भो नभन, गुलाब साटौँ

रामेश्वरी पन्त

पुरुषत्वको घिनलाग्दो अहङ्कारको
बाघेपन्जाले हरेक दिन
फूल बन्न नपाउँदै
कोपिलामै
चिमोटिएका
कलिला गुलाबहरू,
फक्रीएर मस्किँदै
वैँशको सङ्घारमा पाइला टेक्ने रहर बोकेका
कयौं गुलाबहरू
फक्रीनै नपाई
निमोठिएका
खबरहरू
छरपस्ट भैरहेको
यो कहालीलाग्दो समयमा
कसरी भन्न सक्छौ प्रिय !
`आऊ ! गुलाब साटौँ

गुलाबसङ्गै माया पनि साटौँ ।´

हेर !
निर्मला र भागरथीहरूको
क्षतबिक्षत शरीर
र कसम खाऊ
पुरुष हुनुको गर्वबोध गर्नुछ भने
अघि बढ
यी कलिला गुलाब निमोठ्नेहरूका
हात काट्न
खुट्टा भाँच्न

कलिला गुलाब जोगाउन,
आफ्नो नाक जोगाउन ।

जोगिए भने यी गुलाबहरू
अनि साटौँला तिमी र म मिलेर
खुशी खुशी राता गुलाबहरू ।

अहिले त म बिछिप्त छु
गुलाबहरू निमोठिएको पिडामा
भो नआऊ प्रिय मेरो नजिक
नभन `गुलाब साटौँ ।´

Advertise
Hike & Write

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button