
बाबा बस्नेतको ‘फूलमाया’
कविता
जहाँ जहाँ थान्को लगाईयो
त्यहीँ त्यहीँ जरो गढ्यो
आवाज त्यहिँ गाढिए
दृष्टि त्यहीँ पुरिए
आफू आफ्नो हुनै नपाई
जोवनको रुखबाट
झर्दै मर्दै गरे पातहरू झैँ
तिम्रा बैँशालु सपनाहरू !
फुलमाया !
सिउँदो तिम्रो थियो
गला थिम्रै थियो
कहिले सिन्दुरको नाममा
कहिले पोतेको नाममा
अर्कैले निर्माण गरेका
धर्मशास्त्र
संस्कारसंस्कृतिको नाममा
धरौटी रहिरह्यो
तिम्रो सुनाखरी जीवन !
गृहस्थहरूकी मुटु,
पूजनीय देवी
लक्ष्मी महालक्ष्मी नामाकरण भई
भान्सा र पूजाकोठामै जकेडिएको
समयको कसिलो गाँठो
कसले फुकाउन सक्थ्यो र सहजै ?
समय नै आउनुपर्थ्यो
आगोका नङ्रा भएर
प्रतिकुलताको आग्लो घचघच्याउन,
अनिमात्रै उघ्रीन्थे
प्रतिबन्धका जब्बर ढोकाहरू !
अहिले,यतिबेला
समय
सापेक्षित आगोका नङ्रा भएर
प्रतिकुलतासित भिड्दैछ
भाँचिएर अवरोधका आग्लोहरू
ढप्क्याउनै नमिल्ने भएका छन्
प्रतिबन्धित ढोकाहरू !!

आफुअनुकुलकै
युगसापेक्ष ढोका ठड्याउनु छ
अब तिमीले
शाहसको बलले ;
जीवन धरौटी फिर्ता नलिए
सराप्ने छ युगले !
आफ्नो शीरले
आफ्नै युग थाम्नुछ
आफ्नो गलाले आफ्नै गीत गाउनुछ !
फूलमाया हेर त !
खुल्ला आकाशलाई निश्चित आकार दिन
चराहरू लय फेर्न खोज्दैछन् !
अलिकति तिम्रो भाका
उनीहरूसित साट्नुछ
चराहरूसितै गाउनु छ तिमीले
धर्तीलाई
अलिकति माथि उठाउने गीत !
जोवनको रुखबाट
भुइँभरी झरेर मरेका पातहरू
माटोमै सङ्गीत ब्युँझाईरहेछन् !
निरन्तर चल्नुको नाम नै जीवन हो !
लौरो नछोडि
कहाँ पौडिन सकिन्छ र सागरमा ?
फूलमाया !
आउ तय गरौं
बैसाखीबिनाको यात्रा !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)