
एक पाथी खुसी बटुलौँ
फूल
अम्बिका खरेल उप्रेती
विराटनगर
आजकाल
गलेर हातखुट्टा फतक्क हुन थालेका छन्
विचार शुन्य हुँदै
मन पनि कताकता गल्दै गएका छन्
सर्वस्व गुमाएर तिमी
मसँगै आश्रित छौ
म भने सूर्योदयको घामसँगै
गल्दै गएको छु खै किन
सक्दिनँ चर्किदो घाम सहन
तिमीलाई ज्ञात हुनुपर्छ
म हिउँ हुँ
धेरै कुराको सुरक्षित
हुन्छ मबाटै
तर … तर इमान बेच्नेसँगको
मेरो अमिल्दो संगत
कसरी जोड्न पुग्यो
म नै अनभिज्ञ छु
म म नै हुँ, तिमी तिमी नै हौ
सुन्दर गुलाफलाई काँडाले
सुरक्षित पार्छ भन्ने
मेरो भ्रम रहेछ
कोमल फूल सधैँ
घोच्ने काँडासँग
पक्कै रहन सक्दैन
बरु झरेर कुहिएर
मलजल गर्छ त्यहीँ काँडालाई
तर हातेमालो गर्दै बाँच्न सक्दैन
त्यसैले झरिदिन्छ पत्रपत्र बनेर
अरुलाई उर्जा दिन्छ, खुसी दिन्छ
स्वागत गर्छ हरपल
तर आफू लत्रिदैन
शिर ठाडो पार्दै
सदाबहार उँचो स्थान ओगट्छ
आऊ, सबै फूल झैँ कोमल बनौँ
सुवास छरौँ
मन जल्दा पनि आहा होस्
सपना बल्दा पनि आहा होस्
हेरेर यो सुन्दर फूललाई
मनमा एक पाथी खुसी बटुलौँ !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



