
जगदीश घिमिरे, विजयकुमार वा झमक घिमिरेलेजस्तै कर्ण शाक्यले किन पुरस्कार पाएनन् ?
पाठक प्रतिकृया: मोज खोज्दै
कमल बयेली
सशस्त्र द्वन्द्वले निराशा जन्माएको थियो देशमा । यहीबीच झुल्कियो आशाको किरण- कर्ण शाक्यकोे पुस्तक सोच । सोच यतिविधि चल्यो कि बिक्रेताहरूलाई माग धान्नै धौधौ पर्यो । मेरा व्यवसायी साथी दुर्गाले पुस्तक मेलामा त्यही सोच बिकेको देखेर लोभिँदै भनेका थिए, ‘कमल हामी पनि किताब निकालौं ।’
हामीले योजना बनाएर पनि किताब त निकालेका छैनौंं तर यसले मेरो लेखनप्रतिको लगावलाई उध्याएको चाहिँ पक्का हो । तथापि सोचको नभएर मोजको कुरा गर्दै छु । सोच, खोजलगायत यस पुस्तकलाई अहिले फाइनप्रिन्टले सुन्दर साजसज्जामा प्रकाशन गरेको छ । अहिले भने पुरानै भर्सनबाट यी हरफहरु लेखिरहेको छु ।
बिकाउ पुस्तकमध्ये एक हो मोज । सोच, खोज र म सक्छुको भव्य सफलताका कारण कर्ण शाक्यको नामैले पनि यो पुस्तक बिक्यो होला भन्नेहरू पनि देखिन्छन् ।
सुरुको अध्याय नै मोज शीर्षकमा रहेछ । अगाडि बढें । लेखकले यस पुस्तकको गर्भाधान कसरी भयो ? न्वारान कसरी गरियो ? नाम यो नै किन ? जस्ता प्रश्नहरूको जवाफबाट सुरु गरेका रहेछन् । मोज माने सुख, आनन्द, सोख, मज्जा, चैन, मनको लहड, हौसला, उमंग भनिएको छ शब्दकोशमा । प्रयोगका हिसाबले भने मोज शब्दले शब्दकोशलाई नाघेर जाने कारण हुनुपर्छ लेखकले उल्लिखित प्रश्नहरूको जवाफबाट उठान गर्नुपरेको । तेस्रो पेजमा पत्रकार, लेखक तथा पर्यटनविद् अशोक सिलवाललाई भेटें । पुस्तकमा सिलवालकृत ‘हाम्रा खुसीहरू’ शीर्षकमा प्रकाशित लेखको अंश रहेछ । मलाई निकै मन परेको थियो त्यो लेख । व्यंग्य मिसिएको उपर्युक्त लेखमा लेखकले मोजको खोजी गरेका रहेछन् ।
म दोस्रो शीर्षक सुनौलो साँझमा डुब्दै गएँ । जीवनको उत्तराद्र्धलाई सूर्यास्तको बिम्बसँग जोडेर सकारात्मक किरण छर्ने सुन्दर जमर्को ।
पेज १६ मा पुगेपछि चाहिँ अलि स्वाद बिग्रिएको जस्तो महसुस भयो । लेखिएको रहेछ, ‘…एक जना नयाँ डाक्टरले डा. अञ्जनीकुमारको आलोचना गर्दा मैले सहनै नसकेर ती डाक्टरलाई ‘उहाँको अगाडि तपाईं एउटा झिँगामात्र हो, देशले मानेको एउटा लेजेण्डरी डाक्टरसँग कसरी कुरा गर्नुपर्छ भन्ने तपाईंलाई थाहा छैन’ भन्दै आक्रोश पोखेको थिएँ ।’
२५ पेजमा पुगेपछि म रोकिएँ । झिँगाले रोकेको थियो मलाई । भर्खरै आएको झिँगा । लेखकको वाक्य यस्तो छ, ‘…मान्छे भएर जन्मेपछि झिँगाजस्तै अस्तित्वहीन भएर मर्न चाहन्नँ ।’ यस भनाइले ती झिँगा डाक्टरलाई अझ भित्तामा पुर्याउन सघाइरहेको देखायो ।
त्यस्तै पेज ३५ मा उभिएका जिमी कार्टरले अड्काए । कार्टरले आफूसँग हेलमेल गरेको प्रसङ्गलाई साह्रै ठूलो उपलब्धिको रूपमा प्रस्तुत गरेका रहेछन् लेखकले । यसो लेखिएको छ, ‘ …ले मजस्ता सामान्य नागरिकसित हेलमेल गर्नु कार्टरको कुशलता हो ।’ यहाँनेर कार्टरले शाक्यसँग व्यवहार गर्नुमा कारण कार्टरको कुशलता नभएर सम्भवतः कुनै संयोगले लेखक शाक्यकै घरमा उनले कार्यालय स्थापना गर्नु हो । र, अर्को कुरा ‘मजस्तो सामान्य नागरिक’ भन्नु पनि जायज जँच्दैन । किनभने कर्ण शाक्य भनेको नेपालको एउटा प्रतिष्ठित उद्यमी हो, संरक्षणविद् हो ।
एक ठाउँमा लेखक सकारात्मक शब्दको ठीक उल्टो देखापरेका छन् । भन्छन्, ‘अहिले अपराध एउटा सुल्झाउन नसकिने गाँठो भइसकेको छ ।’ यसले आशा जगाउँदैन । असम्भव नै थियो भने त हिजो समुद्री डाकुहरूको केन्द्र बनेको सिंगापुर आज यो स्थानमा हुने थिएन । कर्ण शाक्य र सकारात्मक सोच पर्याय भइसकेको सन्दर्भमा यस्ता वाक्य गठनले करौँती चिह्न उमार्छ ।
काउकुती अध्यायले संसार घुमेर मोज लिन भन्छ । विदेश भ्रमण प्रसङ्ग र त्यसको आवश्यकतालाई मोजसँग हल्लाईहल्लाई घोलिएको छ । तर मेची पुलमात्र तरेको मजस्तो बालबबुरो पाठकले यसमा कसरी मोज लिने ?
लेखकले व्यक्तित्व विकाससम्बन्धी पुस्तक पढ्दै नपढेकोले कसैबाट कत्ति पनि प्रभाव नपरेको जिकिर गरेका छन् । लेखकले पढेनन् वा पढ्न भ्याएनन् त्यो आफ्नो ठाउँमा छ । तर एउटै विचारधाराका लेखकले अर्कोको पुस्तक हेर्दै नहेर्नुलाई उति राम्रो मान्न सकिन्न ।
लेखकले छुवाछूत प्रसङ्ग पनि कोट्याउन भ्याएका छन् । संविधानको हवाला दिँदै लेख्छन्, ‘छुवाछूत अन्त्य कुनै गाह्रो काम होइन ।’ गाह्रो होइन भने किन सजिलो भइरहेको छैन ? यसलाई सजिलो पार्न लेखकबाट केकस्तो अभियान चलेको छ ? साँच्चै यो फोहोर समाजलाई सफा गर्ने हो भने कर्ण शाक्यहरूको अगुवाइको खाँचो छ ।
पेज २२४ मा लेखक रुखो बन्छन्, ‘अनावश्यक खर्च गरेर मालसामान किन्ने लँगडा सोख मलाई छैन ।’ यदि यो पुस्तकको पाठक लँगडो छ भने उसलाई कतिको मोज होला ?
‘कसैले गधा भन्यो भने मेरो पुच्छर र म गधा हुनलाई भनिरहनुपर्दैन ।’ यो लेखकको भनाइ हो । यसअघिको पुस्तकमा फेवातालछेउको जग्गाको प्रसङ्गमा पनि गोरु र सिङको उदाहरण दिइएको थियो । तर ठाउँठाउँमा आफूमाथि उठेका प्रश्नहरूको खण्डन गरिरहेको देख्दाचाहिँ लेखकले मेरो पुच्छर छैन, सिङ पनि छैन भनिरहेको प्रतीत हुन्छ ।
‘मीठो मौलिक मोज’ अध्यायमा लेखक स्वयम्कै भाषामा भन्नुपर्दा ‘स्वपूजन’कै गन्ध धेरै आउँछ । आफ्नो तारिफका कुराहरू अरूबाट आएको भए सुनमा सुगन्ध हुने थियो ।
लेखकको भनाइ छ, ‘कतिपय पाठक त किताब पढेर त्यसका राम्रा कुराहरूभन्दा कमजोरी खोतल्नमै लीन हुन्छन् । मेरो किताब पढेर त्यसको मर्मलाई ग्रहण गर्ने सायद शून्य दशमलब एक प्रतिशत पनि छैनन् होला नेपालमा ।’
लेखकले यस्तो भने पनि डोल्पाका गमबहादुर बुढा भने खरो खण्डन बनेर उपस्थित छन् । उनले शाक्यको सोच पढेर नयाँ जीवन पाएछन् । उनको प्रसङ्गले देशको दशवर्षे द्वन्द्व आँखाअगाडि ल्याएर ओछ्याइदिन्छ । भावुक बनाउँछ । कर्ण शाक्यको सोच पढेर नयाँ जीवन जन्मेका गमबहादुरहरू धेरै छन् । कर्ण शाक्यको सोच पढेर नेपाल फर्किएकाहरु शीर्षकको एउटा विशेष कार्यक्रम नै ग्यालेक्सी फोरके टेलिभिजनको सीधा कुरामा हेर्न सक्नुुहुन्छ ।
जगदीश घिमिरेको अन्तरमनको यात्राले जस्तै वा विजयकुमारको खुसीले जस्तै वा झमक घिमिरेको जीवन काँडा कि फूलले जस्तै सोचले किन पुरस्कार पाएन भन्ने लागिरहन्छ ।
लेखकलाई देशको गम्भीर चिन्ता छ, ‘मन्त्रीले अपहरण गर्ने, सांसदले पासपोर्ट बेच्ने, डिआइजीले स्वास्नी मार्ने, कस्तो बिडम्बना ?’ त्यस्तै देशको ठूलो लगानी परेको ब्रेन पावर पलायनप्रतिको लेखकको पीर उत्तिकै गम्भीर छ । बीसपच्चीस वर्षअघिसम्मको दुबइ र आजको दुबइको तुलना गरेर लेखकले नेपालको दशा चित्रण गरेका छन् ।

पञ्चायतशासनले पनि केही स्मरणयोग्य काम गरी देखायो किन कि त्यो शासन स्थिर थियो भन्दै लेखकले प्रजातान्त्रिक कालखण्डमा मञ्चन भइरहेको हाम्रो राजनीतिक संस्कार र दशाप्रति कटाक्ष गरेका छन् । उनी भन्छन्, ‘राज्यले युवा जमातलाई धान वा धन उमार्ने किसान बनाउन नसकेकोले नै देशले विकासको काँचुली फेर्न नसकेको हो ।’
१३ अध्यायमा विभक्त यस पुस्तकमा नयाँ सोख अध्याय असाध्यै पठनीय छ । यसमा पल फिल्म र त्यसले दिने सकारात्मक सन्देशबारे पढ्न पाइन्छ ।
लेखकले पुस्तकमा तत्कालीन युवराज दीपेन्द्रको मनोदशाको पनि वर्णन गरेका छन् । यसले दरबार हत्याकाण्डमा दीपेन्द्रकै हात थियो भन्नेहरूलाई बल दिन्छ । पेज ८८ मा उधारोवालाले एकजना मासुपसलेलाई सताएको प्रसङ्ग मार्मिक छ । पाठकलाई मुट्ठी कस्ने बनाउँछ । दाह्रा किट्ने बनाउँछ । अनि लेखकको मरणोपरान्तका इच्छाहरू पढ्दा धेरै नै भावुक भइन्छ । जीउमा काँडा उम्रिन्छ ।
समग्रमा पुस्तक पठनीय छ । पुस्तकको अन्तमा एक जुझारु युवाविनोद शाहीको प्रसङ्ग समेटेर लेखकले युवावर्गको सम्मान गरेका छन् । एक जना उद्यमी भएर पनि लेखनमा यतिविधि जम्न सक्नु चानेचुने कुरो होइन । सुरुवाती संस्करणमा भाषिक अशुद्धताले दाँतमा ढुंगा लागिरहने भए पनि अहिले फाइनप्रिन्टले पुस्तकलाई फाइन बनाएकाले पाठकहरुले दाँतको चिन्ता नलिए हुन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)