
अमेरिकाबाट छोरो मात्रै आएछ
लघुकथाः चिन्ता
गंगा खड्का
बूढानीलकण्ठ १, काठमाडौँ
रमेशको एउटै मात्र सन्तान रविन ५ वर्षदेखि अमेरिकामा बस्दै आएको थियो । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुप लिएपछि उनीहरूले अनेक प्रयत्न गरेर छोरालाई नेपाल झिकाए ।
छोराको चिन्ताले रातदिन भुट्भुटिएका रमेशका दम्पति एकदमै खुसी भए । तर बिस्तारै बिस्तारै श्रीमतीको अनुहारमा औँसीको आगमन भइरहेको आभास रमेशले गरे ।
‘बूढी ! तिमी छोरो आयो भने अब मलाई संसारमा केही चाहिँदैन भन्थ्यौ । तर हिजो आज म तिमीलाई सधैँ टोहोलाएको मात्रै देख्छु । अब फेरि तिमीलाई के चाहियो ? तिम्रो चिन्ताको कारण के हो ?’, रमेशले श्रीमतीको दुखको कारण बुझ्न चाहे ।
‘छोरो मात्रै आएछ बूढा, उसले हामीलाई गर्ने माया, ममता, सम्मान उतै बिर्सिएर आएछ । आफ्नो चालचलन, रीतिरिवाज, संस्कार सबैलाई उतै छोडेर आएछ । अब ती सबैलाई कसरी फिर्ता ल्याउने भन्ने कुराले मलाई भित्रभित्रै खाइरहेछ बूढा ।’
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
