सुशीलाले गरिन् शर्मिलाको साहित्यिक शल्यक्रिया

तीन बालकथासङ्ग्रहको एकमुष्ठ समीक्षा

सुशीला प्रधानाङ्ग
बालकोट

भन्नेहरूले भन्ने गर्छन्, ‘मानिसको जीवन यात्रा अत्यन्त कठिन र असह्य छ ।’

सम्झनेहरूले सम्झने गर्छन्, ‘हो, वास्तवमा जीवन बाँच्न सहज छैन् ।’

शायद उक्त लिखित दुवै भनाईहरू थुप्रै मानिसहरूले आफ्नै ढङ्गबाट भोगी पनि सकेका छन् होला, महशुस पनि गरिसकेका छन् होला ।

साँच्चै, मानिसको जीवनमा दुःख र सुख, गाह«ो–सजिलो, जाडो–गर्मीजस्ता जिकज्याक अवस्थाहरू नआइ दिएको भए अथवा सधैँ उज्यालो घाम मात्रै, सधँै सुख मात्रै, सधैँ सजिलो मात्रै भइदिएको भए शायद मानिसहरूले अन्य अवस्थाहरूको सुखानुभूति वा दुखानुभूति गर्ने सम्भावनानै हुदैनथ्यो होला । उनीहरूको मन मुटुभित्र दया, माया, सेवा, उपकार, सहयोग, ममताजस्ता भावनाका नदी बग्ने सक्दैनथ्यो होला ।मानिसहरूको मनमा मानवताले बास गर्न सक्दैनथ्यो होला ।

प्रत्येक मानिसहरूको आफ्नो जीवन यात्रामा धेरै थोरै कथा व्यथा पक्कै रहेका हुन्छन् । ती कथाव्यथाहरूलाई साथै समाजमा घटिरहेका राम्रा नराम्रा घटनाहरूलाई स्रष्टाहरूले आफ्नो ढङ्गबाट आफ्नो शैली र भाषामा कथा, कविता, नाटक, उपन्यास सिर्जना गर्छन् र एउटा आकार एउटा रूप दिन्छन् यसरी सम्पूर्ण स्रष्टाहरूले इमान्दरितापूर्वक आफ्नो कर्म पूरा गरिरहेकाहुन्छन् ।

यसै सिलसिलामा यतिबेला मैले बालसहित्यलाई धेरै वर्षदेखि आफ्नो कर्म क्षेत्र बनाएर बालबालिकाहरूको सुन्दर भविष्य निर्माणको लागि शारीरिक, मानसिक, बौद्धिक र मनोरञ्जनात्मक ढङ्गबाट राम्राराम्रा, रमाइलारमाइला बालसााहित्यमा कलम चलाउनु भएका अत्यन्त मिलनसार र हँसिली शर्मिला खड्का (दाहाल) को कुरा गर्दै छु । शर्मिलाले बालसाहित्यमा थुप्रैथुप्रै कथा, कविता, नाटक, उपन्यास लेखिसकेकी छिन् ।

मैले पनि बालसाहित्यमा कलम चलाउने गर्छु । त्यसैले पनि मलाई अन्य बालसाहित्यकारहरूले सिर्जना गरेका पुस्तकहरू पढ्न र अध्ययन गर्न असाध्यै मन पर्छ ।

‘हेलो मोटु !’, एक दिन मेरो मोबाइलको फोन बज्यो ।

म मोटीलाई मोबाइलले पनि जिस्क्याउँदै ‘हेलो मोटु’ भनेको सुन्दा झनक्क पनि भए तर हतार हतार फोन उठाएँ ।

‘हेलो !’

‘सुशीलादिदी होइन ?’

‘हो, म सुशीलादिदी नै हो ।’

मेरो जवाफले उताबाट मीठो हाँसो गुन्जियो मैले स्वर चिनिहालेँ ।

‘शर्मिला बहिनी हो ?’

‘हो, दिदी ! तपाईँसित मेरो कति धेरै काम छ भेटौँ न यतै कतै कुनै ठाँउमा ।’

‘हुन्छ, कहिले? कहाँ ?’

‘बागबजार, बालसाहित्य समाजको अफिसतिर ।’

‘भोलि दिउँसो १२ बजेतिर ।’

‘हुन्छ, म आउँला ।’

भोलिपल्ट तिनले भनेकै समयमा पुग्ने बिचारले म घरबाट निस्केँ तर यहाँको बाटोमा हुने जामले मलाई समयमा पुग्न दिएन ।

मैले सिटमा बस्दै जाम भएर बसेका गाडीहरूलाई हेर्दै सोचिरहेँ हाम्रो यो देशमा जामको समस्या कहिले समाधान हुनेहोला? आफैले उठाएको प्रश्नसँग को उत्तर खोज्न घोत्लिन थालेँ ।

पि.के. क्याम्पसको गेट देखेँपछि पो म झसङ्ग भएँ । मलाई त्यही झर्नु थियो । हत्तपत्त गाडी रोक्न लागाएँ र भाडा दिई म बाहिर निस्केँ ।

म फटाफट बालसाहित्य समाजको कार्यालयको बाटो लागे । बाटोमा मेरो पाइलाहरू केही कदम मात्रै अघि बढेको थियो मैले शर्मिलाजी मतिर आइरहेको देखेँ ।

मेरो अगाडिपुगेपछि तिनले भनिन्. ‘दिदी नमस्ते !’

मैले पनि तिनलाई नमस्तेको जवाफ नमस्ते गर्दै भनेँ, ‘नमस्ते ! सरी ल, ढिला भयो ।’

त्यसपछि हामी पि.के. क्याम्पसको चउरमा गएर बस्यौँ । दुई दिदी बहिनी दुई तीन घण्टासम्म ढुक्क भएर बस्यौँ ।

त्यसबिच हामी दुईले बाल साहित्यका कुरा ग-यौँ । प्रौढ साहित्यका कुरा ग-यौँ । यसरी समय बितेको कुरा ग-यौँ । केही देशका कुरा ग-यौँ । यसरी समय बितेको पत्तै भएन । हामी दुईले केही समय निश्चिन्तरूपमा रमाइलो ग-यौँ ।

साँच्चै, मानिसको जीवनले रमाइलो खोज्दो रहेछ । केहीछिनको रमाइलोले नयाँ उर्जा प्रदान गर्दोरहेछ । रमाइलो र हाँसो बिनाको जीवन उजाड बसन्तको उराठ बगैँचाजस्तै लाग्दोरहेछ । हामी दुवै जनाले पनि आनन्दको महशुस ग-यौँ । मैले तिनको हँसिलो अनुहारलाई हेर्दै भनेँ, ‘यो पल मेरो लागि सदा सर्वदा स्मरणीय रहनेछ ।’

तिनले पनि मेरो कुरामा सही थपिन् ।

त्यसपछि मैले भनेँ, ‘शर्मिला बहिनी ! अब भन्नुस्, मलाई बोलाउनुको कारण ?’

तिनले हाँस्दै भनिन्, ‘काम एउटा थियो । गफै गफमा बिर्से ।’

तिनले आफ्नो झोलाबाट एक बन्डल बाल पुस्तकहरू निकाल्दै भुँइमा राखिन् ।

तिनले मेरो दुवै हात समात्दै भनिन्, ‘दिदी ! हेर्नुस न, आजसम्म पनि मेरा बालकथाको पुस्तकहरूको समीक्षा नै भएको छैन् । लौ न दिदीले गर्नुप-यो ।’

मैले तिनले ल्याएका बाल पुस्तकहरू सबै सरसरती हेरेँ । बालउपन्यासहरू,बालकथाहरू, बाल कविताहरू, बालनाटकहरू आम्मामा त्यति धेरै बालसाहित्यका पुस्तकहरू देखेरम छक्क परेँ अनि अकमक्क पनि परेँ ।

मैले कुरा सुनेर तिनले भनिन्, ‘पाठक भएरै समीक्षा गर्नुहोला नि ।’

तिनको कुराले खुसी भएँ र सोचेँ, ‘केही त लेख्नै पर्ला अब ।’

हामी दुवैले एक अर्कासित विदा माग्यौँ । मैले तिनका बाल पुस्तकहरू सबै बोकेर घर ल्याएँ ।

तत्पश्चात् तिनको बाल कथासङ्ग्रहका तीनवटा पुस्तकको अध्ययन गरेँ ।

यद्यपि मलाई तीनवटै बालकथासङ्ग्रहहरूको समीक्षा एकै पटक गर्दा राम्रो वा नराम्रो होला त्यो आफ्नो ठाँउमा छँदैछ । मैले भने तीनवटै पुस्तकहरूको आफ्नो पाठकीय दृष्टिकोण प्रस्तुत गर्ने प्रयास गरेकी छु ।

शर्मिला खड्काको जन्म २०२३ साल कार्तिक १२ गते धरानको भोटेपुलमा भएको थियो । तिनको बुबाको नाम टिकाबहादुर खड्का र आमाको नाम नरमाया खड्का हो । यसको साथसाथै तिनको श्रीमान्को नाम तेज बहादुर दाहाल हो ।

हाल तिनी काठमाडौँको नयाँ बानेश्वर राधाकृष्ण मार्गमा बस्दै आएकी छिन् ।

वि. ए.शैक्षिक योग्यता भएकी शर्मिलाले अठार वर्षसम्म शिक्षण पेशामा आफ्नो समयलाई लगानी गरेकी छिन् ।

तिनले आफ्ना कलमलाई सिर्जनाको क्षेत्रमा कथा, कविता, संस्करण, लेख, समालोचना, सम्पादनका साथसाथै बाल सहित्यका विभिन्न विधाहरूमा धारावाहिकरूपमा चलाउने गर्दछिन् ।

तिनले बालसाहित्यमा २०६० सालमा साझा बालपुरस्कार र सन् २०११ मा अनेसासको सर्वोत्कृष्ट नारी हस्ताक्षर स्व.डिल्लीराम तिम्सिना स्मृति पुरस्कार आदि जस्ता थुप्रै पुरस्कारहरू प्राप्त गरिसकेकी छिन् । यसका साथसाथै तिनले धरान बालसहित्य समाज, पाटन लेडी जेसिजजस्ता संस्थाहरूबाट पनि सम्मानित भइसकेकी छिन् ।

तिनले प्रौढ सहित्यमा कथा, कविता, संस्करण,समालोचनामा र बालसाहित्यमा कथा, कविता नाटक, उपन्यास आदि समग्रमा दुई दर्जन भन्दाबढी पुस्तकहरू प्रकाशित गरेर आफुलाई साहित्य आकाशमा चम्किलो नक्षत्रको रूपमा स्थापित गर्न सफल भएकी छिन् ।

साँच्चै, साह्रै मायालु छिन् शर्मिला । तिनको मधुर मुस्कान झन मीठो । तिनको मिलनसारिता र मीठो बोलीले तिनको व्यक्तित्वमा सुनको जलप लगाउने काम गरेको छ भन्दा मनमा खुशीको अनुभुति हुने गर्छ ।

अब मुख्य विषय लाग्न् पर्ला हैन र? मैले शर्मिलाका प्रौढ साहित्यको केही पुस्तकहरू अध्ययन गर्ने अवसर पाएकी छु । ती पुस्तकहरूले तिनको लेखन क्षमताको उजागर गरेका छन् । तिनको सिर्जना शक्तिलाई उच्च कोटिमा पु¥याएको छ । तिनको भावनाहरू सही त्यसो गरेमा राम्रैसँग लहरहरू बनेर बगिरहेको छन् । त्यतिमात्रै कहाँ हो र ? समाजमा विद्यमान गलत संस्कारहरू, अन्धविश्वास, राजनैतिक विकृतिहरू, महिलाहरूमाथि गरिएका भेदभावहरू, तिनीहरूको पहिचान अस्तित्वहरूलाई आफ्ना सिर्जनाहरूमा मुख्य विषय बनाएर आफ्ना शिल्प, कला अनि विम्बहरूद्धारा सौन्दर्यता प्रदान गर्न कहि कतै पनि चुकेको देखिएको छैन ।

प्रौढसाहित्यमा वयस्क भइसकेकी शर्मिला बालसाहित्यमा पनि त्यत्तिकै सफल भएकी छिन् । तिनको सबै बाल पुस्तकहरूमा एउटा आकर्षण देखिन्छ । मिठास छ । सुन्दरता छ ।

तिनको बालपुस्तकहरूको बारेमा आफ्ना धारण राख्न पाउनु पनि मेरो सौभाग्य हो भन्छु म ।

सर्वप्रथम मैले तिनको ‘विपिन र बुधराम’ शीर्षकको बालकथासङ्ग्रहलाई समीक्षाको लागि लिएको छु ।

यो बालकथासङ्ग्रह २०७४ सालमा स्वर्णिमा नव साहित्य प्रकाशन नयाँ बानेश्वर, काठमाडौंबाट प्रकाशित गरिएको छ । यस सङ्ग्रहभित्र जम्मा जम्मी ६ वटा कथाहरू छन् ।

मैले आफ्नो पाठकीय कर्मानुसार कथाहरूको क्रमैसँग आफ्ना दृष्टिकोणहरू लेख्न गइरहेको छु ।

पहिलो कथा हो– विपिन र बुधराम ।

यो बालकथालाई नै सङ्ग्रहको शीर्षक बनाइएको छ । यो कथा गाँउको जीवनशैली र त्यहाँको रहनसहनसँग आधारित रहेकोछ ।

कथालाई वर्णनात्मक ढङ्गबाट अगाडि बढाएको छ । दुई बालक विपिन र बुधरामलाई पात्र बनाएर गाँउका मानिसहरूका मिलनसारिता र उनीहरूले गर्ने सहयोगबारे अत्यन्त आकर्षक ढङ्गबाट कथा तयार पारिएकोछ । कथा अत्यन्त सुन्दर र बालबालिकाहरुको लागि ज्ञानवद्र्धक पनि रहेकोछ ।

कथा भने लामो भएजस्तै लाग्यो । कथाले गाँउलाई पनि माया गर्नु पर्छ भन्ने सन्देश दिएको छ ।

दोश्रो कथा छ– धरमसिंहको निर्णय ।

यसकथामा एकजना धरमसिंह नामको मानिसले समय परिस्थितिअनुसार जान नसक्दा दुःख पाएको घटना छ । ऊ बिरामी भएको बेला उसलाई अरूहरूले रगत दिएर बचाएको घटना हो । कथा रोचक छ ।

तेश्रो कथा हो – हरि नारायणको जुक्ति ।

यो कथा भक्तपुरको वोडे भन्ने ठाँउसँग सम्बन्धीत रहेको सामान्य किसानको बारेमा लेखिएको छ ।

हरिनारायण नामको किसानले आफ्नो बुद्धि र जुक्तिले आफ्नो बिग्रेको छोराहरूलाई सही बाटोमा ल्याएको वर्णन छ । यसका साथै मानिसलाई शिक्षाको सँगसँगै व्यवहारिक ज्ञान र सीपको आवश्यकता छ भन्ने विषयभित्र केन्द्रित रही कथाको रचना गरिएको छ ।

यो कथा भने वर्णनात्मक दङ्गबाट लामै भएको देखिन्छ ।

चौथो कथा छ– बैगुनीलाई गुनले मार्नु ।

यो कथा पनि अत्यन्त रोचक छ । यो कथा कर्ण बहादुर नामको किसान र जमिन्दारको बिचको असल र खराव चरित्रलाई विषयबस्तु बनाएर तयार पारेको छ । बारम्बार जमिन्दारले आपूmलाई दुःख दिए पनि जति सताए पनि किसानले जमिन्दारलाई गुन गरेको हुन्छ । कथा शिक्षाप्रद छ ।

पाँचौँ कथा हो– फेरि कहिल्यै नर्फिर्कने गरी ।

यो कथा अरू चारवटा कथाहरू मध्ये अलि फरक छ । सुरुसुरुमा कथा पढदै जाँदा रमाइलै हुन्छ तर अन्तिममा कथालाई दुःखान्तमा लगेर टुङ्गाइएको छ ।

मलाई बालबालिकाहरूले यो कथा पढिसकेपछि मन दुःखाउँछ कि भन्ने लाग्यो । हुन त बालबालिकालाई सुखदुख सबैको अनुभव गराउनुपर्छ भन्ने छ तै पनि भरसके नकारात्मक वातावरण र गलत प्रवृत्तिहरूबाट उनीहरूलाई बचाउँदै डो-याउदै लैजानु बालसाहित्यमा कलम चलाउनेहरूको कर्म हो भन्ने लाग्छ तसर्थ मैले यहाँ आफूलाई लागेको कुरा लेखिहालेँ ।

छेठौँ कथा हो– धनको मोह ।

यस कथामा धन सम्पत्तिलाई आफ्नो सम्पूर्ण जीवन सम्झने मानिसको कथा छ । उसले गलत तरिकाबाट सम्पत्ति कमाउन थाल्छ । उसले समाजको भलाइको लागि केही पनि गर्न खोज्दैन । उ स्वार्थी भएर आफ्नो परिवारलाई पनि माया गर्न छोड्छ । अन्तमा पछि उसको धनसम्पत्ति सबै नाश भएर जान्छ । उसलाई पछि पछुतो लाग्छ । समाजमा मानिस बसे पछि एक आपसमा जुनवेला पनि सहयोगको आवश्यकता पर्दछ भन्ने सन्देश दिएको छ ।

पुनः म शर्मिलाको अर्काे बालकथासङ्ग्रह ‘दिच्छाको पुतली’को बारेमा केही लेख्ने जमर्काे गर्दैछु ।

‘दिच्छाको पुतली’ बालकथासङ्ग्रहमा जम्मा जम्मी सातवटा बालकथाहरू छन् ।

उक्त कथासङ्ग्रह २०७४ साल स्वर्णिमा नवसाहित्य प्रकाशनबाट प्रकाशित गरिएको छ ।

मैले सबै कथाहरू पढेँ । पाठकीय दृष्टिकोणले मैले यहाँ प्रस्तुत गर्न गइरहेकी छु ।

सर्वप्रथम सङ्ग्रह भित्र रहेको पहिलो कथा ‘भाइको माया”’लाई अगाडि सार्दैछु ।

यो कथा पारिवारिक वातावारणसँग गाँसिएको छ । बालबालिकाहरूको मनोविज्ञानसँग जोडिएको छ । परिवारिक माया स्नेहसँग लोलोपोलो भइरहेका केटाकेटीले घरमा अर्काे सानो सदस्यहरूको आगमन पछि उनिहरूले परिवारको सदस्यहरूबाट माया पाएन भने ती बालबालिकाहरूको मनमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई कथा बनाएर अत्यन्त सरल दंगले प्रस्तुत गरेकीछिन् ।

दोश्रो कथा हो– दिच्छाको पुतली ।

जो यस कथासङ्ग्रहको शीर्षक पनि हो । यस कथा बारे मैले आफ्नो दृष्टिकोण यसरी राखेँ ।

दिच्छा नामकी सानी नानीलाई पुतली खेल्न खुब मन पर्छ । तिनलाई विरामी पर्दा औषधी खान मन गर्दिनन् । तिनकी पुतली एकदिन विरामी प¥यो भनेर खोज्छिन् । तिनको पुतलीले पनि औषधी खान मान्दिनन् । यसै बिच तिनको आमाले भनेको नमान्ने पुतलीको उदाहरण दिन्छिन् र दिच्छालाई औषधि ख्वाउँछिन् । कथा रमाइलो छ ।सानासाना नानीहरूलाई यो कथा औधी मन पर्नेछ । यसको साथसाथै यसै सन्दर्भलाई लिएर अर्काे कथा ‘पुतलीको औषधी खाइन्’ शीर्षकमा लेख्न पनि सकिन्छ ।

तेश्रो कथा हो– आयुसी ।

यो कथा पनि अत्यन्त रोचक छ ।सन्देशमुलक छ । कथाको माध्यमद्धारा कथाकारले अत्यन्त महत्वपूर्ण विषय बारे जानकारी गराएको छ ।

गाँउमा राम्रा अस्पतालहरू हुँदैनन् जसको फलस्वरूप अचानक त्यहाँको मानिसहरूलाई ठूलै रोग लागेर विरामी परेको अवस्थामा आपतकालीन उपचार गराउन आउनुपर्छ ।

कथाकारले गाँउमा कथाको माध्यमद्धारा यस कथाको पात्र सानी नानीलाई गाँउमा पनि राम्रो अस्पताल बनाउँछु भन्ने वचन व्यक्त गर्न लगाएकी छिन् ।

यसको तात्पर्य हो– राज्य र प्रदेश सरकारले यसवारे यथाशक्य गाँउमा पनि राम्रो अस्पतालको व्यवस्था गर्नु प¥यो भन्ने कुराको ध्यानकार्षण गराएकी छिन् ।

चौथो कथा हो– पासवर्ड ।

प्रियङ्का नामको सानी नानीले आफ्नो चालाकीले आफूलाई अपहरणकारीबाट बचाएको कथा छ ।

यस कथाले हरेक अभिभावकहरू व आमाबुबाहरूले आफ्ना बालबालिकाहरूलाई आफ्नोवरिपरि हुन सक्ने गलत कुराहरूबाट सावधान गराउनको लागि कथाको माध्यमद्धारा सन्देश दिएको छिन् । कथा रमाइलो छ ।

‘अजय र मोबाइल’, यो संगङ्ग्रहको पाँचौँ कथा हो ।

यो कथा हजूरबुबा र नातीको बीचको गहिरो आत्मीय मायामा आधारित छ । यो कथाले जेष्ठ नागरिकको सम्मान गर्नुपर्छ । परिवारले उनीहरूको राम्रो हेरविचार गर्नु पर्छ भन्ने सन्देश दिएको छ । नातीले आफ्नो हजुरबुबासँग गरेको सम्वादहरु अन्यन्त मायालु छन् । कथाको लेखन नहडबडाइकन अगाडि बढेको छ । कथा राम्रो छ ।

Advertise
Hike & Write …

छेठौँ कथा हो– मेरो मेमे कता गयो ।

यो कथा एउटी सानी नानी र बाख्राको बिचको मायासँग सम्बन्धित रहेको छ । कथा रमाइलो र रोचक छ ।

एकदिन त्यो मेमे नामको सानो वाख्रालाई तिनकी आमाले तिनलाई थाहै नदिइकन बेचिदिन्छिन् । यो कुरा थाह पाएर तिनी धेरै दुःखी हुन्छिन् । तिनले वाख्रालाई कताकताबाट खोजेर ल्याँउछिन् । वाख्रालाई लिएर तिनी घर गइन भने बाख्रा काट्छ भन्ने डरले तिनी रातभरि एउटा कटेरोमा बाख्रालिएर लुकेर बस्छिन् ।

कथा मार्मिक छ । आफूले पालेको पशुपंक्षीहरूसँग बच्चाबच्चीहरूको लगाव हुन्छ । त्यो लगावलाई माया नै भनिन्छ शायद ।

मेरै घरको एउटा कुरा यसै सिलसिलामा लेख्न मन लाग्यो । मेरो चारवर्षको नाति अविरलले उठ्ने वित्तिकै एक्कोरियममा रहेका माछाहरूलाई ‘गुड मर्निङ माछा’ भन्ने गर्छ । एकदिन एउटा माछा म¥यो भनेर उसको अँध्यारो भएको अनुहारलाई मैले अझसम्म सम्झिरहन्छु ।

त्यति मात्रै होइन उक्त कथाले मैले सत्य घटनामा आधारित भएर लेखेको सुदीप र दशैँको बोका बालकथाको स्मरण पनि गराएको छ ।

अब यस संगङ्ग्रहको अन्तिम कथा हो- बन्द नभइदिए हुन्थ्यो ।

यो कथा विशेषत बजार बन्द यातायात बन्द, नेपाल बन्द, जस्ता बेलाबेलामा हाम्रो देशमा भइरहने बन्द-हडतालसँग आधारित छ ।

बन्द हडतालले विद्यालयहरू पनि बन्द नकारात्मक असर बारे अत्यन्त राम्रो तरिकाले कथा तयार पारेकी छिन् कथाकारले ।

हो, वास्तवमा धेरै दिनहुने बन्द हडतालको कारणले सबभन्दा पहिले त्यसको असर बालबालिकाहरूलाई पर्न जानु स्वाभाविकै हो । त्यस्तो अवस्थामा उनिहरूले समय विताउनको लागि अन्य कुराहरू खोज्न थाल्छन् ।

त्यस्तो अवस्थामा अभिभावकहरूले ध्यान दिन सकेन भने ती बच्चाहरूको अनि आनिबानीमा फरक आउन थाल्छ । जसको फलस्वरूप उनीहरूको मनस्थितिमा उलटपलट हुन सक्छ ।

मोवाइल आजको आवश्यकता हो तर यसले प्रत्यक्ष अप्रत्यक्षरूपमा बच्चाहरूमा परिरहेको असरबारे हामी सबै जागृत हुन जरुरी छ । मैले यहाँ यति लेखिहालेँ । यसलाई अन्यथा नलिनुहोला । कथा रमाइलो छ ।

पुनश्चः म शर्मिलाको अर्काे कथासङ्ग्रह ‘शिवाको कथा’ भित्र रमाउन जाँदै छु ।

‘शिवाको कथा’ शीर्षकको कथासङ्ग्रह भित्र जम्माजम्मी ६ वटा कथा छन् । यस कथासङ्ग्रह भित्र विशेषतः बस्तुलाई पात्र बनाएर कथाको सिर्जना गरिएको छ । पहिलो सङ्ग्रहभित्र समावेश गरिएको कथा हो ‘शिवाको कथा’ । यो कथा गाडीको टायर बारे तयार गरिएको एउटा आत्मपरक कथासँग जोडिएको छ ।

कथाकारले टायरको नाम शिवा भनेर राखेकी छिन् । यस कथामा टायरको काम र माम अनि आफ्नो महत्वबारे टायरलाई आफैँले भन्न लगाइएको छ ।

यसका साथसाथै सडकहरूमा विरोध र हडतालको नाममा टायर जलाएर मानिसहरूलाई दुःख दिएको दुखेसो पनि उसलाई कथाको माध्यमबाट भन्न लगाएकी छिन् ।

त्यतिमात्रै कहाँ हो र ? टायर बाल्दा निस्कने धुँवाबाट मानिसहरूलाई हुने वेफाइदालाई पनि अत्यन्त सरल र रमाइलो ढगबाट प्रस्तुत गरिएकोछ । यस कथाबाट बालबालिकाहरूले पक्कै पनि टायरबारे धेरै कुराको जानकारी लिन सक्छन् ।

यस सङ्ग्रहमा रहेको दोश्रो कथाको नाम हो– चुलबुले बादल ।

यस कथामा आकाशमा उड्ने बादललाई पात्र बनाएर कथालाई आकर्षक बनाएकी छिन् । कथा शीर्षक जस्तै चुलबुले तरिकाको छ। कथा रमाइलो पनि छ ।

यस कथामा बादलको जन्म र कर्मलाई विषय बनाएर लेखिएको छ । सानो बादलको टुक्रालाई चुलबुले नाम दिएर कथालाई रमाइलो बनाएकी छिन् ।

कथामा एक्लै एक्लै हिँड्दा दुःख पाइने र सगोल अथवा समूहमा बस्दा अरूहरूले हेप्ने र सताउने सक्ने भन्ने कुराको अर्ती दिन खोजिएको छ । कथा राम्रो छ ।

अब आउँछ तेश्रो कथा– नङ टोक्ने केटी ।

उपरोक्त कथाहरूमा जस्तै यस कथामा पनि कथाकारले नङलाई पात्र बनाएकी छिन् । यो एउटी सानी नानीले आफ्नो औँलाका नङहरू टोकिरहने बानीको बारेमा छ ।

नङ टोक्दा र नङ मानिसहरूको पेटभित्र गई सकेपछि गर्ने असर बारे सरल र रमाइलो तरिकाले बालबालिकाहरूलाई सम्झाउन खोजिएको छ । यो कथालाई बालबालिकाहरूले अबश्य पनि मन पराउने छन् ।

चौथो कथा हो– तँपाइहरू जस्तै म ।

यो कथा पनि एउटा बस्तुलाई नै पात्र बनाएर तयार गरिएकोछ । कथाको पात्र हो मोटरसाइकल ।

यस कथामा पनि पात्र आफैले बोलेको छ, पात्रले आफ्नो काम र माम बारे पनि संवादको माध्यमद्वारा जानकारी गराएको छ । यसका साथसाथै मोटरबाइकमा चढेपछिका फाइदा वेफाइदा बारे पनि अत्यन्त रमाइलो तरिकाले अवगत गराउने काम गरेको छ ।

अर्काे पाँचौँ कथा हो– म बाटो हुँ ।

यस कथामा पनि कथाकारले बाटोलाई पात्र बनाएकीछिन् । मलाई लाग्छ विभिन्न स्रष्टाहरूले यस कथाको पात्रलाई लिएर आ–आफ्नो ढंगले भिन्न भिन्न विधाहरूमा रचनाहरू तयार पारेको होलान् त्यो आफ्नो यथास्थानमा सुरक्षित भएर पनि बसेको होला । यहाँ बाटोलाई पात्र बनाएर अथवा विषय बनाएर बालबालिकाहरूको लागि योग्य कथा कमै बाल साहित्यकारहरूको सिर्जना गरेका होलान् भन्न खोजेकी हुँ । ती कमै बालसहित्यकारहरू मध्ये यस बालकथासङ्ग्रहका बालकथाकार शर्मिलालाई पनि जोड्नु पर्छ भन्ने मेरो मान्यता हो ।

यस कथामा बाटोका विभिन्न पक्ष विपक्षहरूलाई उठान गरि बालबालिकाहरूको लागि उत्तम कथा बन्न सफल बनेको छ ।

यस सङ्ग्रहको अन्तिम कथा हो– हिँउरानीको कथा ।

यो कथा अत्यन्त रोचक र मार्मिक छ । हुन त यस सङ्ग्रहभित्र रहेका सबै कथाहरू मलाई मन परेको छ । विशेष गरेर यो कथाले मेरो मनै छोयो । कथाको प्रस्तुती, कथाको सुन्दरताले मलाई मुग्ध बनायो ।

यस कथामा पनि हिँउलाई हिउँरानीको नामको पात्र बनाएर हिउँको दुःख बारेमा वर्णन गरेको छ ।

यस कथाले हिमालको सौन्दर्य हिउँले मात्र सम्भव छ भन्ने कुरा स्पष्ट पारेको छ ।

आजको परिवेशमा पृथ्वीको तापक्रम बढिरहेको अवस्था छ । यसले गर्दा हिमालमा हिउँ पग्लदै जाने क्रम बढीरहेको छ । जसको फलस्वरूप हिमालको मात्रै होइन पृथ्वीको पनि सुन्दरतामा ह्रास आउने पक्कै देखिन्छ ।

यस विषयमा खोजिनिति गरि समाधानको उपाय निकाल्नु पर्छ । राज्यले पनि यसबारे गम्भीर हुनु जरुरी छ । आदि पक्षहरूलाई समेटेर कथाकारले हिउँको वेदनालाई प्रस्तुत गरेकी छिन् ।

अन्ततः समग्रमा मैले पढेका तीनवटै कथासङ्ग्रहको लगभग मेरो आफ्नो पाठकीय दृष्टिकोण राख्ने जमर्काे पारेर सिध्याएँ । यसमा म कति सफल भएँ भइन त्यो आफ्नो स्थानमा छँदैछ ।

तीनवटै कथा सङ्ग्रहका केही केही कमजोर पक्षहरू पनि छन् ।

कथा बालकथा नभइकन निवन्धको रूपमा देखिएको छ । कथाहरूमा धेरैजसो संवादहरू कम छन् । धेरै जसो कथाहरू वर्णनात्मक र आत्मपरक विद्यामा आधारित रहेको छ । यसले गर्दा बालबालिकाहरूले पढ्नमा अल्छि गर्न सक्छन् कि भन्ने मेरो धाराणा रहेको छ ।

जे होस्, जस्तो होस्, लेख्दै जाने हो एउटा बाल साहित्यकारको धर्म र कर्म यसैमा सीमित हुन्छ । साधना यसको अध्ययनशीलता हो ।

ती कथा सङ्ग्रहहरूले बालसाहित्य समग्रमा हिरामोतीको जस्तो महत्व अवश्य पाउने छ भन्ने मलाई विश्वास छ ।

कथाहरूमा सजिएका सीप र बिम्बहरूले बाल बालिकाहरूलाई पढ्नमा उत्साह दिने काम गर्छ भन्ने मलाई लागेको छ । विशेष शर्मिलाले लामो समयसम्म सानासाना बालबालिकालाई नेपाली विषय पढाएकी भएर होला बालबालिकाको मनोविज्ञान नजिक पुग्न सफल भएकी छिन् भन्ने मलाई लाग्दछ । यसर्थ पनि शर्मिलालाई सिपालु बालसाहित्यकारको उपाधि दिन मलाई कत्ति पनि हिच्किचाहट लागेन ।

मैले यसो भनिरहँदा तिनलाई मैले अब उप्रान्त अभ्यास गर्नु पर्दैन भन्ने होइन । अभ्यास निरन्तर भैरहेको खण्डमा लेखनमा अझै निखार र परिपक्कता आउने सन्दर्भलाई मैले यहाँ लेख्नै पर्छ । मैले तिनीबाट यही आशा र अपेक्षा राखेको छु ।

अन्तमा फेरिफेरि पनि तिनका नयाँनयाँ विषयबस्तुहरूलाई समेटेर लेखेका कथाहरूले हाम्रो बालबालिकाहरूको सामाजिक र मनोवैज्ञानिकरूपमा बौद्धिक विकास हुन सकोस् । ती बालबालिकाहरूले राष्ट्रप्रति समर्पित भई प्रगतिशील ढङ्गबाट यो देश र समाजको रूपान्तरणमा टेवा दिन सकोस् । यही मेरो चाहना, यही शुभकामना ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button