
आमा आफै टुहुरी !
कथा: टुहुरी
एक्लो प्रितम खड्का
बानेथोक-९ स्याङ्जा, हाल: तिलोत्तमा- ९ रुपन्देही
प्रयास र म घनिष्ठ साथी थियौँ । कलेज पढदा हामी दुई एउटै कोठामा बस्थ्यौँ । पढाइ सकियो । जागिरको सिलसिलामा हामी टाढा भइयो । बेलामौकामा चाहेर पनि भेट्न सकिरहेका थिएनौं । उसको बारम्बारको आग्रह स्विकार्दै हिउँदे बिदाको मौका पारेर म आफ्नो कलेज पढ्दाको साथी प्रयासको गाउँ घुम्न जाने अठोट गरेँ । प्रयाससङ्ग भेट्नभन्दा पनि प्रयासको आमासङ्ग भेट्न पाउने कुराले मन यसै चङ्गा भइरहेको थियो । हामी पढ्न बस्दा उसको आमाले गाउँबाट पोको पारी पठाएको खाने हरेक चिजको स्वाद मेरो जिब्रोमा अमिट भएर बसेको थियो । आज प्रत्यक्ष भेट्न पाउने खुसिले मन पुलङ्कित बन्दै थियो ।
प्रकृतिको अनुपम सौन्दर्यसङ्ग साक्षात्कार हुँदै ८ घण्टाको यात्रापश्चात म प्रयासको घर पुगेँ । प्राकृतिक सौन्दर्यसङ्ग आत्मियता गाँस्दै पहाडी हरियाली जङ्गल भिरपाखा अनि प्रकृतिसङ्ग लुकामारी खेल्दै रमाउनुको मज्जा वर्णन गर्न शब्दमा कहाँ पो सकिएला र ? यी सबैसङ्ग आफ्नोपनको नाता गाँस्दै जाँदा मेरो गन्तव्य पनि आइपुगेछ ।
बेलुकाको खाना खाएर बाहिर टहलिँदै थिएँ । एक्कासी ! खरले छाएको झुपडीमा मेरो नजर पुग्यो। जहाँबाट सकिनसकी मलिन उज्यालो बाहिर निस्कने चेष्टा गर्दै थियो । त्यो दृश्यले मलाई अनायास चुम्बकले फलाम तानेजस्तै तान्यो । अपरिचित भएर पनि झुपडीसङ्ग परिचय गर्ने मनासाय लिएर भित्र पसेँ ।
त्यहाँको दृश्य कारुणिक थियो । अस्तव्यस्त थियो ।
डाँडामाथिको डुब्नै लागेको घामजस्तै कान्तिबिहिन बुढी आमा मलाई देखेपछि पिर्का दिएर अगेनोको छेउमा बस्ने इसारा गर्नुभयो ।
विष्मय र प्रश्नात्मक शैलीबाट आमालाई पुकारेँ, ‘आ..मा ।’
यो उमेरमा बुढी आमाको एक्लोपन, अभाव र लाचार अवस्था देख्दा मन अमिलो भयो ।
विचरा ! आमा….
‘आमा यो उमेर……’, बोली नै अक्मकायो ।
‘आमा किन एक्लै ? तपाईंको सन्तान ?’
विष्मयसुचक हेराइ अनि गहभरी आँसु अनि काँपेको स्वरमा भन्न थाल्नुभयो, ‘बाबु…. ! जीवन तृष्णा रहेछ, जीवन अनुसन्धानको कठोर यात्रा रहेछ । जीवन बुझ्दै नबुझिने भोगाइ रहेछ । जीवनको ३ बिसा र १६ औं बर्षको लामो यात्रामा मेरो लागि कहिल्यै विश्राम मिलेन बाबु … थकान मेटाउने चौतारी मिलेन । पसिनाका कण सुकाउने शितलता मिलेन । जब मलाई केही मिलेन त्यो पल मलाई संसार जितेको आभास मिल्यो… मेरो भोका रातहरुले देखेको सपना अनि मैले हरेक पुजा र भक्तिमा चाहेको मेरो मनोकामना बिस्तारै पूरा हुँदै थिए ।’
‘अनि ? आमा !’
‘मेरा चार भाइ छोरा अनि कान्छी छोरी सबैको सुनौलो भविष्यको ढोकाहरु खुलिसकेका थिए । जेठो र साँहिलो सरकारी जागिरे, माहिलो आफ्नै व्यवसायमा मनग्गे आम्दानी गरिरहेको थियो । कान्छो डाक्टर र छोरीज्वाइँ अमेरिकामा खुसी जीवन बिताइरहेका थिए । आफ्ना सन्तानले पाएको सफलता र सुखी जीवन देखेर म यसै यसै पुलङ्कित भएँ । सन्तानको सफलता नै आमाको लागि विजयोल्लास हुने रैच बाबू ।’
‘… अनि अहिले छोराछोरी कता ?’
‘लालाबाला सन्तान यिनीहरुको सम्पुर्ण दायित्व सब मेरो एक्लो काँधमा थियो बाबू । लगातार आएको आँठेले २४ बर्षको उमेरमै मलाई विधवा बनायो । येनकेन मेलापात घाँसदाउरा घरबेसी गरेर अनि सन्तानको मुहार हेरेर आफ्नो सिङ्गो जीवन सन्तानकै भविस्य निर्माणका लागि खर्चिएँ । मीठो खाने राम्रो लगाउने सबै इच्छा भन्दा पनि सन्तानको भविष्य निर्माण कसरी गर्ने, यिनिहरुको भोक कसरी पुरा गर्ने भन्ने सोचाइले मलाइ कैयन रात निदाउन दिएनन् बाबू !’
‘विडम्बना…..! शुन्यतासिवाय केही रहेनछ जीवन …’
‘आफ्नाहरु पनि कतिबेला कुन मोडमा अनि कुन घुम्तीमा पराइ भैसकेको हुन्छ्न पत्तै पाइनचु । सबैलाई आफ्नो बनाउँ कसैको चित्त नदुखाउँ भनेर प्रयत्न गर्दागर्दै आफ्नै मन चिथ्राचिथ्रा भएको पत्तै पाइनचु…… सन्तानको लागि गरेका प्रत्येक त्याग र सहेका कहालीलाग्दो पलहरुसङ्ग एक्लै सिङ्गौरी खेलेको कसैले देखेनन बाबू ! जसको खुसीको लागि आफ्ना खुसीका पलहरु पैतालामुनी राखेँ…. जसको आँखा र मुहारमा खुसी देख्न हरेक पीडा आफ्नो पोल्टामा लिएँ । आज त्यही सन्तान प्रश्न गर्छ, मेरो लागि के गर्यौ आमा ? बाबू…….’
म छाँगाबाट खसेसरह हुन्छु, मनमा आउने सहस्र छालहरुले मलाई कमजोर र भावुक बनाउँचन्, अनि भुकम्पको कम्पनले भन्दा बढी हल्लाएर कमजोर पारिदिन्छ्न मलाई…. जीवनको उत्तरार्धमा आएर आफ्नै सन्तानको मनमा बस्न नसकेकी म, आज जेठो भन्छ जे गरिन आमाले कान्छो र माइलोको लागि गरिन । आफ्नी छोरीको लागि गरिन । अनि कान्छो, साँहिलो र माइलो त्यसैगरी भन्छन् आमाले… मेरो लागि केही गरिनन् । जे गरिन आफ्नो प्यारोको लागि गरिन । सुन्दर भविष्य निर्माण गर्ने जिम्मेवारी पूरा गर्न लालायित म अभागी एउटा आमाको लागि आफ्नो कोखबाट निस्किएका सन्तान सबै मेरो लागि बराबर छ भन्ने यथार्थ सिकाउन कहाँ ? कतिबेला ? कुन ठाउँमा ? चुकेँ बाबू पत्तै भएन । यो संसार माया होइच बाबू….
आफ्नै सन्तानको तिरस्कार र अपहेलनाका बिच पनि यिनैको खुसी मनले खोजिरह्न्छ । आमाको त्याग, माया बुझ्न नसकेर लान्छना लगाउने मेरो ठुले, साने, साँहिलो र माइलाले भोलि आफ्ना सन्तानबाट कस्तो व्यवहार पाउलान् बाबू ?’
आमाका प्रत्येक शब्दले मेरो मनलाई गरुङ्गो ढुङ्गाले थिचेको आभाष हुन्छ ।
काँपेको स्वरमा ‘बा….बु ! आफ्नो बुबाआमालाई मेरोजस्तो दिन कहिल्यै नदेखाउनु होइ…!’
आमाका पीडाले भरिएका वेदना, थोत्रा अनि मयलले लतपतिएका बस्त्र, कमजोरीले लड्खडाएका हातखुट्टा ! यो सबै दृश्यले मेरो मन बाहिर चलेको माघ महिनाको चिसो सिरेठोले भन्दा बढी हल्लायो । समर्थनमा मेरो टाउकोमात्र हल्लियो । आवाज खोइ कता हरायो ।
जसलाई भेट्नको लागि म हतास थिएँ । जुन आमाले आफ्नो सन्तानको खुसीको लागि आफू बाँच्न बिर्सिइन्, आज त्यही आमा…. ५ जना सन्तानको आमा, मेरो हितैषी मित्र प्रयासको आमा….. जसले टुहुरा छोराछोरीलाई सोचेजस्तो जीवन दिन सकिन्, उचाइमा पुर्याउन सफल भइन्, आज उनै आमा आफै टुहुरी भएर बसेकी छिन् । धिक्कार छ हामी सन्तानलाई, जसले बुढेसकालमा आफ्ना जन्मदातालाई बोझ सम्झन्छौँ !
आमाको पिडादायी यथार्थ सुनेर आमाको ममता र आशीर्वाद खोज्दै काखमा सुँक्क सुँक्क गर्दै पल्टिएँ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



