नदीले पनि मनको मैला पखाल्न सक्दैन

मुक्तक

मीना चौलागाईं
काभ्रे, पाँचखाल

डाह र इर्ष्याको बानी जो भयो
जसले आफैँलाई हानी जो भयो
बाचेन त्यसले जिन्दगी कहिल्यै,
दम्भले जलेर खरानी जो भयो !

न्यानो लाग्ने मन पनि चिसिएझैँ लाग्छ
आफ्नै मुटु सिलौटोमा पिसिएझैँ लाग्छ
अचेल समुद्र सम्झेर खुसी हुनै छाडिदिए
त्यहा पनि आफ्नै आँसु मिसिएझैँ लाग्छ !

कहिले काइँयो कहिले कपाल बन्न मन लाग्छ
तिमी किनार हुँदा म छाल बन्न मन लाग्छ
सधैँभरि कालो कोटको खल्तीभित्र बस्नलाई,
ती हँसिला ओठ चुम्ने रुमाल बन्न मन लाग्छ !

स्वाभिमानी शिरलाई कुनै गलत विचारले ढाल्न सक्दैन
दृढ संकल्प बोकेको मन आँधी तुफानले उराल्न सक्दैन
कलुषित विचार बोकेकाहरू हजार डुबुल्की मारेर हेर्नू,
कुनै कञ्चन नदीले पनि मनको मैला पखाल्न सक्दैन !

यो देशको ढुङ्गा, माटो अनि हावा बोल्नुपर्छ
सहनु हुन्न अन्याय कसैको दावा बोल्नु पर्छ
जनताकै लागि गरिने यो शासन पद्धतिमा,
नेतृत्वले गलत गरे सबले धावा बोल्नुपर्छ !


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button