एउटा शिक्षकको कोभिड कविता

सुशीला शर्मा

म एक शिक्षक हुँ, कर्तव्यनिष्ठ छु
पढाउनु मेरो एउटा कर्तव्य, पढाउँछु
जिम्मेवारी धेरै छन्
निर्वाह गर्न खोज्छु
तर कहिलेकाहिँ अल्मलिन्छु
कहिले कर्तव्यका कुरामा अल्मलिन्छु
कहिले अधिकारका कुरामा त
कहिले ब्यबहारमा अल्मलिन्छु
आजकल त देखावटी
स्वास्थ्य मापदण्डको कथामा पनि अल्मलिन्छु
कोभिडले ज्यान गुमाउने साथीभाइ
अनि आफन्तहरू सम्झिन्छु
लाग्छ, म विना हतियारको सिपाही
कार्य क्षेत्रमा होमिएको छु
लेख्दा कथा जस्तो लामो हुनसक्छ
पढ्नेलाइ बोर लाग्न सक्छ
तर म हजारौ प्रश्नमा अल्मलिन्छु
आफूले आफैंलाई प्रश्न गर्छु
अल्मलिनु मेरो कमजोरी हो कि ?
मजस्ता लाखौं शिक्षकहरूको विवशता हो ?

म एक शिक्षक हुँ
पढाउनु मेरो एउटा कर्तव्य, पढाउँछु
गीतको भाकामा पढाउँछु
कविताको भाकामा पढाउँछु
पटक पटक हात धुनुपर्छ
साबुन पानीले
सुरक्षित बन्न सकिन्छ हामी
माक्स लाउने बानीले
सभा र जुलुस भीडभाड नगई
भौतिक दुरी राख्नु छ हामीले
स्वास्थ्य मापदण्डको पालना गर्दै
कोरोनाबाट बच्नु छ हामीले ।
कहिले खेलाउँदै पढाउँछु त
कहिले नचाउँदै पढाउँछु
दोहोर्याई तेहर्याइ पढाउँछु
आचरण र व्यवहार पनि सिकाउँछु
साबुन पानीले पटक-पटक हात धोऊ
घरबाहिर भिडभाडमा कतै नजाऊ
जानै परे माक्स र सेनिटाईजर लगाऊ
भौतिक दुरी कायम गरी बस ।

म एक शिक्षक हुँ
पढाउनु मेरो एउटा कर्तव्य पढाउँछु
प्रश्न सोध्छु, बुझ्यौ ?
उतर आउँछ बुझ्यौ मिस
एउटा एउटा माक्स दिन्छु
सेनिटाईजर लगाऊ भन्छु
एकछिन पछि खासखुस शुरू हुन्छ
मिस यो चल्छ, किन चलेको ?
आँखामा सेनिटाइजर लगाइदियो
म सेनिटाईजरको कथामा अल्मलिन्छु
पटक पटक सम्झाँउछु
साथीसाथी चल्नु हुन्न
सेनिटाईजर जथाभावी प्रयोग गर्न हुन्न
अबदेखि म आफै लगाइदिन्छु
तर ऊ छुस छुस यता उता चलिरहन्छ
बुझेर पनि बुझ पचाउँछ
माया गरौँ टेर्दैन
गाली गरौँ मिल्दैन
नाम मात्रको भौतिक दुरी
म भौतिक दुरीको कथामा अल्मलिन्छु ।

म एक शिक्षक हुँ
पढाउनु मेरो एउटा कर्तव्य, पढाउँछु
भोलिपल्ट कक्षामा आउँदा
बिना माक्सका विद्यार्थीलाइ सोध्छु
तिम्रो माक्स खै ? बिर्सेछु मीस
अनि तिम्रो नि ? चुटियो मीस
तिम्रो ? हरायो मीस
सम्झाउँछु, किनेर लाउनुपर्छ है
हामीसँग पैसा छैन रे मीस
खल्तीबाट माक्स झिकेर दिन्छु
अबदेखि सधै लगाएर आउनु भन्छु
एउटा विद्यार्थी प्रश्न गर्छ
एउटा माक्स कति दिन लाउन मिल्छ मीस ?
एकदिन मात्र, म उत्तर दिन्छु
सधेँ लगाएर आउनु भन्नु हुन्छ त मीस ? प्रतिप्रश्न गर्छ
आफैले किनेर लाउनु पर्छ, म प्रतिउत्तर दिन्छु
सामूहिक आवाज गुन्जन्छ
हामी सँग पैसा छैन रे मीस
हामी गरिब हो रे मीस
म माक्सको कथामा अल्मलिन्छु ।

म एक शिक्षक हुँ,
पढाउनु मेरो एउटा कर्तव्य, पढाउँछु
कक्षा सकिएपछि अफिस जान्छु
हेडसरलाई कथा सुनाउँछु
हेडसर, हामी पनि गरीब हो ?
दिनहुँ एउटा एउटा माक्स दिन सक्दैनौ ?
कक्षामा सेनिटाइजरको व्यवस्था गर्न सक्दैनौ ?
हाम्रो पालिका पनि गरिब छ ?
के यो राज्यको दायित्व होइन ?
प्रश्न सोध्न मन लाग्छ
तर सोध्न सक्दिन
यसको उत्तर अपेक्षाकृत छ
किनकी हेडसर पनि मजस्तै
कर्तव्यनिष्ठ शिक्षक न हो
माक्स, साबुन पानी, सेनिटाइजर
भौतिक दुरी, स्वास्थ्य मापदण्ड
सबका मुखमा मुखाग्र छ
तर व्यवहारमा लागू भयो कि भएन ?
यसको अनुगमन हुन्छ कि हुँदैन ?
म स्वास्थ्य मापदण्डको कथामा अल्मलिन्छु ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button