प्रेमः पत्रकार दिव्या र लेखक निशम भेटिएर पनि फेरि किन छुट्टिए ?

कथाः मनको भारी

विनोद अर्याल

सधैंजसो ढिला आउने ऊ आज भने मभन्दा पहिले नै आइपुगेको थियो, निर्धारित समयभन्दा पनि पहिले । हुनसक्छ उसमा अचेल समयज्ञान बढेको होला । हुन त ज्ञानगुनका कुराहरू धेरै लेख्छ पत्रपत्रिकामा । ज्ञानगुनका कुराहरू धेरै आउँछन् उसका लेखहरुमा ।

उसका लेखहरू मबाहेक कस्ले नै त पढ्छ होला र ? म त उसको नियमित पाठक, उसका ती समयसापेक्षित लेखहरू पढ्ने । म पनि त नपढी बस्न पनि सक्थेँ । यत्तिकै किन के कुराले तान्छ ? उसका ती लेखहरूमा न तशब्दहरू भावनाका भेलसँग लडिबुडि नै गर्छन् । कहिलेकाही त म पढ्दापढ्दै पत्रिका नै च्यातिदिन्छु, ती विना अर्थका खोक्रा शब्दहरू देखेर । फेरि केही क्षणमा च्यात्तिएका ती ससाना टुक्रा जोडेर पढ्न थाल्छु । म बेजवाफ हुन्छु आफैमा ।

मेरो बुझाइभन्दा माथिल्लो स्तरका लेखहरुले मलाई रनभुल्लमा पार्छ । तर पनि केही कुराको आशय म निकालिहाल्छु र आफ्नो धारणा छिटो नै पेस गर्छु । सायदै कम मात्र मानिसले आफ्नो धारणा बनाउँदैनन् र अनावश्यक कुरामा आफ्नो धारणा पेस गर्नु उचित पनि ठान्दैनन् । त्यसैले त उनीहरू आफ्नो सिद्धान्तमा अडिग रहन्छन् त्यो पहाडजस्तै । सायद त्यो आकाश नै किन नखसोस् तर उनीहरू सिद्धान्त विपरीत कहिल्यै जाँदैनन् । र, ऊ पनि आजकाल आफ्नै सिद्धान्त अनुसरण गर्छ । उसका ती भावनात्मक लेखहरू उसकै सिद्धान्तको वरिपरि घुमिरहेका हुन्छन् । त्यसैले त ऊ आज प्रतिष्ठित लेखकहरूको सुचिमा पर्छ ।

लेख्न त कमै मान्छेले नै लेख्छन् तर कोही राम्रो लेख्ने क्षमता हुँदाहुँदै पनि हराएर जान्छन् या भनौं छोटोे समयमै धरतीबाट नै विलीन भएर जान्छन् मात्र ती अमुल्य रचनात्मक यादहरूबाहेक केही हुदैनन् हामीसँग । चार वर्षको अन्तरालमा उसले साहित्य क्षेत्रमा छलाङ मारेको थियोे । सायदै कम साहित्यकार नै होलान् यस्ता तर छिटो उदाएर ढुस भएर गएका मान्छेहरू पनि धेरै छन् यो साहित्यिक समाजमा तर आशावादी छु, उसँग यस्तो दुर्घटना कहिल्यै हुनेछैन । उसका कृतिहरूको बजारमा चर्चा परिचर्चा धेरै नै । मुख्यतः नवयुवा युवतीहरूमा । उसका शब्दहरूले मन छुन्छ रे ती जोसिला युवतीहरूको । कसैले त उसलाई मोडर्न साहित्यकार नै भन्छन् तर जसले जे सुकै भने पनि म यो कुरामा विश्वास गर्छु कि साहित्यले समाज बोल्नुपर्छ, परिवेश बोल्नुपर्छ र मानिसको दैनिकी बोल्नुपर्छ । समय, परिवेश र दैनिकीलाई समावेश गरी लेखिएका कुराहरू त्यो समयको परिधिभित्र एक स्तम्भ भै कैयौं समयसम्म रहन्छन् ।

मुनामदन एक शताब्दीको लोकप्रिय कृति । सबैको मन छोएको छ । सायद कमै मात्र होलान् जसले मुनामदन नपढेको नसुनेको र नहेरेको । यसको लोकप्रियताको कारण यसले नेपाली जीवनी बोलेको छ, बाध्यता बोलेको छ । हामी आफ्नो जीवनसँग दाज्न सक्छौं किनकि हामी पनि त त्यहीँ परिवेशमा हुर्किएका छौँ । अबको ३० वर्ष पछिको पुस्ताले के मुनामदनको भाव बुझ्न सक्ला र ? यहि प्रश्न मैले उसलाई हिजो सोधेकी थिएँ एक अन्तरबार्ता लिने क्रममा । ऊ पनि के भनौं साहित्यकार निशमलाई । अन्तरवार्ता लिने क्रममा कैयौं प्रश्नहरू थिए, सबै प्रश्नहरू एक एक गर्दै सोधेकी पनि थिएँ मैले ।

मन एक प्रश्नमा गएर रोकिए । प्रश्न सोधौँ कि नसोधौँ भन्ने दोधारमा परेकी थिएँ तर हिम्मत जुटाएर नै प्रश्न गरेँ ।

‘निशमज्यु अब हजुरको व्यक्तिगत कुरातर्फ जाऊँ ल । हजुरको पहिलो प्रेमको अनुभवको बारेमा केही खुलाउन मिल्छ ?’, प्रश्नले उसको मुख एकाएक रातो भएर आयो । म पनि डरले पिरोलिएकी । कतै उसले मेरो नाम त लिने होइन ? लियो भने के गर्ने ? मनमा अनेकौं कुराहरू खेल्न थाले । तर म शान्त नै थिएँ देखावटी रुपमा । एकछिन मौन नै रह्यो ऊ । टेबलमाथि ्राखिएको पानी एक घुट्की निल्दै भन्यो, म आफ्नै काल्पनिक दुनियाँमा भुल्ने, सोचाइमा हराउने मान्छे । सायद यहि नै भएर होला, मलाई वास्तविक प्रेमको अनुभव नभएको सायद कुनै दिन होला, पहिलो प्रेमको अनुभव।

म मुस्कुराउँदै अर्को प्रश्नतर्फ लागेँ तर मनमा भने उसकै जवाफ घुमिरहेको थियो ।

कार्यक्रम सकियो ऊ र म सँगै निस्कियौ । उसले भेट्ने प्रस्ताव राख्यो । मैले हुन्छ भनिदिएँ । हामीले सँगै लिएको एनसेलको कपल सिमको नम्बर दिएँ उसलाई तर उसले पत्तो नै पाएन । विचरा, पाओस् पनि त कसरी ? म त्यति महत्त्वपूर्ण थिइनँ, जति पहिला थिएँ । तर उसले फरक नम्बर जुन कपल सिमको नम्बर थिएन सायद लाग्यो । उसले त्यो नम्बर पहिले नै फ्याँकिसकेको रहेछ मलाई जस्तै आफ्नो जीवनबाट तर उसको भेट्ने प्रस्तावबाट म खुशी थिएँ जुन पललाई म वर्षौंदेखि कुरिरहेकी थिएँ ।

ऊ कुरिरहेको थियोे मलाई । म उसको अगाडि उभिएर मुसुक्क मुस्काराएँ । दिव्या, आऊ बस न भन्दै अगाडिको कुर्सीतर्फ इसारा गर्यो । म पनि उसकै अगाडि नै बसेँ । सायद हामीबीच केही मात्र दुरी थियो । हुन त मलाई यो सानो दुरीमा उसलाई पाउन पनि कैयौं वर्षको दुरी पार गर्नुपरेको थियोे । कैयौं भावनात्मक द्वन्द्वहरूसँग आम्नेसाम्ने हुन परेको थियोे, त्यो त मलाई मात्र थाहा छ । र, त्यो मेरो कोठाका ती चौकोसहरूलाई थाहा छ, जसले मलाई एक्लै हुँदा तँ एक्लै छैनस्, तँसँग हामी चार पनि छौँ भन्थे । सायद वर्षौपछिको भेटमा म उत्साहित र दुखी थिएँ । दुखी यो अर्थमा किन यतिका समयपछि ऊसँग भेट्दै छु ।

;निशम ! तिमी राम्रो लेख्छौ । प्राय तिम्रा सबै रचनाहरु पढ्ने गर्छु म । रमाइलो लाग्छ । सायद तिम्रा ती मीठा शब्दहरूले हामीलाई आज भेटाएको हो कि अनि आजकाल के गर्दै छौ ? कहाँ छ तिम्रो बसोबास ? धेरै पछि तिमीलाई भेट्न पाउँदा खुशी लाग्यो ।’

उसले पनि आफ्नो बारेमा धेरै कुराहरू बतायो । एउटा घर लिएको कुरादेखी नयाँ आउने कथासम्म । प्रतिउत्तरमा प्रश्न गर्यो, ‘अनि तिम्रो नयाँ के छ सुनाउ ।’

उसको यो प्रश्नले मेरो मन छोयो । म यहाँ उसलाई सुनाउन नै आएकी थिएँ केही कुराहरु ।

‘निशम ! तिमी सुन्छौ भने म सुनाउँछु । तिमी सुनमात्र । म त आज सुनाउन नै आएकी हुँ मेरा कथाहरू । आजसम्म तिम्रा कथाहरू पढेँ । आज मेरा सुन । निशम, हामीबीचका केही क्षणहरु मात्र केही क्षण मात्रै रहेछन् है । सायद कुन कृपा गरेर मलाई आज निमन्त्रणा गर्यौ, थाहा छैन तर म तिमीप्रति आभारी छु, यो पल मलाइ दिएकोमा ।’

‘दिव्या ! तिमी के भन्न खोजिरहेकी छौ, म केही बुझिरहेको छैन ।’

ऊ बुझे पनि नबुझे जस्तै गर्दै थियो ।

‘तिमी यी यावत् कुराहरू बुझ्दैनौ र बुझ्ने प्रयास पनि नगर्नु । लामो सास तान्दै भनेँ, निशम, आस्थाको बत्ती एकटकले बलिरहेको जताततै उजेलै थियोे । बत्ती पहिलेभन्दा चकिलो हुँदै गयो । उज्यालोका किरणहरू कुना कोप्चेराहरूमा पर्यो । पहिले भन्दा धेरै उज्यालो छर्दै जताततै । पुर्वीया हावाको वेगले बत्तीलाई एक पटकमै निभाइदियो । झ्वाट्टै अन्धकारले छायो परिवेश । मनका सपनाहरू पनि निभे त्यो बत्ती जसरी कहिल्यै नबल्ने गरी र कहिल्यै बाल्ने प्रयास पनि गरिन मैले किनकि ती मनमा बलिरहेका सपनाहरूमा तिमी थियौ, तिम्रो अस्तित्वविना सपनाहरू अपुर्ण थिए ।’

‘सुनेकी थिएँ, मनका भावनालाई कलमको सानो प्वालबाट आउने मसीको सहयोगले अक्षरमा उतार्नेहरू कमै मात्र हुन्छन्, आफुले जन्माएको कथाको काल्पनिक पात्रलाई धेरै नै पीडा हुँदा आफ्ना आखाबाट आँसु बगाउँछन् र त्यो आँसुको सहाराले पात्रको चरित्र कोर्छन् सानो कागजको खोस्टामा । तर तिमीले त मेरो जीवनको कथामा एक चरित्रहिन बनाइदियौ मलाई । म कैयौं दिनसम्म रोएँ कराएँ र कैदीजस्तै बन्द कोठामा बसिरहेँ ।’

‘तिम्रा यादहरूले कब्जा जमाइसकेका थिए । हरेक पलमा तिमी आउँथ्यौ, फोनको रिङटोन बज्दा पनि तिमीले गर्यौ कि जस्तो लाग्थ्यो । तिमीले देखाएका आशाहरू सबै निराशामा परिणत हुँदै थिए या भनौँ तिमीप्रतिको विश्वासको पहाड ढलेको थियोे । नढलोस् पनि त किन ? बालुवाको जग हालेर ढुंगाको जस्तो खोज्नु मेरो गलत अपेक्षा थियोे । हुन त सबै केटी यस्तै हुन्छन्, छिटो विश्वास गर्ने पागलहरु ।’

मेरा यी कुराहरु सुनेर उसले मुस्कुराउँदै भन्यो, ‘दिव्या ! तिमी किन यसरी कुरा गरिरहेकी छौ ? आज हामी धेरैपछि भेट भएका छौँ । किन यी विगतका कुराहरू लिएर दुखी हुन्छौ ? एउटा नमिठो सपना सम्झेर बिर्सिदेउ न ती पलहरुलाई अनि जीवनको यात्रा त हामी फेरि पनि सुरु गर्ने सक्छौं नि । होइन र ? एक अर्कालाई साथमा साथ दिएर अगाडि बड्न सक्छौं । नयाँ संसारको सुरुवात पनि त हुन्छ । तिमीलाई थाहा छ, त्यो फुटेको सिसाका टुक्राटुक्राहरू जोडेर पुरानो स्वरूप दिदा कति सुन्दर देखिन्छ । सायद जीवन पनि त यस्तै नै त हो कि टुटेका फुटेका सम्बन्धहरु फेरि जोडेर कति सुन्दर देखिएला कल्पना गरेकी छौ ? दिव्या, तिमी संसारकै एक सुन्दर युवती हौ र सुन्दरताको परिभाषा त तिम्रो अगाडि के होला र ?’

‘निशम ! तिमीले भन्नु पनि पर्दैन कि म साँच्चिकै नै सुन्दर छु । आज तिमीलाई भेट्न आउँदा यति खुशी भएकी थिएँ कि वर्षौपछि आफ्नो मुहार ऐनामा हेरेकी थिएँ । साँच्चिकै सुन्दर पाएँ । आफूमा एक इश्वरिय चमक भएको अनुभुति गरेँ । सबै शरीर पुर्ण रुपले नियालेर हेरेँ । आफूप्रति नै डाहा लागेर आयो । शरिरका सबै अंगहरु यसरी मिलेर बसेका थिए कि कुनै चित्रकारले सुन्दर युवतीको तस्बिर कोरेको जस्तो सबै सुन्दर । ऐना हेरेर आफै मुस्कुराएँ । लजाएँ । त्यो पनि आफैसँग । यी रसिला गालाहरूमा चुम्बन गर्न मन लाग्यो, त्यो ऐनामा चुम्बन गरेँ । ऐनाको मले मलाई भन्दै थियोे, दिव्या, तँ सुन्दर छेस् । तँलाई आफुप्रति विश्वास थिएन । आज तँलाई विश्वास दिलाएकी छु । सायद तेँले आफुलाई बिर्सिने छैनेस् । सिसाको ऐनाले भन्यो, दिव्या, मैले त सधैँ भ्रम छर्छु या भनौँ फल्स इमेज बनाउँछु र मेरै कारणले मानिसहरूले आफुभित्रको कुरुपता र सुन्दरताबीचको भिन्नता थाहा पाउन सक्दैनन् र सधैंभरि भ्रमको दुनियाँमा बाँचिरहेका हुन्छन् र तँ पनि आजसम्म भ्रमको परिधिभित्र छेस् । आज तैंले भ्रम र सत्यबीचको भिन्नता चिन्नुपर्छ ।’

निशम भने एकाग्र भएर मेरो कुरा सुनिरहेको थियोे । म एकैछिन रोकिएर फेरि बरबराउन लागेँ ।

‘निशम ! हामी कति निर्दयी है ? कति मतलबी है ? आफ्नो अनुकुलको कुरा मात्र गर्छौ है । तिम्रो हात समाएर नयाँ संसारमा पाइला राख्न मलाइ मन छ । फेरि तिमीसँगै सयौं माइलका बाटाहरुमा यात्रा गर्न मन छ । छ पनि के भनुँ, थियोे, बिहान ऐना हेर्नुभन्दा पहिलेसम्म थियोे तर अहिले छैन । मैले धेरै कुराहरू सोचेकी थिएँ, तिम्रो पर्खाइ धेरै नै गरेँ । एक नारीले जीवनमा नलिनु पर्ने निर्णय लिएँ । मलाई लाग्थ्यो, किन मलाई एक नारीको रुपमा जन्म दिएको होला ? किन मलाई गर्भमै संसार नदेख्ने नबनाएको होला जस्तो लाग्थ्यो, जसरी मैले त्यो भ्रुणको हत्या गरेकी थिएँ । मसँग कुनै बाटो थिएन । कि आफ्नो हत्या गर्नु थियो कि त्यो भ्रुणको, जे निर्णय गरेँ सहि गरेँ जस्तो लाग्छ । भ्रुण हत्या गर्नुमा मैले आफूलाई मात्र दोषी ठानेकी थिएँ तर आजदेखि तिमी पनि साझेदार बनेको छौm। मेरो त्यो चित्कार कहिल्यै सुनेनौ तिमीले । म खुसी नै हुनै थिएँ । यदि तिमीले माफीसम्म मागेको भए पनि म हाँसेर माफी दिने थिए । तर तिमी पुरुषभन्दा पनि महापुरूष निस्कियौ । आज मलाई गर्व छ, एक नारी भएर जन्म लिनुमा । प्रकृतिले त मलाई सुन्दर उपहार दिएको छ । त्यो उपहार पहिले चिन्न सकेकी भए मैले भ्रुणहत्या गर्ने थिइन । आज मलाई पछुतो पनि केही छैन ।’

‘निशम ! तिमीले धेरै समय लगायौ । म उही दिव्या रहिन । सायद तिमी पनि त्यहि ऐनाले देखाएको भ्रामक तस्बिर हेर्दै बसिरहेको छौ । कहिलेकाँही फुर्सद मिल्यो भने ऐनाको एक भागमा लगाएको लेपन निकालेर हेर्नु, सत्य त्यहीँ पाउँछौ ।’

ऊ पश्चतापको स्वरमा केही भन्न खोज्दै थियोे । म सरासर मुस्कुराउँदै निस्किएँ । मन हलुका थियो कपासजस्तै । निकै नै हलुका लाग्यो, एउटा बडेमानको भारी बोकेर कैयौं माइलको यात्रा गरेर त्यो चौतारीमा बिसाए जस्तो । हुन त मैले मनको भारी बिसाएकी थिएँ । यतिका वर्षसम्म एक्लै नै बोकेकी थिएँ । आज भारी बिसाएर हिडेँ सधैंका लागि ।

पुर्वीय दिशाबाट एउटा ज्योति आएको अनुभुती भयो । म त्यो ज्योतिलाई पछ्याउँदै गएँ । त्यो ज्योति केही क्षणमै विलिन भयो । र, म पनि दिव्यज्योतिजस्तै ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button