
सिंगल हुँ भनेकीले अविवाहित हुन भन्नेमा शंका थिएन
लघुकथाः विवश प्रेम
रूपा अधिकारी
काठमाडौँ
एउटै कम्पनीमा कार्यरत शिला काममा अत्यन्त लगनशील थिइन् । उनको त्यो लगनशीलता नै मेरो नजरमा गढिरह्यो ।
कम्पनीले उनको र मेरो अन्तरवार्ता लिएको पनि एकै दिन थियो । अन्तरवार्ता दिँदा आफु सिंगल हुँ भनेकी कारण उनी अविवाहित हुन भन्नेमा शंका थिएन । तर उनको मनमा कोहि छ कि भनी अफिस सकेर मौका पारी सोधेँ । उनी फिस्स हाँसेर ‘नो, बट’ भनी आफ्नो बाटो लागिन् ।
मौका यहि हो भनी प्रपोज गर्ने विचार गरेँ । विस्तार विस्तार म उनको नजिक हुन थालेँ । उनी भने मेरो नजिक हुन लजाउँथिन् । एक दिन उनलाई प्रपोज गर्ने मनसाय बनाई रेड रोज गिफ्ट गरेँ ।
उनले त्यो मलाई फिर्ता गर्दै भनिन्, ‘म यसलाई कुन अर्थले लिउँ ?’

मैले हिम्मतसाथ उनलाई जवाफ दिएँ, ‘प्रेम प्रपोज सम्झेर स्वीकार गर न ।’
उनले आफ्नो कठोर बोलीले भनिन्, ‘तपाई पुरुषहरूलाई झैँ सजिलो कहाँ हुन्छ र हामी नारीलाई ? कयौँ वेदना लुकाई बाँच्नु पर्छ हामीले ।’
उनको जावाफले पुरुष हुनुको रवाफ लुकाई भनेँ, ‘तिम्रो हरेक दुःखसुखको साथी बन्ने कोसिस गर्नेछु ।’
मेरो जवाफ सुनी शिलाले भनिन्, ‘मेरो घर हिँड्नुहोस् । सारा कुरा बुझ्नुहुनेछ ।’
म मनमा डर बोकी उनको घर गएँ । उनले आफ्नो बिरामी श्रीमान र सानो नानीलाई आफ्नो सन्तान भनी चिनाइन् । तब म छाँगाबाट खसे झैँ भएँ ।
अलिक क्रोधित भई प्रश्न गरेँ, ‘विवाहित भएर पनि किन आफ्नो परिचय अधूरो राख्यौ शिला ?’
‘तपाईलाई थाहा नै छ हामी नारीलाई जागीर पाउन कति कठिन छ ? सम्भावित उक्त कम्पनीले पनि विविाहित नारी कोटामा बन्देज लगाएको थियो त मैले के गरूँ ?’
उनको गहभरीको आँशुले मेरो मनलाई नराम्ररी भिजायो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)