
कुकुरलेजस्तो सात-सातवटी छोरी पाइस्, एउटा छोरो पाउन सकिनस्
लघुकथाः काग
लतादेवी पौडेल
हालः इलाम
‘तेरी छोरीको राम्रो ख्याल गर् है सरेकी आमा ।’
‘किन के भयो र ?’, आमाले मलिनो स्वरमा सोध्नुभयो ।
‘के हुनु त्यो पल्लो गाउँको पोखरेल केटोसँग सरे हिँडे डुलेको देख्छु ।’
‘बर्सेनी कुकुरलेजस्तो सात-सातवटी छोरी पाइस् । एउटा छोरो पाउन सकिनस्’, बाले व्यङ्य मिसिएको भावमा आमालाई भन्नुभयो ।
बाले भनेको पोखरेल केटो मेरो क्लासमेट । हामी स्नातक तहदेखिका साथी । हाम्रो पारिवारिक नातासम्बन्ध पनि छ । मेरो पढाइ खर्चको सम्पूर्ण जिम्मेवारी ठूली कान्छी दिदीले गर्नु हुन्छ । दिदी इज्रायल गएको सात वर्ष भइसक्यो । हजुर आमाको औषधी उपचार लगायतका घरका सबै खर्च दिदीले नै टार्दै आउनुभएको छ । पहिले पहिले घर कसरी चल्थ्यो मलाई थाहा छैन । तेरो बाबाले गाउँडुल्न भन्दा केही जानेन । वर्षेनीका जस्ता तिमीहरु, तेरी आमा बाहिर निस्किन पाउँदिनथी । मैले बनीबुतो गरेर बिहाबेलुकीको गर्जो टारेकी थिएँ । हजुरआमाका मुखबाट मैले सुनेको यति हो । हामी ठूला भएपछि हजुरआमाले चालेको कदममा सबैले साथ दिएका थियौं ।
‘किन केही भन्दिनस् त्यो साँढलाई । चौबीस वर्षकी भइसकी । केटो मनपरेको भए टिपेर हिँडे भइहाल्यो त ! के को रमित देखाउन पर्यो दुनियाँलाई र ?’, बाले झम्टिउँलाजस्तो गर्नुभयो आमालाई ।
‘रमित सरिताले होइन तैँले देखाउँदैछस् कान्छा ! बुढो भइसकिस् अझै बुद्धि आउँदैन तेरो ? आफन्त, बिरानो चिन्न छोडिस् ? छरछिमेक सबै चिड्याइस् । तेरै कर्म खोटी । तैँले छोरो भएर के गरेको छस् ? आजसम्म कमाएर एक पैसा ल्याएको छैन । दुनियाँका छोरी चेलीलाई आँखा लगाउन छोडेको होइन । पोहोर पनि लक्ष्मीले इजरायलबाट पठाएको पैसा बुहारीले केटीको लफडामा डाँड तिरी क्यारे पुलिस अफिसमा ।’
‘मलाई त जीवनभरि रुवाइस् तैँले । बुहारी र नातिनीहरुलाई पनि रुवाउने भइस्’, बोल्दाबोल्दै हजुरआमामा दुवै ओठ थर्रर कामे ।
‘कागले आफ्नै नाम काड्छ भनेको यही हो’ देखिस् त आज ? हजुरआमाले आमातिर फर्किएर भन्नुभयो, उहाँको गला अवरुद्ध हुँदैथियो ।
आमाले मलाई देख्नुभएछ क्यारे हजुरआमाले नदेख्नेगरी हातको इसाराले पढ्न जा भन्नुभयो ।
मेरो मन कटक्क भयो, ‘म यत्री भएर पनि बाका खराब क्रियाकलापहरु सामु परेर औंल्याउन सक्दिन ।’
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
