के अब तेस्रो महाभारत हुन्छ ?
कविता
पेशल आचार्य
हिजोको महाभारत
र, आजको महाभारत
अलगअलग हुने छैन
रूपमा पृथक् भएर पनि
सारमा एउटै हुनेछ ।
हिजो पनि अन्यायीहरूविरुद्ध
लडेका थिए पाण्डवहरूले
त्यो महाभारत
आज पनि अन्यायीहरूविरुद्ध
लडिरहेछन् यो महाभारत ।
फरक दृश्यतीत परिवेशमा छ
पृथक् पात्रहरूका आवरणमा मात्र छ
अन्तर सोच र समझमा मात्र छ
र, केही पनि बेगल छैन
हिजोको र आजको महाभारत ।
हिजो पनि अर्जुन अग्रपंक्तिमै थियो
आज पनि अभिमन्यु चक्रव्यूहमै घेरिएका छन्
हिजो पनि भीष्मपिताम्मह वाणशैयामै थिए
आज पनि भीष्मपिताम्मह वाणशैयामै छन् ।
हिजो पनि द्रौपदीलाई
दुर्योधनले चिरहरण गरेको थियो
आज पनि द्रौपदीहरूलाई पूँजीबजारले
‘टु पिस’ लुगामै विज्ञापित वस्तु मानेको छ ।
हिजो पनि कृष्णको चाल
दोहोरोतेहेरो थियो
आज पनि कृष्णको चाल
चौथौ र पाँचौँ शैलीको छ ।
हिजो समरमा हजारौं र लाखौं
सर्वनामहरू मरेका थिए
आज पनि समरमा
हजारौं र लाखौं सर्वनामहरू नै मरेका छन्
कसैको धाती न गुहारी केही छैन
कसैको हियायत केही देखिएन ।
केही ठालुहरूले
आफ्नो शोषणका लागि
बनाएको कानुनी वैधता प्राप्त संयन्त्र नै
सरकार रहेछ
जसबाट अब लाखौं र करोडौं नागरिकको
विश्वास उठिसकेको छ ।
महाभारतमा हिजो पनि
कौरवको कपट थियो
महाभारतमा आज पनि
कौरवकै कपट छ ।
हिजो हस्तिनापुरको सवाल थियो
आज एमसिसीको सवाल छ
हिजो स्त्रीको बेइज्जतको सवाल थियो
आज देशरूपि आमाको सवाल छ
फरक केही पनि छैन ।
हिजो माटोका लागि दुन्दुभी रचियो
आज ‘मनी’का लागि कुटिल षडयन्त्र रचिँदैछ
हिजो शक्ति सञ्चयका लागि युद्ध रचियो
आज सत्ता सञ्चालनका लागि युद्ध रचिँदैछ ।
फरक के छ ?
हिजो र आजको महाभारतमा
हिजो पनि कृष्ण हिरो थिए
आज पनि कृष्ण हिरो छन् ।
हिजो कृष्ण तर्क, ज्ञान, माया र योगमा
अब्बल भएर हिरो भएका थिए
आज कृष्ण मारण, मोहन, सम्मोहन, वशीकरण र उच्चाटन
साथै पैसाको बलमा हिरो भएका छन् ।
हिजो कृष्ण केवल कृष्ण थिए
आज कृष्ण फगत् कृश भएका छन्
हिजो कृष्ण मोहितशक्ति थिए
आज कृष्ण मत्तशक्ति भएका छन्
रुपमा फरक छन्
तर सारमा एउटै हुन् ।
यो महाभारत
र, त्यो महाभारत
पात्रता, परिवेश र घटनामा फरक होला रे !
बाँकी तथ्यमा एउटै छ
समग्र विषयमा एउटै छ
र, सम्पूर्ण सन्देशमा एउटै छ ।
कुलीन जसरी निकुलीनको तलुवा चाट्छ
गरिबले गरिबको साथ दिन्छ
अब कित्ता छुट्टिन्छ
कुलीन कुलीन एक हौं
गरिब गरिब एक हौं
अब चाँडै अर्को दुन्दुभी शुरू हुनेवाला छ
त्यसलाई
के तेस्रो महाभारत नामकरण गर्दा हुन्छ त ??
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)