उचाल र पछार तिम्रा हतियारहरू
कविताः प्रकम्पा
डा. विदुर चालिसे
तेलको चिप्ला जलाइसँगै
सलेदोका प्रलापहरू पनि
ममताको सिरानीहरूबाट
थोपा थोपा एकपटक झरिदिए
प्रेमको प्रकम्पनका ज्वारहरू यसै
उडिरहन्छन् आकाशलाई छुन ।
गति, तिम्रो पयरबाट छुटिदिए
सुस्त चालहरू पनि उठ्ने थिए
सुनसान रातको ऐठनसँगै
झ्याउकिरीको गुन्जनजस्तै गरी
उत्सवको तरङ्गहरूमा ।
सन्नाटामा भरिएको मौसमबाटै
बलेसीमा झरेका तप्किनहरू छेउ
बिलाउँदै मट्टिको धुलोका वर्षादहरू ।
उचाल र पछार तिम्रा हतियारहरू
शिव धनु झैं बाहुबलले सभामा,
प्यासा जीवनको साउने भेलसँगै
पुरूषार्थले डङ्कार छोडेर,
आज पनि एक नजर लागेन कुनै
बाहुबली प्रयासका तनावछेउ ।
जराहरू खोज, खोज र खोज
दुनिया बुझ्नलाई एकपटक
प्रयासका लक्षहरू टेक्न ।
अमरताले खोजिरहेछ यतै तिमीलाई
स्वागत गर्न मृतहरूका बिच ।
उदाएको सूर्यको कलिला प्रकाशहरू
विकिरण बनेर घोचिरहेछ हृदयमा अचेल ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)