त्यै प्रणय यज्ञमा जलिरहेँ
माधव सयपत्री
कभर मोडल- रेखा लिम्बु
पृयम्वदा !
अनन्त जीवनको एक निमेषमा
हामी मिल्यौँ र छुट्टियौँ
हामी दुई, दुई नदी हौँ
हाम्रा बाटाहरू फरक छन्
हाम्रो बहाव फरक छ
तिमी पहाडको यतापट्टि बहन्छ्यौ
म उतापट्टि
हाम्रो मन र मुहान एउटै छ
तर हामी पृथक बगिरहेछौँ
तिमी अनन्त गहिराइमा शान्त बग्दै छ्यौ
म पहाडका चट्टानहरूमा ठोकिँदै ठोकिँदै
उच्छृङ्खलतामा बगिरहेछु
एकअर्काका आवाज
एकआपसमा सुन्छौँ, तड्पिन्छौँ
प्रतिक्रियामा तिमी बोल्दिनौँ
म पनि बोल्दिनँ
निकटमै अथाह सागरमा
तिमी एकापट्टिबाट मिसिने छ्यौ
म अर्कोपट्टिबाट
सागरमै मिसिन आएको अर्को नदीले
हाम्रो धार र बहावलाई विमुख बनाइदिनेछ
अनि,
हाम्रो दिशा फरक हुनेछ
गति फरक हुनेछ
धेरै धेरै समानतामा एउटा असमानताको पर्खाल
हामी बीचमा उभिनेछ
त्यो संयोगको घडीमा
तिमी मसित नजिक हुन चाहिनौ
या मैले मेरो उत्कट चाहना
तिमीसामु पोख्न सकिनँ
सुलोचना !
हामीले त्यो समयलाई समात्न सकेको भए
चीरकालसम्म हामी एउटै नदी हुने थियौँ
हाम्रो बहाव एउटै हुने थियो
कहिलेकाँही मनभित्रका उच्छालहरू
उकुसमुकुस हुँदै उम्लेर आउँदा
चिच्चयाएर तिमीलाई सुनाऊँ सुनाऊँ लाग्छ
षोडशी सरिता !
पहाडको अन्तरकुन्तरबाट हात छिराएर
तिम्रो सुकोमल अङ्गप्रत्यङ्ग
स्पर्श गरूँगरूँ लाग्छ
प्रेम समीरकी मानिनी !
हाम्रो त्यो दुर्घटित प्रेमकथा
मात्र एउटा ‘कथा’ बनेर पोखियो ।
मलाई प्रेमप्रणयको आशापासमा बेरेर
तिमी कता अलपियौ कता
म त्यै प्रणय यज्ञमा जलिरहेँ
मेरी हृदय कुसुम !
तिमीलाई पाउने क्षोभ र क्षुधाले
सायद मलाई कहिल्यै छोड्दैन
शोकेसमा सजिएको तिम्रो कलेवरले
मलाई कति पीडा दिन्छ
मानौँ, सम्झना एउटा धारिलो ‘कटारी’ हो ।
जब चिम्लेर यी आँखा
तिम्रो सम्झनाबाट पर भाग्न खोज्दा
त्यो चिम्ल्याइमा देखिन्छ–
विशाल आसमानको अस्मानीमा
नवबधू झैं आँचल पक्रेर
व्योमयानमा तिमी कावा खाइरहेकी
तिम्रो रूपलावण्य
मेरो मुटुमा वडवानल सल्काइरहेछ
ए बामाङ्गी !
मलाई भयावह बैतरणीको छालमा नछोड ।
…
(प्रिय साथी !
तपाईं पनि सयपत्रीजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)