
‘हरे शिव ! किन ममाथि यति धेरै विश्वासघात ? धिक्कार छ मेरो बुद्धिलाई
लघुकथा: विश्वासघात
सुन्दरी घिमिरे खतिवडा
सङ्खुवासभा
साँझ झमक्क परिसकेको छ । बिन्दु दोबाटोमा बसेर ‘मलाई दया गर्नुहोस्, म बिरामी छु’ भनेर चिच्याईरहेकी छिन् । धेरै मानिसले वास्तै नगरी हिँडी रहे । परबाट माने दाइ हरर आए । टक्क मोटरसाइकल रोके र भने, ‘के भयो नानी ?’
‘मलाई पेट दुखेर म घर पुग्न सकिन । लौन हजुर मलाई दया गर्नुस् !!’, नम्रतापुर्वक बिन्दुले बिन्ति बिसाइन् ।
‘ल बस्नुहोस् ।’
‘तपाईंलाई कहाँनेर छोडिदिउँ ?’, अलि पर पुगेपछि मानेदाइले भने ।
बिन्दुले एउटा हातले पेट थचिरहेकी छन् । अर्को हातले माने दाइको काँधमा समातेकी छिन् ।
बेला बेला ‘हँ.. हँ’ आवाज निकाल्दै छिन् ।
‘मेरो घर धेरै टाढा छ, अँध्यारो भैसक्यो । आज म हजुरकै घरमा बास बस्छु हुन्न र ?’
‘भैहाल्छ नि’, माने दाइले कुनै सङ्कोच नमानी घर लगे र ‘लौ आराम गर्नुहोस्’ भने । भाउजुले के के खानेकुरा पकाएकी छिन्, भान्सामा छिर्दै ‘तातो तातो खान देउ है । यी नानी निकै बिरामी भएकी रहिछिन् । मैंले बाटोबाट यहाँसम्म ल्याएँ । भोली बिहान घर जान्छिन् रे’ भने ।
बिहान उठेर बिन्दुले हतारहतार घर बढार्न थालिन् ।
‘हैन बिरामी मान्छे किन सकिनसकी घर बढार्नु भाको नानी ?’, भाउजुको बोली भुइँमा खस्न नपाउँदै बिन्दुले भनिन्, ‘आफ्नो घर नबडारेर म के गरुँ त ? मलाई सरले हिजै भित्र्याउनु भएको होइन ? मेरो घरमा कोही छैन, म एक्लै छु भनेर ल्याको के ? हजुर चैँ को नि ?’
‘हरे शिव ! किन ममाथि यति धेरै विश्वासघात ? धिक्कार ! छ मेरो बुद्धिलाई’ भन्दै माने दाइले पुर्पुरोमा हात राखेर बुढीतिर हेरे । बुढीका आँखाभरी आँसु टिलपिलाइरहे ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
