डेबिड ! तिम्रो आशा अनुरुपको केटी चाँडै भेटियोस्

… मलाई डेबिडको बारेमा केही सोध्न मन लागेको थियो तर कसरी सोधौँ, नराम्रो पो लाग्ने हो कि ! यसै पनि यी विदेशीहरुलाई सोधिखोजी गरेको उति मन पर्दैन, न आफ्नाबारेमा केही बताउँछन् न अर्काको नै वास्ता गर्छन् । हाम्रो देशमा भए बाटो हिड्नेसँग पनि सबैथोक जान्नै पर्छ । यै सिड्नीमा पनि आफ्ना सन्तानले बोलाएर घुम्न आएका बाटोमा थुपै्र भेटिन्छन् । काम नपरेका मान्छेसँग नानाभाँतीगफ छाँट्नु मेरो स्वभावले दिंदैन । त्यसैले भरसक मलाई आफ्नो परिचय झट्ट कतै खोल्न मन लाग्दैन ।

केही त सोध्नै प¥यो, आखिर यत्तिको दिनको हाइहलो, अनि यसले पनि त मेरो सोधिखोजी गरेकै थियो, मैले केही सोध्दैमा नराम्रो मान्ला र ?

‘डेबिड ! तिमीलाई नराम्रो लाग्दैन भने आफ्नाबारेमा केही बताउँछौ कि ?’, मैले डेबिडको अनुहारमा हेर्दै भनेँ ।

‘मलाई नराम्रो लाग्दैन तर तिमी के जान्न खोज्दैछ्यौ ?’, उसले उल्टै मलाई प्रश्न तेस्र्यायो ।

‘तिम्रो घर, परिवार पत्नी सबैको बारेमा भननँ, यताका मान्छेका दिनचर्या र पारिवारिक सम्बन्धका बारेमा मलाई जान्न मन छ, तिमी खास अस्ट्रेलियन हौ अथवा अन्त कतैबाट आएका आप्रवासी हौ ? एकैपटक यत्तिको प्रश्न आएकोमा डेबिड अलमल्ल परेजस्तै देखिन्थ्यो । उसले हाँस्दै भन्यो, ‘के तिमी पत्रकार हौ ?’

‘किन र ?’, मेरो प्रश्नको जवाफमा उसले भन्यो, ‘मलाई लाग्छ, पत्रकारले मात्रै यस्ता कुराहरु सोध्छन् तर जे होस् म भन्छु ।’ मैले उसको अनुहार हेरिरहेँ ।

‘इटालीमा जन्मिएका मेरो हजुरबा एउटा देशभक्त सिपाही थिए । दोश्रो विश्वयुद्धमा भएको नरसंहार देखेर युद्धविराम भइसकेपछि पनि आफ्नो देशमा बस्नै मन नलागेर भर्खर जन्मिएको छोरो र पत्नीलाई लिएर सुटुक्क अस्ट्रेलिया छिरेका रहेछन् । त्यतिबेला अस्ट्रेलियातिर पनि धमाधम नयाँनयाँ शहरको निर्माण हुँदै थियो । उनले सिड्नीमा आफ्नो सानोतिनो रेस्टुरा चलाएर बसेका रहेछन् । मेरो बाबु अल्लि बिलासी खाले काम नगरी खान पल्केको मान्छे थियो । एउटै छोरो भएकोले हजुरआमाले धेरैनै माया गर्थिन् । त्यसैले पनि ऊ अल्छी भएको हुनुपर्छ । हजुरबा बित्दा म सानै थिएँ । मेरो बाबुले रेस्टुरा चलाउन नसकेर बेचिदिएछ ।’

उसको कुराको बिचैमा मैले सोधेँ, ‘तिम्रा बाबुआमा तिमीसँगै बस्छन् कि ?’

उसले भन्यो, ‘हामी सँगै बस्दैनौ, उनीहरु आफ्नै घरमा बस्छन्, म आफ्नै घरमा बस्छु ।’

‘तिम्रा परिवार त तिमीसँगै होलान् नि ?’, मेरो सोधाइमा डेबिड गम्भीर बन्यो । यिनीहरु जोसुकै मान्छेसँग उनका घरायसी र पारिवारिक मामलामा बोल्न चाहदैनन्, मैले सोधेर गल्ति गरेँ जस्तो लाग्यो । केही समयको मौनतालाई तोड्दै उसले भन्यो, ‘अर्को पटक भेट गराउँछु है ।’

आश्चर्य मान्दै मैले सोधेँ, ‘यतै पार्कमा ल्याउँछौ?’

‘हो !’, उसले सहज उत्तर दियो तर मलाई पत्यार लागेन मैले हास्दै भनेँ, ‘पछि हेरौँला ।’

त्यसपछि हामी छुट्टियौ ।

घर नपुगेसम्म डेबिडका कुरा दिमागमा खेलिरह्यो । सधंै त ऊ एक्लै पार्कमा आएको हुन्छ, परिवार त के कोही साथी पनि हुँदैन । कसैसँग नबोलिकन एक्लै हिँडिरहन्छ । एकाबिहानै त्यसका साथ लागेर को आउँछ होला र ! बिदाको दिन त मस्त सुत्छन्, योचाहिँ यसले झुट्टै बोलेको हो । डेबिडले भनेका कुराको सत्यतथ्य खोज्दाखोज्दै म घर पुगेँ । भर्खर उठेर उनकी आमाको काखमा बसेकी मेरी नातिनी मैलाई नै पर्खेर बसेझै मलाई देख्ने बित्तिकै दौडिदै अँगालो मार्न आइपुगिन् । सानी अबोध नातिनीको हँसिलो मुहार देखेपछि खै किन हो अचेल मलाई अरु कुनै चिजको सम्झना नै रहन्न । नातिनीको अगाडि म पनि उनी जस्तै बनेर उनीसँगै खेलिरहन मन लाग्छ ! एक्लै दँग पर्छु, आजभोलि यो के हुँदैछ मलाई ?

Ad

बिदाको दुइ दिन भ्याइनभ्याइ हुन्छ । कतै घुम्न पनि जानैप¥यो, अर्को एक हप्तासम्मको लागि घरायसी किनमेल पनि गर्नै प-यो ! सिड्नी बसुन्जेलको दिनचर्या भनेको यत्ति नै हो, बाँकिका दिन आफ्नै सुरतालले बिताउनु पर्छ । नजिकैको पार्कमा समय ब्यतित गर्दा र विदेशी भए पनि डेबिडसँग गफ गर्दा निक्कै रमाइलो लाग्छ । हाई हलोमा सिमित भएको अरु दिन आज फेरि शनिबार परेकोले म डेबिड आउने आशामा सधैँको बेन्चमा बसिरहेकी थिएँ । मनमनमा सोच्दै थिएँ, डेबिडले परिवार ल्याउला त ? अघिल्लो हप्ता परिवारसँग भेटाउँछु भन्थ्यो, परिवार त आउन्नन्, अब के भन्दो रहेछ ?

परबाट डेबिड लम्कदै आइरहेको देखैँ । साँच्चै ऊ एक्लै थियो । म मनमनै विजयीभावले मुस्कुराएँ । नगिचै आएपछि भन्यो, ‘सरी लेडी ! आइ एम् गेटिङ लेट ।’

मैले मुस्कुराउँदै भनेँ, ‘ठिकै छ ।’

म डेबिडलाई हेरिरहेकी थिएँ, मनमनै खोइ त तिम्रो परिवार भनेर सोधौ कि झै लाग्यो तर यस्तो सोधेर उसलाई किन लज्जित् पार्नु व्यर्थै, मलाई उसका परिवारसँग भेट्न के खाँचो हो र ? डेबिड आफ्नै सुरमा खल्ति छाम्दै थियो, अचानक खल्तिबाट एउटा खाम निकालेर मतिर बढाउँदै भन्यो, ‘यिनै हुन् मेरा परिवार, साथै भएको भए अवश्य भेट्टाउँथेँ, अफसोच यिनीहरु म सँग बस्दैनन् ।’

मैले खाम खोलेर हेरेँ । त्यसभित्र दुइवटी बालिका र उनकी आमाको एउटा तस्वीर थियो । ८-१० बर्ष जतिका भुक्क गाला भएका, गोरा राम्रा बालिकाको साथमा भएकी युवती पनि राम्रै थिइन् । मैले भनेँ, ‘कति राम्रा रहेछन्, तिम्रा छोरीहरु, उनकी आमा पनि निक्कै राम्री रहिछिन् ! यिनीहरु अर्कै शहरमा बस्छन् ?’

मलाई लाग्यो, सायद डेबिडकी पत्नीको अर्कै सहरमा काम भयो होला अनि बालिकाहरु आमासँगै बस्छन् होला !

डेबिडले भन्यो, ‘हो ! दुइ वर्षअगाडि इभानाले मलाई डिभोर्स गरेर अर्को बिहे गरीन् । छोरीहरु पनि उसैसँग बस्छन् ।’

उसको कुरा सुनेर मैले सहजै अनुमान लगाउन थालेँ, ‘यिनीहरु यस्तै हुन् । एउटा छोड्यो, अर्कोसँग बिहे ग-यो । सन्तानको बिजोग हुन्छ ।’

डेबिड चुपचाप बसिरहेको थियो, मैले सोधेँ, ‘तिमीले पनि त अर्को बिहे ग-यौ होला नि ?’ ‘

डेबिडले सहजउत्तर दियो, ‘छैन, केटी पाएकै छैन कसरी बिहे गर्नु ? आज शनिबार म मेरा छोरीहरुलाई भेट्न जान्छु । हप्ताको एक दिन मैले उनीहरुलाई घुमाउनु पर्छ । अब घरमा गएर बिहानको खाना खाएर उता जान्छु अनि दिनभरी कतै लैजानु पर्छ । मलाई अबेर हुन्छ । म गएँ । बाइ’, भन्दै डेबिड हिँड्यो ।

मलाई उठेर हिँडिहाल्न मन लागेन । डेबिड गएको परसम्म हेरिरहेँ । ऊ आँखाबाट ओझल भएपछि म पनि बिस्तारै उठेर आफ्नो बाटो लागेँ ।

आज डेबिडभन्दा पनि उसका अबोध छोरीहरुका अनुहार मेरो आँखामा घुमिरह्यो । बालकैमा उनका आमाबाबुको अहंमताका कारण सँगै मिल्नु पर्ने उनका मायाबाट बन्चित भएका ती अबोध बालिकाहरु, तिनको के दोष थियो र ? फेरि पनि सजाँय त उनैले भोगिरहेका छन् ! आमाले अर्को बिहे गरी । ऊ त्यसैमा मस्त होली । बाबु पनि हप्ता दिनमा एक दिन अनुहार देखाउन जान्छ । त्यै पनि अहिले एक्लै रहेछ । भोलि यसले बिहे ग¥यो भने ऊ पनि आफ्नै दुनियाँमा मस्त हुन्छ अनि ती बालिकाहरुको कसले वास्ता गर्ला र ? यिनीहरु यस्तै हुन्, थोरै मनमुटाव भयो भने पछि छुट्टिहाल्नु पर्छ । यति पनि विचार गर्दैनन् कि हामीले जन्माएका सन्तानको भविश्य पछि के होला ? फलस्वरुप उनका सन्ताले पनि भविश्यमा उनकै बाटो अपनाउन सक्छन् अनि समाजमा एक किसिमको असहिष्णु खाले भयावह स्थितिको विकास हुन्छ ।

बाटोभरी भुत्भुताउँदै अनेकने सोच्दासोच्दै म त निक्कै पर सोच्न पो पुगिछु । यो सबै सोचाइ त्यै डेबिड नामको जन्तुबाट उत्पन्न भएको हो । मनमनै त्योसँग रिस पनि उठ्यो । अनुहार न दनुहारको मोरो ! मान्छेले बनको बाघलाई तहलाएर बस्न सक्छन् । भएकी एउटी स्वास्नीलाई फकाइफुल्याइ रत्याएर बस्न सक्दो रहेनछ । स्वास्नी त गई गई, आफ्नो सन्तान पनि ऊसँगै पठाउँदो रहेछ । यस्ता नामर्दलाई अब अरु कुनचाहिँ केटीले पत्याउली खै ?

मेरो दिनचर्या यसैगरी बित्दै थियो । पार्कमा डेबिडसँग सधैजसो भेट भइरहन्थ्यो । तर उसलाई देख्यो कि मुन्टो फर्काउन मन लाग्थ्यो । मनले भन्थ्यो, काम न काजको निरर्थक मान्छे ! भूतो न भविश्य भनेझै खानु र सुत्नुमै बितेको जिन्दगी कस्तो ! उसको जीवनको के अर्थ छ र ? एक्कासि सम्झना आयो, यो मान्छे कसैसँग बोलेको देखिन्न । मसँग किन बोल्न आएछ ? बोलेको मात्रै नभएर उसले मेरा बारेमा सोधपुछ ग¥यो । केही मात्रामा आफ्नो अन्तरमन पनि खोल्यो ।

ओहो ! यो कुरामा मेरो ध्यान गएकै थिएन । मनमा खुल्दुली मच्चिन थाल्यो । केही न केही रहस्य त अवश्य छ । कसरी जान्ने होला ? डेबिडलाई नै सोधौँ कि ! हैन, मसँग किन बोलेको भनेर उसैलाई कसरी सोध्ने ? यो पनि भएन, तर मन भने निकै उत्सुक थियो ।

डेबिड आउने आशाले सधैको ठाउँमा गएर बसेँ । केहिबेरको पर्खाइपछि डेबिड आइपुग्यो । हाइहलोपछि सधैझै सँगैको बेँन्चीमा बस्यो । सधैंजसो हाँसेर बोल्न खोज्ने डेबिड किन हो चुपो लागेर बसेको छ । अनुहार पनि निन्याउरो देखिन्छ ! मैले सोधिहालेँ, ‘तिम्रा आफन्त, साथी कोही छैनन् डेबिड ?’

जिल्ल पर्दै सोध्यो, ‘किन र ?’

‘यो पार्कमा यत्तिका मान्छे आउजाउ गर्छन् । तिमी कोहीसँग बोलेको देखिन्न । सिधै मसँग मात्रै बोल्यौ, अनि परिवार पनि कोही सँगै छैनन्, सिंगो घरमा तिमीएक्लै कसरी बस्न सक्छौ ?’

मेरो कुरा उसको मनभित्र लागेजस्तै गरी बोल्यो, ‘साच्चै ! तिम्रो सोचाइ साँच्चो हो । तिमी सुन्छ्यौ भने म आफ्ना केही ब्यक्तिगत कुरा भन्छु, अनुमति दिन्छ्यौ ?’

‘हुन्छ, म सुन्छु’, मेरो आज्ञा पाएपछि उसले आफ्नो काहानि सुरु ग¥यो ।

‘म सानै हुँदा मेरा बाबुआमा सधैंजसो झगडा गरिरहेका हुन्थे । हजुरबाले जोरेको सम्पत्ति बेचेर मेरो बाबु धनी भएको थियो । सधैँजसो राती पबबाट रक्सी पिएर हल्लिँदै घरमा आउँथ्यो अनि आमासँग झगडा गथ्र्यो । उनीहरुको झगडामा कहिलेकाहिँ हात हालाहाल पनि हुन्थ्यो । आमाबाबुको माया कस्तो हुन्छ मलाई थाहै भएन । मभन्दा चार वर्ष जेठी मेरी दिदीले मलाई खुब माया गर्थी । भोक लागेको बेलामा मलाई उसैले खाना खान दिन्थी । बाबुआमाको झगडा देखेर मलाई खुब डर लाग्थ्यो । त्यतिबेला मेरी दिदीले अर्कै कोठामा लगेर आफुसँगै सुताउँथी । दिनभरी त स्कुलमा बित्थ्यो । तर रात परेपछि भने मलाई खुब डर लाग्थ्यो ।’

ओहो ! कस्तो कारुणिक बाल्यकाल । उसको कहानीले मलाई पनि भावुक बनायो ।

‘तिम्रो बाल्यकाल त निकै दुखदायी रहेछ डेबिड ! तिमीले कसरी पढ्न सक्यौ होला र ?’, मैले प्रसंग बदलेर सोधेपछि उसले फेरि आफ्नो कहानी सुरु ग-यो ।

‘एक दिन राती फोनको घण्टी बज्यो । हामी दिदीभाई पनि फोनको चर्को आवाजले बिउँझियाँै । अस्पतालबाट फोन आएको रहेछ । मेरो बाबु धेरै पिएर बेहोस भएर पबमै लडेछ अनि उतैबाट अस्पताल पु-याएका रहेछन् । मेरी आमा हतारिँदै हामी सुतेको ठाउँमा आइन् र भनिन्, म अस्पताल जानप-यो, तिमीहरु राम्ररी बस है । हामी दिदीभाइ डरले काम्दैकाम्दै बस्यौँ । उज्यालो भयो । निकै अबेरसम्म पनि आमा आइनन् । मलाई राम्ररी थाहा छ त्यस दिन हामी स्कुल पनि गएका थिएनौँ । आधा दिनतिर केही मान्छेका साथमा आमा रुँदैरुँदै घरमा आइन् । आमा रोएको देख्दा मैले छक्क परेर डराइडराइ हेरेको थिएँ । पछि थाहा पाएँ, मेरो बाबु त मरिसकेछ ! बाबु मर्दा म करिव आठ वर्षको थिएँ ।’

त्यति भनेर डेबिड एकछिन् सुस्तायो । मैले पनि अफसोच प्रकट गर्दै भनेँ, ‘माफ गर डेबिड ! तिम्रो कहानी सुनेर तिमीप्रति दया लाग्यो । यस्तो अवस्थामा रहेका तिमी कसरी अगाडि बढ्न सक्यौ होला ! बाबु नभएपछि त घरमा शान्ति भयो होला नि ?’

डेबिडले भन्यो, ‘हो ! दुइ दिनपछि बाबुको अन्तेष्टि भयो । त्यसपछि आमा एक्लै भइन् । त्यति बेला उनको सबै ध्यान हामी दिदीभाइतिर मात्रै हुन्थ्यो । पहिला धेरैजसो बाहिरैबाट खानाको पोको आउँथ्यो । तर आमा एक्लै भएपछि सधैजसो घरैमा खाना बन्न थाल्यो । बिदामा आमाले हामीलाई शहर बजारतिर घुमाउन लान्थिन् । हामी तिनैजना खुब खुसी थियौँ । स्कुलमा पनि हाम्रो पढाइ रामै्र चलेको थियो । करिव दुइ बर्ष जति आमाले हामीलाई खुबै माया दिएकी थिइन् । त्यसपछि उनले अर्को विवाह गरिन् । उनी हामीलाई छोडेर अन्त गइनन् तर उनका पति हामीतिर बस्न आए । नचिनेको मान्छे हामी दिदीभाई सौतेनीबाबुसँग उति घुलमिल हुन सकेनौ । त्यतिबेला आमाको समय हामीसँग भन्दा उसैसँग बित्न थाल्यो । हामीलाई त्यो सौतेनीबाबुसँग खुब रिस उठ्थ्यो । त्यसले आमालाई हामीबाट चोरेजस्तै लाग्यो । तर पनि पहिलाजस्तो घरमा अशान्त वातावरण थिएन । हामी पनि ठूला भइसकेका थियौँ । आफ्नो खानादेखि स्कुलसम्मको काम आफै गथ्यौँ । यसैगरी चार पाँचवर्ष बिते । दिदी ठूली भई । ऊ बाहिर पैसा कमाउने काम गर्न थालेकी थिई । बचेको समय आफ्नो ब्वाइफ्रेण्डसँग हिँड्न थाली । म पनि आफ्नो हातखर्चको लागि केही समय काम गर्थेँ र साथीहरुसँग हिँड्न थालेको थिएँ । त्यसैबेला इभानासँग मेरो भेट भएको हो ।’

‘अनि कति बेला इभानासँग बिहे गरेर बस्यौ त ?’

ऊ फेरि भन्न थाल्यो, ‘करिव पाँच बर्षजति हाम्रो प्रेम चल्यो । इभानाले बिहेको लागि यस्तो सर्त राखी कि हामी दुबैले वयस्क भएर केही राम्रो काम नथाली बिहे नगर्ने । मैले पनि सहमति जनाएँ । आखिर हामी एकअर्कालाई खुबै मायागथ्र्याैं । दिदी पनि बिहे गरेर अन्तै बस्न थालेकी थिई । हामीले पनि बिहे गरेर अन्तै बस्ने सोच बनायौँ । मेरी आमाले त्यसै घरमा बस्न आग्रह गरेकी भएता पनि इभानाको इच्छा अनुसार बिहे गरेर हामी छुट्टै घरमा बस्न थाल्यौँ । बिहे भएको दश बर्ष जतिमा हाम्रा दुइ सन्तान पनि भएका थिए । जिन्दगी यस्तै प्रकारले चल्दै थियो । एक दिन अचानक इभानाले छोड्पत्रको प्रस्ताव अगाडि ल्याइन् र भनिन्, म अब अर्को बिहे गर्छु । म छक्क परेँ ! मेरो गल्ती के भयो र ? तिमीलाई थाहा छ कि म कत्ति माया गर्छु, फेरि पनि मलाई छोडेर अर्कोसँग किन बिहे गर्छौ ? के उसले तिमीलाई मैलेभन्दा धेरै माया गर्छ र ? मेरो प्रत्येक प्रश्नमा उनको एउटै जवाफ हुन्थ्यो, मलाई थाहा छैन कि म सही गर्दैछु या गलत तर तिमीलाई थाहा छ कि म तिमीसँग बस्न सक्दिनँ, अर्कैसँग बिहे गरेर बस्छु, अब तिमीले रोक्न सक्दैनौ । मेरो केही लागेन । तिमी जाने भए पनि छोरीहरु यतै छोडनँ, म हेर्छु भन्दा पनि मानिनँ । आखिर मलाई एक्लै पारेर गई । इभाना गएको दिन म धेरै रोएको थिएँ ।’

डेबिडको दुखदायी जीवनगाथा सुनेर मेरो मन पनि चसक्क दुख्यो । एउटा मान्छे जो जन्मेर आफ्नो होश सम्हालेदेखि आफु एक्लै भएको महसुश गर्छ, बिहेपछिको पारिवारिक दुनियाँमा विगतका एकाँकीपनलाई बिर्सेर निकै रमाएको हुँदो हो । फेरि छाएको नैराश्यताले यसको जीवन कतातिर लैजाला त ? कस्ती आइमाई होली ! यत्तिका बर्ष भोगचलन गरेको लोग्नेमान्छेलाई आफ्नै छोरीहरुबाट अलग्याएर यसरी जीउँन बाध्य बनाउने पनि आइमाई हुँदारहेछन्, त्यसलाई अलिकता पनि दया लागेनछ ? मेरो मनले डेबिडकी पत्नीलाई घृणा गर्दै नालायक आइमाई भन्न थाल्यो ।

डेबिडको आत्मबृतान्त सुन्दासुन्दै निक्कै समय बितेछ । अबेरसम्म घरमा नपुगेकोले छोरीले फोन गरिन्, ‘हजुर कता हो ?’

मैले आउँदै छु भनेर फोन राखेँ ।

डेबिडले सोध्यो, ‘कसको फोन ? ’

‘मेरी छोरीको, आज अल्लि अबेर भयो । त्यसैले फोन गरेकी’, मेरो जवाफमा ऊ जिल्ल पर्दै भन्यो, ‘तिमी धेरै भाग्यमानी छ्यौ ! मैले तिम्रो धेरै समय लिएँमलाई माफ गर ।’

यति भनेर ऊ जुरुक्क उठ्यो । हामी एकअर्कालाई बाई भन्दै आआफ्नो बाटो लाग्यौँ ।

डेबिडको अन्तरँग कहानी सुनेपछि धेरैजसो समय उसकै ध्यानमा बित्न थाल्यो । मनमा विचार आयो बिनाकारण हुँदोखाँदोको आफ्नो परिवार छोडेर एउटी आइमाईले किन अर्के बिहे गर्छे ? साँच्चै परिवारको माया नभएको हो भने छोरीहरु किन साथै लान्थी र ? ती दुवैैका बीचमा खास केही कुरा भएको हुनु पर्छ ।

‘हात्तीको देखाउने एउटा र चपाउने एउटा दाँत’ भएजस्तै उसले मैले सोधेको प्रश्नको पनि उत्तर दिएको छैन ! कोहीसँग नबोल्ने मान्छे मसँग मात्रै किन बोल्न आयो त ? मेरो मनमा उब्जेको डेबिड नामको जन्तुका बारेमा अनेकौ प्रश्नको जवाफ उसैले बाहेक अरु कसले दिन्छ र ?

आज शनिबार बिदाको दिन भएकोले डेबिडसँग मेरो मनमा उठेका सबै कुराको जवाफ माग्छु भनेर चाँडै पार्कतिर लागेको थिएँ । तर ऊ आएन । चार दिन, पाँच दिन गर्दागर्दै एक हप्ता बित्यो । तैपनि ऊ आएन । किन होला ? कतै केटी पाएर बिहे गरेर मख्ख परेर बसेको पो छ कि ? कतै बिरामी भएर सुतिरहेको पो छ कि ? बिछ्यौनामा परेको भए कस्ले हेर्छ होला ? ऊ त एक्लै बस्छ ! अथवा मसँग गरेका कुरा सबै झुट्टा पो हो कि ? पार्कमा मात्रै हैन, अचेल घरमा पनि उसकै यादले सताइरहन्छ । ऊचाहिँ कता पुग्यो कता ? बिनाकाम मेरो दिमाग भने तातेको तात्यै ! बिर्सुँ भन्यो फेरि त्यतै मन जान्छ । करिब पन्ध्र दिनजति यसैगरी बित्यो । एउटा खराब सपनाले केही दिन बिथोलेर हराउँदै गएजस्तै अब मेरो मानसपटलबाट डेबिड नाम गरेको भूत बिस्तारै हराउँदै जान थाल्यो ।

करिव १५-१६ दिन बितिसकेको थियो । बिदाको दिन सधै जस्तै बेन्चीमा बसेर पार्कको रमझम हेर्दै थिएँ । परैबाट डेबिड आउँदै गरेको देखेँ । विश्वास नलागेर आँखा गाडेर हेर्दै थिएँ, नजिकै आएर भनिहाल्यो, ‘हलो लेडी ! हाउ आर यू ?’

मैले ठिकै भएको जानकारी दिँदै भनेँ, ‘निकै दिनपछि आयौ त ! कामको सिलसिलामा शहरबाहिर गयौ कि ?’

उसले भन्यो, ‘हैन, म त अचानक बिरामी भएँ । पेट खुब दुख्यो । एक्लै अस्पताल जान पनि सकिनँ । ज्यादै दुखेकोले बेहोसजस्तै भएँ । म त त्यति बेलै मर्छु कि जस्तै लाग्दै थियो । इभानाको फोन आयो । उनी सोध्दै थिइन्, कति बेला बच्चाहरु लिन आउँछौ ? म सन्चो नभएको थाहा पाएर तुरुन्त आएर अस्पताल पु¥याइन् । एपेन्डिस् भएको रहेछ । उनी आएर समयमै मलाई अस्पताल नपु-याएको भए सायद कोठामै मर्थें होला । पाँच दिन अस्पतालमा बस्नुप-यो अनि घरैमा बसेर आराम गरेँ । आज दुइ हप्तापछि पार्कमा आउँदैछु ।’

‘ओहो ! तिमी त सारै बिरामी पो भएछौ ! अस्पतालमा पनि एक्लै थियौ होला ?’, मेरो सोधाइमा उसले भन्यो, ‘दिनभरी त एक्लै हुन्थेँ तर साँझ–बिहान सधैँ इभाना आउँथिन् । डाक्टरसँग मेरो प्रगतिको बारेमा सोध्थिन् । औषधि–खानेकुरा सबै उनैले ल्याइदिन्थिन् । अस्पतालमा दुइपटक जति मेरी आमा र सौतेनीबाबु पुगेका थिए । अस्पतालबाट घरसम्म इभानाले ल्याएर छोडिन् । घरमा बसुन्जेल दुइपल्ट छोरीहरु लिएर भेट्न आइन् । फोनमा पनि समयमा खाना खान भनिरहन्थिन् । बिरामी भएको १० दिनसम्म दिनको एकपटक जस्तो फोन गथिनर्् । अब छोडिन् ।’

डेबिडको कुराले मलाई अचम्म बनायो । छोडेर गएकी श्रीमतीले बिरामी भएको थाहा पाएर दौडिँदै आएर अस्पताल पु¥याएर आफ्नो पुर्व पति अथवा आफ्नै छोरीहरुको बाबुलाई बचाइछन् । बिरामी सुनेपछि अस्पताल पु-याइदिनु त सामान्य कुरा भयो । कुनै बेला आफूले भोगचलन गरेको पुर्व पतिको नाताले मर्न लागेको बेला अस्पताल पु-याउनु उनको धर्म हो र गरिछन् तर दिनदिनै पुगेर उसको खैखबरी गर्नु, औषधिमूलोदेखि खानासम्म उनैले गरेकी रहिछन् । सन्चो नहुन्जेल घरैमा गएर या फोनबाट भए पनि सोधपुछ र निर्देशन दिएकी रहिछन् । यस्तो मान्छे कसरी नराम्रो हुनसक्छ ? मनै नपरेर छोडेको भए यसरी उसको ध्यान किन गर्थिन् होला ! डेबिडले दर्शाएको जस्तो लोग्ने फेर्दै हिड्ने आइमाई कतैबाट देखिएजस्तो मलाई लागेन ।

मन मानेन, उसैलाई सोधेँ, ‘डेबिड ! तिम्री पुर्वपत्नी के साँच्चै नराम्री हुन् त ? तिम्रो कुराले त उनले मन नपरेर छोडेर गइन् भन्थ्यौ । साँच्चै मनै नपरेको भएतिम्रो हेरविचार कसरी गरिन् ? बिरामी बेलामा अस्पताल पनि त उनैले पु-याइन् । मलाई त उनी घर परिवारको वास्ता नगर्ने स्वार्थी आइमाई जस्तो लागेन ! तिमी दुइको बीचमा केही आन्तरिक कुरा भएको हुनुपर्छ । तिमीले जति कुरा सुनायौ, ती सबै सत्य होलान् तर खास कुरा बताएका छैनौ !’

डेबिड जिल्ल परेझै मेरो मुखमा हेरिरह्यो, ‘तिमी कसरी यस्ता कुराको विचार गर्न सक्छ्यौ ? त्यसैले मैले भनेको तिमी पत्रकार हौ कि जस्तो लाग्छ । हो ! साँच्चै हामी दुइमा आन्तरिक केही कुरा थियो’, ऊ एकछिन् अनकनाए झै देखियो । मेरो अनुहारमा पुलुक्क हेर्दै भन्यो, ‘साँच्चै सुन्छ्यौ त ?’

‘भन, म सुन्छु ।’

मसँग अनुमति मागे पनि उसलाई आफ्नो भित्री रहस्य खोल्न निकै कठिन भए जस्तो लाग्यो । केही बेरको मौनतापछि भन्न सुरु ग¥यो, ‘कसरी भनुँ मेरो जीवनको नराम्रा कुरा ? यो एउटा खराब सपनाजस्तै बिर्सिदिन मन लाग्छ ! तर तिमीलाई सुनाउँछु । इभाना साँच्चै नराम्री थिइनन् । उनी मलाई राम्रै माया गर्थिन् । हाम्रा दुइ सन्तान पनि भएकै हुन् । उनी एउटी स्वस्थ महिला थिइन् । खै किन हो पछिपछि मेरो शक्ति घट्दै गयो । उनको आवश्यकता र चाहनालाई मैले पुरा गर्न नसक्ने भएँ । उनी मन मार्दै अर्कोतिर फर्केर सुत्थिन् । करिव दुइ वर्षजति यत्तिकै चलिरह्यो । पर्खाइको क्रम सक्किएला जस्तो नलागेपछि उनले अर्को बिहे गर्ने निधो गरिन् । मैले रोक्न सकिनँ । मैलेभन्दा बढी छोरीहरुको आवश्यकता उनैले बुझेकी थिइन् । त्यसैले उनले साथै लान्छु भन्दा त्यो पनि रोक्न सकिनँ । उसको नयाँ पति सायद राम्रै होला । ऐले इभाना खुसी र सुखी देखिन्छे । मैले आजसम्म यो कुरा कसैलाई भनेको थिइनँ । तिमी नै पहिलो व्यक्ति हौ, जसलाई मैले आफ्नो नितान्त व्यक्तिगत कुरा सुनाएँ ।’

अझै जिज्ञाशु भावले मैले सोधेँ, ‘यत्रो दुनियाँमा तिमीले मलाई कसरी सत्पात्र देख्यौ ? म त एउटी विदेशी आइमाई । मेरो बारेमा तिमी अनभिज्ञ छौ । फेरि पनि मसँग बोल्न आयौ कसरी ?’

डेबिडले भन्न सुरु ग-यो, ‘यो दुनियाँ जत्ति ठूलो देखिन्छ, यहाँका मान्छे उत्ति नै साना मन भएका छन् । आ-आफ्नै घरसंसारमा ब्यस्त भएका हुन्छन् । कसैलाई कसैको मतलब हुँदैन अनि मेरो कुरा कस्ले सुन्छ र ?’

मैले भनेँ, ‘तिम्री आमा छिन् । सौतेनीबाबु छ अनितिमीलाई असाध्य माया गर्ने तिम्री दिदीपनि त छिन् नि । तिमी आफुले आफैलाई किन एक्लो बनाउँछौ ?’

‘मेरी आमा बुढी भइन् । अब उनलाई मेरो कुरासँग केही वास्ता भएन । त्यसैले म केही सुनाउन्न । मेरी दिदी बिहे गरेर गएदेखि आफ्नै घरसंसारमा ब्यस्त छिन् । मेरो कुरा सुन्ने उनको फुसद नै छैन । पुराना साथीहरु सबै छुटिसके । नयाँ अब बन्दैनन् । अब त प्राय पबमा मात्र साथी बन्छन् । तिनीहरु पबकै लागि मात्र हुन्छन् । डक्टरले धेरै नमोटाउनु, कोल्डस्टोर बढेको छ भनेकेले सबेरै उठेर यो पार्कमा घुम्ने गरेको थिएँ’, यति भनेर डेबिड रोक्कियो ।

मैले उसको मुहारमा हेरेँ, मनमनै भन्दै थिएँ, ‘तिम्रो कुरा त सक्किएको छैन, फेरि किन रोकियौ ?’

मेरो भाव बुझेजस्तै गरी ऊ फेरि भन्नथाल्यो, ‘यो पार्कमा सबेरै आउनेहरु प्राय जोडी मिलेर आएका हुन्छन् । कोही–कोही उमेर पुगेका एशियनहरु आफ्ना साथी या कुनै घरका सदस्यसँग आएका हुन्छन् । मैले धेरै दिनदेखि विचार गर्दैथिएँ, तिमी एक्लै घुम्दै हुन्थ्यो, बोलुँ जस्तो लागेर मैले हाई गरेँ, । तिमीले पनि मुस्कुराएर स्वागत ग-यौ । मलाई खुीस लाग्यो । फेरि बोल्न त मन लाग्यो तर कसरी के भनेर बोल्ने ? तिमी त अपरिचित् आइमाई ! मेरो बारेमा के धारणा बनाउँछ्यौ, त्यसैले अल्लि टाढै बसेँ । एक दिन तिमी एक्लै बसिरहेको देखेँ अनि नजिक आएर म पनि बसेँ । तिमीसँग परिचित् भएको त्यो दिन म ज्यादै खुसी भएको थिएँ । तिमीले आफ्ना बरेमा बताएका कुरा मैले सोचेको भन्दा नितान्तफरक थियो ।’

‘कस्तो फरक पायौ ? तिमीले मेरो बारेमा के सोचेका थियौ र ?’ मैले अचम्म मान्दै सोधेँ ।

डेबिड फेरि भन्न थाल्यो, ‘पहिलो कुरा त तिमी कतैबाट पनि एशियन जस्ती देखिन्नौ । दोश्रो कुरा, तिमीले आफ्नो घरपरिवारको बारेमा जेजति बतायौ, मलाई कतैबाट लागेन कि तिमी भरपुर परिवारमा एउटी सानी नातीनीकी हजुरआमा पनि बनिसक्यौ । यत्तिको मायालु परिवार भएकी तिमी, मैले पटकपटक भने कि तिमी ज्यादै भाग्यमानी छ्यौ, तिमीले आफ्नो बारेमा बताउँदा मलाई निकै लोभ लागेको थियो । तिमीले नबताएसम्म मलाई लाग्थ्यो तिमी पनि मजस्तै मेरै उमेरकी एक्ली कुनै युरापियन महिला हौ, तर मेरो सोचाइ कुनै पनि मिलेन । सायद मेरो कोही बोल्ने मान्छे नभएर हो कि ! तिमीसँग बोल्दा रमाइलो लाग्थ्यो । एक्लै बस्दा म तिम्रो ध्यानमा हराउँदै गएँ । परिवारभित्रको न्यानो मायामा बसेकी तिमी, केही समय ढिला भए तिम्रो खोजी गर्ने तिम्रो परिवार कस्तो होला ? तिम्रो दाँजोमा म आफुले आफैलाई अभागी देख्न थालेँ । तिमीसँगको कुरा गराइमा एक किसिमको बौद्धिकताको आभास मैले पाएँ । त्यसैले मैले भन्ने गर्थें, पत्रकार या साहित्यकार केही त अवश्य हुनुपर्छ । तिमीले सोध्दै गयौ । मैले पनि आफ्ना सबैकुरा बताउँदै गएँ । अब बाँकी के रह्यो र ?’

डेबिड मौन भयो । साँच्चै उसको कुरा त सक्कियो । उसले आफ्नाबारेमा र मप्रतिको उसको धारणा सबै सही बताएकै हुँदो हो । आजभन्दा अगाडि मेरो बारेमा उसले भनेको प्रत्येक कुराको गहिराइ नाप्न थालेँ । उसका प्रत्येक शब्द केलाउन थालँे । गफैगफमा भए पनि उसले धेरै कुरा भनेको थियो । मैले भने उसका प्रत्येक कुरालाई सामान्य अर्थमा लिँदै हाँसेर उँडाएकी थिएँ ।

मौन बसेको डेबिडको अनुहार पुलुक्क हेरेँ । त्यो घिनलाग्दो अनुहारप्रति दया लागेर आयो । समयको चपेटाभित्र अल्मलिएको एउटा कमजोर लोग्नेमान्छे, जो एउटी आइमाईको साथ खोज्दैछ । उसलाई थाहा छ, प्रत्येक स्वस्थ महिलाको पुरुषसँग सम्बन्ध जोडिएपछि एउटै चाहना हुन्छ जुन उसले पुरा गर्न सक्दैन, त्यसैले ऊ आफुजस्तै महिलाको खोजीमा होला !

सिड्नी त केही दिनको लागि आएकी थिएँ, आफ्नो दुनियाँ जहाँ छ, म त्यतै रमाएर बसेकी छु र बस्छु पनि । डेबिडले मलाई आत्मकथा सुनायो र मैले सुनेँ । सायद उसले सम्झिरहला, कुनै दिन एउटी आइमाईलाई मैले आफ्नो दिल खोलेको थिएँ । आफ्नो घरपरिवारसँग हाँसखेल गरेर बस्दा उसलाई मैले बिर्सन पनि सक्छु । मेरो बारेमा यति धेरैथोक भन्नु या देख्नुको औचित्य मैले बुझ्न चाहेर पनि डेबिडसँग सोध्न सकिनँ । उसले दिने जवाफ मेरा लागि निरर्थक हुन्थ्यो । अब अरु धेरै कुरा कोट्याएर उसको मन दुखाउनुभन्दा यो सम्वादलाई रोक्नु नै मैले उचित ठानेँ ।

मौन बसेको डेबिडतिर फर्कदै मैले भनेँ, ‘डेबिड ! तिमीलाई मैले एउटा असल मित्र मानेकी छु । तिम्रो दुखदायी कहानी सुनेर मलाई पनि दुख लाग्यो । अब मेरो सिड्नी बस्ने दिन सक्किन लाग्यो । मेरो मनदेखिको शुभकामना छ, तिम्रो आशा अनुरुपको केटी चाँडै भेटियोस् ।’

फिक्का हाँसोमा डेबिड भन्दै थियो, ‘तिमीजस्तो साथी आजसम्म मैले भेटेकै थिइनँ । इभानालाई मेरो बारेमा सबैकुरा थाहा छ । त्यसपछि तिमीलाई भनँे, अब सायद कसैलाई भन्दिन होला, किनभने तिमीजस्तो बौद्धिकताले भरिएकी र मेरा सबै कुरालाई राम्ररी बुझिदिने असल साथी अब कतै भेटिन्न होला ! अझ यो पनि प्रष्ट भन्छु कि तिमीलाई म कहिल्यै पनि बिर्सन्न होला !’

केही बेरको मौनतापछि डेबिड सामान्य स्थितिमा देखिँदै थियो । उसले मतिर फर्केर हाँस्दै भन्यो, ‘सिड्नी बसुन्जेल त यो पार्कमा भेट हुन्छ नि ?’

मलाई घर फर्कन अबेर भैसकेको थियो । जुरुक्क उठेर हतारमा मैले हात हल्लाउँदै भनेँ, ‘अवस्य भेट हुन्छ ! बाइ !’

डेबिड पनि हात हल्लाउँदै उठेर गयो, म पनि आफ्नो घरतिर लागेँ ।

… समाप्त …


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button