उसले लाडे पल्टिँदै भनी, ‘मलाई डर लाग्छ के !’

कथाः त्यो कुन झुसे हो ?

कमल बयेली

रात गाढा हुँदै छ । हुचिलको हुँहुँ, कुकुरहरुको भौंभौं र कीराहरुको किरकिर एउटा अकेष्ट्रा जस्तो सुुनिन्छ । म निन्द्रा ढुकेर पल्टिइरहेको छु ।

“दाइ, दाइ …!”

आवाज चर्को थियो । मैले कान ठाडो पारें । भर्याङ दङदङ पार्दै कोही झर्दै गरेको सुन्छु । त्यही स्त्रीआवाज मेरो कोठा ढकढक्याउन आइपुग्यो । मैले हतपत ढोका खोलें । ए, घरभेटीको छोरी पो रहिछे । मैले सोधें, “के भयो ? किन चिच्याएको ?”

उसले दम बढेको आवाजमा भनी, “चोर चोर । झ्यालबाट…झ्यालबाट मेरो कोठामा … ।”

म माथितिर दगुरें । ऊ पनि मेरो पछि लागी । उसको कोठा तेस्रो तलामा थियो । कोठामा पुग्दा फोक्सो नै बान्ता होलाजस्तो भइसकेको थियो । उसको फोक्सो पनि खलाँतीजस्तै भएको हुनुुपर्छ । उसले झ्याल देखाउँदै भनी, “उः त्याँ.. त्याँबाट … त्याँबाट पस्न खोजेको ।”

मैले सोधें, “पसेको त होइन नि ।”

उसले दोहोर्याई, “पस्न खोजेको ।”

सिसाको झ्यालमा ग्रील थिएन । भित्रबाट चुकुल पनि लाएको रहेनछ । मैले सम्झाएँ, “चुकुल लाउनुपर्छ नि । ल, चुकुल लाएर सुत ।”

ऊ थरथर कामिरहेकी थिई । उसले डर देखाई, “हैन दाइ, त्यो मान्छे फेरि आउन सक्छ । त्यसले झ्यालको सिसा फोर्न सक्छ । म निदएको बेला …।”

मैले भनें, “अनि मैले के गर्ने त ?”

उसले अप्ठेरो मानेजस्तै गरेर भनी, “तपाईं यतै बस्ने के !”

कुरा सुनेर म आत्तिएँ । घरभेटीकी छोरी मलाई उसकै कोठामा स्वागत गर्दै छे । माने ऊ मलाई उसको कोठामा रात बिताउन अनुमति दिँदै छे । मम्मी ड्याडी छोरा भेट्न विदेश गएको मौकामा ऊ चौका हान्न खोज्दै छे ? तीन तलामाथिको हावाको पोखरीमा के ऊ बल्छी फाल्दै छे ?

ऊ खाटमा बसी ।

मैले जिस्किएको जसरी भनें, “खाट त एउटै छ । म कहाँ सुत्ने नि ?”

उसले भनी, “आधीआधी ।” उसले खाटको बीचमा औंलाले धर्को तानेजस्तो गर्दै फेरि भनी, “आधीआधी ।”

ओहो, उसले त साँच्चै भनेकी पो रहेछ । म तर्सिएँ । अजिंगरको दृष्टिमा परेको मृगजस्तै म लट्ठ परिरहें । वाक्य बसेजस्तो भयो । बल्ल वाक्य खुल्यो, “हैन, हैन म आर्को कोठामा सुत्छु ।”

म चुकुल खोलेर बाहिर निस्कन खोजें । तर ऊ ढोकामा ढाडले ठेलेर मेरो अघि उभिई । यसो भनूँ, ऊ ढोकामा ढाल बनेर उभिई । चुकुलमा हात लाउनै दिइन । म कोठामा फसेको चरोजस्तो भएँ ।

सोचें, भुइँमा केही ओछ्याएर सुत्नपर्ला ।

खाटको अघिल्तिर भुइँमा गुन्द्रीभन्दा ठूलो गलैँचा ओछ्याइएको थियो कार्पेटमाथि । मैले भनें, “यो ओछयाउँछु । ओढ्नलाई केही त देउली नि ।”

ऊ केही बोलिन । बरु ठुस्स परी । उसको मनमा केके बोल्यो होला ?

म गलैँचा बोकेर अर्को कुनातिर गएँ । भुइँमा गलैँचा ओछ्याएर किरियापुत्रीजस्तो गजधम्म बसें । ऊ खाटबाट जुरुक्क उठी र मतिर आई । उसले लाडे पल्टिँदै भनी, “मलाई डर लाग्छ के !”

ऊ मेरो हात समातेर तान्न लागी । म भुइँमै जरा गाडेसरी डेग चलिनँ । उसले पनि तान्न छाडिन । अन्ततः मैले हारें । म पर्सिएको बोकोजस्तै लुरुलुरु उसको खाटमा पुगें ।

उसले फेरि औंलाले धर्को तानेजस्तै गरेर भनी, “आधीआधी !” अनि एक मसक मस्किई । उसको विजय भएको थियो । त्यसैले मस्किई सायद ।

खाट दायाँतिरको भित्तामा जोडिएको थियो । त्यही भित्तामा बत्तीको स्विच थियो । उसले स्विच माथितिर थिची, ट्याक्क ट्याक्क आवाज आयो । कोठा हल्का अँध्यारो भयो । बाहिर बरन्डाको सिलिङमा बलिरहेको रात्रीबत्तीले भित्रको अँध्यारो रमरम बनाएको थियो ।

म उसको आधी खाटमा ऊसँगै मिसिएँ । मैले सिमानाको रक्षा गर्नु छ । त्यसैले सलाम ठोक्न तयार भएको सिपाहीजस्तै तनक्क तन्किएँ । तर क्षणभरमै सिमाना मिचियो । म झस्किएँ, ‘ओहो, यो त विस्तारवादी पो रहिछे !’ उसले मलाई दायाँ हातले अँगालो हालिसकेकी थिई । मेरो जिउभरि बुुरुरुरु काँडा उम्रिए । उसको त्यो कलिलो नाडी अनि हत्केलामा घोच्यो कि ? मलाई पर्नु पिर पर्यो ।

म उत्तानो परेको छु । ऊमतिर कोल्टिएकी छ । मेरो दाहिने पाखुरामा उसको एउटा मन्दिर अनि गजुर रगडियो । बिजुलीमा जोडिएको हिटरजस्तै म तातोतातो हुनथालें । म एउटा हाँडीमा छु । अब फूल उठ्नुपर्ने होला । उफ्रिएर बाहिर उछिट्टिनु पर्नेहोला । मैले भुइँमा पछारिनुपर्ने होला ।

म अझै चलमलाएको छैन । झन् उसले दाहिने खुट्टा ममाथि चढाई । उसको खुट्टा मेरो कम्मरलाई कोण पारेर उसैतिर फर्किएको थियो । अब भने म सलाम ठोकिरहने अवस्थामा रहिन । म पनि ऊतिर कोल्टिएँ । उसको खुट्टा अझै मैमाथि छ । उसको र मेरो मुख अब हत्केलाले चिर्ने दूरीमा आमनेसामने भएका छन् । उसको तातो सास, मेरो तातो सास । दोहोरो कार्बनडाइअक्साइड । ओहो, सास फेर्नै गाह्रो हुने रहेछ । मैले मेरो अनुहार सिलिङतिर फर्काएँ र दुई फ्वाँक अक्सिजन लिएँ । त्यही अक्सिजनको बलमा म उठें र उसको भर्याङ चढेर एक तलामाथि पुगें ।

ऊ सिलिङतिर फर्किएकी छ । म धर्तीतिर फर्किएको छु । अब म उसको सिरक बनिसकेको छु । मैले दूधमा मुख डुबाएको बिरालोले जस्तै आफ्नै ओठको चारैतिर जिब्रो घुमाएर चाटें । अब हामी पशु हुनमात्र बाँकी थियौँ ।

एक्कासि क्यामेराको फ्ल्यासजस्तै झिलिक्कले कोठा झलमल्ल पारिदियो । स्वाद पनि बिसाईदियो । यसो आँखा उठाएर हेरेको त झ्याल ह्वांगै । ल बित्यास् पर्यो । पर्दा लगाएकै रहेनछ । यही कुरामा अघि किन ध्यान गएन ? परबाट ओरालो झर्दै गरेको गाडीको हेडलाइट हाम्रो फोटो खिचेर गइरहेको थियो ।

उसलाई साबिकै छाडेर म उठें । झ्यालतिर गएँ । लौ पर्दा नै रहेनछ । डन्डीमात्र खिस्स हाँसिरहेको । मैले साउतीले सोधें, “पर्दै नलाएपछि चोर पस्दैन त ?”

उसले भनी, “तपाईं झ्यालबाट पसेको हो र ?”

मैले सोधें, “म चोर हो र ?”

उसले ओठ लेप्य्राउँदै भनी, “हैन साधु, अर्काको छोरीसँग सुत्ने साधु ।”

मैले ढुक्कै भनिदिएँ, “तानेर ल्याएपछि केके पो गर्छ नि !”

उसले गाँजाको मात लागेको जस्तै लवजमा नखरा पारी, “जे पायो त्यै ।”

उसको बंैसको बास्नाले कोठा अत्तर छर्केजस्तै मगमग भइरहेको थियो ।

ऊ भित्तालाई ढाड फर्काएर कोल्टे परी । म उसको टाउकोतिर परेको छु । अर्थात् उसको खाटको सिरानीतिर झ्याल छ ।

मैले सोधें, “पर्दा छैन ?”

उसले भनी, “साँझमात्र धोएको, सुकेकै छैन ।”

मैले भनें, “किन नसुकेको रे त ? चोर पल्काउनलाई ?”

उसले भनी, “हैन, साधु पल्काउनलाई ।”

उसले साधु भनी म गमक्क परें । अनि केही चिजतिर इसारा गर्दै भनिदिएँ, “इः साधु !”

ऊ जंगिई, “मार्दिन्छु अनि !”

कात्तिकको कुकुरको कानजस्तै मैले आपूmलाई मार्न तयार हुनुपर्यो ।

बरन्डाको बत्तीको धिपधिप उज्लायोले पनि गिज्याइरहे जस्तो लाग्यो । मैले सोधें, “बाहिरको बत्तीको स्विच कता छ नि ?”

Ad

उसले भनी, “ए, त्यो त बिग्रेको छ । निभ्दैन ।”

म रन्थनिएँ । यो कस्तो घर हो ? बाहिर टाई फिटिङ भित्र केको मिटिङ भनेको जस्तो ।

कोठाको एक कुनातिर भुइँमा थुतुनो जोतेर पुछो उभिइरहेको थियो । मैले पुछोको डन्डी उठाउँदै भनें, “फुटाइदिम् ?”

उसले डराएझैं सोधी, “के ?”

मैले भनें, “बाहिरको बत्ती ।”

ऊ जुरुक्क उठी र मेरो हातको डन्डी खोस्दै भनी, “हुँदैन । ड्याडीले मार्नुहुन्छ ।”

“अनि छोरी केटा लिएर सुतेको थापाएचाहिँ बचाउनुहुन्छ ?”

अर्को गाडीको हेडलाइट फेरि आँखा खाने गरी जिस्क्याएर गयो ।

ऊ अलमलमा परी, “के गर्ने त ?”

ऊ कुर्सीमा बसेजस्तै भुइँमा टेकेर खाटमा बसेकी छ । म केही नबोली उभिइरहेको छु । उसैले आइडिया निकाली, “त्यसो भा झ्यालमा यै तन्ना टाङ्नी ।”

ऊ उठी र सिरक पन्छाई । म खाटको तन्ना उखेलेर झ्यालतिर गएँ । टुलमा चढेर झ्यालमा तन्ना टाँग्न लागें । मेरो दायाँ खुट्टा टुलमा थियो भने बायाँ खुट्टा झ्यालको आसनमा । ट्याक्क आवाज आयो । कोठा झलमल्ल भयो । म फरक्क खाटतिर फर्किएँ ।

दृश्यले मेरो सातो निल्यो । अघिसम्मकी घरभेटीकी कलकलाउँदी छोरी कहाँ गई ? उसको ठाउँमा त गालाभरि झुसिलो दारी भएको लाठेपो छ । आधी इन्च जति लामो दारीले भरिएको गाला खुम्च्याउँदै ऊ मतिर फर्केर खिस्स हाँसिरहेको छ । के मलाई ऊ गे ठान्छ ?

घनले दर्शनढुंगामा हानेजस्तो झिल्का उठ्यो मेरो टाउकोमा । म टुलबाट खँगारिएँ ।

भुइँमा लड्नुअघि नै म झसंग भएर बिउँझिएँ । हैट, सपनाले पनि केके खेला देखाउँछ ! कवाफमा हड्डी बन्न आउने त्यो कुन झुसे हो ? म त्यो हड्डी प्रवेश गर्नुभन्दा अगाडिको दृश्य सम्झिँदै ओछ्यानमा गुडुल्किरहें ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button