‘श्वेत पर्वत’ सर्वत्र
काठमाडौं, १ माघ । नियात्राकार बिष्णुप्रसाद शर्मा पराजुलीको तेस्रो नियात्रा कृति ‘श्वेत पर्वत’ पाठकसमक्ष पुगेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति सँस्कृतिविद् डा.जगमान गुरुङले आज प्रज्ञा भवनमा आयोजित कार्यक्रममा ‘श्वेत पर्वत’ को लोकार्पण गरे । त्यस अवसरमा उनले सँस्कृतिको उपेक्षा गरेर राजनीति सफल हुनसक्दैन भन्दै प्रस्तुत पुस्तक विशेषगरी गण्डकी प्रदेशका नीति निर्माताहरुका लागि उपयोगी हुने विचार व्यक्त गरे ।
पुस्तकको समीक्षा गर्दै प्रा.रामकृष्ण रेग्मीले ‘श्वेत पर्वत’ पुस्तकमार्फत लेखकले धवलागिरि क्षेत्रको प्राकृतिक र साँस्कृतिक ज्ञानलाई उजागर गरेको बताउँदै पठन सँस्कृति चिन्ताजनक रुपले घट्दै गएको आजको परिप्रेक्ष्यमा विशेष गरी नयाँ पुस्तालाई यस्ता उपयोगी पुस्तक पढन प्रेरित गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत उपाध्याय ‘प्रेक्षित’ले प्रस्तुत पुस्तकले धवलागिरिको सेरोफेरोबारे धेरै कुरा गहन रुपमा उजागर गरेको बताउँदै यो पुस्तक पाठ्यक्रममा समावेश गर्नसमेत योग्य रहेको चर्चा गरे ।
पुस्तकका लेखक नियात्राकार पराजुलीले मानव सभ्यताको उद्गमस्थल रहेको गण्डकी क्षेत्रका धेरै अमूल्य प्राचीन ग्रन्थ, भित्ते चित्रहरु विदेश पुगेका र कतिपय क्षतिग्रस्त अवस्थामा रहेकाले त्यसतर्फ सरकार, विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान आदि सम्बन्धित निकायहरुले गम्भीर ध्यान दिन र यस्ता विषयहरुको अध्ययन अनुसन्धान गर्न जरुरी रहेकोमा जोड दिए ।
कथाकार श्रीरामसिंह बस्नेतले नियात्राकारले आफ्नै व्यक्तिगत रुची र पहलमा विकट क्षेत्रको कठिन यात्रा गरी पुस्तक लेखेर नेपाली वाङ्मयको नियात्रा विधालाई गुन लगाएको बताए ।
पुस्तक प्रकाशक भुँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुलीले सँस्कृति नरहे देशको गरिमा नरहने भएकाले आफ्नो प्रकाशनले यस्ता विषयका पुस्तक प्रकाशनलाई प्राथमिकतामा राखेको बताए ।
नियात्राकार पराजुलीका यसअघि ‘तिब्बत यात्रा’ र ‘विश्वको जीवित संङ्ग्रहालय डोल्पो’ प्रकाशित छन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)