कवितामा ‘कृष्ण-सुदामा’
शौर्या खनाल
राधे कृष्ण भन्दा बरू जय कृष्ण सुदामा भनुँ
मित्रताको परिभाषा मनमा फेरि गुनुँ ।
सुदामाको काँध चढी कृष्णले खाए मखन
यो प्रेम लिलाको कालान्तर भै रह्यो बखान ।
बच्चा बच्ची ईश्वरकै त रूप हुन् है सबै
काला हुन् या गोरा हुन् ती हुन् सबै गजबै ।
तिनीलाई त थाहै छैन तोल मोल र भाउ
छैन बरै अरू भन्दा भिन्न हुने दाउ ।
कस्का बाबा ज्यामी छन् कस्का डाक्टर साहब
केही फरक देख्दैनन् है मात्र खेलको छ तलब ।
खाए पनि मिठो तिउन साथीकै खाजा मिठो
तयार हुन्छ साट्न हलुवासँग मकै होस् या पिठो ।
फेरि के भो अचानक छुवाछुत जस्तो
साथी बन्न न्वारन गरी जनै लाउनु कस्तो ?
अमुल्य मित्रता जो कोहिले कहाँ पाउँछन् ?
कृष्ण जी र सुदामै त, सँधै जगमा छाउँछन् ।
सफा भई, सुघ्घर भई, स्कुल आसम्म
गुरुबा र गुरूमाले अँगाल मारेसम्म ।
को हौं हामी भेद गर्ने, उच निच भन्ने ?
भविष्यमा को पो हौँला, सँसारले चिन्ने ?
प्रकृतिका लागि सबै जना हुन् बराबर
हावा, पानी, घाम, छायाँ सबै सराबर ।
बाल्यकालको अभावले, धैर्य र लगन देला
भोलि त्यहि हेलाको पो, फेला पर्नु पर्ला !
रगत त रातै हो नि धमनिमा बग्ने
धेरै धनीका सन्तति पनि छन् बिचलिमा पर्ने ।
सम्पति हैन हजुर, माया र वफादारी अमुल्य
सच्चा मित्र पाउनेको ओहो ! अहो भाग्य !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
धेरै राम्रो छ बहिनि