
भन्दछन् जनले जैले पृथ्वीको फेरि जन्म होस्
छन्दःअनुष्टुप्
प्रीति आत्रेय ज्ञवाली
बाइसे चौबिसे राज्य असरल्ल थियो सबै ।
उनेर एउटै माला एक पारेर देश नै ॥१॥
कति दुःख गरे आफैँ देशलाई जुटाउन ।
देश सिंगो बनाएरै एकतामै रमाउन ॥२॥
ज्ञानका भावना बाँडे उपदेश भनेर नै ।
दिव्य छन् उनका शब्द उल्टिए अहिले सबै ॥३॥
घुस खाने लिने दोटै देशका शत्रु भन्दथे ।
अहिले घुसले गर्दा देश नै भ्रष्ट के गरे !!४!!
हे पृथ्वी ! मान नै तिम्रो सकेन राख्न राज्यले ।
एकता हुन नै दिन्नन् फुट्न खोज्छन् नि चालले ॥५॥
दूरदर्शी थिए तिम्रा विचार योजना सबै ।
अहिले स्वार्थमै रम्छन् देशका मतियार नै ॥६॥
आज तिम्रो जयन्तीमा दुखेसो सब गर्दछन् ।
छैन कोही तिमी जस्तो भनेरै अति गम्दछन् ॥७॥
के गरी देशको रक्षा कसरी हुन्छ है भलो ।
बुद्धिजीवी यहाँ हेर जहिले चिन्तितै अहो ॥८॥
भन्दछन् जनले जैले पृथ्वीको फेरि जन्म होस् ।
देशको मान औ शान राख्न सक्ने सपूत होस् ॥९॥

यो कस्तो सशुल्क योजना होला?