ए बुवा ! तपाईंलाई धित मरुन्जेल हेर्न रहर छ
भावना रिमाल
ए बुवा !
हजुरसँग हजारौं प्रश्न्न गर्ने मन थियो
र, तिनका उत्तर पनि हजुरसँगै बसेर खोज्ने मन थ्यो,
तर, हजुरसँग समय बिताउने चाह हुँदाहुँदै पनि
भगवानले समयभन्दा पहिलै हजुरलाइ बोलाए
हजुर गै पनि हाल्नु भयो ।
हरेक चाडमा हजुरसँगै हाँस्ने रमाउने
रहरहरु पूरा हुनै पाएनन्
मेरो बुवाको खुसीको पछि
मेरै प्रगतिकै हात छ भनेर खुसी हुनै पाइनँ ।
हजुरसँगका गुनासा कत्ति धेरै छन्
तर त्यो मन भरिने गरी पोख्नै पाइनँ बुवा ।
त्यो भित्तेपात्रोमा जब
चाडबाडको दिनहरु नजिकिन्छन नि मन भक्कानिन्छ
अनि त्यै याद नभएको तपाईंका यादहरु खोजेर रुन्छु
रोइरहन्छु ।
यो समाजले मेरो बुवा त देख्यो
तर, मेरा नभएका यादहरुमा आउने धमिलो तस्बिर,
हजुरकै हो भनी यकिन गर्नै सकिनँ ।
मन कति छ घुर्की लाउने, झगडा गर्ने
तर तपाईं कति सजिलै छाडेर गैदिनु भयो बुवा ।
एकपटक धित मरुन्जेल हजुरलाई हेरेर
ती धमिला यादहरुमा तपाइलाईं बसाउने रहर छ ।
बुवा देख्नु र सुन्नु भाछ भने
सानो बिन्ती छ यो छोरीको
अलिकति छुट्टी मागेर
सपनामा भए नि आइदिनुस् न
तपाईंलाई धित मरुन्जेल हेर्न रहर छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)