कविको दृष्टिकोण प्रस्तुत भएको छ । ‘हे भगवान् ! उज्यालो नहोस् भोलि बिहान’ प्रेमको नाटक गरेर एक जना युवकले ‘म’ (युवती) पात्रलाई गर्भवती तुल्याएर भागेको र धोका दिएको उल्लेख गर्दै पुरुषको त्यस्तो कार्यप्रति आलोचना गरिएको छ । त्यसैगरी यसको अर्को कविता ‘ठिक गरेँ या बेठिक गरेँ’ मा बलात्कृत युवतीले आफ्नो बलात्कार गर्ने बलात्कारी पुरुषको हत्या गरी अदालत समक्ष आपूmले हत्या गरेको स्वीकारेकी छ । यसमा कविले महिलामाथि हुने बलात्कारका घटनाको अन्त्यका लागि नारीलाई सचेत रहन र आत्मबल बढाएर प्रतिकार गर्न आग्रह गरेका छन् । यसरी प्रस्तुत सङ्ग्रहकाकविताहरूमा नेपाली समाजमा लैङ्गिक विभेद विद्यमान रहेको यथार्थ चित्रण गर्दै त्यसको आलोचना गरिएको देखिन्छ ।

प्रस्तुत सङ्ग्रहका ‘सँगै हाँसौँ सँगै बाँचौँ’‘को आफ्नो को बिरानो’, ‘आगो ओकल्छ मान्छे’, ‘यमराजको कठघरामा’ जस्ता कवितामा मानवतावादी विचार तथा विश्वबन्धुत्वको भावना अभिव्यञ्जित भएको पाइन्छ । ‘को आफ्नो को बिरानो’कविताकोअंशलाई यहाँ साक्ष्यका रूपमा प्रस्तुत गरिएको छ:

मेटिदेऊ यी विभाजनका रेखा
हटाइदेऊ वाद, उपवादका दर्शन
हामी एउटै बाजेका सन्तान
दर्शन छ त केवल
विश्वबन्धुत्वको दर्शन
वाद छ त एउटै
मात्र मानवतावाद
हामी एउटै धर्तीका धर्तीपुत्र
को छ यहाँ आफ्नो
अनि को छ बिरानो ?
सम्बन्ध खोज्दै जाऊँ पुरानो
साझा धर्ती एउटै छ
एउटै आकाशको छानो
मिलेर सबले उब्जाऊँ
बाँडेर खाऊँ त्यो मानो । (लकडाउनको उपहार पृ. ७८) ।।

प्रस्तुत कवितामा मान्छे–मान्छेका बिचमा सृर्जित विभाजनका रेखा तोडेर एकापसमा मिलेर अघि बढ्नु पर्ने तथा एकलाई आवश्यक पर्दा अर्कोले फरक देशको, फरक स्थानको आदि नभनी मानवका रूपमा हेरेर सरसहयोग गर्नुपर्ने मानवतावादी विचार तथा विश्वबन्धुत्वको भावना अभिव्यक्त भएको छ । त्यसैगरी प्रस्तुत सङ्ग्रहका ‘कोसँग बताऊँ यो दुःखको सवाई’, ‘छोराले सहरमा घडेरी किन्यो’, ‘अहिले नै मेरो किरिया गर’ शीर्षकका कवितामा कविले वृद्धवृद्धाका समस्या तथा पीडालाई चित्रण गरेका छन्। यी कवितामा युवावर्गको गाउँबाट सहर तथा विदेश पलायन, उनीहरुमा देखिएको पैसामुखी प्रवृत्ति, सहर तथा विदेश मोहका कारण वृद्धवृद्धालाई दैनिक जीवन बिताउन नै कठिनाइ परेको विचार प्रस्तुत गरिएको छ ।

प्रस्तुत सङ्ग्रहमा सङ्गृहित ‘प्रणय उत्सव मनाउने हो’ शीर्षकको कवितामाकविको देशभक्ति भावना र राष्ट्रिय स्वाधीनता चेत अभिव्यक्त भएको पाइन्छ । त्यसैगरी ‘साँढेको जुधाइ’ कवितामा देशभक्ति भावनाका साथसाथै राजनीतिक तथा प्रशासनिक विषयवस्तुको प्रस्तुति पनि गरिएको छ । यसका ‘कुकुरदेखि सावधान’ र ‘हत्कडी’शीर्षकका कवितामा पनिराजनीतिक तथा प्रशासनिक विषयवस्तुको प्रस्तुति पाइन्छ । यसमा सङ्कलित ‘प्रिय सुम्निमा म तिम्रो मित्र हुँ’ शीर्षकको कवितामा मिथकीय पुनसिर्जन गर्दै कविले विभेदरहित निस्वार्थ मानवीय प्रेममा जोड दिएका छन् भने‘भन्छ्यौ विवाह गरौँ अनि के हुन्छ ?’, ‘म तोप चरा’ शीर्षकका कविता प्रेमिल वर्णन वा प्रणय भावनासँग सम्बन्धित देखिन्छन् ।

‘लकडाउनको उपहार’ शीर्षकीकरण गरिएको प्रस्तुत कवितासङ्ग्रहमा कोरोना सङ्क्रमण र लकडाउनसँग सम्बन्धित आधा दर्जनजति कविताहरु रहेका छन् भने अन्य कविताहरुमा विषयवस्तुगत विविधता पाइन्छ । यसमा कविले मानवतावादी विचार, विश्वबन्धुत्व तथा भ्रातृत्वको भावना, देशभक्ति भावना, सामाजिक, राजनीतिक तथा प्रशासनिक विकृति तथा विसङ्गतिको यथार्थ चित्रण गर्दै त्यसको आलोचना गरेका छन् । यसका साथै विभेदरहित समाज स्थापनामा जोड दिइएको छ भने मानवीय प्रेममा जोड दिई राजनीतिक, प्रशासनिक, आर्थिक तथा सामाजिक क्षेत्रमा देखा परेका भेदभाव, विकृति र विसङ्गतिको अन्त्य तथा सुधारको अपेक्षा गरिएको छ । यसरी विषयवस्तुगत विविधता रहेको प्रस्तुत सङ्ग्रहले नेपाली कविताका क्षेत्रमा विपद् चेतनासम्बन्धी चिन्तनलाई पनि अघि सारेको छ र यसका लागि उल्लेख्य योगदान दिने देखिन्छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button