
महादेव निर्वस्त्र देखेर उनीहरू कराउन थाले, ‘मात्तिएकाे भ्यालेन्टाइन बुढा !’
लघुकथा: भ्यालेन्टाइन पर्व
डा. विदुर चालिसे
मर्माहत भएकाे पागलले फूलकाे थुँगा लिएर प्रेमिका अगाडि छेउमा उभिएर भिक्षा मागिरह्याे, ‘तिमी हात देऊ म साथ दिन्छु ।’
प्रेमकाे रङ्गले लत्पतिएकी प्रेमिकाले अविश्वासकाे वाचा देखेर फूलकाे थुँगामा उडिरहेकाे सुगन्धलाई भनी, ‘तिमी साथ देऊ म हात दिन्छु !’
यी प्रेमीहरू माैसमअनुसार प्रेम दिवसकाे उत्सव मनाइरहेका थिए । उनीहरूकाे समयकाे प्रतिफल राजनेताहरूमा झैं प्रेम प्रस्तावकाे वाचामा उडिरहेका सहमतीहरू जस्तै थिए ।
‘प्रस्ताव न हाे ! सहमती नै हुन्छ भन्ने के छ र ?’
जब न्याय र शक्ति बिच सङ्घर्ष के चलेका थियाे । उनीहरूमा एउटा नयाँ उर्जा प्राप्त भयाे । उनीहरू प्रयाेगका मीमांसालाई गठबन्धनकाे नयाँ उचाइ दिन चाहन्थे । एकस्वरमा राजनेताहरू झैं गठबन्धनकाे परमानन्दले प्रेमका पागलहरू कराए, ‘सम्माेहन !’
‘लुछ, चुँड, जाेड, फाेड, ताेड, माेड, चिथाेर, निचाेर, थचार र अचार भए !’
सतिदेवीकाे माेहमा बाैलाहा बनेका महादेव पनि जिब्राे काढेर कराउन थाले, ‘तिमीहरू राजनेता हाै ?’
‘हैन, प्रभु !’
‘काे त तिमीहरू ?’
‘पागल प्रेमी !’
‘तिमीहरूकाे गठबन्धनकाे उद्देश्य ?’
‘बन्धनमा पर्ने !’
महादेव हाँसिरहे । उनले पागल प्रेमीहरू जस्तै अर्काे छाेरतिर पागल राजनेताहरूलाई देखे । महादेवलाई पनि लाग्याे, ‘यिनै हुन सायद भ्यालेन्टाइन !’

महादेवले अर्काे छाेरमा रहेका तर आपसी प्रेमले पागल बनेका राजनेताहरूलाई प्रेमकाे परिभाषा साेधेर भने, ‘मेराे सतिदेवीबारे थाहा छ ?’
‘थाहा छैन ?’
‘उसाे भए के राजनीतिकाे प्रेम गर्छाै त ?’
उनीहरूसँग जवाफ थिएन सायद । महादेवकाे निर्वस्त्र शरीर देखेर उनीहरू लज्जाले झन बाैलाउँदै कराउन थाले, ‘मात्तिएकाे भ्यालेन्टाइन बुढा !’
महादेवकाे पागल प्रेमकाे सत्य, सतिदेवीकाे कुहेकाे शरीरबाट प्रेमीप्रेमिका बिचकाे प्रस्ताव र राजनेताहरूमा जस्तै सम्झाैता रूपी चाेक्टाहरू खसिरहेकाे थियाे । महादेवले मर्माहत भएर चिच्याइरहे, ‘हे गुह्येश्वरी रक्षा गर !’
राजनेताहरूकाे गठबन्धन र प्रेमीप्रेमिका बिचकाे सम्बन्धन नै यस्तै हाे, मस्तले उनीहरूले मनाइरहे, ‘भ्यालेन्टाइन पर्व !’
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)