श्रीमतीको होइन, श्रीमताको कथा पढ्नोस्

कथाः श्रीमता

गुरुदत्त ज्ञवाली
तिलोत्तमा नगरपालिका १, रुपन्देही

‘आजै जाउँ न, बरु छिटो आउली हुन्न र ?’

‘अहँ, म त मरे पनि जान्न । मैले भनेको कुरा किनिदिने भए जान्छु नत्र जाँदै जान्न ।’

‘के हो तिमीले भनेको कुरो ?’

‘छड्के तिलहरी ।’

‘हुन्छ बाबै हुन्छ, किनौला, तर आजै घर जानु पर्छ ।’

नवदम्पतीको कच–कच हो यो । बिहे गरेको वर्ष दिन भयो । दुलही नानी माइतमै बसेकी छन् । घरमा जान पटक्कै मान्दिनन् । पति नराम्रो, अयोग्य, माया नगर्ने त्यस्तो केही पनि होइन । घर मन नपरेर पनि होइन । भाउ खोजेको । भाउ पनि कस्तो हो कुन्नि ? मेरा बाबै राम्री दुलही परिछन् भन्ने पनि छैन, पढेर वा खुरु–खुरु पास गरेर रैमट्ट छ भन्नु पनि छैन । बाह्र त जसो–तसो पढिन्, बिहे गर्न पढेजस्तो भयो । सोध्यो भने अरु सबै बिषयमा पास भएँ, या –यो बिषय मात्र बाँकी छ भन्छिन् तर सबै बिषय लागेका छन् ।

कूलकी छोरी हुन्, सामान्य घरमा परेर पीर मानिन् भन्ने हो भने खान–पान, सुत्ने बिछ्रयौना, कुरा–कानी सबै हेर्दा कस्तेर निस्कुँ भन्ने माइती घर छ । आजको जमाना त कपसेटमा चिया खाने बेला हो । पुरानो जमानाको पित्ले गिलाँसमा टम्मै भरेर खुदो हालेको चिया खान दिन्थे । तै सासु आँबैले स्टीलको ठुलो गिलासमा चिया दिइन् । त्यो पनि फिक्का । चियापत्ती बेस्सरी ठोकिछन्, हर्रो चपाएजस्तो । लुगा लगाएको हेर्ने हो भने साडीको अगाडिको हिस्साले घुँडाभन्दा माथिको भाग मुश्किलले ढाकेको हुन्छ । पछाडितिर लत्रेर कुचाको काम गरेको हुन्छ ।

दुलही भएकी छोरी नानीले भने हाम्रा माइती यस्ता–उस्ता भनेर बखान गर्दैमा बिहान बित्यो । कामको सिन्को सारेको देखिएन । घर जान पटक्कै मान्दिनन् । घरमा गए पाखे भइन्छ कि अरे । उता पतिले फकाएको फकायै छन् ।

पतिले छड्के तिलहरी किनिदिनै प¥यो । भर्खरका युवा हुन् उनका पति पनि । यस्तै पच्चिस वा छब्बीसका । उनको नाम उद्धव हो, पत्नीको सरस्वती । उनका बा–आमाले पुल्पुल्याएर राखेका छन् र काउलो पारेर बोलाउँछन् नत्र टेर्दिनन् । सरस्वता भन्नु पर्छ । सरस्वताले बिहे भएको घरमा जान पटक्कै मानेकी छैनन् । त्यो दिन उद्धवले कसो–कसो गरेर फकाउन त फकाए तर महङ्गो पर्ने भएको छ । त्यसको जोहो कसरी गर्ने हो थाहा पनि छैन तर बचन दिए । सरस्वताकी आमाले छिटै आएस् छोरी भनेर झन् मसला थपिन् । राम्रोसँग घर गरेस् भन्नु पर्नेमा झन् त्यसो भनेपछि त सरस्वतालाई के चाहियो र ? बाउ भने बोलेनन् । बोलेर पो के हुन्थ्यो र ? सरस्वता र उनकी आमा उस्तै हुन् । काउलो पारेर बोल्नु पर्ने । सुस्त बोलेर अह्राएको नटेर्ने र चिच्याएर बोलेमा रिसिने । बुढालाई सकस छ ।

उद्धव र सरस्वता बिहान आठ बजेबाट घरबाट निस्कने सरतर गरेका हुन् । बाह्रबजे मात्र निस्के । मणिग्रामबाट झोला–झोली बोकेर हिँडे । उद्धवको घर कपिलबस्तुको पिपरा नजिकै बैदलपुर हो । बैजलपुर पनि भन्छन् । गहना बुटवलमै किन्नु पर्ने सर्त छ । त्यसैले कुनै सुन–चाँदीको पसलमा छिरे । चिनेकै पसल त थिएन तर मेला मेसामा पस्ने गरेकोले अनुहार सम्झने पसल हो । घरमा गएर पैसा ल्याइदिउँला भन्ने हो भने पत्याउने दुकान पनि हो ।

तिलहरी हेर्ने कुरो भयो । ब्यापार त हो, शुरुमै दुई तोलाको छड्के तिलहरी देखाए । सरस्वतालाई के चाहियो र ? त्यही चाहियो भनिन् । पैसा होस् वा नहोस् अथवा हैसियत होस् नहोस्, उनलाई के मतलव ? धेरैबेरको डबल–फसलपछि पनि त्यहाँ कुरो मिलेन र अर्को पसलमा गए । उद्धवले सरस्वताको मनोविज्ञान अलि–अलि बुझेका थिए । उनी ग्यारण्टी गहनाको पसलमा पसे ।

धेरै मोल मोलाइ गर्नु परेन त्यहाँ । नक्कली गहनालाई कति पो पथ्र्यो र ? सरस्वताले मूल्य र गुणस्तरको ख्याल गरिनन् । उनलाई ग्यारण्टी गहनाको बिषयमा ज्ञान पनि थिएन । हो न हो, सुनकै हो भन्ने भयो । उद्धवले सुटुक्क पसलेको कान फुकेका थिए ।

‘यति पैसा राख्नुस्, अरु पछि ल्याइदिउँला हइ साहुजी ।’

छड्के तिलहरीको मूल्य जति हो, त्यो दिएका थिए । सरस्वता यति धेरै प्रशन्न भइन् कि उनको मानसिकता नै परिवर्तन भयो । पति घरमा जान मन नगरेकी र गएपछि पनि छिटै फर्कने भनेकी । अब त त्यस्ता कुरै बिर्संदै गइन् ।

यसो त्यसो गर्दागर्दै बैदलपुर पुग्दा साँझ झमक्कै भयो । सासुलाई ढोग्न भनेर आमाले पाहुरको पोको बनाइदिएकी थिइन् । सरस्वताले सासुको खुट्टामा टपक्क ढोगिन् र पाहुर चढाइन् । उनी बिहे भएर दुरान फर्काएपछि घरमा गएको यो पहिलो पटक हो । पोको स्याहार्दै सासु आमाले आशिर्बाद दिइन् र भनिन्, “अब त घरमै बस्नुपर्छ हइ बुहारी ।”

सरस्वता बुहारीले पढाइले गर्दा माइतमा बसेको र अब पढाइ सकिएकोले घर गरेर बस्ने कुरा त गरिन् तर उनी दुई तोलाको तिलहरीमा हराएकी थिइन् र भाषा मिलाएर कुरा गरिन् । त्यस तिलहरीको पोल खुल्यो भने के रडाको हुने हो उद्धवलाई डर लागेको छ । अनि सबै खाने–पिउनेमा लागे, घरमा ढिलै भए पनि नयाँ दुलही आएकीले रमाइलो छ । छिमेकी महिलाहरु पनि अबेरसम्म रमाइला कुरा गरेर बसे ।

सरस्वता माइतबाट घरमा गएको पनि अलि दिन भयो । घरको काम धन्दाले गर्दा कतै डुल्न जाने मौका परेको छैन । छड्के तिलहरी लगाएर हिँड्ने अवसर परेको छैन खास गरेर । सामान्य घुर्र्कीको भरमा त्यत्रो गहना हात परेकोमा फुर्र्ती लगाउने ठाउँ पनि भेटिएको छैन । के गरुन् त ? साँझ सुत्ने बेलामा एक पटक रहर पुग्ने गरेर लगाउँछिन् र राख्छिन् । यो उनको नित्यकर्म जस्तै भएको छ । उद्धवले उनको रहर वा चर्तिकला देखेर मुसुमुसु हाँस्छन् मात्र ।

सरस्वता उद्धवप्रति आभारी भएकी छन् । दिनानुदिन उनका घुक्र्याहट बन्द हुँदै गएका छन् । पतिको क्षमताको कदर गरेकीछन् मनले । दिउसोमा मन मिल्ने छिमेकी दिदी–बहिनी जम्मा हुँदा गहना कपडाका कुरा हुने गर्छन् । त्यसैबेला सुटुक्क तिलहरी देखाउन भने चुकेकी हुन्नन् । र, घरका अरु कसैलाई अहिले हल्ला नगर्नु भनेकी छन् । रिस गर्छन् भन्ने डर पनि छ ।

त्यसैताक छिमेकमा भब्य बिवाह हुनेवाला छ । छोरीको बिवाह हो । बिवाह भनेपछि गहना देखाउने होडबाजी हुन्छ महिलाहरुमा । त्यहाँ पनि सरस्वताले त्यो तिलहरी लगाइहाल्ने जरुरी थिएन । बुहारीको हैसियतले काम गर्नु पर्ने भएकोले उनले रहर गरे पनि अनुकूल परेन । तिलहरीको चर्चा भने भएको थियो । बिहे घरकी कन्याकी भाउजुलाई गहना देखाउन मन लाग्यो । उनका आफन्तहरु झकिझकाउ भएर आउन थाले । भाउजुले मनमनै सोंचिन्, “देखाउने त हो, सरस्वताको तिलहरी छँदै छ माग्नु पर्ला ।” र, सरस्वतासँग मागिन् । उद्धवले थाहा पाएका थिएनन् नत्र पोल खुल्ने डरले दिने पक्षमा हुने थिएनन् होला । सरस्वताले सुटुक्क दिइन् एकै दिनको लागि भनेर । सरस्वता नयाँ दुलही, उनले ल्याएको गहना नक्कली भनेर शङ्का गर्ने कुरै भएन । गहना माग्ने घरकी बुहारी झनै ठूलो घरकी, किन्न नसक्ने थिइनन् तर तत्कालै सम्भव भएन । उनले लगाएको त्यो तिलहरीको बिषयमा पनि कसैले शङ्का गर्ने कुरो भएन ।

Advertise

मागेर लैजाने महिलाले छड्के तिलहरी झल्काइन् । आत्तुरीमा सक्कली होइन कि भनेर नियाल्ने समय पनि थिएन । नियालेर हेरेकी भए उनले ठम्याउन सक्थिन् होला भन्ने लाग्छ । बिहेको घर, पाहुनाको भीड, दुलही पठाएपछि तत्कालै गहना फर्काउने कुरो पनि भएन । साँझपख तिलहरी खोलेर दराजमा राख्ने सोंच त थियो तर राखिनन् । दराजको साँचो पनि लगाउन बिर्सिन् वा साँचाको झुप्पो त्यतै कतै फालिन् । अर्कोदिन बिहान खोज्दा तिलहरी छैन । हरायो ।

घरमा सारा हल्ली खल्ली भयो, दराजमै राखेको कुरा त गरिन्, हो होइन उनको मनमा शङ्का थियो । अहँ, कतै कसैले लगेको मेसो आएन । अरु भन्दापनि त्यो रात घरमा बसेका पाहुनाहरु फस्ने डर पो भयो । चो¥यो कसैले । दुई तोलाको तिलहरी, लाटो हिसाबले पनि त्यो बेलामा दुईलाख त पथ्र्र्यो होला । उनी बिहानै सुटुक्क सरस्वताको घरमा गइन् र सबै कुरा बताइन् । एक साता भित्र भेटिए भेटिन्छ नत्र अर्को किनेर दिने कबुल गरेपछि सरस्वताले पनि मानिन् ।

उनले पनि धेरै बोल्न भएको थिएन । पति उद्धवलाई त भनेकै थिइनन् । छिमेकको बिहेमा तिलहरी हरायो रे भन्ने त सुनेका थिए तर हुन हो उनकै घरको होला भन्ने भयो । उद्धवको मनमा त उनको घरको तिलहरी कतै पनि देखाउन नपरे हुन्थ्यो भन्ने छ । एक साता नबित्दै सरस्वताले उस्तै र उत्रै सक्कली सुनको तिलहरी पाइन् र बल्ल उद्धवलाई सबै कुरा गरिन् ।

अब भने सरस्वताको लफङ्गो तालले पनि पाँच हजारको नक्कली तिलहरीको बदलामा सक्कली तिलहरी पाइन् । उद्धवको सरस्वताप्रतिको नकारात्मक भावना सकारात्मक भयो । को ठगियो त ? सरस्वताको मन पहिल्यै सोझिएको हो, उद्धवको मन सक्कली सुन घरमा आएपछि त्यसै सोझिए । गहना हराउने घरकी बुहारीले सुनकै गहना जानेर लगाएकी थिइन्, हरायो र तिरिन् । खर्च भए पनि सोझो ब्यवहारमा ठगिएकी छैनन् । चोर, चोर नै भयो सक्कली सुन भनेर लगेको नक्कली परेछ, बेच्न लैजाँदा थाहा पायो होला । ऊ किन ठगिने ?

सरस्वता माइत नगएको छ महिना भएको थियो । पहिलो कुरो त उनी त्यस्तै अल्ढेँग्री पनि हुन् । एकातिर लिसो लागेपछि लागिन् लागिन् । पहिले घरमा जान्न भनिन् र अहिले माइत जान्न पो भन्न थालिन् । उनकी सासु, सासु भएर पनि घीउ परिछन् । बुहारीलाई गाली पनि गर्दिनन् र दोष पनि दिन्नन् ।

एकदिन सरस्वताले भात पकाएकी तरकारी चर्को भएछ । सासु आमाले ‘हामीले बिल्नो खाने गरेका छौँ, ख्याल गरे हइ बुहारी’ भनेर मख्ख पारिन् । सरस्वताले त्यो दिन, बिर्सेर दुई पटक नुन राखेकी रहिछन्, पछि त सम्झिन् । हुन त सरस्वताको दुई कौडीको ढङ्ग होइन । न खाने कुरामा वा लगाउने कुरामा । सासु आमाले ठाउँमा ल्याइसकेकी थिइन् । उनको भनाइ थियो, “मेरो छोराकी श्रीमती र मेरी बुहारी हो, किन गाली गर्ने ? सिकाए त सिकिन्छ नि ।”

नमिठो पकाए पनि ‘आहा ! कति मीठो, तिमीले पकाउन थालेपछि त म मोटाउन थाले’ भन्थिन् । त्यति भनेपछि सरस्वतालाई के चाहियो र ? हुन पनि कामको हिसाबले सरस्वताले सबै काम उतार्न थालिन् । र, सबैको माया पनि पाइन् । उता माइतबाट आमाले तारन्तार खबर पठाउन थालिन् । छोरीले भने अहिले आउन्न भनेर खबर पठाउँथिन् । दाजु लिन आउँदा पनि गइनन् । उनकी आमालाई परेको होला लौ छोरी फन्दामा परी । छोरी भने फन्दामा होइन अस्सल घरमा परेकी छन् ।

सरस्वताकी आमाको नाम त के हो कुिन्न ? उनलाई झनै काउलो चाहिन्छ । श्रीमानले फकाउन श्रीमता भन्ने गरेको, सबै छिमेकीले पनि श्रीमता भन्न थाले । हुँदा–हुँदा श्रीमता दिदी, श्रीमता भाउजु, श्रीमता अण्टी, श्रीमता बजै, नामै पो श्रीमता भयो । श्रीमताले जोर–जुलुम गरेपछि उनका श्रीमान छोरी लिन जानै प¥यो । मेलो मेसो केही नभए पनि उनी सरस्वतालाई लिन बैदलपुर गए । पतिले र सासु आमाले जाउ त बुहारी बुवा नै लिन आउनु भयो भन्दा पनि जान माने पो ? अन्तमा बाउसँग पनि सर्त राखिन् । बानी त पुरानै छ । र पनि सुधार भने भएको छ । तीन दिनमा छोड्न आउने भए जान्छु भनिन् । बाउ बिचराले हुन्छ भने । सरस्वता माइत गइन् । जाँदा सुनको छड्के तिलहरी भने लैजान बिर्सिनन् ।

‘लम्मरी सुन हो ?’

‘हो हजुर हो ।’

‘पक्का हो ?’

‘ए बाबा हो भनेपछि हो, मान्नुस् न ।’

श्रीमताले ‘छोरीलाई पिँडालु उसिनेर खानेलाई दिइएछ, सत्तुरले त्यस्तो ठाउँमा पारे’ भन्ने गर्थिन् पहिले । अहिले दुई तोलाको सुनको छड्के तिलहरी लिएर आउँदा बिश्वास लागेनछ र सुनारकहाँ देखाउन लगिन् । उनलाई ग्यारण्टी गहनाको बिषयमा त थाहा थिएन, पित्तलको हो कि ? यस्तो शङ्का थियो । त्यसै बेलाको बार्ता हो । उनी फुरुङ्ग हुँदै घरमा आइन् । सरस्वतालाई आमाले तिलहरी लिएर जाँच गर्न गएको कुरो थाहा थिएन । आमाले त्यत्रो गहना देखेकी पनि थिइनन् । श्रीमताको मनमा भने पाप पस्यो । उनले कसरी यो तिलहरी दम्पच पार्न सकिन्छ भन्ने ध्याउन्नमा लागिन् । हदै भए छोरी घरमा नजाने त हो । उनको मनको पापको बिउ हो यो । तर सरस्वतालाई भने थाहा दिने पक्षमा छैनन् ।

गाउँका सुनार, सस्तो सुनको ब्यापारको लागि डुल्न निस्केका श्रीमताकै घरमा पुगे । त्यो घरमा अरु पनि सुन छ कि ? उनीहरुको आशा हुन सक्दो हो । त्यस बेला श्रीमता घरमा थिइनन् । सुनार दाइले सरस्वतासँग नै कुरा चलाए । प्रशङ्गबश तिलहरीको कुरो चल्यो । सुनारदाइ फर्केपछि उनले तिलहरी खोजिन् तर भेटाइनन् । उनको होश उड्यो । आमा जे सुकै भए पनि बानी खराब छ भन्ने उनलाई थाहा थियो । परार माइजु आएको बेलामा भएको रडाको पनि सरस्वतालाई संझना भयो । उनकी माइजु भनेको आमाकी भाइकी श्रीमती वा भाइ बुहारी हुन् । माइजु नुहाउन गएको बेलामा आमाले सिक्री लुकाइदिएको भेटिएन । सबै कुरा थाहा भएर पनि माइजु बोल्न सकिनन् । त्यस दिनपछि आमाको माइत र उनको मावल जान–आउन हराएको छ । त्यो सिक्री श्रीमताले अरु कसैसँग साटेर लगाएकी थिइन् ।

आमा घरमा आउने बित्तिकै सरस्वताले आमालाई बेस्सरी झपारिन् । आमा लाज र डरले काली–निली भइन् । संयोग भन्नुपर्छ, तिलहरी घरमै थियो तर सरस्वताले राखेको ठाउँमा होइन अन्तै । घरको कुरो, त्यसमा पनि आमाकै कुरो प¥यो । अरुलाई थाहा छैन । सरस्वताले त्यो कुरो मनमा राखिन् । आमा–छोरीमा भने मन अमिलियो । कुँडियो । त्यस घटनाले सरस्वताको मनमा चेतनाको ठूलो झट्का हान्यो ।

क्रमशः उनमा एक प्रकारको परिपक्वताको बिउ फेरि पस्यो । टुसायो । संयोगले उनी माइत आएको तीन दिन नै भएको थियो । भन्दा जे सुकै भने पनि हप्ता दशदिन माइतमा बस्ने चाहना त थियो नै । घरबाट सासु आमाले अनुमति दिएकी पनि थिइन् । तर उनी तीन दिनमै घर बैदलपुर फर्किन् ।

अहिले भने न पाहुर पात चाहियो, न कोही छोड्न जानु पर्‍यो ? न त आमाले बस छोरी भन्न सकिन् । बाउ बिचरा, एक आखर जान्छेस् र छोरी ? सम्म भने । सरस्वताले नयाँ जिन्दगी लिएर घर गएन् । बुटवलबाट एक किलो राम्रो खालको मिठाइ किनेर सासु आमालाई पाहुर लगेकी थिइन् । त्यता पनि संयोग के परेछ भने सासु आमालाई असाध्यै मन पर्ने मिठाइ तर कसैले किनेर लगिदिन्नन्, उनले आफै किनेर खान मेसो मिलेको थिएन । असाध्यै खुसी भइन् । बुहारीप्रतिको स्नेह झनै बढेर गयो ।

श्रीमता पहिले जस्तो कर्कसा त देखिन्निन् तर सोझिएकी पनि छैनन् । घरमा पतिसँग ठुस्किएर बोल्ने तथा अरु छोरा–छोरीहरुसँग छुचुन्द्राको जस्तो चोँसे मुख गराएर बस्ने गरेको धेरै भइसकेको छ । छिमेकतिर छुस्स छुस्स जाने र कुरा यताका उता पारेर दाइँ–फाँडो पार्ने काम भने घटेको छ । छोरा–छोरीलाई एउटा काम अह्राउन नपाउँदै बीसवटा गाली गर्ने काम पनि घटेको छ । पहिले उनले छोरालाई ‘ए बाबु यहाँ आ त भनेको कुरा छोराको कानमा पर्न नपाउँदै पक्लक्कै हुने मुर्दारले मैले भनेको किन मानुस्, तँलाइ बाँधेर लानु पर्ने, बाँदरको छोरो, मर्न नसकेर बाँचेको, खानको काल, गर्भको भार’ के–के भन्थिन् भन्थिन् ।

सबै गाली त छोराले पनि सुन्दैनथ्यो वा बुझ्दैनथ्यो । अहिले यस्ता गाली गर्न पनि कम भएकोछ । यी सबैको कारण छोरी सरस्वताले नराम्ररी गाली गरेको कारणले हो । तर श्रीमताको मानसिकता भने सुध्रेको छैन बरु बिग्रेको छ । मानासिक रोगको बिजारोपण भएको छ । उनी अचेल एकोहोरिएकी छन् ।

सरस्वतालाई आमाको कारणले बिगतमा आफू बिग्रेको जस्तो महसुस भयो । उनी सासुआमाको सङ्गत तथा पति उद्धवको स्नेहले नाटकीय तरिकाले परिवर्तन भइन् । यसै समयमा १२ कक्षामा रहेका ब्याक बिषय अथवा पास गर्न बाँकी बिषय पनि कटाइन् वा पास गरिन् । अनि नजिकैको सिद्धार्थ क्याम्पस बाणगंगामा स्नातकमा भर्ना भइन् । यो सुधारले उद्धव र उनकी आमा निकै प्रशन्न भएका छन् र सक्दो उत्साह पनि थपेका छन् । सरस्वताले पढेको उच्च मा विको शिक्षा मणिग्रामकै राममणि क्याम्पसमा हो । त्यहाँ गएर आवश्यक कागजात ल्याउँदा समेत नजिकैको माइती घरमा पसेकी थिइनन् ।

छोरी माइतमा नपसेको कुरो उनकी आमाले थाहा पाइछन् । आमाको मन त्यो बेलादेखि झनै बेहाल भएको थियो । सरस्वताले यथा समयमै स्नातक पास गरिन् अथवा बि एड गरिन् । रिजल्ट निस्केकै साँझ उनले उद्धवसँग भनेकी थिइन्, ‘मेरो जस्तोसुकै कमजोरी भए पनि क्षमा गरिदिन ुहोला । मेरो जीवनको बिषयमा यो तिलहरी कथाको शीर्षक नबनोस् यसलाई बेचेर वा मासेर घरको जे काममा लगाउनु पर्ने हो लगाउनु होला । म त्यो हठबाट मुक्त भएकी छु ।’ उद्धव भने धेरै बोलेनन्, ‘धन्यबाद’सम्म भने ।

दाजुको बिहे नहुँदै सरस्वताको बिहे भएको थियो । उनका दाजुले पनि पढ्दै थिए । दाजुले काठमाडौंतिर बसेर पढ्ने र सानो तिनो कामको मेसो पनि थियो । त्यसैले घरमा खर्चको बोझ भएको थिएन । तर पनि सम्पतीको हिसाबले त्यस्तो कमजोर घर भने थिएन । उनलाई घरको त्यस्तो कचिङ्गलको बिषयमा खासै जानकारी पनि थिएन । आमाको स्वभाव त्यस्तै हो भनेर खासै वास्ता गरेका पनि थिएनन् तर सञ्चो नभए जस्तो भने लागेको थियो । अहिले दाजुको बिहेको कुरो निधो भएपछि सरस्वता माइत आउनु पर्ने भएको छ । दाजु नै निमन्त्रणा सहित बहिनीलाई लिन गएका हुन् । सरस्वताले भोलि आउँछु भनेर दाजुलाई फर्काइन् ।

सरस्वताले माइतमा खुट्टो नटेकेको पाँच बर्ष भएको रहेछ । मोटामोटी हालखबर त सुन्थिन् तर त्यस्तै होला भनेर निच मारेकी थिइन् । सुन्दा यो कुरो नपत्याउने खालको जस्तो पनि छ । मन कुँडिएपछि यस्तो हुन्छ । यस्तो भयो । साँझ पख उनी मणिग्राम पुगिन् अर्थात माइती घरमा । बिहे हुन चार–पाँच दिन बाँकी भएकोले पाहुना पाछा आइसकेका थिएनन् ।

उनको प्रवेशपछि घरमा एकछिन सन्नाटा छायो । उनी जे सुकै कारणले भए पनि रिसिएर नआएको कुरा घरमा र छिमेकमा समेत सबैलाई थाहा थियो, कारण थाहा नभएको मात्र हो । एकै छिनको मौनता पछि आमा रोइन् र मौनता भङ्ग भयो । आमा भक्कानो छोडेरै रोइन् । साँक्क सुँक्क सबै रोए तर सरस्वता रोइनन् । उनी झनै गम्भीर देखिइन् र आमालाई सम्हालिन् । एकैछिनमा स्थिति सामान्य बन्यो । खानपिन पछि आमा–छोरीका गुन–गुन राती दुई बजे सम्म चले । सरस्वताले ब्रेनवाश भन्छन् मानसिकता नै परिवर्तन हुने गरेर आमालाई सम्झाइन् । अलि कडा मिजासमै उत्रिन् उनी ।

गर्मीको महिना हो । भोलिपल्ट बिहानै श्रीमताले नुहाइ धुवाइ गरेर नित्यकर्म सकिन् । घर आँगन सफा गरिन् । लिप–पोत गर्नु पर्ने ठाउँमा सबै गरिन् । के मन जागेछ कुन्नि, कहिल्यै आजा–पूजा नगर्ने उनले पिपलको पूजा गरिन् । त्यो दिन शनिबार परेकोले सान्दर्भिक नै रह्यो । छोरीलाई टीका लगाएर दक्षिणा पनि दिइन् । मुखबाट नराम्रो वा रुखो शब्द निस्केको छैन ।

अचम्मै मान्नु पर्छ, महिलाहरुले पतिको खुट्टाको जल खाने चलन हराइसकेको छ । उनले त्यो दिन जल खान तम्सिइन् तर पतिले मानेनन् र चुप लागिन् । घरको आँगनबाट भित्र पस्न खोज्दा छोरी सरस्वता घरभित्र पसेर फेरि बाहिर निस्कँदै थिइन् । आमाले छोरीलाई च्याप्प समाइन् र टाउको सुम्सुम्याउँदै बरर्रर आँखाबाट आँशु झारिन् ।

“नरुनुस् आमा”, सरस्वताले फेरि सम्झाइन् । बाउले हातमा पात्रो लिएर के हेर्दै थिए, आमा–छोरीको अवस्था र कुरा सुनेर त्यतै ट्वाल्ल परेर हेरे । पावरवाला चश्मा नाकको डाँडीमा अड्याएर चश्माभन्दा माथिबाट उनले जसरी एकोहोरिएर हेरेका थिए । त्यो दृश्य अनौठो खालको थियो ।

यस्तैमा पूर्विया हावा सररर त्यही घरको आँगन हुँदै पश्चिमतिर बह्यो । आँगनको डिलमा रहेको गोल्डमोर फुलेर रातै थियो । हावाले गर्दा फूल आँगनमा बिस्कुन सुकाए जस्तो भयो । कति फूल त सरस्वता र श्रीमताको टाउकामै खसे । नजिकैको गोठमा रहेको गाईको बाच्छीले के बुझ्यो कुन्नि ? बाँ… गरेर करायो । सरस्वताका बाउले घरमा लच्छिन् पस्यो भने र नाकको डाँडीमा रहेको चश्मा उतारे ।

बाटो हिँड्दै गरेका मान्छेहरु टक्क रोकिएर श्रीमताको घरतिरको तमासा हेरे । त्यो घरको वातावरणबाट नजानिँदो सुगन्ध फैलिए जस्तो पनि लाग्दथ्यो । छिमेकी महिलाहरुले भने अब त्यो घरमा के–के भुर्तालो हुने हो भन्ने प्रतीक्षामा तमासे बनेर आँखा झिमिक्क नपाररै हेरे । लाग्थ्यो श्रीमताको कमजोरीले धेरैलाई मनोरञ्जन मिलोस् । नयाँ मान्छेले त त्यहाँ कुनै फिल्म सुटिङ्ग हुँदैछ भन्ने सोँचे होलान् । श्रीमताकी छोरीले सम्झाएका गहनतम् कुराले उनको मैलिएको मन पखाल्दै थियो । हुन पनि त्यो दिन उनको अनुहार खरानीले माझेको काँसको अंखोरा जस्तै उज्यालो थियो । छिमेकीले कति बेला आँखा झिमिक्क गरे थाहा भएन ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button