भातखराउ गुडेको देखेर केटीहरू कराउन पो थाले

कथा: भातखराउ

सीता ओझा

नकुल र सहदेव गैरीगाउँमा सरेको दस वर्ष बितेछ । उनीहरू गैरीगाउँमा सर्दा आसपासका पाटाबारी खुला थिए । हिउँदे बाली तोरी र फापर वर्खा बाली मकैले हरियै हुन्थ्यो । छोराछोरी जन्मेको साल बसाइँ सरेका नकुल र सहदेवका छोराछोरीको विहे दुबैले आँगन पोलेर गर्ने भए ।

नकुलले छोरीको विहेको साइत मंसिरमा निकाले भने सहदेवले माघमा । विहेको लागि सबै तयारी पूरा भयो । आँगन ठुलै थियोे । अलि ठाउँ साँगुरो होला झै मानेर आँगनको पल्लो छेउ,वारी जोडिएको ठाउँको फुल्न लागेको तोरी काटेर लैनो भैंसीलाई खुवाए र सफा पारे । जन्ती पर्सने ठाउँ र भत्यारको ठाउँ निकाले ।

नकुलको छोरीको विहेको जन्ती आइपुग्न लागेको शुभ साइत जनाउदै भातखराउ नकुलको घरभित्र छिरे । नकुलको घरभित्र छिरेका भात खराउलाई भत्यारतिर लगियो ।

भत्यारको भान्साका भान्सेले दुनेहरूलाई कराए, ‘ए, दुना टपरी कहाँ छन् हँ ? भात खराउ आइसके, भोकाईर आएका भातखराउलाई खुवाउनु पर्ने, छिटो लेर आओ ।’

भान्सेको स्वरसगैं दुनाटपरी बोकेर दौडेका केटीहरूले भात खराउको लागि खान बस्ने बन्दोबस्त गरे । भत्यारमा पाकेका व्यञ्जन सबै टपरी र बोहोतामा राखेर ठिक पारे । जन्ती आउदै गरेको जनाउ दिएका भात खराउलाई खानाको लागि भत्यारको पाटोबारीतिर लिएर आए र बस्ने ठाउँ देखाए ।

बाटोको धुलो टकटक्याउदै हात खुट्टा धोएर तीनैजना भात खराउ बस्ने ठाउँतिर लागे । बस्नको लागि राडीओच्याइएको थियोे । राडीको मुनि पराल निकै ओछ्याइएको थियोे । नजिकै उभिएका केटीहरू र भान्सेले नदेख्ने गरि भातखराउले ओछ्याइएको राडी र परालको अवस्थाको जाँचपढताल गरे । सबै पाका उमेरका महिलाहरूको व्यवस्थापन देखेर उट्पट्याइँ नगरलान भन्दै ढुक्क भएर बसे ।

बस्ने वितिकै टपरीमा भात, हरहरघिउ र अदुवाको बास्नादार मासको दाल, टपरीको छेउमा आलु, फर्सिको तरकारी र दुनामा मुलाको थेवे सहितको भाग मुखै रसाउने गरी छेउमा राखी दिए ।

लामो बाटो सखारै हिडेका भातखराउहरू भोकले इन्तुनचिन्तु भैसकेका रहेछन् । टपरीमा हरहराउदो भातको भाग देखेपछि दायाँबायाँ नहेरी सपासप खान थाले । हेर्दा सरल र सज्जन देखिने भान्से र केटीहरू भातखराउको छेउमा आएर ‘के थपौं ? खाना कस्तो भयो ?’ भनेर सोध्न थाले ।

भातखराउ मध्येको एउटाले भात थपौं होला भनेर यसो जिउ तनक्क तन्काएको मात्रै के थियोे । तिनैजना पराल र राडीसहित तल्तिर पाटोको तोरीबारीलाई सोत्तरै बारेर पल्लो ढिल पो पुगे ।

भात थप्न आएका भान्से र छेउमा उभिएका केटीहरू भातखराउ गुडेको देखेर पेट मिचिमिचि हाँस्दै, ‘तोरी सके है भातखराउले’ भन्दै कराउन पो थाले ।

पल्लो बारीमा पुगेका भात खराउहरू यताउता हेर्दै उठे र हत्तपत्त जुठो हातले धुलो पुछ्न थाले ।

भातखराउलाई दुख दिएको देखेर दुलहीकी हजुरआमा दौडदै आइन् र भातखराउहरूको छेउमा पुगेर, ‘चोट त लागेन नि ! छौडाहरूले इज्जत नै फाले । रमाइलो गर्ने अरू तरीका पनि त हुन्थे नि !’ भन्दै फतफताउदै खानाको लागि घरतिर लगिन् ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button