
मुटु चल्दै मराउने कस्तो अनौठो जहर भो
विद्या खड्का
नचाहँदै आयो यो दिन भन्थेँ कस्तो कहर भो
न फर्केर आउँछ त्यो दिन कताकता रहर भो ।
नलाएको प्रेमको प्याला म कसरी पिउँला भन्थेँ
त्यहि प्याला बिना आज नबाँचिने ठहर भो
न फर्केर आउँछ त्यो दिन कताकता रहर भो ।
नदेखेको नगएको ठाउँ म रमाउँला भन्थेँ
त्यहि ठाउँ उनीसँग झिलमिल सहर भो
न फर्केर आउँछ त्यो दिन कताकता रहर भो ।
नचाहेको जीवन पाऐँ म कसरी जिउँला भन्थें
आज पलपल् जिन्दगीको नयाँ नौलो प्रहर भो
न फर्केर आउँछ त्यो दिन कताकता रहर भो ।
छुट्टिनु पर्दा कुनै कारण निमेष भर मात्रै पनि
मुटु चल्दै मराउने कस्तो अनौठो जहर भो
न फर्केर आउँछ त्यो दिन कताकता रहर भो ।।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
