बग्न मन छ छताछुल्ल हुनेगरी

कविता

दुर्गाकिरण तिवारी ‘क्षितिज’
पोखरा-३२, कस्की, हाल: काठमाडौं

प्रेमको आभासमा
जब मन मृगतृष्णाले छट्पटिन्छ
ओइरो लाग्छन् अनगिन्ती चाहतहरू
आँतमा अङ्कुराएका रहरहरू
कल्पनाको उडान भर्छन्
नयाँ नयाँ पङ्ख टाँसेर रहरभरि
मन बरालिन्छ अचम्मै
अझै छचल्किएर पोखिन खोज्छन्
अनुरागका घडाहरू
हिमताल भरिएर
बाहिरिन बाटो खोजेजस्तै
बगोस मायाको भेल
मर्यादाको काँढेवार भत्काउने गरी
त्यसैले त
भत्काइदिऊँ जस्तै लागेको छ
मनको पर्खाल
पोखिन मन छ छताछुल्ल हुने गरी !

उषा आएर चियाउछे एकाबिहानै
बेला बेलामा जिस्क्याउँछे मलाई
र छिल्लिँदै भन्छे–
फुकाइदेऊ आफुलाई र आफ्ना चाहनालाई
उम्लिराखेका छन् पोखिनलाई
रहरहरुले बेग मार्दैछन् भित्रभित्रै
अचम्मै सित रङ्गिँदैछन् भावहरू
इन्द्रेणीमा सातै रङ्ग मिसिएझैं
बेलैमा सम्हाल !

उम्लिएका मेरा चाहतहरु
पोखिन खोज्दै छन् अटमटस हुँदै
र, म छो रोल्पाझैं बनेकी छु
यी समाजका बाँधलाई चिरेर
सबैतिर बस्ती बस्तीमा
बरालिँदै कुद्न मन छ
त्यसैले भत्काइदिऊँ जस्तै लाग्दै छ मनको पर्खाल
पोखिन मन छ छताछुल्ल हुने गरी ।

मेरा नजरमा बसेका तृष्णा
मैलाई लागेको मायाको भोक
फुल्दै गरेको रहर
फक्रिँदै गरेका चाहना मेरा
चुम्न खोज्छन् खुसीको क्षितिज
रुक्खिएको मन बाझिएको छ मन
हृदय साटेर तिमीसित
तृप्त हुने गरी प्यास मेटाउने रहरमा छ
त्यसैले त भत्काइदिऊँ जस्तै लाग्दै छ मनको पर्खाल
र, पोखिन मन छ छताछुल्ल हुने गरी ।

Advertise
Hike & Write


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button