विप्लव कसरी बने आमा ?

भोजपुर-पुत्र डा. विप्लव ढकाल । जीवनका अनेक बर्ष, साधना, मनस्थिति र माटोको माया मिसाएर ढकालले जन्माए एउटा विशेष कृति 'भोजपुरको वाङमय' । कसरी बने उनी यसको आमा ? कृतिकार लेख्छन्ः

यस पुस्तकको अन्तिम पङ्क्ति लेखिसकेपछि म केही समय निःशब्द बनेको छु । आफ्नै पुराना स्मृतिहरुसँग मौन संवाद गरिरहेको छु । मेरो अगाडि गाउँको स्कुलमा अन्तिम बेन्चमा बसेको आफ्नै कलिलो छाया फर्केर आउँछ र प्रश्न गर्छ- तिमीले गोठालो जाँदा, खेतालो जाँदा, मेलापर्वमा जाँदा सानो कपीमा टिपोट गरेका सुदूर जङ्गलका शब्दहरुप्रति न्याय ग-यौ त ?

मेरो अगाडि घाँस–दाउराको भारी बोकेका, शरीरभरि धुलो र हिलो लागेका, नाङ्गो कुर्कुच्चाबाट रगत बगिरहेका, च्यातिएको मैलो लुगाभित्र जीवनका सुकिला दुःखहरु छोपेका, निधारबाट तरतरी पसिना चुहाइरहेका तर जस्तोसुकै कठिनाइमा पनि मुस्कुराउन नबिर्सेका अनेकौँ प्रियजनहरुका धमिला छायाहरु फर्केर आउँछन् र प्रश्न गर्छन्- तिमीले हाम्रो आत्माको आवाजलाई जोगाएर राख्न सक्यौ त ?

यी प्रश्नहरु मेरा लागि कुनै विश्वविद्यालयका प्रश्नभन्दा कठिन छन् । उत्तरहरु खोज्दै जाँदा आधा जिन्दगी बितेछ । अहिले सम्झिन्छु- सैँतीस वर्षअघि म सत्र वर्षको एउटा सोझो र अन्तर्मुखी किशोर थिएँ । एकान्तमा कविता लेखेर जङ्गलका रुखहरुलाई सुनाउँथेँ । जङ्गलले नै मलाई आफूलाई खोज्न सिकायो । सपनाहरु पछ्याउँदै जाँदा जरा र जमिनलाई बिर्सनु हुँदैन भन्ने सत्य सिकायो । यो पुस्तक मेरो आफ्नै जरा र जमिनको खोजी हो ।

गाउँबाट सदरमुकाम आएर भोजपुर क्याम्पसमा पाइला टेकेपछि आफ्नो वरिपरिको सानो संसारप्रति मेरो मनमा थुप्रै जिज्ञासाहरु जन्मिए । आफैले बुट्टा हानेको झोलामा ‘भोजपुरको सेरोफेरो: कविताको खोजी’ भन्ने अधुरो वाक्य लेखेर म गाउँका कुनाकन्दरामा कविताको इतिहास खोज्दै हिँड्न थालेँ । धेरै ठाउँमा बूढापाकाहरु भन्ने गर्थे- यो माटोमा इतिहास छैन बाबू ! पानाहरु सबै रित्तै छन् ! तर मैले हिम्मत नहारिकन हिँड्ने र हिँडिरहने सङ्कल्प गरेँ ।

मैले कुल्चिएको धूलोमा शब्दको इन्द्रेणी छोपिएको छ कि ? पिखुवा र हङ्ग्रायो खोलाको बगरमा कविताको उज्यालो पुरिएको छ कि ? ट्याम्के र मैयुङको छातीमा अग्रजका पदचिन्ह भेटिन्छन् कि ? प्रश्नहरुको अग्लो पिरामिडमाथि उभिएर रित्तो क्षितिजलाई हेरिरहेँ । यो भूमिमा हाम्रा पुर्खाहरुको एउटा समृद्ध इतिहास अवश्य नै हुनुपर्छ । खोज्नुपर्छ- भेटिन्छ । भेटिन्छ- त्यसैले म खोज्छु । यही विश्वासको बलियो लौरो टेकेर अनेकौँ उकालीहरु चढेँ । अनेकौँ ओरालीहरु झरेँ ।

स्नातक तहको औपचारिक अध्ययनका सिलसिलामा भोजपुरका पत्रपत्रिकाहरुको इतिहास विषयमा एउटा लघुशोधपत्र तयार पारेँ । अनि बिस्तारै भोजपुरले पनि मेरो सपनालाई विश्वास ग-यो । मेरो बाइस वर्षे युवा मनमा नयाँ जोस र नयाँ आत्मविश्वास पलायो । याकुदेखि दिल्पासम्म, दोभानेदेखि दुम्मानामम्म फकिर जस्तै बनेर घुम्दाघुम्दै कसैले मलाई ज्ञान दियो- भोजपुरका साहित्यकारहरु त लाखापाखा लागिसके ! इतिहास खोज्न काठमाडौँ जाऊ !

अनि जङ्गलबाट उडेको ढुकुर बनेर म भोजपुरबाट काठमाडौँ आएँ । ठेगाना थिएन । फेला पार्नु थियो भोजपुरका अग्रज साहित्यकारहरुको गुँड । काठमाडौँको धूलोमा भोजपुरका पाइलाहरु चिन्न सकिनँ । खोजेँ । फेरि खोजेँ । चौबाटोमा उभिएर सोधेँ- यो राजधानीमा भोजपुरका शब्दशिल्पीहरु कहाँ बस्छन् ? काठमाडौँले मेरो चप्पल मात्र हे-यो । कसैको ठेगाना बताएन ।

निकै दिनपछि मुस्किलले भोजपुरका केही प्रसिद्ध कवि र अनुसन्धाताहरु फेला पारेँ । भनेँ- ‘म तपाईँहरुकै गाउँले भाइ हुँ । भोजपुरको साहित्यको इतिहास लेख्न तपाईँहरुलाई खोज्दै आएको छु । सूचना दिएर सहयोग गर्नुस् ।’

अग्रजहरुले हार्दिक सहयोग गर्नुभयो । काठमाडौँबाटै ‘भोजपुरको साहित्यिक रुपरेखा’ शीर्षकमा मेरो एउटा पुस्तक पनि प्रकाशित भयो । आमाहरुले कलेजो चिरेर गाएका सँगिनी गीतहरुको भिलेज प्रोफाइल तयार भयो । तर मलाई थाहा थियो- अझै मेरो काम अधूरै छ ! कुनै दिन त्यसलाई पूरा गर्नु छ ।

पेशागत व्यस्तताबाट बचेको समयलाई जतनले खल्तीमा राखेर कहिले पुस्तकालय, कहिले अभिलेखालय, कहिले देवालय र कहिले अग्रजहरुका आलयमा घुम्दै धमिराले खाएर बचेका कागजका टुक्राहरु, अक्षर मेटिनै लागेका हस्तलिखित पत्रिकाहरु, च्यातिएर जराजीर्ण भएका पुराना पुस्तकका पानाहरु बटुल्न थालेँ । थकाइ आफै थाक्यो । निद्रा एक्लै निदायो । अब मेरो अगाडि अनेकौँ भाषाका इन्द्रेणी शब्दहरुको एउटा समृद्ध उज्यालो उभिएको थियो । मैले झुकेर अभिवादन गरेँ ।

यो पुस्तक तयार पार्ने क्रममा म एउटा निमित्त पात्र मात्रै हुँ । तथ्य र सूचनाहरुको सङ्कलन गर्न सयौँ व्यक्तिहरुको पसिना बगेको छ । मैले त केवल संयोजन र व्यवस्थापन मात्रै गरेको हुँ । गहिरो विमर्श गर्न सकेको छैनँ । मसँग रित्तो झोलामा केवल सपनाहरु थिए । तिनै सपनाहरु जोगाएर लगभग साढे तीन दशकपछि यो पुरानो झोला बिसाएको छु । मैले भोजपुरबाट लिएर आएको सम्पत्ति फिर्ता गरेको छु । भोजपुरको नासो फिर्ता गरेको छु । मैले आमाको पूजा गरेको हुँ । लिनुदिनु केही छैन । जेजति फिर्ता गरेँ- मेरो प्राप्ति त्यही हो ।

यस पुस्तकमार्फत् मैले इतिहास लोप भयो भने सभ्यताको बत्ती निभ्छ भन्न खोजेको हुँ । नेपालका कुनाकन्दरामा छरिएर रहेका सबै जातजाति र मातृभाषाहरुको वाङ्मय हामी सबैको साझा सम्पदा र साझा पहिचान भएकाले विविधताको शक्ति र सौन्दर्यलाई सबैले मिलेर समयमै बचाऔँ भन्न खोजेको हुँ । बार्दलीबाट होइन, आधारशिविरमा उभिएर सूक्ष्म रुपमा खोजी गरेपछि मात्रै नेपाली वाङ्मयको बृहत् र समग्र इतिहास तयार गर्न सकिन्छ कि भन्न खोजेको हुँ । सबैको हृदय जोड्ने पुल बनाऔँ भन्न खोजेको हुँ ।

Advertise
Hike & Write

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button