
के हो त कविता ?
कविता
पेशल आचार्य
विचार वा कल्पना
दुईमध्ये के हो त कविता ?
दुःख र सुखमध्ये
के हो त कविता ?
आशा र निराशामध्ये
के बढी हो त कविता ?
हाँसो र आँसुमध्ये
केमा अन्र्तनिहित छ त कविता ?
दुखी वा सुखी देखेर
केमा बढी भाव छचल्किन्छन् त कविताका ?
उत्तरआधुनिक समयमा
कवि को हो ?
कविता केके हुन् ?
सन्धान जारी छ
खोज अनवरत छ
कविता कमोडिटी बेपारको
वस्तु भैसक्यो !
कविता मिसन लेखन पनि बनिसक्यो !
कवितालाई बलियोसँग
सत्ताको हतियार पनि बनाइयो !
कवितालाई अझ झर्रोसँग
प्रतिपक्षको बोली पनि बनाइयो !
कवितालाई सबैले लेखे
कवितालाई सबैले प्रयोग गरे
अनुकूलहरूले पनि लेखे
प्रतिकूलहरूले पनि लेखे
सन्तोस व्यक्त गर्न लेखे
असन्तोस व्यक्त गर्न पनि लेखे
यसरी लेखे
उसरी नेखे
जसरी लेखे पनि
कविता कविता नै रह्यो
अरू थोक कहिल्यै भएन ।
यी अनेकानेक
तामझाम
उछलकुद्
मारमुङ्ग्रीका बीच पनि
हाँप र झाँपबीच पनि
निखुरा कविताहरू
अझै कुनै सुदूर गाउँमा
उम्रिरहेका छन्
बढिरहेका छन््
परिचय बनाउन
बिस्तारैबिस्तारै टाउको उठाउन थाल्या छन्
ती र ती कविताहरूलाई
माया गर
ती र ती भावहरूलाई
जतन गर
हो ! खाँटी कविता त तिनै हुन्
कविताजस्ता कविता
जसले कहिल्यै विज्ञापन गराएनन्
जसले कहिल्यै मपाइँत्व गरेनन्
मात्र लेखिइरहे
मात्र कथिइरहे ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
