
फेरि पनि दुर्गा घिमिरेको मन्तव्यले भावुक बनायो
मीना चौलागाईं
`जगदिश घिमिरे स्मृति आठौँ साहित्यिक सभा´ को लागि बिहान ८ बजे जडीबुटी आकाशे पुलमुनि भेला हुने कार्यक्रम अनुसार २०७८ पुस दुई गते बिहान काँडाघारीबाट रत्नपार्कको बस चढेर म ८:१५ बजे निर्धारित स्थानमा पुगेँ ।
त्यहाँ पुग्दा सँगै जाने ४-५ जना साहित्यकार र पत्रकारको उपस्थिति थियो । बिस्तारै सबैजना आउने क्रम जारी रह्यो । अगिल्लो दिन नगेन्द्रराज शर्माको फोन आउँदा म उत्साहित थिएँ । कारण आफू जन्मिएको जिल्लाको सदरमुकाम मन्थली नटेकेको पनि करिब सत्ताइस वर्ष भइसकेको थियो । ९ बजे हाम्रो गाडी जडीबुटीबाट मन्थलीको लागि छुट्यो । अभिव्यक्तिका सम्पादक एवम् जगदिश घिमिरेका सहोदर दाजु नगेन्द्रराज शर्मा पनि हामीसँगै बस्नुभयो, जसले गर्दा यात्रा थप रमाइलो हुने अनुमान लगाइयो । कोरोना कहर अनि अन्य व्यक्तिगत समस्याको कारण पनि राजधानीबाट बाहिरिन नपाएको निकै समयपछि यात्रा गर्न पाउँदा मनमा उत्साह त थियो नै । पुस महिनाको सुरुवात भए पनि घाम भने न्यानो थियो । सामान्य कुराकानी गर्दै धुलिखेल पुगेर फेरि यात्रामा भएका सबैसँग भेटघाट गरी पुन: त्यहाँबाट तीनवटै गाडी सँगसँगै यात्रामा निस्किए ।
हुन त शारीरिक समस्या साथै घरायसी समस्या त छँदै थियो तर यात्रा यति रमाइलो थियो, जहाँ समस्याका कुराहरू सम्झना नै हुँदैनथ्यो । धुलिखेल, भकुन्डेबेँसी नेपालथोक हुँदै हामी अगाडि बढिरह्यौँ । अनेक घुम्ती र मोडहरू अनि सानो बाटोले गर्दा घरीघरी जिउ सिरिङ्ग त हुन्थ्यो नै । यात्रामा यस्ता कुराहरू सामान्य मान्दै करिब १२:४५ तिर हामी मुलकोट पुग्यौ । सबैलाई भोक लागिसकेको थियो । त्यहाँ खाना खाने कार्यक्रम अनुसार सबैले आ-आफ्नो इच्छा अनुसारको खाना खायौँ र करिब एक घन्टापछि हामीले पुन: यात्रा सुरु गर्यौ । अब सबैमा स्फुर्ति थपिएको थियो । बाँकी यात्रा रचनाहरू सुनाउँदै अघि बढ्ने निर्णय गरियो नगेन्द्रराज शर्मा र पत्रकार अशोक सिलवालको अनुरोधमा । यसक्रममा लोकप्रिय कवि सुदन सत्यालले लयमा दुईवटा कविता सुनाउनु भयो । कविताहरू साह्रै राम्रा थिए । कवि विनिता केसीले गजलहरू सुनाउनु भयो । मैले केही मुक्तक र एउटा गजल सुनाएँ । यसैगरी रचना वाचन र रमाइलो गफ गर्दागर्दै गाडी तामाकोसी सेवा समाजको हस्पिटलको प्राङ्गणमा गएर रोकियो ।

सबैजना रात बस्ने र कार्यक्रम गर्ने गेस्ट हाउस हस्पिटलबाट अलिकति माथि हिँडेर जानुपर्ने रहेछ । हस्पिटलको सानो गाडी भने माथि नै पुग्ने भएकोले नगेन्द्रराज शर्माको अनुरोधमा शारिरीक समस्याको कारण म हस्पिटलको गाडीमानै बसेँ । अरू सबै हिँडेर माथि जानुभयो । त्यहाँ पुगेर हामीले मन्थलीको विषेश भनेर चिनिने जुनार खायौँ । नास्ता गर्यौ र फ्रेस भयौँ । नगेन्द्रराज शर्माले आफू जन्मिएको पुरानो घर माथिबाटै देखाउनु भयो । हामीले रमाइयो मान्यौ । आ-आफ्ना कोठाहरू लियौँ । साँझमा जगदिश घिमिरेको बारेमा करिब आधा घण्टाको वृतचित्र हेर्यौँ । अन्तिमतिर उहाँको भनाइले सबैका आँखा रसाए । त्यसपछि गेस्ट हाउसको प्राङ्गणमा आगो बालेर वरिपरि कुर्सी राखेर परिचयको साथमा रचना वाचन कार्यक्रम गरियो । यस क्रममा निकै रमाइलो भयो । जगदिश पत्नी दुर्गा घिमिरेको मन्तव्यले भने सबैलाई भावुक बनायो । करिब ९ बजेतिर बेलुकाको खाना खायौँ । नगेन्द्रराज शर्माबाट महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत अन्य कविहरूका बारे रमाइला गफ सुन्यौ र आ-आफ्नो कोठातर्फ लाग्यौ ।
भोलिपल्ट अर्थात कार्यक्रम हुने दिन बिहान उठेर चिया नास्ता गरि एकछिन घुम्न जाने कार्यक्रम बनायौँ । म, सुदन सत्याल, बिनिता केसी, नवराज रिजाल, रेहित सैँजु र सुभेक्षा बिन्दु घुम्नको लागि निस्कियौँ । अलिकति तल मदन आश्रीत चोक हुँदै लक्ष्मीप्रसाद देवकोटा चोकमा महाकवि देवकोटाको शालिकलाई दाहिने परिक्रमा गरेर मनमोहनको सालिक हुँदै तीन लाल पार्क पुग्यौँ । फोटोहरू खिच्यौ । त्यहाँको फूटबल ग्राउन्ड हुँदै तामाकोशी तीरमा पुगेर फोटो खिच्यौँ । तामाकोशीको पवित्र जल स्पर्श गरेर टाढैबाट एयरपोर्ट नियाल्दै पुन: कार्यक्रम स्थलमा फर्किएर खाना खाएर कार्यक्रमको लागि तयार भयौँ ।
कार्यक्रम पेशल आचार्यले संचालन गर्नुभयो, जो राम्रो लेखक र शिक्षक हुनुहुन्छ र त्यहीको स्कुल कलेजमा पढाउनु हुन्छ । कार्यक्रममा आख्यानकार ध्रुब सापकोटालाई नगद ५० हजार रुपियाँ सहित प्रमाणपत्रले सम्मान गरियो भने विद्यालयका भाइबहिनीहरूलाई निबन्ध प्रतियोगिता गराएर नगद र प्रमाणपत्र प्रदान गरियो । रामेछापमै जन्मिनु भएका थुप्रै स्रष्टाहरूद्वारा रचना वाचन गरियो । फेरि पनि दुर्गा घिमिरेको मन्तव्यले सबैलाई भावुक बनायो । मैले पनि साहित्यकार जगदिश घिमिरेको आठौँ स्मृति दिवसमा उहाँकै आँगनमा उभिएर केही मुक्तकहरू वाचन गर्ने अवसर पाएँ । यसरी छोटो मिठो कार्यक्रम करिब ३:३० तिर समापन गरियो । फेरि जुनार अनि नास्ता खाएर बाँकी समय घुम्न जाने निर्णय भयो ।
म र बिनिता केसी माथिबाट तल बजारतिर झर्दै गर्दा पेशल आचार्य सर र रेहित सैँजु भाइसँग भेट भयो । पेशल आचार्य सरले अलिक तल रहेको मन्थली मावि जुन नमुना विद्यालय पनि हो, रमाइलो छ । घुम्नु हुन्छ त भनेर प्रस्ताव राख्नुभयो । म बिनिता र रेहित भाइ खुशी हुँदै गयौँ । पेशल सरले विद्यालयभित्र सबै घुमाउनु भयो, जहाँ प्राविधिक शिक्षा पनि पढाइ हुने रहेछ । भित्र बाख्रापालन, तरकारी खेती देखेर रमाइलो लाग्यो । + २ मा सबै विषयका पढाइ हुँदो रहेछ । ठूलो भुभागमा फैलिएको त्यस विद्यालयका प्राय सबै भवन पक्की रहेछन् । दुई तीनवटा त नयाँ बन्दै पनि रहेछन् । रामेछाप जस्तो विकट ठाउँमा शिक्षाको यस्तो विकास देखेर अत्यन्त खुशी लाग्यो । त्यसपछि फेरि बासस्थानमा फर्कियौँ र अघिल्लो साँझजस्तै आगो बालेर वरिपरि बसेर खाँदै पिउँदै रचनाहरू सुनाउँदै रमाइलो गर्यौँ र सुत्यौँ ।
समय आफ्नै चक्रमा घुमिरहन्छ । हाम्रो मन्थली बसाइको अवधी सकिइसकेको थियो । बिहान उठेर नास्ता गरिसकेपछि फर्किने कुरा अनुसार हामी ठिक नौ बजे उसैगरी गाढी चढ्यौ । आजको यात्रामा भने घिमिरे परिवार हुनुहुन्न थियो । उहाँहरूको दिवाली परेकोले हामीलाई नगेन्द्र शर्मा, दुर्गा घिमिरेलगायत उहाँहरूको परिवारले तामाकोशी सेवा समाज हस्पिटलको प्राङ्गणबाट बिदा गर्नुभयो । गाह्रौँ मन लिएर हामीले पनि हात हल्लायौ । अब हामी एउटै हायस गाडीमा थियौ । मलगायत ध्रुव सापकोटा, मीरा भट्टराई, मीना कार्की, अशोक सिलवाल, सुदेश सत्याल, सुभेक्षा बिन्दु, बिनिता केसी, रेहित सैँजुलगायत थियौँ । त्यहाँको स्पेशल जुनार बोकेर हामी फर्कियौँ । खुर्कोट बजारमा खाना खाएर रमाइलो गफगाफको साथमा करिब २:३० बजे काठमाडौ कोटेश्वर झरेर सबैसँग बिदा हुँदै आ-आफ्नो बासस्थानतिर लाग्यौ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)