छोरा ! मलाई गाउँमै लगिदे, म यो शहरमा बस्दिनँ

सरु खनाल

छोरा, म यो शहरमा बस्दिनँ
यहाँ त हगेको र मुतेको पनि
पैसा लिँदा रैछन्
पैसा लिन मान्छे ढोकामै
उभिँदा रैछन्
म यो शहरमा बस्दिनँ ।

प्लास्टिकमा पोक्याएको दूध
प्लास्टिककै बट्टामा राखेको घ्यू
मिलमा पिसेको मसलाको धुलो
प्लास्टिककै प्याकेटमा राखेको तेल
छोरा, मलाई गाउँमै लगिदे
म शहरमा बस्दिनँ ।

खै त तेल घ्यू हाल्ने हर्पे र दुध राख्ने ठेकी ?
छोरा, चामल राख्ने डालो देखिनँ
तरकारी काट्ने चुलेसी भेटिनँ
मसला पिस्ने लोहोरो सिलौटो पाइनँ
मासु काट्ने अचानो छैन
सबै अर्कैले गरिदिएपछि
कसरी बाँचिन्छ
ताजा खानेकुरा खान नपाएपछि ।

छोरा, खै तेल पेल्ने कोल ?
खै धान कुट्ने ढिकी ?
खै मकै र कोदो पिस्ने जाँतो ?
अनि खै पानी राख्ने माटाको भाडा र तामाको गाग्री ?

छोरा, आमा भुलाउन भनेर टिभी ल्याइदिइस्
आफन्तसँग कुरा गरून् भनेर मोबाइल किनि दिइस्
गर्मी होला भनेर पँखा झुन्ड्याई दिइस्
जाडो होला भनेर हिटर राखिदिइस्
बुहारीले धेरै माया गरेकी छ
सक्दो मेरा सेवा गरेकी छ
मलाई आफ्नै आमा झैं ठानेकी छ
तथापि तेरो यी सबै प्रयासका बाबजुद पनि म खुसी हुन सकिनँ
छोरा, मलाई गाउँमै लगिदे ।

गर्मी हुँदा कलकल ढुँगे धाराको पानी
अञ्जुलीले पिउनुको मजा बेग्लै
जाडो हुँदा दाउरा बालेर आगो तापेर बस्नुको मजा अर्कै
भोक लाग्दा हाँडीमा भुटेको
मकै र भटमास खानुको मजा छुट्टै
करेसा बारीको उखु पड्याक्क भाँचेर दाँतले ताछेर
कर्याम्म कर्याम्म चपाउँदै घुटुक्क रस निल्नुको मजा आहा !

पुजा गर्ने मन्दिर घरैभित्र छ
पाइखाना पनि घरैभित्र छ
हिँडडुल गर्न आफ्नै गाडी छ
लाउन खानको कुनै दुःख छैन
फोनको भरमा सबै कुरा घरमै आउँदो रैछ
तथापि म खुसी हुन सकिनँ
छोरा, मलाई गाउँमै लगिदे ।

त्यहाँ मेरा देउरानी जेठानी छन्
भाउजू बुहारी छन्
नन्द आमाजु छन्
मलाई दिदी मान्नेहरू छन्
मैले बहिनी भन्नेहरू छन्
देवर जेठाजुहरू छन्
भाइ भतिजाहरू छन्
मैले घाँस कााँट्ने पखेरी, दुधिलो कुट्मिरो र पिपलका रुखहरू छन्
अनि बाँसका झ्याङहरू छन्
मैले बाटो हिँड्दा फुलपाती चढाउने देउरालीहरू छन्
मैले पानी भर्ने धारा र कुवाहरू छन्
मैले रोपेका आँप, आरु, आल्चा निबुवा, भोगटेका रुखमा लटरम्म फलिरहेका छन्
छोरा, मलाई गाउँमै लगिदे ।

हप्तामा एक दिन फोनमा
तेरो स्वर सुन्दाको मजा नै बेग्लै
वर्षमा एक पटक तेरो परिवार
घरमा आउँदाको खुसी नै छुट्टै
तैंले कसैको हातमा मलाई खर्च पठाएको
कुरा थाहा पाएर म प्रफुल्लित हुँदाको क्षण नै अर्कै १
छोरा, मलाई गाउँमै लगिदे ।

आँखाभरी तेरो तस्वीर र मुटुभरी तेरो मायाँ साँच्ने छु
म दुईचार वर्ष अरु बढी बाँच्ने छु
देउडा मारुनी र लोक भाकामा रमाउँदै नाच्ने छु ।
छोरा, मलाई गाउँमै लगिदे ।

आँखा टिभीमा छन्
मन गाउँमा पुगेको छ
शरीर यहाँ छ
सपना गाउको मात्रै देख्छु
छोरा, मलाई गाउँमै लगिदे ।

Advertise
Hike & Write

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button