
कथाः ‘पुष्पा- द राइज’ भर्सेस घाम एन्ड बदाम
बदाम र घाम
सुरज पोख्रेल
पोर्चुगल, हाल: जर्जिया, युएस
घाम न्यानो लागेको थियो । एक हप्तापछि घामको किरण देखिँदा रमाइलो नलाग्ने कुरै आएन । आज उनको छुट्टी । हामी एउटै कोठामा थियौँ । म टीभी हेर्न सहज हुनेगरी सोफामा खुट्टा पसारेर बसेको थिएँ । ठ्याक्कै सोफापछाडि गलैंचामा उनी सुतेकी थिइन् । उनी बोलेको मैले सुनिरहेको थिएँ ।
‘आहा ! आज त कस्तो मिठो घाम लागेको छ । कस्तो रमाइलो । आऊ तिमी पनि घाममा पल्ट’, मलाई घामको प्रलोभनमा पार्न खोजिन् । उनलाई असाध्यै घामको लोभ लाग्छ ।
‘तिमी सुत, मलाई चैँ दिउँसो खासै सुत्न मन लाग्दैन’, म सोफाबाट हलचल नै नगरी बोलेँ । सोफामै बसेँ । मुभी हेर्न सुर गरेँ ।
‘तिमी जे सुकै गर, म सुतेँ’, यसो भन्दै उनले हाम्रो भद्र मौखिक सहमतिलाई बीट् मारिन् ।
सुतिन् ।
निदाइन् ।
निदाउनु अगाडि म यहिँ थिएँ । घाममा पल्टिने चाँजोपाँजो मिलाउन मैले पनि सहयोग गरेँ । उनी सोफा र टीभीको बीच ओहोरदोहोर गर्न सहजताको लागि बिछ्याइएको गलैंचा भएतिर गइन् । टेबलको खुट्टा टेकाउनु अगाडि आँखाले भुँईको नापजाँच गरिन् । ढोका खोल्दा नठोक्किने हिसाबमा गलैंचा माथिको टेबललाई सारिन् । लगत्तै गलैंचाको एउटा चोसो समातेर घिसार्दै सोफापछाडि पुर्याइन् । अगाडिको भाग खाली भयो ।
म आफ्नै सुरमा फिल्म ‘पुष्पा- द राइज’ कसरी हेर्न मिल्छ भनेर तिकडम लगाउँदै थिएँ । लाग्यो । फिल्म सुरु गरेँ ।
‘सोफा बीच्चमा राखेर त हो नि ! पहिले कत्ति सजिलो थियो । यताको गलैंचा फुत्त उता सार्यो । सुत्यो । मलाई दुख, हैरानी । कत्ति न सोफाबीच्चमा तेर्स्याएर ! हुँ !’, हामी गफ्फिरहन्छौँ । उनी सन्दर्भ खोजिरहेकी थिइन् ।
‘ल ल ! म हेल्प गरिदिन्छु मेरी फुलन्दास । ठुस्स रोटी फुले जस्तो फुलिहाल्नु पर्ने । तिम्ले रोटी हाल्दा त पापड जस्तो हुन्छ त ! यसरी नै फुले पो अलि नरम हुन्थ्यो रोटी पनि । यति गर्न पनि । त्यो गलैंचा बेरेर लाग्दा सजिलो होला कि !’
फिल्म पज गरेँ । गलैंचा तानेर सोफापछाडि नै पुगिसकेको थियो ।
चप्पल नलगाई टेक्न मन लागेन । चप्पल राखेको ठाउँमा हेरेँ । देखिनँ । भुईँमा गलैंचा छैन ।
‘मेरो चप्पल फेरि तिमीले लग्यौ । हैन, तिम्रो मैले नबुझेको कुरा, ट्वाइलेट बस्दा चप्पल फुकाल्ने कहाँको चलन रहेछ ? अमेरिकामा ट्वाइलेट जाँदा चप्पल फुकालेर जाने । अनि खाली खुट्टा बाहिरसम्म आउने । त्यसपछि मेरै चप्पल लगाउने ! कि के हो बरै ?’, उनको मतिर फर्केको हेराईले नै मैले लख काटेँ, उनलाई मेरो ठट्टा पचेन । उनी रिसाउने तरिका किसिम-किसिमका छन् । यो किसिम खासै डराउनु पर्ने प्रकृतिको हैन । र, पनि तत्काल नै अनलाइन च्याटको हाँसो हाँस्दै ‘सरी ! सरी !! हि हि हि’ भनेँ ।
म सोफाबाट उठेर उनलाई घाममा सुत्ने ओछ्यान मिलाइदिन आएकोमा खुसी थिइन । उनको हाउभाउमै देखिन्थ्यो ।
‘कत्ति न उसको चप्पल लगायो भन्दैमा बढी बोल्नु पर्छ ?’, चप्पल दिइन् । भुँईको चिसोले खुट्टा आत्तियो । चारैतिर आँखा डुलाइन् । चप्पल देखिनन् । चिसोले हुट्हुटी लगायो । आफ्नो चप्पल कता छ खोज्दै हिँडिन् । भेटिएन । अर्को कुनाबाट भनिन्, ‘चप्पल खै के मेरो ?’
म नबोली बसेँ । मेरो जवाफ नआएपछि मलाई देखिने ठाउँसम्म आइन् । मतिर दोषी नजरले हेरिन् ।
त्यहिँ उभिइन् ।
म केही नबोली सुनेको नसुने झै गरेँ ।
फेरि दोहोर्याइन, ‘मेरो चप्पल देख्यौ ?’
हाँसो रोकेँ । उनलाई हेर्दै नहेरी बोलें, ‘अब तिम्रो चप्पल, न मलाई ठीक होस् । त्यै पनि तिमी बाथरुम जाँदा, खाना बनाउँदा चप्पल फुकाल्दै जान्छ्यौ । त्यतै होला नि । छैन ?’ म जिस्क्याउँदै थिएँ ।
उनलाई विश्वास भयो, ‘चप्पल उनले राखेर बिर्सेको हैन । लुकाइदिने काम भएको हो ।’
‘ह्या । मैले कैुले चप्पल खोलेर खाना बनाएँ । (रिसाएजस्तै गरिन्) आज मेरो बिदाको दिन मिठ्ठो लञ्च बनाएर खुवाउने मुड पनि हरायो । सक्दिन म ! धेरै रिस नउठाऊ !’, चप्पल जति नै खोजे पनि नभेटिने बुझिन् । खासमा चप्पल म बसेकै सोफामुनि थिए ।
सबै ध्यान घामतिरै केन्द्रीत गरिन् । विस्तारै ठुलोबाट सानो झ्यालतिर घाम सर्दै थियो । ठुलो झ्यालबाट पस्ने घामको मज्जा लिन उनलाई जो हतारो थियो ।
‘ओहो ! कताबाट एक्कासी माया पलायो नि ! राजालाई’, कुर्सी भित्तामा टँस्साउँदै भनिन् । उनी फुर्किदै पुलकित भएको उनको लवजमै झल्किन्थ्यो ।
‘तिमी माथिबाट समात’, उनी माथि मानेर कार्पेट्को माथि समाइन् । मैले आफु भएपट्टि तल मानेर अर्कोपट्टि समातें । गलैंचा जुरुक्क उठयो ।’एक्स’ र ‘वाइू’को हिसाब मानेर मिलेको जस्तै मिल्यो, गलैंचा । गलैंचा भुईसँग टाँस्सियो ।

‘कति फोहोर होला यसमा’, जिस्किँदै भनेँ ।
‘भो भो तिमी आउनु अगाडि भ्याकुम लगाएको मैले ! त्यसरी हेपेर नभन । लिखितमको अगाडि बखतम चल्दैन ! भोलि तिम्रै अगाडि सफा गर्छु । भयो ?’
असहमतिमा आक्रोशको झिल्का छ कि छैन भनेर उनको मुख मुद्रा हेरें । ‘रिसाउने तरखरमा छिन्’ भन्ने बुझ्न मलाई गाह्रो परेन । प्रसंग बदल्नु उचित ठानेँ ।
‘अनि यत्तिकै सुत्ने ? घाम सेलाउने बेला भैसक्यो । अब, तिम्रो उसी-उसीले घाम ओसिन्छ’, मुखबाट फुत्त निक्लेपछि सम्झेँ । उनलाई मन नपर्ने शब्दहरू मध्य’उसी-उसी’ एक हो ।
कुनै बेला मैले प्रयोग गर्दा उनको सधै दोहोरिने जवाफ’कहिल्यै घर नछाडेको दुई वर्षसम्म एक्लै अपार्टमेन्टमा पहिलोपल्ट बसेँ ! पकाएर खाएकै छु । काम गरेकै छु । कसैले कठै ! भनेर मेरो काम घटेको छैन’ सम्झेँ । म चुपचाप भएँ ।
उनले खाली ठाउँ भर्न बोलिन्, ‘भो-भो यो नाथे कुर्सी सारेर हामी आफै पनि ओछ्यान लगाएर सुत्न सक्छौँ । तिम्रो फिल्म सके भई गयो नि । फिल्म हेर !’
उनलाई सुत्न मिल्ने ठाउँ बनाउन सहयोग गर्दै पनि थिएँ । तन्नाको एकापट्टिको टुप्पो उनीतीर फ्याकेँ, उनले वास्ता गरिनन् । छेवैमा गएर ‘यो समाऊ । म यताबाट मिलाइदिन्छु’ भनें । दुवैले दुवै हात फैलाएर गलैंचा भरियो । तन्नाले । भुई सुतौँ-सुतौँ लाग्ने बन्दै गयो ।
सुतिन् ।
‘लाऊ पानी ।’
‘घाममा राख ।’
‘उठ्दा खरो भा’को हुन्छ । हुन त तिमीलाई राती राती मात्र खरो हुन्छ’, म जिस्किँदै थिएँ । हाँस्दै थिएँ ।
पानी घामपट्टि मैले नै राखिदिएँ ।
‘हावा मान्छे । म त सुतेँ’ भन्दै तन्नामाथि ओछ्याएको पातलो ब्ल्यांंकेटमाथि सुतिन् ।
पल्टिने वित्तिकै आँखा चिम्म गर्दै घामको भरपूर आनन्द लिन थालिन् । उनी त्यो घाम र लचकदार कार्पेटमा फुस्सै निदाउने छिन् । उनको घाम देखेपछिको मेहेनत थोरै थिएन । घामले जादु गरे जस्तै फुस्स निदाइन् ।
फाइट् आउँदा साउन्ड चर्को । पृष्ठभुमिमा बजेको आवाजले डिस्टर्व गर्दोरहेछ । मैले सानो पारे जस्तो लाग्थ्यो ।
‘अलि सानो बनाऊ न, प्लिज !’, उनी बोलेको सुनेँ । भुँईमा वचन खस्न नपाउँदै भोल्युम डाउन गरिहालेँ ।
फिल्ममा तरहतरहको सिन आइरहेको थियो । जे होस कथा रोचक बन्दै थियो । मलाई घाम कता पुग्यो भनेर लेखाजोखा राख्नु नै थिएन ।
अफसोच ! फिल्मको रोचक पार्ट आइपुग्दा उनलाई घामले छोडेछ । फेरि त्यो ठाउँमा घाम रहुन्जेलमात्र न्यानो हुने हो । जब घाम जान्छ, पुरै सेपिलो हुन्छ । चिसो स्याँठ कताबाट घुसेर पुरै तातेको शरीर ओस्सिनु आगाडि ब्युँझिन् । फिल्म सक्किन ठ्याक्कै १५ मिनट बाँकी थ्यो ।
‘तिमीलाई त्यै साउथ इन्डयन मुभी भए पुग्ने रैुछ । कत्ति न ! म काममा हुँदा त आइ मीस यु बेबी !’
‘देख्दै छु !’
‘के हो विस्तारै थाहा हुँदै छ ।’
‘मेरै डे अफको दिन त मलाई टाइम दिए हुन्न ?’
‘पुष्पा- द राइज’मा रश्मीका मन्दानाको सोलिड त के किलर लुक्समा रिल घुमिरहेको थियो । (सिन दुवै कुम हल्लाउँदै- तुलानात्मक रूपमा एकापट्टिको कुम अलि माथि सार्दै- छड्के आँखाले अलिकति मुण्टो मर्काउने र हत्केला उल्टो पारेर चिउँडो पुछ्ने !) रश्मीका मन्दानावाला गज्जब सिन ठ्याक्कै चलिरहेको थियो ।
यो सिन टिकटक, युट्यवमा खुबै चर्चा छ । मैले यो सिन अटेर गरेर नै हेरें । सकें । टीभीबाट उनले बोलेको कुरामा तुरुन्तै ध्यान घुमाएँ ।
हुन पनि हो । उनको डे अफको बेलामा नै मैले साउथ इन्डियन फिल्म हेर्नुपर्ने ? उनले तेर्स्याएको प्रश्न समय सान्दर्भिक भयो । म अवाक् भएँ ।
घडीतिर आँखा डुलाएँ । भोक लाग्ने बेला भयो । घरमै दिनभरी कामै नगरी सुतेर बसे पनि भोकले आफ्नु काम छोड्दैन । भोकको समयमा भोक लाग्छ । अब यो नर्थ साउथ मुभी को चक्करमा लाग्नु हुँदैन । रिमोट कन्टोल थिचें । फिल्म झ्याप्प बन्द भयो ।
‘तिम्रो कहिल्यै नसकिने मुभी ! ब्युँझिएँ’, छेउको पानी पिइन् ।
‘घामले आफुलाई मात्रै न्यानो बनाएछ । बोतलको पानी तताउन बिर्सिएछ’,मेरो कुरालाई वेवास्ता गर्दै उनले सोधिन्,’तिमीले थर्मसको पानी यसमा राखेको हो कि फिल्टरको ?’
उनलाई चिसो पानीले जिब्रोमात्र हैन, जम्मै दाँतलाई चिस्याउन भ्याएछ । मस्त निदाएर ब्युँझिनासाथ परेको चिसो पानीले उनको मुड राम्रो हुने त कुरै भएन । एकापट्टिको गाला र आँखा खुम्च्याइन् । यसो गर्दा मुखको एउटा कुनापट्टि सानो प्वाल बन्यो । त्यही प्वालबाट मुखभित्र हावा तानिन् । यसो गर्दा बाहिरको अलि न्यानो हावा दाँतमा ठोक्कियो । एकातर्फबाट हावा मुखभित्र खटाउँदै पठाइन् । दाँतलाई शीतल बनाउने न्यानो हावा । यो प्रक्रिया केही बेर चलिरह्यो ।
दाँतमा ठोक्किएर शब्द ओस्सिने भएर होला, हावाले दाँतलाई अलि न्यानो बनाइन् । जिब्रो शरीरकै सबैभन्दा छिटो न्यानो हुने अंग हो जस्तो लाग्छ । जिब्रो दाँतको वरिपरी डुलाइन् । जिब्रोले दाँत लिप्दा जिब्रो चिसो भयो ।
‘कस्तो चिसो !’
‘न्यानो दाँतमा ठोक्किएर निक्लिने वाणी नै मीठो’, मैले जिस्क्याँए ।
‘म ट्वाइलेट जान्छु । ऐया नि ! कस्तो कुर्कुच्चा दुखेको । करकर् खा’छ भन्या । ज्यान पनि त्यस्तै दुखेको छ । दुई दिन ड्युटी गरेपछि त एक दिनले रेस्ट नै पुग्दैन्’, आफैँसँग बोल्दै उठिन् । उनलाई मेरो ध्यानसँग मतलब भएन । आँग् तन्काइन् । उठिन् ।
‘कति सताउन सक्ने होला ? ई यो चप्पल कहाँबाट आयो भर्खरै ?’, म भएतिर सोफामा आइन् । मैले उनको हातलाई च्याप्प समातेँ । पाखुरा हलचल नहुने गरेर कसें । काउकुति लगाइदिएँ । उनी भुतुक्कै भइन् हाँसेर । उनलाई यसो औंलाको टुप्पोले छोइदिनु मात्र पर्छ हुरुक्कै हुन्छिन्- हाँसेर ।
‘बदाम खाउँ ।’
भोक लाग्ने क्रम बढ्दो थियो । के खाउँ र कसो गरु भै’सकेको थियो । भोकले टिप्पा नै खेलाउँछ मलाई त झन् । उनलाई भोक नलाग्ने कुरै भएन ।
गलैंचामाथि बस्यौँ । ब्ल्यांकेट सोफामाथि राखेँ । बदामको पोको सङ्गै चिप्स र कुकिजका पोका पनि ल्याएँ । सबैभन्दा सुरुमा बदामको पोको खोलेर उनको अगाडि राखिदिएँ । खोस्टा राख्न अर्को पोलिथिन् छेउमा राखेँ ।
‘ईइ यो बदाम त कति नमीठो !’, मुख बिगार्दै उनले भनिन् ।
‘हो र ? अनि तिमीले पहिले नै ल्या’को रहेछौ । एक प्याकेट बदाम । मैले त्यो पनि यसैमा मिसाइदिएँ । अस्ति सफा गर्दा भेटेको’, मेरो कर्तुत सुन्ने बित्तिकै उनको आँखा र निधार खुम्च्यो । पुरै विरोधको धर्सा पो निधारमा देख्छु !
‘हात्ती चले बजार तो कुत्ता भुके हजार ! अचम्ममा तिमी- कति स्मार्ट म भनेर । अब पुरानो न नयाँ सबै एक साथ सकिन्छ’, सँगसँगै मैले पनि बदाम छोडाएर क्वाप्प मुखमा हालेँ ।
कलवीष ! कति नमीठो । मुख पुरै बिगारीदिने स्वाद ।
अब म केही नबोली मीठो बदामको खोजीमा लागेँ ।
अर्को पनि त्यस्तै ।
लौ फसाद ।
जुन खायो त्यो उस्तै पर्छ ।
‘फेरि बदाम चपाएर पुरै मुखभरि घुमेपछि मात्रै नमीठो कि नमीठो थाहा हुने’, फेरि अर्को पनि उनैलाई नमीठो परेछ । मेरो पनि मुखमा उही बारीको बदाम परेको थियो । तर भनुँ कसरी ? पिडीत भए पनि गल्ती गर्ने मै हुँ । बोल्नै ठाउँ नै बाँकी थिएन ।
‘सोच्दै नसोची किन मिसाएको के ? तिम्रो यो ताजा खानामा बासी खाना मिसाउने बानीको करामत । मलाई त पटक्कै चित्त बुझ्दैन । साझी खानामा ठ्याँस्स बासी खाना मिसाएर खानाको स्वाद नै जान्छ । यही हुन्छ । हात्ती चले बजार तो कुत्ता भुके हजार ! देखियो हजार कि लाख ! अब त थाहा भयो होला कि सरकारलाई !’
‘खुब जान्ने हुनुपर्ने के’, पुरानो बदाम मुखमा पर्ने बित्तिकै केही न केही भन्न थालिन् ।
‘लाउ त यो मीठ्ठो छ’, उनीभन्दा छिटो बदाम फुटाएर एक पोटी खाने मीठो भए उनलाई दिने गर्न थालें ।
‘ई घुन पनि रहेछ’, उनले मतिर हात लम्क्याएर देखाउन लाग्दै थिइन् । उनले घुन हो कि हैन भनेर कन्फर्म गर्नु अगाडि नै मैले प्लास्टिकमा खोस्टा र बदाम खसालिदिएँ । मिसाइदिएँ ।
‘हैन अनि छुट्टै पोको-पोका बनाएर किन राख्ने भनेर त मिसाइदिएको नयाँमा’, जे गरेको हो, त्यही भनेँ ।
‘ह्या ! जान्ने धेरै के । म त खान्न’, धैर्यताले सीमा नै नाघ्यो उनको ।
यही बेला उनको मुखमा मैले चिप्स राखिदिएँ । चिप्स उस्तै नुनिलो परेछ । त्यसमाथि बीबीक्यु फ्लेबर ।
‘छिः म खान्न, मलाई यो फ्लेबर ठ्वाँस्स गन्हाउँछ । तिमी नै खाऊ ।’
‘ल यो कुकिज खाऊ न त ।’
‘मलाई बदाम खान मन छ ।’
‘ल । हुन्छ । भइहाल्छ नि ।’
‘बरू यो कसरी चिन्ने थाहा पाउन पाए पनि हुने’, मुखै नमीठो हुँदा हुँदा उनी दिक्क भइन् ।
नमीठो बदामको खोस्टा जम्मा पारिन् । मिठो स्वाद भएको बदामको पनि खोस्टा छुट्टै जम्मा पारिन् । छुट्याउने तरकीब सोचिन्, ‘लाउ त यो मीठो छ ।’ उस्ले गल्ती गरेपछि त ढुङ्गो बोल्ला बरू । मैले तरकारीमा नुन नै नहुँदा समेत नबोली खाँदै बसेको देख्दा थाहा पाएको थिएँ ।
घाम अर्को झ्यालमा सरिसकेको थियो । बीरबलको खिचडी पकाएको कथा भयो । पल्लो झ्यालको पार ताप्दै ओल्लो झ्याल अगाडि बसेर कुहिएको बदामबाट नयाँ बदाम खोजेर खाने च्यालेन्ज ।
‘केही त सोच्नै पर्यो । ओहो ! म यो बदाम खान सक्दिनँ । तिमी मात्रै खाऊ ।’
‘ए SSS ! ई ! यो ढुसी परेको कालो-कालो रहेछ । हेर त ! ए ल यो छुट्याऊ’, उनले भनेको कुरा ध्यान दिएर सुनेँ । चित्त बुझ्यो । बरु लुरुक्क परेर बदाम छुट्याउन थालेँ ।
‘सताउन सक्ने के तिमी त ।’
‘खुसी होऊ । मेरो स्मार्ट आइडिया र धैर्यताको कदर गरिस्यो । बल्ल बदाम खाएको मज्जा आयो । सुन्तला पनि खाम न । खाम न के ! घाममा बसेर । आऊ, उ त्यत्ता जाउँ- घाममा ।’ अर्को झ्यालपट्टि इसारा गर्दै भनिन् ।
ढुसी परेको बदामको छुट्टै पोको छ । राख्न त मैले नै राखेँ तर कहाँ राखेँ ? आज फोहोर फ्याँक्न जाने बेला लगेर फ्याँक्नु पर्यो भनेर खोजेको अझै भेटेको छैन । अरू त त्यस्तै हो, आज पटलक गरेर साथीहरूकोमा गएकी छिन् । झुक्केर त्यही बदामको पोको त परेन ?
जय होस् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)