लेख्नु हुन्न बिना भाव हुन्छ अक्षरको क्षति

कवि र कविता

ओमकुमारी बन्जारा

भावमा लेख्नु राम्रो हो कविका कविता जति
लेख्नु हुन्न बिना भाव हुन्छ अक्षरको क्षति ।

संदेश लोकमा नौलो दिने यो कविता बनोस्
आचार शुद्ध होस् हाम्रो कवि भावतिरै भुलोस्

जगत् जीवनका वार्ता कविका दृष्टिमा परून्
लक्ष्य प्राप्ति र गन्तव्य कविता सजिलै चुमून्

शुद्ध शब्द भए हाम्रो भाषाको मान उक्लिने
स्वाध्यायन बढाएमा, उत्कृष्ट कविता हुने ।

शब्द सौन्दर्यमा खेल्दै गाम्भीर्य भाव भेटियोस्
आशामा लेखनी दौड्योस् नयाँ विचार देखियोस् ।

व्यर्थको गफमा भुल्दै नहोस् गन्थन-मन्थन
कविका कविताभित्र भेटियोस् भाव चिन्तन ।

कवि कलमले लेखून् अन्यायको विरुद्धमा
शोषण,वेदना, हिंसा विकृतिको विरोधमा ।

क्रान्तिको तेलमा दीप्त शान्तिको दीप बालियोस्
कवित्वशक्तिले सारा द्वन्द विद्वेष ढालियोस् ।

कविका कविताले नै, मनमा छुनुपर्दछ
नदीको वेगमा हेर, कवि भाव अचम्म छ ।

जहाँ पुग्न सकेनन् ती, चहक तेजिलो रवि
रहस्यका सबै ढोका खोल्दै पुगोस् त्यहाँ कवि ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button