१२ बर्षअघि मन्थलीमा ‘धुनी–गफ’

अशोक सिलवाल

२२ पुस, २०६५
‘धेरै भयो, काठमाडौंं नछोडेको । तर, भोलि यो सहर, सहरको हल्ला र दैनिक कामको बोझलाई छोडेर निष्फिक्री रामेछाप जाँदैछु । मलाई रामेछाप कस्तो होला, कति रमाइलो होला भन्ने चाँसो कम छ । बरु, खुसी यसमा छु कि भोलि म पाँच दिनका लागि काठमाडौं छोड्दैछु । काठमाडौंका सम्पूर्ण दिक्दारी छोड्दैछु । रामेछाप साहित्य महोत्सव–२०६५’का लागि भोलि म रामेछाप जाँदैछु ।

२३ पुस
चिसो र हुस्सुले ढाकेको काठमाडौंलाई छोडेर रामेछाप हिँडियो । पहिलो गाँसमा झिँगा भनेझैं बनेपा बन्द रहेछ । बन्दको आयोजक को थियो थाहा भएन । तर, जे भयो राम्रै भयो । विकल्पमा हामी मेलम्ची जाने बाटो हुँदै काभ्रेको पाँचखाल पुग्यौं । जहाँ जोडिँदो रहेछ काठमाडौबाट रामेछाप जाने मुख्य सडक ।

पानीे–हाहाकारले ग्रस्त काठमाडौंवासीको ‘पानी–सपना’सँग जोडिएको मेलम्चीको छेउ हुँदै पाँचखाल पुग्दाको अनुभूति थप सम्झनायोग्य रह्यो । साँखु हुँदै शालीनदीको किनारैकिनार जानेमानेका करिब पचासजना साहित्यकार, कलाकार र पत्रकार अगाडि बढ्यौं । शालीनदीको नामसँग एकैछिन साहित्यकार निर्मोही व्यास जिस्किए, ‘म तिम्रो भिनाजु हुँ ।’

अलि अगाडि ‘जहरपौवा’ भन्ने ठाउँ आयो । गजलकार धनराज गिरी पनि के कम † बसका सहयात्रीलाई हँसाउने उद्देश्यसाथ भन्न थाले, ‘अब त अमृतपौवा पनि आउला नि †’ हामी अगाडि बढ्दै गयौं । त्यतिबेलासम्म हामीले काठमाडौंको विकट मानिने नाङ्लेभारे गाविस छोडिसकेका थियौं । अब सुरु भयो सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची काठमाडौंका तिर्खालुको सपना बन्न थालेको पनि वर्षौं भयो ।

गाडी आफ्नै गतिमा थियो । र, गाडीभित्रका यात्रुहरू पनि । त्यसक्रममा हामीले गाडीको झ्यालबाट देख्यौं इन्द्रावती नदी । त्यसपछि गाडीभित्रका हामी सबैबीच भर्खरै दिवंगत भएका साहित्यकार रमेश विकल र उनको ‘अविरल बग्दछ इन्द्रावती’ बारे चर्चा चल्यो । इन्द्रावती नदीमा देखिएको सङ्लो पानीले हाम्रो आँखाको तिर्खा भने राम्ररी मेटायो ।

अलि पर देखियो केदारमान व्यथितको घर । उनको सेतो दाह्री सम्झें । यता मलाई भने अलि विसन्चो भएर आयो । लामो दूरीको लामो बसमा नचढेको धेरै भएकाले होला, सहन सक्ने स्थितिभन्दा पर पुग्न थाल्दै थिएँ । एक मन त फर्किन मन लाग्यो । भर्खर दस महिना लाग्दै गरेकी छोरी शिष्टतालाई सम्झें । उसले आफ्ना साना हातहरू बिहान घरबाट निस्कने बेलामा हल्लाएकी थिई ।

गाडीमा यात्रा गर्दा सकेसम्म अघिल्लो सिटमा बस्न रुचाउँछु म । तर, जब निकै गाह्रो भयो, पछाडिको सीटमा गएर सुतें । म बसेको सिटको ठीक माथि रहेछ, स्पिकर । त्यो बजिरहेको थियो, ‘मेरा जीवन कोरा कागज कोरा ही रहे गया’ बिस्तारै–बिस्तारै टाउको दुख्न छाड्यो । लाग्यो, गीतले औषधिको काम गरेछ ।

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट टाढिँदै थियौं । अब कता आइपुग्यौं हामी ? गाडीमा रहेका सबैको एकै स्वर थियो । कसैलाई पनि थाहा भएन, यो ठाउँ । केही बेरपछि सडक छेउमा एउटा बोर्ड देखियो । त्यहाँ लेखिएको थियो ‘काभ्रे’ । सबैले विश्वास गरे कि यो काभ्रे नै हो । त्यो किन पनि सही थियो भने बोर्डमा कुनै राजनीतिक नारा लेखिएको थिएन । काठमाडौंलाई मेलम्चीको पानीले धोइदिने राजनीतिक वाचा पनि थिएन त्यो ।

दोलालघाट, खाडीचौर, चरिकोट हुँदै हामी राति १० बजे रामेछापको मन्थली पुग्यौं । यात्राक्रममा जब दोलखाको चरिकोट छोडेर अलि अगाडि बढ्यौं, त्यसपछि पिचबिनाको सडक सुरु भयो । अनि त के चाहिन्थ्यो र † हामी त निफन्न लागिएको नाङ्लाको अन्न भयौं । तर, जब बीच–बीचमा पुल आउँथ्यो, गाडी हल्लिन छोड्थ्यो । त्यसै मेसोमा नाट्यकर्मी घिमिरे युवराज भन्थे, ‘पुल आयो, पुल आयो ।’ पुल यसै पनि सकारात्मक पक्ष हो, जसले एकअर्कासँग जोड्छ ।

२४ पुस
चित्रकार किरण मानन्धरसँग अघिल्लो साँझमात्र बिताइएन । ‘धुनी–गफ’ गर्दै करिब मध्यरात नै बिताइयो । सुत्नुअघि नै आजको दिन सुरु भइसकेको थियो । त्यसक्रममा थाहा भयो, उनी त एक जमानामा काठमाडौंका नामुद गुन्डा रहेछन् । भन्दै थिए, ‘बिहे गर्नुअघि मान्छे पिट्न रमाइलो लाग्थ्यो ।’

काठमाडौंका सिनेमा हलमा टिकट नकाटी सिनेमा हेर्थे रे ! अझ त्यतिमात्र कहाँ हो र, ‘हप्ता’ नै उठाउँथे रे ! तर, बिहेपछि सुध्रिएछन् ।

अर्का सहयात्री थिए विशाल पहाडी । अलि अर्कै खालका । पछिल्लो एक दशकभन्दा बढी समयदेखि अमेरिकामा बस्दा रहेछन् । तर, पूरै अशान्त देखिन्थे । बिदामा आएका रहेछन् अहिले । १५-२० वर्षअघि फिल्म लाइनमा सक्रिय रहेछन् । तर, त्यस क्षेत्रको विसंगतिसँग जुध्न नसकेर अमेरिका लागेछन् ।

आजै सदरमुकाम मन्थलीबाट रामेछाप जिल्लाको रामेछाप भन्ने ठाउँमा गइयो । त्यसो त यो ठाउँ करिब बीस वर्ष पहिलेसम्म रामेछापको सदरमुकाम नै थियो । नयाँबाट पुरानो सदरमुकामसम्मको यात्रामा सडकले हामीलाई धुलाम्मे बनायो । अनि, आँखाले भ्याएसम्म देखिने पहाडहरू नांगा, निर्जन र बिराना जस्ता लाग्थे । काठमाडौं खाल्डोको सघनता र पहाडको ‘एकलास’ दुवैले मनलाई चिमोटिरह्यो ।

गाडीमा उकालो लाग्दै गर्दा थाहा भयो, रामेछापलाई तीन ‘लाल’ को जिल्ला पनि भनिँदो रहेछ । गंगालाल, पुष्पलाल र कृष्णलाल । यी तीन नामको चर्चा गर्नु नपर्ला । कृष्णलालले ‘मकैको खेती’ लेखेका थिए ।

पुरानो सदरमुकाम पुगियो, बिहीबारको दिन थियो, त्यो । त्यो दिन त्यहाँ साप्ताहिक हाट लाग्दो रहेछ । डाँडामा रहेको रामेछाप बजारको त्यो दिनको रौनक नै बेग्लै । ओहो ! त्यहाँ त असनको भीड पनि फिक्का लाग्यो । तर, दुई बजेपछि हावा यसरी लाग्दो रहेछ कि हाट नै गायब । अर्थात् हावाहुरी आउनुअघि नै ‘हाट’ बाटो लागिसक्दो रहेछ, अर्को बिहीबारसम्मका लागि ।

फर्केर मन्थली आइयो । पत्रकार महासंघ, जिल्ला शाखाले जगदीश घिमिरेलाई जिल्लाको पहिलो पत्रकारका रूपमा सम्मान गर्ने तरखर भइरहेको थियो । र, ग-यो । कृष्णचन्द्रसिंह प्रधानलगायतले दमदार बोले ।

अन्त्यमा बोल्ने पालो आयो, कमलमणि दीक्षितको । उनी पनि के कम ? ‘म पत्रकारको बाबु हुँ’ भन्दै बोल्न थाले । र, अन्त्यमा हिमाल मिडियाको ‘वेभ’ म्यागाजिन जगदीशलाई टक्र्याएर भने, ‘तरुनीको फोटो भएको म्यागाजिन तपाईंलाई दिन चाहन्छु ।’ त्यसपछि जगदीश पनि रौसिए, ‘तरुनी कि युवती ?’ प्रत्युत्तरमा भने, ‘जो देखेर बूढाहरू रुन्छन्, जगदीशपत्नी दुर्गा घिमिरे पनि मेरा लागि तरुरी हुन् ।’ दुर्गा हाँस्दै थिइन् । कोही–कोही त्यतिबेला राता भएका थिए ।

बेलुकी जब ‘धुनी–गफ’ हुँदै थियो, नारायण ढकाल कुर्लन थाले, ‘गजल पनि कतै सिर्जना हो ?’ उनको प्रहारले नेपाली गजलका अभियन्ता ज्ञानुवाकार पौडेललाई छोएन । प्रत्यूत्तरमा हाँसेमात्र ।

२५ पुस
किरण मानन्धरको बानी रहेछ, खाने कुरा साथमा लिएर हिँड्ने । पुष्टकारी, लाखामरी, गुदपाक, चकलेट आदि । अर्को मुख्य कुरा त भन्नै छुटाएको । चिम्सा आँखा भएका किरण मानन्धरको मदिरामस्ती देखेपछि नारायण गोपाल र रक्सीसँग जोडिएका उनका प्रसंगहरू सम्झन मन लाग्यो । किरणले ‘कृष्ण–गोपनीहरू’को यौन अपिलयुक्त चित्र कोर्दै गर्दा उनीसँग उभिएरै अन्तर्वार्ता लिएँ ।

अर्का सहयात्री विशालले भनेको एउटा कुराले मलाई भावुक बनाइरहेको छ । दिउँसो भन्दै थिए– ‘श्रीमतीले अमेरिका आउँदा के ल्याइदिऊँ भनिन् भने नेपालको एक मुठी माटो ल्याइदेऊ भन्छु,’ उनी अझ गम्भीर हुँदै थिए, ‘मलाई मेरो देशको माटोको गन्ध मन पर्छ ।’

त्यसो त काठमाडौं–रामेछाप रुटमा चल्ने गाडीमा हाम्रो यात्रा भएको थियो । गाडीमा एक प्रकारको गन्ध निरन्तर आउँथ्यो । मलाई मनमनै त्यो गन्धलाई नेपाली गन्ध भन्न मन लाग्यो । प्राइभेट र चिल्ला गाडीजस्ता ती सुगन्धित थिएनन् ।

साँझ जब बीचमा मुढाहरू बल्दै थिए, यता बुढाहरूसहितको गफ पनि तातिँदै थियो । किरण मानन्धर भन्दै थिए, ‘नेपालमा अहिलेसम्म ‘कलासमीक्षक’ नै छैन । साहित्यकारले पनि चित्रकला नबुझ्ने उनको आशय थियो । कृष्णचन्द्रसिंह प्रधान बोले, ‘साहित्यकार, संगीतकार र कलाकार तीनतिर फर्किएका छन् ।’

यात्रालाई विभिन्न कोणबाट कैद गर्न व्यस्त फोटोकविको नामले प्रसिद्धि पाउँदै गरेका कुमार आलेको बानी रहेछ, थोरै बोल्ने । धेरैजसो त उनी आफूनजिकका साथीको कानमा मात्र फुसफुसाउँथे । रोचक घिमिरे र नगेन्द्रराज शर्मा जस्तै उनी पनि विनम्र र गम्भीर तर रमाइलो लाग्यो ।

रेखा घिमिरेसँग पुरानो चिनजान होइन । तर, जब उनलाई कान्तिपुरमा छापिएको वात्सायानको कार्टुन देखाइयो, उनी हाँसिनन् । नहाँसेको देखेर सबै हाँसे, यति पनि नबुझ्ने भनेर । के रहेछ कार्टुनमा भनेर मैले पनि हेरें । पशुपतिनाथले सबैलाई होइन, सबैले पशुपतिनाथलाई रक्षा गर्नुपर्ने स्थितिप्रति कार्टुनले प्रहार गरेको थियो । सबैले एकै स्वरमा किन नहाँसेको भनेर प्रश्न गर्दा उनको गम्भीर जवाफ आयो, ‘यस्तो मार्मिक विषयमा पनि के हाँस्नु !’ तिनको मर्मचेतनाप्रति मलाई चाहिँ हाँस्न मन लागेन ।

२६ पुस
यसपटकको यात्राको मन्थलीमा यो अन्तिम रात हो । आज केही लेख्न मन छैन । मन्थलीमा मस्त निदाउन चाहन्छु ।

२७ पुस
काठमाडौं आइपुगियो । मन्थलीबाट फर्किंदा केही न केही बिर्सेजस्तो लागेको थियो । तर, के बिर्सें भन्नेबारे चाहिँ अन्योल नै थियो । दोलखाको चरिकोटनेर आइपुगेपछि एक्कासि थाहा भयो, मेरो एक जोर जुत्ता छुटेछ । जुत्ता जो म सधैं खुट्टामा लगाउँथे, तर अहिले छुटेको एक जोर जुत्ता मेरो दिमागमा पो नाच्न थाल्यो । खुट्टाबाट त्यो टाउकोमा स-यो र निकै चहलपहल गर्न थाल्यो ।
जुत्तासँग जोडिएको अर्को प्रसंग बोकेर लेखकद्वय नारायण ढकाल र गोविन्द वर्तमान हल बाँधेर मन्थली पुगेका थिए । उनीहरू काठमाडौंबाट नेपालथोक हुँदै पैदलयात्रामार्फत मन्थली पुगेका थिए । पुगेलगत्तै उनीहरूले सुनाए, ‘पदयात्राको मजै बेग्लै ।’ ‘किन त ?’ म प्रश्न बनेर तेर्सिए ।
गतिलो जवाफ ढकालको मुखबाट सुनौं, ‘बाटोमा आमाछोरा भेटेका थियौं । छोराले आमालाई चप्पल किनिदियो । आमाले चप्पल लगाएर हेरिन् । तर, नांगो खुट्टामा चप्पल लगाएपछि उनलाई असजिलो भयो । नांगो खुट्टा हिँड्न बानी परेकी ती आमालाई चप्पल पीडादायी भयो ।’ त्यो दृश्यप्रति ढकाल र वर्तमान आभारी देखिन्थे । उत्कर्षमा पुगेर ढकाल बोले, ‘त्यस्ता दृश्यले म ‘इनलाइटेन’ हुन्छु ।’

जुत्ताबारे थप अर्को प्रसंग । ६ कक्षामा पढ्दा जुत्ता बनाउने मान्छेलाई बुबाले सहयात्री विशालका लागि जुत्ताको अर्डर गरेछन् । विशाल स्कुल छुट्टी भएपछि हरेक दिन जुत्ता बनाउने ठाउँमा जाँदा रहेछन् ।

प्रत्येक दिन जुत्ता थप आकारमा आइरहेको देखेर विशाल दंग पर्दा रहेछन् । तर, अन्तिम दिन जब विशाल जुत्ता लिन त्यहाँ पुगे, जुत्ता थिएन । जुत्ता त अर्कैले बढी मूल्यमा लगिसकेछ । त्यसपछि आफ्ना लागि भनेर बनाइएको तर अरूले लगेको जुत्ताका लागि हृदयदेखि नै उनी रोएछन् ।
यो प्रसंग उनले हाँस्दै होइन, साँच्चै दुःखी भएर सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button