
आमा ! तिमी बादल भयौ, मेरो विश्वविद्यालय भयौ
आमाको सम्झनामा
पञ्चकुमारी परियार
सानागाउँ, ललितपुर
असारे झरीको एक बिहान
दिन रोइरहेको बेला
आमा तिमी पनि मेरो मुखमा हेर्दै
निःशब्द रोइरहेकी थियौ
भींडबाट कसैले
सबैको अन्तिम गन्तव्य एउटै हो
सन्तानको धेरै घिटघिटो नलिनु भनेपछि
तिम्रो आँखाबाट
निराकार धुँवाजस्तो उडेर
बादलमा मिसियो
तिम्रो आँखाको पलक
सदाका लागि बन्द भयो
आमा तिमी बादल भयौ ।
मलाइ टुहुरो बनाएर तिमी गएपछि
न छ मसंग तिम्रो हातको न्यानो सिरानी
न छ सारा पीडा र थकान मेटाउने
तिम्रो काखको शितल चौतारी
न छ रोमरोम तातो बनाउने
ममताको न्यानो स्पर्श
आमालाई सुख खुशी दिन नभ्याउँदै
शोकमा डुबेको म
पश्चातापको आँशु बगाईरहेछु
आमा तिमी मेरो खुल्ला किताब भयौ ।
बा मुग्लानमै बितेपछि
पेटमा हुर्कदै गरेको बच्चा
पिठ्युँमा दाउरा घाँसको भारी
काखमा अर्को बच्चा च्यापेर
मुखियाहरुको सास्ती खेप्दै
दुःखको पहाड उक्लिरहयौ ।
कतै खेतालापात
हाटबजारबाट तिमी घर फर्किँदा
म तिम्रो पोल्टो छामिरहन्थेँ
म त तिम्रो पोल्टोमा भएको
एकमुठ्ठी मकै
एकमुठ्ठी चिउरा
र, एक टुक्रा रोटीले
भोकको ज्वालालाई मत्थर बनाउँथे
थाहा थिएन तिमी भोकै थियौ कि ?
मैले खाएको देखेर
आमा तिमी रुन्चे हाँसो हाँसिरहन्थ्यौ ।
हिजोमात्र सपनामा तिमीलाई देखेँ
मैले खान पाइनँ भन्दै थियौ
रातदिन काम गर्दा पनि
आफनो कामको निमेक लिन
दयाको भिख झै हात थाप्नु पर्ने
उत्पीडनको पुस्तेनी विरासत भोगेकी तिमी
कहिल्यै अघाउँजी खान पाइनौ
कहिल्यै नाङ्गो शरीर ढाक्नै पाइनौ
तिम्रो समाधी वरिपरि
सतिसाल सुसाइरहेको सुन्छु
सायद आमा तिमी अझै पनि
भोकको सुस्केरा हालिरहेछौ ।
कहिलेकाहिँ लाग्छ
मलाई माड ख्वाउन
आफनै उध्रिएको फाटेको जिन्दगी लिएर
विष्टका कपडा तुनिरहेकी छ्यौ
कहिलेकाहिँ लाग्छ
मेरो पढाइको फि तिर्न
विष्टका खेतवारीमा झरीमा रुझ्दै
चर्को घाममा टट्टिदै
पसिना बगाउँदै छ्यौ
कहिलेकाहिँ लाग्छ
सुन्दर सपना सजाउँदै
विधुवा भत्ताले मेरा लागि
कापी कलम खरिद गर्दै छ्यौ
जति बेला तिमी मेरो साथमा थियौ
तिम्रो महत्व बुझिन मैले
अहिले तिमीलाई
शुन्यतामा खोजिरहेछु
कहिँ देख्दिन तिमीलाई
कहिँ भेटदिन तिमीलाई
आमा तिमी अमिट सम्झना भयौ ।
कहिल्यै हाँसो खुशी
र, सुख भोग्न नपाएकी तिमी
अधमरो जीवन बाँचेर गयौ
जीवनको हरेक मोडमा
बाँच्नका लागि
संघर्ष मात्र सिकाएर गयौ
आमा तिमी मेरो विश्वविद्यालय भयौ
हो, आमा तिमी मेरो विश्वविद्यालय भयौ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)