
ऐय्या पनि भन्न बिर्सेँ तिम्रो वचनले घोच्दाखेरी
कविता: दिव्य चित्र
गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
सुस्तसुस्त मुटुमा घुस्यौ थाहा नपाउने गरी
मीठामीठा सपना देखायौ मलाई घरीघरी
तिमीले बुनेको मायाजालमा परिरहेँ म दङ्ग
एकएक निमेष नछोडिकन बेरिएँ तिमीसँग ।
आकाशको तारा झारिदिने गर्यौ तिमीले बात
घिउ सोझी भएर मैले थमाएँ तिमीलाई हात
न्यानो भयो साथ तिम्रो स्पर्श मात्रै पाउँदा
सुस्ताएनन् पाइला कवै बारम्बार धाउँदा ।

आफ्नालाई भुल्दै गएँ तिम्रो नाम लेखेपछि
तिमीसँगै धड्कन साट्ने दिवा स्वप्न देखेपछि
लक्ष्य मेरो कुल्चिँदै गएँ तिमीलाई सोच्दाखेरी
ऐय्या पनि भन्न बिर्सेँ तिम्रो वचनले घोच्दाखेरी ।
गुनासो छैन मलाई तिमीले बाटो फेरे पनि
मडारिँदो दु: खको बादलले मलाई घेरे पनि
मायामा लेनदेनको हिसाब खोज्ने छैन बानी
खेल्न जान्दिनँ म मायालाई कठपुतली ठानी।
तिमीले गर्दा एकान्त र रात बन्न सके खास
मायाको बदलामा नबोकेर कुनै आश
जे भए पनि तिम्रो याद भयो मेरो मित्र
कोरेर दिलको भित्तामा सदैव दिव्य चित्र ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)