अब म रक्सी खान्न

कविता: अब म पा खान्न

धनञ्जय दवाडी

उतिबेला
विद्यालय छँदा
तिम्रा खसेका आँखी भौंलाई टिपेर
सोधे थें
तिम्रा इच्छा ।

रातो गुलाफको सुन्दर कली
मेरो हातमा राख्दै मुस्कुरायौ तिमी ।

त्यही किशोरवयका यादमा
आजकल
रुमानी बन्छु खाडीमा ।

साँच्चै सग्लै फर्किएछु भने गाउँमा
तिम्रो क्रेमुँ समाएर भन्ने छु
म चुरोट पिउन्न
पा खान्न
क्वेँपा त छुदैछुन्न के !

तिम्रो कसम भो ! फुलमती
यो उखरमाउलो गर्मीमा
तिम्रो सम्झनाको झरीले लछ्रप्प छु ।

सत्ये सत्ये फुलमती
अब
म सुध्रेको छु
तिम्रो गाउँ
र, मेरो देउराली
भुईं कुहिरोले ढाके पनि
हाम्रो पहिलो भेट
थरथराइ रहेका तिम्रा ओठ
चिम्सा परेला
थेप्चो नाक
तातो उच्छावास
नढाकिंदो रहेछ मनमा गढेपछि
यो दूर परदेशमा पनि
प्रत्येक पटक झरेको
आँखी भौं सम्हालेर सोधेको छू– फुलमती ।

भन न तिम्रो मनमा के छ ?
सत्ये म सुध्रेको छु क्या !
आजकल
कसम म अब पा खान्न ।

(पा: रक्सी, क्रेमुँ: पछ्यौरी, क्वोँपा: जाँड, गुरुङ भाषा)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Advertise
Hike & Write

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button