
उनलाई अप्सराजस्ती बनाउने ब्युटीपार्लरसँग रिसाइरहेको थियो ऊ
लघुकथा: प्रितीभोज
हरिप्रसाद गाैतम
नृपेन्द्र जाडोको छुट्टी सुरु हुन केही दिन बाँकी छँदै काठमाडौँतिर हानियो । त्रिभुवन विमानस्थल पुगेपछि यात्रामा सुरूदेखि नै सँगै आएका उसका हाकिम प्रमोदले आफू सरासर कुनै बिहेको प्रितीभोजमा जाने कुरा गरे । यसका साथै एकछिन सँगै रमाइलो गरेर जान नृपेन्द्रलाई पनि कर गरे । दुवैले आफ्ना झोला चिनेको गेस्टहाउसमा राखेर भोजतिर हानिए ।
जाडोको भोजमा ज्यान तताउनका लागि केही कुराको कमी थिएन । अरूहरूले निर्धक्कसित पिउँदै थिए । प्रमोदले पनि नेपकिनले बेरेर ह्विस्कीको गिलास समातेपछि नृपेन्द्रभित्रको नृपेन्द्र एकाएक जाग्यो । भोजमा प्रमोदलाई चिन्ने धेरै थिए तर नृपेन्द्रले ढुक्कसित पिएर ज्यान ततायो । ऊ डिजेरूममा पुगेर नाच्न थाल्यो । नाच्नेहरू धेरै थिए । उसैमा पनि महिला-केटाकेटीको भिड । यही भिडको बिचमा नाच्दानाच्दै एकजोर नयनले ताने नृपेन्द्रलाई । आँखा मिचेर फेरि तिनै नयनलाई हेरिरह्यो । अहिले पनि उनै नयन र चिनेचिनेझैँ लाग्ने अनुहारले एकोहोरो पछ्याएकै थिए ।
मनले मानेन । ऊ प्रमोद भएको ठाउँमा पुग्यो । प्रमोद आफन्तसँग गफमा व्यस्त थिए । यतिबेलासम्म अघिको त्यो परिचित अनुहार उनकै नजिक आएर उभिएको थियो । एकदमै चिनेकी, बिछट्टै राम्री हेर्नासाथ बोल्न खोजेको त्यो अनुहारले उसलाई डर र खुसी दुवै दियो । तर, बोल्ने आँट भने गर्न सकेन । हेर्दाहेर्दै उनी त्यहीँ आइपुगिन् ।
‘पिउनुभएको ?’, हाँस्दै सोधिन् ।
नृपेन्द्रले हिम्मत बटुलेर ‘अलिकति मात्रै’ भन्ने उत्तर दियो ।
‘मलाई पनि वाइन पिउने मन छ, कोकको गिलासमा खन्याएर ल्याइदिनोस् न,’ उनले भनिन् ।
बारमा पुगेर उनीतिर सुटुक्क हे-यो । बिछट्टै राम्री लाग्यो । परिचितझैँ लाग्ने यी को हुन् ? मनमा तर्कना गरिरह्यो । तीनचोटिसम्म ल्याएका गिलास स्वाट्टै पारेपछि उनले नाच्न जाऔँ भन्दै हातमै समातेर तान्न थालिन् । चिनेजस्ता लाग्ने एक हुल महिलाले उनलाई परैबाट हात हल्लाए र गए ।
यतिबेलै प्रमोद पनि उनलाई खोज्दै त्यहीँ आइपुगे र ‘अब जाने होइन सर !’ भन्दै सोधे ।
‘होइन, हामी सँगै हाम्रै घर जान्छौँ,’ उनी पहिल्यै बोलिन् ।
प्रमोदजी गेस्टहाउसतिर लागे । नृपेन्द्र अलमलमा प-यो । केही बोलेन ऊ । सँगै जाने त भनेकी छन् तर मेरो यो हालतले उनको घरमा अप्ठेरो पर्ने त होइन भन्ने डरकै बिचमा उनीहरू ट्याक्सी चढे । ककटेल भएछ क्यारे, गेटमा पुगेर अलिकति उल्टी भयो । परिचित जस्तै लाग्ने त्यो घरको हलमा छिरे दुवै ।
भित्र छिर्नासाथ ‘मम्मी’ भन्दै आएका छोरीहरूले ‘ए ड्याडी पनि’ भन्दै झम्टिँदा पो होशमा आयो ऊ । उसलाई अहिले झोलाको पिर थिएन । बरू, आफूलाई लठ्याउने ह्विस्की र उनलाई अप्सराजस्ती बनाउने ब्युटीपार्लरसँग पो रिसाइरहेको थियो ऊ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
