पेशलको अनुसन्धानमा रामेछापको साहित्य ‘प्लस’ पत्रकारिता

लघु अनुसन्धानः रामेछापको साहित्य र पत्रकारिताको इतिहास

पेशल आचार्य
पूर्व उपाध्यक्ष नेपाल पत्रकार महासंघ (रामेछाप र दोलखा संयुक्त शाखा)

‘साहित्य समाजको ऐना हो ।’ समाज अध्ययन गर्नु पर्ने भए साहित्यको अध्ययन गर्ने सल्लाह दिन्छन्– विद्वान्हरू । हुन् त यो साहित्यको सनातान परिभाषा हो तर अहिलेसम्म नयाँनवीन भनिएका वा गरिएका कुनै परिभाषाहरूले पनि उपरोक्तसो सनातन परिभाषालाई विस्थापित गर्न सकेको देखिँदैन ।

पौरस्त मान्यतानुसारको संस्कृत साहित्य र मीमांशामा साहित्य दुई अर्थमा लेखिने कुरा सगौरव चर्चा गरिएको छ । पहिलो अर्थ ‘स्वान्त सुखाय’ र दोस्रो अर्थ ‘पर हिताय ।’‘स्वान्त सुखाय’ को अर्थ व्यापक छ । यसका माने धेरैथरि लाग्छन् । लगाइन्छन् ।आनन्द, इच्छा, सन्तुष्टि, स्वाद् र चाहना सुखका पर्याय हुन् । त्यसैगरी ‘पर हिताय’ भनेको आफूबाहेक समग्र लोक वा अरूको हित या भलाइ चाहनु हो । यसर्थमा साहित्यका केही परिभाषालाई यसरी अघि सार्न सकिन्छ –

‘शब्दार्थ सहितौ काव्यम्’– भामह

‘वाक्यम् रसात्मकम् काव्यम्’– जगन्नाथ

पूर्वीयसाहित्य शास्त्रले बह्मालाई आदिकवि र वेदलाई सर्वप्राचीन काव्य मूल मान्दछ । पश्चिममा पनि ग्रीक म्याथोलोजीका पूराकथा, जनश्रुति र किम्वदन्तीहरू प्रचलनमा रहेका थिए । हामी पूर्वीय संस्कृतिका अनुयायी भएकाले वेद, पुराण, ब्राह्मण ग्रन्थहुँदै जातक कथाहरूमा हाम्रो विश्वास बढी भए पनि पश्चिमी मतानुसारको धार्मिक, सांस्कृतिक र पारम्परिक कुराहरूमा तर्क साथै प्रमाणहरू भएको अवस्थालाई दृढोक्तिका साथदावा गर्ने गरिन्छ । संसारको सार नै पूर्व र पश्चिमको गठजोड हो । अहिले पश्चिमका मान्यताले पूर्वीय साहित्य र पत्रकारितालाई समेत प्रभावमा पारेको छ । यसमा नयाँनयाँ मतमतान्तरहरू आइरहेका छन् । यद्यषि खोज र सन्धानहरू जारी छन् ।

समाजको विकास अघि नै जब ओढारमा मानिसको बसोबास थियो त्यसबेला मै सिकार गर्न जाँदाआँउदा थकाली प्रवृत्तिको मानिसले आफ्ना सन्तान र परिवारका अन्य सदस्यहरूलाई सान्त्वनाकै लागि भनेर जब ‘सिकार कथा’ वाचन ग¥यो तत् समयदेखि नै कथ्य रूपमा साहित्यको लोककथा विधा शनैःशनैः घस्रन थालेको हुनुपर्छ ।

कला शाखाका १६ शाखामध्ये शब्दकला जीवन र जगत्लाई विशालतम् रूपले अथ्र्याउन सक्ने सर्वशक्तिमान् र सबै खाले मानव मनहरूलाई उपयुक्त हुने कला प्रस्तुत गर्न सक्षम छ । संसारका सबै भाषा, कला र संस्कृतिमा यो परम्परा उत्तरोत्तर रूपले अगाडि बढिरहेको पाइन्छ । इतिहासले पनि त्यही कुरालाई तिथिमितिका साथमा बताउन खोजको छ ।

विकासका क्रममा अक्षर, छापाखाना र कागजको आविष्कार पछि मानिसहरूको जीवन साक्षरोत्तर ढंगले क्रियाशील हुँदै अगाडि बढ्दै जाँदा साहित्यका लेख्य विधाहरूले जन्मिने, अन्मिने र अझ बढी पन्पिने सुअवसरहरू पाउँदै गएका छन् । समयले आफ्नै गतिमा पखेँटा चाल्दै गयो । सभ्यताले गति पक्य्रो । पुस्ता दरपुस्ताहरूका शृङ्खलाहरूआवृत्ति हुँदै गए फलतः हामी भाषा आविष्कारको यी दसपन्ध्र हजार वर्षहरूका वंशवृक्षमा लिखित रूपमै सरल ढङ्गले यात्रारत छौं । यो यायावरीय मानवको यात्रा अझ रोकिएको छैन ।

यसै मेसोमा पत्रकारिताको पनि आरम्भ भएको मानिएको छ । संसारका आदि पत्रकारका रूपमा पूर्वीय संस्कृतिमा नारद मुनिलाई लिन सकिन्छ । देव र दानवका सुखद् र दुखद् सबैखाले समाचारहरू निर्विघ्न रूपले नारद मुनिले नै बाहक भएर ल्याउने लैजाने गर्दथे । पछि लोक समाजमा मानिसहरूले केही मात्रामा परेवा र बाजलाई समाचार बाहकका रूपमा प्रयोग गरेका जनश्रुतिमय कथा र गाथाहरूफारसका खाडीमा भएका मुस्लिम समाज र हिमाली पर्वतीय वस्तीमा भएका आर्यहरूका दस्तावेजमा रहेका पाइन्छन् । नेपाली भाषाको विकास क्रममा विक्रमको चौधौं शताब्दीमा देखिएको ‘बाज परीक्षा’ नामक ग्रन्थ यसको उदाहरण हो ।

पृष्ठभूमि

वर्तमानमा मध्यमाञ्चल विकास क्षेत्र (हाल नयाँ संविधान –२०७२ अनुसार विभाजित प्रदेश नं. ३) मारहेका १९ जिल्लामध्ये विकास र मानव सूचकाङ्कका हिसाबले १९ औं नम्बरमा पर्ने भनिए पनि साहित्य, पत्रकारिता र कलाका हिसबाले रामेछापलाई ऐतिहासिक र अब्बल जिल्लाका रूपमा चिनाउन सकिन्छ । पचासको दसकको मध्यतिर मात्रै सडक, बिजुली र टेलिफोनजस्ता आधुनिक जीवनका सुविधाहरू उपलब्ध हुँदै गएपछि सुविधा र सरलताको जीवन भोग्दै गएका यहाँका श्रमशील मानिसहरू विश्वासिला, परिश्रमी र साहसयोग्य पनि रहेका विभिन्न उदाहरणीय कार्यका माध्यमबाट देखिन्छन् ।

रामेछाप जिल्लालाई पुरानो जनबोलीमा पूर्व २ नम्बर पनि भनिन्छ । यो जिल्लामा जन्मेर कतिपय विद्वान् विदुषीहरूले प्रारम्भिक शिक्षा यहीँ लिएर जिविकोपार्जन हिसाबमा जिल्ला बाहिर गएर बसेका र त्यहीँ आफ्नो बसोबास गर्ने गरेको पाइन्छ भने कतिपयले चाहिँ जन्मने सौभाग्य मात्रै यहाँ पाएका र प्रारम्भिक शिक्षादेखि सबै कुराहरू बाहिर गएर मात्र सम्भव भएको हुँदा तिनीहरूले जिल्लाका लागि समय समयमा केही रचनात्मक कार्य गरिरहेको समेत देखिन्छ ।

यो अवस्था केवल साहित्यमा मात्र सीमित भएर विद्यमान् छैन । साहित्य इतरका समाजसेवा, शिक्षा र स्वास्थ्य एवम् मानवाधिकारको क्षेत्रमा समेत रहेको छ । जीविकाका लागि मानिस मात्र त्यस्तो जाति हो जो जुनसुकै भूगोल र स्थानमा पनि रहेर आफ्नो कर्मलाई अघि बढाउन सक्छ । विगत्मा यहाँका लेखक र स्रष्टाहरू जिल्ला बाहिर गएर आफ्नो कलाकर्मको तुष्टि मेटाउन लागि परेको इतिहासलाई यी माथिका सन्दर्भले पुष्टि पनि गरेका छन् ।

रामेछापमै जन्मेर हुर्कीबढी गरेका संस्कृत भाषा, साहित्य र मीमांशाका एकमात्र पहिलो विद्वान् पोष्टाचार्य पद्मप्रसाद भट्टराई हुन् । तिनी सालुमा जन्मेका स्रष्टा हुन् । त्यसैगरी संस्कृत साहित्यको वृहत् अध्ययन गरेर ‘ब्रह्मशूत्र त्रिविधभाष्य’ जस्तो गरिमामय ग्रन्थ लेख्ने विद्वान् पण्डित सोमनाथ घिमिरे ‘व्यास’ हुन् । खोजीपस्दा नेपाली साहित्यको माध्यमिक कालदेखि नै रामेछापमा सशक्त साहित्यिक स्रष्टाहरूको क्रियाशीलता भएको पाइन्छ । थुप्रै गद्यपद्य कृतिका लेखक तथा आशुकवि शम्भुप्रसाद, नेपाली उद्बोधन साहित्यमा अतुलनीय योगदान गर्दै सुनाम कमाएका प्रसिद्धकविकर धरणीधर कोइराला र नेपाली साहित्यमा पुस्तक लेखेर पहिलोपटक साहित्यिक सहिद उपनामले विभुषित हुने सुब्बा कृष्णलाल अधिकारी पनि रामेछाप जिल्लाकै हुन् ।

यहाँको माटोमा जन्मेर थुप्रै विधामा राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा नाम कमाउन सफल भएका धेरै विद्वान् विदुषीहरू यतिखेर जिल्लाबाहिर (देशभित्र र देशबाहिर) रहेर अझै आफ्नो मातृभूमिको भाररूपि ऋण तिर्न अहोरात्र क्रियाशील रहनुभएको छ जसको विस्तृत रूपमा पछिल्ला अनुच्छेद्हरूमा व्याख्या र विश्लेषण गरिन्छ ।

खोजको सहारा लिएर लामो अध्ययन गर्ने हो भने रामेछाप जिल्लाको साहित्यिक इतिहास छिमेकी दोलखा र सिन्धुली जिल्लाको इतिहासभन्दा बढी गौरवमय र संघर्षशील देखिन्छ । यो सानो लेखोटमै पनि रामेछापमा सयौँ स्रष्टाहरूको जन्म भएको, उनीहरूले आआफ्नो कलम एवम् कुची शक्तिका माध्यमबाट आफ्नो मातृजिल्लालाई विभिन्न भावनाका माध्यमबाट हर तरहले चिनाउने कार्य गरेको पाइयो । नेपाली भाषाको विकास भएको प्राचीन समयदेखि नै यस क्षेत्रमा क्षेत्री र बाहुनजस्ता जातहरूको बसोबास भएको प्राचीन ग्रन्थहरूमा उल्लेख भेटिन्छ । तत्पश्चात् उत्तर भोट प्रदेशबाट तिब्बती मूल भएका तामाङ जातिहरूको आगमन भई बसोबास भएको पाइन्छ भने सोही समयदेखि नै केही अघि वा पछि सुनुवार, पहरी, हायूजस्ता अल्पसंख्यक जातजातिहरू भित्रिएका हुन् जो हाल जिल्लाकै विभिन्न गाविसहरूमा छरिएर रहेका छन् ।

नुम्बुर हिमालको हिमाली चिसो बताससँगै यहाँ रामपुर, धने घाटसम्मको तातो बगर पनि रहेको छ । पुराना मानिसहरू भन्ने गर्छन् –गुम्देल–गौश्वारा मात्र होइन यहाँ लखनपुर र धनेघाटसम्मको हावापानीले जिल्लाको विविध भूप्राकृतिक अवस्थितिको भूमिलाई प्रतिनिधित्व गरेको छ । जिल्लाको नामकरण नै हेर्दा के थाहा पाइन्छ भने रामेछाप भन्ने शब्दको नामकरणका बेला ‘रा’ को सामान्य अर्थ ‘बाख्रा’ र ‘म्हे’ को अर्थ ‘भेडा’ र छापको अर्थ ‘खोर वा गोठ’ भन्ने लगाई यहाँ पुरातन कालमा भेडाबाख्रा पालनको उर्वर स्थान रहेको पाइन्छ । तामाङहरूलाई जिल्लाकै पुराना आदिवासीको रूपमा गणना गर्न सकिन्छ । यद्यपि विविध जातिगत इतिहास पुरानो भए पनि तत्तत् जातिमा रहेका मिथक र किम्बदन्तीका आधारमा रहेर लिखित साहित्य लेखिने क्रम भने वर्तमानका समय सम्ममा तामाङ र नेवार जातिमा जस्तो अन्य जातिमा रहेको पाइँदैन । तामाङ भाषामा अमृत योञ्जनले धेरै कृतिहरूको लेखन र प्रकाशन गर्नु भएको छ ।

केही छिटपुट रूपमा भने अन्य जनजातिका साहित्यकारहरूले पनि आफ्नो भाषामा कलम चलाउनु भएको पाइन्छ । यो सन्दर्भमा सुनुवार भाषामा शब्दकोष लेखिएको पाइएको छ । तामाङ भाषामा चाहिँ पत्रकार तथा लेखक अमृत योञ्जनले तामाङ भाषा र संस्कृतिका क्षेत्रमा दर्जनौ कृतिहरू दिनुभएको छ । यद्यपि वहाँ नेपाली भाषालाई अभिव्यक्तिको माध्यमबाट पनि पस्कँने पाको लेखक हो । वहाँका नेपाली भाषामा पनि निकै कृतिहरू प्रकाशित भएका छन् । राजधानीको व्यस्ततम् जीवनमा रहेर पनि वहाँले आफ्नो भाषा साहित्यलाई जुन गुन लगाउनु भएको छ त्यो कार्य मूल्याङ्कनका हिसाबले गतिलो छ ।

यसरी नेपाली भाषाका लेखिएका र नेपाली भाषालाई आफ्नो वाणि प्रकशनको माध्यम बनाउनु हुने लेखकहरूको चरणगत विकास र योगदानलाई यहाँ यो सानो आलेखमा प्रकाश पार्न खोजिएको छ ।

चरणगत विकास

प्रथम चरणः (१९३४–१९६०)

लोक साहित्य जब लिखित साहित्यमा अघि बढ्दै आयो त्यसपछि यस जिल्लाका साहित्यकारहरू पनि क्रमशः उत्साहित हुँदै गएको पइन्छ । नेपाली निबन्ध र कविताका धरोहर आशुकवि शम्भुप्रसाद ढुङ्गेलको जन्म जिल्लाकै पकरबासमा भएको मानिन्छ जसले ‘महेन्द्रमल्ली’ नामको निबन्ध लेखेर नेपाली निबन्ध साहित्यको पहिलो चरणमा योगदान दिएका थिए । त्यसैगरी उनले कविता र काव्यमा पनि योगदान दिएको पाइन्छ ।

त्यसपछि मावलमा जन्मेका कवि धरणीधर कोइराला अग्रपङ्तिमा आउँछन् । उनी साविक दोलखा र हाल रामेछापको बेताली भन्ने स्थानमा (वि.सं १९४४ सालमा) जन्मेका थिए । त्यसपछि पोष्टाचार्य पद्मप्रसाद भट्टराई, विद्वान् सोमनाथ घिमिरे ‘व्यास’, सुब्बा कृष्णलाल अधिकारी, पं. शाम्वभक्त सुवेदी ‘मुरारी’, हितप्रसाद उपाध्याय सुवेदी, पं.छविलाल ढुङ्गेल ‘सुरी’, पं.श्रीकान्त शर्मा घिमिरे, ऋषिभक्त पौडेल, पं. दधिराम पौडेल, यदुनाथ घिमिरे, देवीप्रसाद पौडेल हबल्दार, दाताराम शर्मा पौडेल, चन्द्रप्रसाद ढुङ्गाना, दिलबहादुर नेवार, हृदयराज शर्मा घिमिरे, पुष्पलाल श्रेष्ठ, भरतराज शर्मा ‘मन्थलीय’, गोविन्द शर्मा ‘विमल’, शंकरप्रसाद सत्याल, टेकनाथ भट्टराई र प्राडा दीर्घराज घिमिरेका फुटकर तथा कृतिगत रचनाहरूले सारभूत रूपमा साहित्यको आधार कार्य गरेको पाइन्छ ।

द्वितीय चरणः (१९९१–२०४६)

रामेछापकै साहित्यिक विकासमा समग्रतामा दोस्रो चरण भनेको सात सालको क्रान्ति अगाडि संवतको नब्बेको दसक नै हो । यस समयलाई समग्र साहित्यिक इतिहासले आधुनिक कालको रूपमा मूल्याङ्कन गरे पनि रामेछापको सन्दर्भमा चाहिँ दोस्रो चरण या विकास कालका रूपमा लिन सकिन्छ । यो काल खण्डमा रामेछापमा थुप्रै साहित्यिक स्रष्टाहरू यस दोस्रो चरणमा पनिकलम चलाउँदै रहे भने केही नयाँ स्रष्टाहरूको आगमन भने नव प्रवेशीहरूको रूपमा पाइएको छ । यस काललाई जोर सन्धिकालका रूपमा पनि लिन सकिने मत विद्वान्हरूको रहेको छ ।

यस समयावधिमा क्रियाशील साहित्यिक हस्तीहरूमा बाबुराम सापकोटा (जस्केलो हस्तलिखित पत्रिका २०१३ का सम्पादक), नगेन्द्रराज शर्मा (अभिव्यक्तिका सम्पादक), रोचक घिमिरे (रचनाका सम्पादक), बहुमुखी साहित्यकार स्व.जगदीश घिमिरे, गुणराज काफ्ले शाण्डिल्य, बाबुराम पौडेल, अर्जुनकुमार खड्का, प्रा.नीलमणि ढुङ्गाना, गोविन्दप्रसाद घिमिरे, रघुनाथ घिमिरे, चन्द्रकला नेवार, डा. भूपहरि पौडेलजस्ता थुप्रै साहित्यिक हस्तीहरूको कलम विविध विधाका विभिन्न रचनाहरूमा अविश्रान्त तवरले चलेको पाइन्छ ।

साहित्यिक हस्ती मात्रै जन्माएर गजक्क परेर रामेछाप जिल्ला बसेन यसले त राजनीति क्षेत्रका महान् हस्तीहरूलाई पनिआफ्नो काखमा जन्मदिएर लुटपुटिने अवसर समेत दियो । ती व्यक्तित्व थिए –नेपाली जनक्रान्तिका प्रथम सहिद मध्येका गंगालाल श्रेष्ठ (१९७५–१९९७)र नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठ (१९८१–२०३५) । त्यसै हुनाले रामेछाप जिल्लालाई आज पनि तीनलालको जिल्लाका रूपमा लिइन्छ । प्रथम लाल गंगालाल, द्वितीय लाल पुष्पलाल र तृतीय लाल भनेका कृष्णलाल हुन् । यी लालहरूको सुकीर्ति, सुनाम र सुयशले जिल्लामा चेतनाको पारो क्रमशः बढ्दै गएको हो । अब यो इतिहसको विषय भैसके पनि यही सुयशमा रामेछापका स्रष्टाले आफ्नो चेतनाको पारो ओकल्ने गरी कलम चलाउनु परेको छ ।

दोस्रो चरणमै पत्रकारिताका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनु हुने व्यक्तित्वहरूमा नगेन्द्रराज शर्मा (सम्पादक अभिव्यक्ति), रोचक घिमिरे (सम्पादक रचना), नवराज अधिकारी (सम्पादक अन्तर्राष्ट्रिय मञ्च, नारी मञ्च, बाल मञ्च), विमल भौकाजी (सम्पादक घुएँत्रो र शारदा), अशोक सुवेदी (सम्पादक नौलो विहानी) आदि प्रमुख रहेका छन् । यी पत्रिकाहरू जिल्ला बाहिरबाट दर्ता भई जिल्ला बाहिरबाटै प्रकाशित भइरहेका छन् । यो क्रममा शारदा र घुएँत्रो पत्रिका यसबेलाको स्थितिमा बन्द भएको अवस्था थियो । विगत् केही वर्षदेखि शारदा मासिक पत्रिका विमल भौकाजीको सम्पादनमा पुनः प्रकाशनारम्भ भएको छ । यसले नेपाली साहित्यको गतिलो साहित्यिक पत्रिकाको रुपमा आफूलाई स्थापित गरेको अवस्था अहिले विद्यमान् छ ।

रामेछाप जिल्ला भित्रबाटै २०४६ सालअघि प्रकाशित रूपमा जिल्ला प्रशसन कार्यालयमा दर्ता भएर पत्रपत्रिका प्रकाशित भएको पाइँदैन तर पत्रपत्रिकामा श्रमजीवीका रूपमा थुपै्र पत्रकारहरू कार्यरत रहेको भने पाइन्छ । श्रमजीवी पत्रकारको रूपमा कुरा गर्दा अग्रज पत्रकारहरूनगेन्द्रराज शर्मा (अभिव्यक्ति), रोचक घिमिरे (रचना), स्व. जगदीश घिमिरे (समीक्षा साप्ताहिक २०२५ तिर) जस्ता व्यक्तित्वले पत्रकारिता गर्दै साहित्य र साहित्यइतरका विविध विधामा समेत अतुलनीय योगदान गरेको पाइन्छ ।

त्यसैगरी रामेछाप जिल्लामै जन्मेर चित्रकलाको माध्यमबाट उच्च शिक्षा लिई प्रथम पीएचडीको उपाधि समेत ग्रहण गरेका डा. रामकुमार भौकाजीले समेत कला र सो क्षेत्रको विकासका लागि थुपै्र चित्रकला निर्माण गर्नु भएको साथै चित्रकलाका आलेखको खोज र अनुसन्धानमूलक लेखरचनाहरू लेखेको पाइन्छ ।

तृतीय चरणः (२०४७ देखि हालसम्म)

यो चरण अद्यावधि क्रियाशील भएकाले अझै पूर्णरूपेणमूल्याङ्कन गर्ने समय आइसकेको छैन । तर यसो भन्दैमा विगतको इतिहासको सम्मानका लागि केही गर्नै नपर्ने अवस्था चाहिँ छैन । इतिहास वर्तमानको निर्देशक हो भने वर्तमान इतिहासको सन्तान हो । त्यसैले भए गरेका कार्यहरूको सामयिक र गतिशील मूल्याङ्कन होस् भन्ने हेतुले सामयिक मात्रामा इतिहासलाई सम्मान गर्दै कलम चलाउनु आजको आवश्यकता भएको छ तापनि यस चरणमा साहित्य, पत्रकारिता, चित्रकला र संगीतका क्षेत्रमा रामेछाप जिल्लामा जन्मेर स्थानीय र राष्ट्रिय स्तरमा नाम कमाएका थुपै्र स्रष्टाहरू जन्मेर हुर्किसकेका छन् ।

जिल्लामै जन्मी जिल्लामै बसी पत्रकारिता गर्ने श्रमजीवी पत्रकार राजकुमार केसी(देउराली गाविसका बासिन्दा) थिए । उनी २०४६ को परिवर्तन अघि रामेछापको मन्थलीमा क्रियाशील पत्रकार थिए । ‘गोरखापत्र’ का सम्वाददाता भई कार्य गर्ने केसी माओवादी जनयुद्धका बेला सेनाद्वारा हत्या गरिएका पत्रकार हुन् । उनकी छोरी उमा केसी ‘हजुरको रेडियो’ रामेछापमा पत्रकारितामा क्रियाशील हुँदै हाल राजधानीस्थित ‘नेपालवाणी’ एफ्एम्मा कार्यरत रहेकी छिन् ।

प्रजातन्त्रको पुनस्र्थापनापछि रामेछापबाट पत्रपत्रिकामा काम गर्ने श्रमजीवीहरूको निकै लामो सूची नै निर्माण भयो जसमध्ये क्रियाशील पत्रकारहरूमा टीकाप्रसाद भट्ट (कान्तिपुर दैनिक), नवराज पथिक (नेपाल समाचारपत्र,हालः रेडियो तीनलाल), दिनेश गाउँले (हालः हजुरको रेडियो, गन्तव्य टुडे दैनिक, सम्पादक), पेशल आचार्य (जनमञ्च, नेपाल समाचारपत्र, हालः स्वतन्त्र लेखन, वसन्तपल्लव साहित्यिक त्रैमासिकको भाषा सम्पादक), हिमाल ढुङ्गेल (दि हिमालयन टाइम्स, नेपाल टेलिभिजन), रमेश ढुङ्गेल (कारोवार राष्ट्रिय दैनिक,), दीपक भट्ट (नयाँपत्रिका दैनिक र सम्पादक स्मारिका साप्ताहिक), अप्रिल अधिकारी (रासस दैनिक), बद्री नयाँघरे (हिमालय टाइम्स दैनिक), सौजन्यप्रसाद सत्याल (स्टेसन म्यानेजर रेडियो रामेछाप), मञ्जु उप्रेती (नागरिक दैनिक), निरज सापकोटा (सैलुङनुम्बुर साप्ताहिक, राजधानी दैनिक), टंक गौतम (रामेछाप पोष्ट साप्ताहिक), सुमित श्रेष्ठ (पुष्पवृष्टि साप्ताहिक, रेडियो तिफदी ), वेदबहादुर श्रेष्ठ (पुष्पवृष्टि साप्ताहिक, रेडियो तिफदी , मन्थली), विजय श्रेष्ठ (आजको रामेछाप) डोरदेब घिमिरे (झंकार एफ एम ), उद्धवप्रसाद आचार्य (नव कोसेली साप्ताहिक), प्रकाश न्यौपाने परिष्कार (मालश्री साप्ताहिक) र कुमार यात्री (मालश्री साप्ताहिक) आदि रहेका छन् भने ‘गोरखापत्र’ दैनिकमा समावेशी प्रकाशनका रूपमा रहेको माझी भाषाको पाक्षिक सम्पादन ‘माझी भाषा पृष्ठ’ मा गणेश माझी र गोपाल माझी पृष्ठ संयोजक भई क्रियाशील माझी भाषाका पत्रकारद्वयका रूपमा क्रियाशील रहेका छन् । यो विवरण आफैँमा रामेछापका लागि गौरवको विषय हो ।

त्यसैगरी विद्युतीय सञ्चार माध्यममा कार्यरत पत्रकारहरूमा टीकाप्रसाद भट्ट कान्तिपुर टेलिभिजन, नवराज पथिक एभिन्युज टेलिभिजन, रमेश ढुङ्गेल हिमालय टेलिभिजन, हिमाल ढुङ्गेल नेपाल टेलिभिजन, विनोद सुवेदी एबीसी टेलिभिजनमा कार्यरत रहेका छन् भने जिल्लाभित्र र जिल्लाबाहिरका एफएमहरूमा कार्यरत पत्रकारहरूमा टीकाप्रसाद भट्ट कान्तिपुर एफएम, नवराज पथिक तीनलाल एफएम, दिनेश गाउँले हजुरको रेडियो, दीपककुमार घिमिरे हजुरको रेडियो, सौजन्यप्रसाद सत्याल रेडियो रामेछाप, वेदबहादुर श्रेष्ठ रेडियो तिफदी, सुमित श्रेष्ठ रेडियो तिफदीमा क्रियाशील रहेका छन् । त्यसैगरी जिल्लाकै एफएम रेडियोहरूमा क्रियाशील पत्रकारहरूमा तुल्सी देवी श्रेष्ठ, शान्ता श्रेष्ठ, सञ्जीला मोक्तान, सुमित्रा योञ्जन, सुशीला थोकर, कैलाश खत्री, प्रज्ज्वल पौडेल ‘पिस्वायर’, उज्ज्वल राज गिरी, युनिक विफा घिसिङ, रामचन्द्र विश्वकर्मा, प्रकाश परिष्कार, प्रविना नेपाली, ज्ञानु श्रेष्ठलगायतका युवा पत्रकाहरूकार्यरत रहेका देखिन्छन् ।

त्यसैगरी रामेछाप शाखा स्थापनाका लागि योगदान गर्ने पत्रकारहरुमा पार्बती पाठक, नेप्लु भट्ट जिरेल, पार्बति कार्की, निमु खड्का, अर्चना गौतम, केदार प्रसाद सत्याल, कृष्ण प्रसाद घिमिरे, सुदर्शन राय, निरज श्रेष्ठ, नानिवाबु दाहाल लाइ पनि सम्झनु पर्ने हुँन्छ ।

द्वितीय चरणमा प्रकाशित ‘जस्केलो’(२०१३) हस्तलिखित पत्रिकामार्फत् पत्रकारितामा उदाएका पत्रकार तथा साहित्यकार बाबुराम सापकोटा लामो समयसम्म प्रशासनिक क्षेत्रमा क्रियाशील भईहाल काठमाडौँमा रही साहित्यिक गतिविधिमा चाहिँ निष्क्रियप्रायः जीवन बिताइरहेका छन् । त्यसैगरी रामेछापबाटै दर्ता भई केही समय प्रकाशित भएर स्थगित भएका पत्रिकाहरूमा अनीता श्रेष्ठको ‘रामेछाप सन्देश’, दिनेश घिमिरेको ‘तीनलाल भुमि बोल्छ साप्ताहिक’, सुदर्शन रायको ‘नुम्बुर टाइम्स’, अशोक सुवेदीको ‘जनपुष्प’, पेशल आचार्यको ‘अविरल’ मासिक, यज्ञ ढकालको ‘रामेछाप मासिक’, रमेश ढुङ्गेलको ‘लोकदीप’ साप्ताहिक रहेका छन् भने हाल जिल्लामा ‘रामेछाप साप्ताहिक’, ‘सैलुङनुम्बुर साप्ताहिक’, ‘रामेछाप खबर साप्ताहिक’, ‘पुष्पवृष्टि साप्ताहिक’,‘रामेछाप खबर साप्ताहिक’,‘नव कोसेली मन्थली’र ‘मालश्री’ साप्ताहिक नामका ७ वटा साप्ताहिक पत्रिकाहरूप्रकाशनमा रहेका देखिन्छन् । यीमध्ये काठमाण्डौमा दर्ता भइ जिल्लाका धेरै समाचारहरु कभरेज गर्ने रामेछाप पोष्ट साप्ताहिक लाई पनि स्थानीय पत्रिकाको रुपमा लिइएको छ । जस मध्ये केही साप्ताहिक बन्द रहेका र यो आलेख तयार पार्दाका अवस्थामा भने जिल्लाबाट ‘आजको रामेछाप’ दैनिक (सम्पादक नवीन मनोहर) र ‘गन्तव्य टुडे’ दैनिक (सम्पादक, दिनेश गाउँले) जस्ता दैनिक पत्रिकाहरु समेत निस्कन लागेका छन् । यसरी जिल्ला दैनिक पत्रिकाको युगमा समेत प्रवेश गरेको छ ।

Ad

त्यसैगरी अहिलेको समयसम्म जिल्लामा ७ वटा एफएमहरू सञ्चालनमा आएका छन् । तिनीहरूमा ‘हजुरको रेडियो’, ‘रेडियो तीनलाल’, ‘रेडियो तीफदी’, ‘रेडियो रामेछाप’ र ‘रेडियो झंकार’ रहेका छन् । त्यसैगरी अन्य दुईवटा जिल्ला सदरमुकामबाहिर बाम्ती को देउराली डाँडाँमा रेडियो लिखु र गुप्तेश्वरमा रेडियो कैरन नामका रेडियोहरु सञ्चालनमा रहेका छन् । यति धेरै सञ्चार माध्यमहरु हुँदा हुँदै पनि नेपाल पत्रकार महासंघको सदस्यता लिने पत्रकारहरुको संख्या ५० मात्र छ । यसरी अहिलेको परिस्थितिमा पत्रपत्रिका र रेडियोको माध्यमबाट जिल्लामा क्रियाशील पत्रकारहरू ६५ भन्दा बढीको संख्यामा कार्यरत रहेको कुरा नेपाल पत्रकार महासंघ रामेछापको शाखाको तथ्याङका रहेको छ । ती पत्रपत्रिका र रेडियोमा कार्यरत पत्रकारहरूले पनि बेलाबेलामा साप्ताहिक रूपमा साहित्यिक कार्यक्रमहरू प्रशारण गर्ने गर्दछन् जसमध्ये ‘रेडियो तीनलाल’ मा पत्रकार तथा गजलकार युनिक विफा घिसिङको सञ्चालनमा ‘अल्झिएको साहित्य’, ‘रेडियो रामेछाप’ एफएममा पत्रकार तथा गजलकार प्रज्ज्वल पौडेलको सञ्चालनमा ‘स्मृतिका पानाहरू’ र रेडियो झन्कारमा प्रकाश परिष्कारको ‘नपल्टिएका पानाहरू’ र रेडियो तिफदीमा प्रविना नेपालीको गजलपरक साहित्यिक कार्यक्रम ‘गजल सरोबर’ नामक साप्ताहिक साहित्यिक रेडियो कार्यक्रम पनि गज्जबसँग हालको समयमासञ्चालन भइरहेका छन् ।

अन्य विकास

साहित्यिक पत्रपत्रिका

रामेछाप जिल्लामा अहिलेसम्मको रेकर्ड अनुसार साहित्यिक पत्रिकाको दर्ता समाचार र अन्य विकासे पत्रपत्रिकाहरूको तुलनामा निकै कम भएको पाइन्छ । ‘नव आलोक’ र ‘स्रष्टा सङ्गम’ को संचालनमा प्रकाशित ‘दीपन’ मासिक पत्रिका नै अहिलेसम्म जिल्लामा दर्ता भएर प्रकशित भएका साहित्यिक पत्रिकाहरूमा पर्दछन् तर ती दुवै यो लेख तयार पार्दाका अवस्थासम्म बन्द अवस्थामा छन् । ‘दीपन’ मासिकलाई भने नयाँ जोश जाँगरका साथ २०७१ सालदेखि पुनः प्रकाशित गरिने जानकारी सो पत्रिकाका प्रधान सम्पादक सौजन्यप्रसाद सत्यालले दिएका थिए तर दीपन दुई अङ्क निस्किएर फेरि निस्किन सकेनँ ।

यो आलेखको पुनर्सम्पादन गरिरहेका अवस्थामा ‘वसन्त–पल्ल्व’ साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन आरम्भ भएर आउने २०७२ बैशाख ५ गते मन्थलीमा एक कार्यक्रमका बीच लोकापर्ण भई सो पत्रिकाले आफ्नो पुनप्र्रकाशनको चौथो अङ्क ‘मलेसिया विशेषाङ्क’प्रकाशनको तयारीमा रहेको जानकारी प्राप्त भएको छ । सो त्रैमासिकले दोस्रो अङ्क ‘पवित्र क्रान्ति’ विशेषाङ्क र तेस्रो अङ्क ‘इलाम विशेषाङ्क’ का रूपमा प्रकाशित गरिसकेको छ । त्यसैगरी दर्ता नभएका तर केही समय प्रकाशित भएका पत्रिकाहरूमा ‘अविरल’ मासिक (प्रधान सम्पादक पेशल आचार्य र सम्पादक हिमाल ढुङ्गेल), ‘वसन्त पल्लव’ मासिक (सम्पादकद्वय प्रकाश न्यौपाने ‘परिष्कार’ र मुकुन्दप्रसाद भण्डारी‘विप्लव’–२०६६ ताका)(जो अहिले माधव सयपत्रीको सम्पादन र यसै आलेखका लेखकको भाषा सम्पादन र प्रकाश परिष्कारको प्रकाशकत्वमा पुनः निस्केको छ ।) तर ‘तामाकोसी आवाज’ (सम्पादक पार्वती श्रेष्ठ), ‘नवआयाम’ मासिक (सम्पादक केशव अमोल तिम्सिना, रवीन्द्र प्रलय र दीपन मासिक, सम्पादक कल्पना प्रकृति) जस्ता पत्रिकाहरू रहेका थिए ती अब साहित्यिक इतिहासको गर्तमा बिलाई सकेका छन् । हाल ‘वसन्तपल्लव’ त्रैमासिक आफ्नो प्रकाशन यात्रालाई गति दिइरहेको छ ।

साहित्यिक संघसंस्था

जिल्लामा यतिखेरसम्मको अवस्थामा जगदीश घिमिरे साहित्य प्रतिष्ठान, महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्य प्रतिष्ठान, हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्यिक प्रतिष्ठान, प्रगतिशील लेखक संघ, रामेछाप साहित्यिक प्रतिष्ठान, नवआयाम साहित्यिक प्रतिष्ठान, अनौपचारिक साहित्यिक मञ्च, नेपाली लेखक संघ र स्रष्टा सङ्गमजस्ता साहित्यिक संघसंस्थाहरूकेही नियमित सहित्यिक कार्यक्रमसहित र केही धुकधुकीसहित क्रियाशील रहेका छन् । २०५१÷०५२ सालतिर कर्मचारी मिलन केन्द्र रामेछापले पनि राष्ट्रिय दिवसहरूको अवसरपारेर निकै रमाइला साहित्यिक कार्यक्रमहरू गर्ने गरेकोमा अहिले सो संस्थाले लामो समयदेखि आफ्ना साहित्यिक कार्यक्रमहरूलाई निरन्तरता दिन सकेको छैन ।

जिल्लामा आउने केही साहित्यिक रसिक हाकिमहरूको जोश र जाँगरमा मात्र सिमित हुने त्यस्ता कार्यक्रमहरूले भन्दा पनि जिल्लामै क्रियाशील साहित्यिक संघसंस्थाहरूले एकीकृत रूपमा साहित्यका कार्यक्रमहरू बनाएर जानु पर्ने अवधारणा केही लेखकहरूको रहेको छ । यस सन्दर्भमा विचार र आस्थाभन्दा पनि लेखनका रूपमा अघि बढेका जिल्लाका पुराना लेखकहरूलाई सहभागी बनाएर कार्यक्रम अघि लैजान सके साहित्यको विकास र श्रीवृद्धिमा थप टेवा मिल्ने थियो । यो खोजकर्ताका अनुभवमा लेखनमा आएका नयाँ छिमलका भाइबहिनीहरूलाई अहिले लेखन, पठन र प्रकाशनभन्दा पनि सामयिक र कालक्रमिक साहित्यिक पठन र काउन्सिलिङको खाँचो रहेको तथ्य थाहा भएको छ ।

जिल्ला शिक्षा कार्यालयबाट प्रवद्र्धित जिल्लाभरि स्थापना भएका केही सामुदायिक अध्ययन केन्द्रहरूले पत्रपत्रिका र केही मात्रामा पुस्तकहरू उपलब्ध गराई अध्ययनको बानी विकासमा टेवा दिए पनि गतिलो खालको पुस्तकालय र वाचनालयको स्थापना आजका मितिसम्म नहुनुलेजिल्लामा संगठित रूपमा पठन संस्कृतिको विकास भएको पाइँदैन । यस्तो महत्वपूर्ण कुरामा राजनीतिक दलहरू, जिल्ला विकास समिति, नगर पालिका, विभिन्न क्याम्पस, उमावि र माविहरूबाट सक्दो पहल हुनु नितान्त जरूरी भैसकेको छ । पठन संस्कृतिलाई जिल्ला सदरमुकाममा स्थापित तामाकोसी सामुदायिक पुस्तकालय र मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा सञ्चालित पुस्तकालयले केही भरथेग गरेका छन् ।

यस्तो अवस्थामा जिल्लाबाट निस्केका मासिक, द्वैमासिक र त्रैमासिक साहित्यिक पत्रिका र साप्ताहिक पत्रपत्रिकाहरू तथा एमफमहरूबाट सञ्चालनमा आएका साप्ताहिक साहित्यिक कार्यक्रमहरूले केही मात्रामा भए पनि नयाँ र पुराना साहित्यकारहरूलाई साहित्यिक तुष्टि दिने काम गरेका छन् । यो अवस्थाले पनि जिल्लाको साहित्यिक गतिविधिलाई केही मात्रामा धानेको अवस्था रहेको छ । जति धानेको छ त्यसमा सन्तुष्टि लिने मात्र होइन नयाँनयाँ सोचका साथ अब जिल्लाबाट ‘इ–पत्रकारिता’ पनि सञ्चालन हुनु आवश्यक रहेको छ ।

वर्तमान अवस्थामा भने मन्थलीमा क्रियाशील लेखक र साहित्यकारहरूको उपस्थितिमा महिनाको दुई तीनपटक स्रष्टासङ्गम नामको साहित्यिक संस्थाले रचनावाचनको कार्यक्रमलाई निरन्तरता दिइरहेको थियो । सो संस्थाले चित्रकारिता, लेखन र गायनमा संलग्न स्रष्टाहरूलाई समेत समेटेर आफ्नो साहित्यिक कार्यलाई अगाडि बढाइरहेको कुरा जनाएको छ ।

साहित्यकार स्व.जगदीश घिमिरेको अगुवाइमा २०६२ देखि २०६६ सम्मका केही वर्ष (लगभग वर्ष नबिराइकन) मन्थलीमा साहित्यिक कार्यक्रमहरू भएका थिए । जसको संयोजन वहाँ आफैँले गर्नु हुन्थ्यो । त्यो क्रमलाई वहाँले २०६६ सम्म निरन्तरता दिनु भएको थियो । जसको उल्लेख ‘अन्तर्मनको यात्रा’ मा वरिष्ठ साहित्यकार जगदीश घिमिरेले उल्ल्ेख पनि गर्नु भएको छ । जगदीश घिमिरेको निम्तामा नेपालका स्वनामधन्य सयौँ साहित्यकारहरू मन्थली आएर आफ्ना रचनाहरू सुनाउने र यहाँका स्रष्टाका रचनाहरू सुन्ने काम गरेका छन् । त्यसैगरी साहित्यकार तथा पत्रकार अशोक सुवेदीले पनि आफ्ना बाबाआमाको सम्झनामा स्थापना गर्नु भएको साहित्यिक संस्था हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानका तर्फबाट पनि वर्षेनी वार्षिक पुण्यतिथिको अवसर पारेर चैत्र २५ गते लाई साहित्यिक कार्यका रूपमा मनाउँदै आउनु भएको छ । यो अवसरमा विगत ५ वर्षदेखि कविता प्रतियोगिता हुँदै आएका छन् । गोष्ठीमा वाचित कविताहरूलाई वहाँले पुस्तकाकार रूप दिएर प्रकाशित पनि गरिदिनु भएको छ । यो नव प्रतिभाहरूका लागि सारै खुसीको कुरा हो । यसरी हेर्दा गोष्ठीको प्रभावकारिताले २०६२ देखि २०६५ सम्म मन्थलीमा साहित्यिक माहौल निकै फष्टाएको देखिन्थ्यो ।

क्रियाशील स्रष्टा

सिर्जनात्मक र समालोचनात्मक दुवै प्रकारका साहित्यमा रामेछापका स्रष्टाहरू क्रियाशील छन्, फरक यति हो कि कोही यहाँ जन्मेर जिल्ला बाहिर गई सिर्जनामा रहनु भएको छ भने कोहीकोही चाहिँ बाहिर जिल्लामा जन्मी जीवीकोपार्जनका लागि रामेछाप आएर साहित्य सिर्जनामा व्यस्त रहनु भएको छ । संक्षेपमा दुवै परिस्थितिमा रहनुभएका स्रष्टाहरूको बारेमा प्रकश पारौँ ।

जिल्लाबाहिर गई सक्रिय स्रष्टा

नगेन्द्रराज शर्मा (साहित्यिक पत्रकार), रोचक घिमिरे (साहित्यिक पत्रकार), विमल भौकाजी (साहित्यिक पत्रकार र लेखक), उत्तम भौकाजी (गीतकार, लेखक), कपिल काफ्ले (पत्रकार तथा लेखक), अशोक सुवेदी (पत्रकार तथा लेखक), नीलमणि ढुङ्गाना (पाठ्यपुस्तक लेखक तथा अनुवादक), नवराज अधिकारी (सम्पादक), रघुनाथ घिमिरे (निबन्धकार र समालोचक), गोविन्दप्रसाद घिमिरे (कानुनी पुस्तकका लेखक), पुण्यप्रसाद पौडेल (कवि तथा खण्डकाव्यकार), डा.भूपहरि पौडेल (कवि, लेखक तथा खोजकर्ता), देवशंकर पौडेल (कवि, लेखक), गान्धीराज काफ्ले (कवि, निबन्धकार), ध्यानबहादुर मोक्तान (कवि), सरला श्रेष्ठ (कवि), विष्णुकुमार खत्री (कवि तथा गीतकार), दिनेश बस्नेत (इन्टरनेट पत्रकार), होमराज श्रेष्ठ (गीतकार, लेखक), दीपेश घिमिरे (पत्रकार, लेखक तथा विश्लेषक), रवीन्द्र दहाल प्रलय (कवि, कथाकार), निरज खड्का (कवि), उद्धव आचार्य ‘अविचल’(कवि तथा खण्डकाव्यकार), दिनेश पुरी (गजलकार), प्रिन्स प्रकाश (गजलकार), रमेश घिमिरे (कवि, निबन्धकार), रमा थापा ‘रश्मि’(गजलकार), सजना वाइबा सन्ध्या (गजलकार), सरिता श्रेष्ठ (गजलकार) र शरिष्मा दोलखाली (गजलकार) आदि रहेका छन् । यहाँ नामोच्चारणमा अन्य केही नयाँ नवोदित स्रष्टाहरू छुटेका पनि हुन सक्छन् । ती नयाँनयाँ नामहरूलाई पछि कुनै प्रकाशनमा समेटिने छ ।

जिल्लाभित्र क्रियाशील स्रष्टा
माधव सयपत्री (कथाकार र लेखक), रामचन्द्र वियोगी (कवि),पेशल आचार्य (निबन्धकार, कवि तथा कथाकार), डा.सुमन कर्माचार्य (कवि तथा लेखक), टीकाप्रसाद भट्ट (पत्रकार, लेखक), नवराज पथिक (पत्रकार, लेखक), दीपकप्रसाद भट्ट (पत्रकार), हिमाल ढुङ्गेल(पत्रकार), सौजन्यप्रसाद सत्याल (पत्रकार), बद्री नयाँघरे (पत्रकार), सुमित श्रेष्ठ (पत्रकार), वेदबहादुर श्रेष्ठ (पत्रकार), विजय श्रेष्ठ (पत्रकार), रमेश ढुङ्गेल(पत्रकार), नवराज श्रेष्ठ (पत्रकार), कैलाश खत्री (पत्रकार), नवीन मनोहर (कवि), नवीन गाउँले, लालबहादुर तामाङ (कवि), माधव काफ्ले (निबन्धकार), अम्बिकाप्रसाद गजुरेल (कवि), युनिक विफा घिसिङ(गजलकार), ब्लु स्काइ लामा (कवि), कल्पना प्रकृति (गजलकार), केशव अमोल तिमल्सिना (कवि), प्रभु विवश (कवि तथा गजलकार), प्रकाश न्यौपाने ‘परिष्कार’ (पत्रकार, कथाकार र कवि), उद्धव आचार्य ‘अविचल’ (कवि, खण्डकाव्यकार), कुमार यात्री (पत्रकार, कथाकार), सजना वाइवा सन्ध्या (गजलकार), लक्ष्मी मानन्धर (कवि), कृष्ण उफान (व्यङ्ग्यकार), शिवजी भण्डारी (गजलकार), विक्रम नेपाली (गजलकार, कवि), वाशिष्ट गुरु भण्डारी (कवि), झम्क कडेँल (कवि), बुद्धिप्रसाद ढुङ्गेल (नाटककार), राजतिलक श्रेष्ठ (नाटककार), शारदा खड्का (गजलकार), जयदीप मगर (कवि), आदि क्रियाशील लेखकका रूपमा रहेका छन् । यसै मेसोमा कोहीकोही सामयिक लेखनमा सुस्त पनि भएका छन् ।

उपसंहार

यसरी रामेछाप जिल्लामा जन्मेर जिल्ला बाहिर गई क्रियाशील भएका साहित्यकार र बाहिर जिल्लामा जन्म भई रामेछापलाई कर्मस्थलका रूपमा लिने साहित्यकार दुवैले साहित्यिक विकासमा योगदान गरेका छन् । देशमा प्राप्त भएको २०४६ को प्रजातन्त्र र २०६२/६३ को लोकतन्त्र पश्चात् रामेछाप जिल्लामा पनि पत्रपत्रिका र एफएमको स्थापनाले गर्दा अझ साहित्यिक र सांस्कृतिक विकासमा नयाँनयाँ योगदानहरू थपिँदा छन् ।

स्थानीय रेडियो र पत्रपत्रिकाहरूमा काम गर्ने नयाँ पत्रकार र लेखकहरूको उच्च स्तरीय सहभागिताले गर्दा नयाँनयाँ रैखिक सम्भावना भएका लेखक र पत्रकारहरूको उदय त भएको छ नै साथै जिल्लामा भएका सबै खाले चेतना औ लेखनका विषयवस्तुलाई रेडियो र पत्रपत्रिकाका माध्यमबाट सार्वजनिकीकरण गर्ने संस्कारले गर्दा समेत अचेल साहित्यिक घनत्व बढ्दै गएको पाइन्छ ।

यो साहित्यिक र पत्रकारिताको विकासात्मक परिस्थिति जिल्लाका लागि भने सन्तोषजनक कुरा हो,अवस्था हो । नेपाली समाज अब खुलापन तर्फ अगाडि बढ्दै गएको पाइन्छ । यस्तो स्थितिमा अब छापा र रेडियो पत्रकारितामा मात्र साहित्य र साहित्यिक गतिविधि अडिएको छैन । धिमा गति होस् या तीव्र गति कहिले एकल वाचन र कहिले प्रतियोगितात्मक काव्य गोष्ठी समेत मन्थलीमा भएका छन् । जिल्लामा क्रियाशील मध्ये कवि पेशल आचार्यको ‘एकल वाचन’ विगत् २०७१ जेठ ११ र डा. सुमन कर्माचार्यको असार ७ गते फरकफरक कार्यक्रमका बीच सम्पन्न भई ती दुई कविहरू कविताको ‘एकल वाचन’ इतिहासमा पनि दर्ज भैसकेका छन् ।

जमानाले फड्को हानेर अब इ–पत्रकारिता र वेभ म्यागाजिनको रूप लिइसकेको छ । लेखकहरू अब क्रमशः डिजिटलाइज्ड भएका छन् । उनीहरूको पहूँच अब स्थानीय पत्रपत्रिकामा मात्र सीमित छैन । उनीहरू घरलाई नै विश्व मानेर अनि विश्वलाई नै घर ठानेर लेखन र प्रकाशनमा क्रमशः अघि बढिरहेका छन् । यो स्थितिले नेपाली लेखकहरूको स्तर र लेखनमा नै नयाँ लिउन लगाइदिएको छ ।साहित्य लेख्ने लेखकहरू अब क्रमशः सेलिब्रेटी हुन थालेका छन् । पैसा र मान सम्मानको खोलोपैरो साहित्यमा पनि हुन थालेको छ । यो स्थितिको आगमन रामेछापमा अहिले नै नभए पनि भोलिका दिनमा सम्भव होला भनेर भन्न सकिन्छ । यो हाम्रो कामना हो ।

अझ यस सन्दर्भमा के पनि भन्न सकिन्छ भने कुनै व्यक्ति वा आधिकारिक संघसंस्थाहरूका तर्फबाट आधिकारिक रूपमा रामेछापको ऐतिहासिक साहित्यिक गतिविधिको खोजी गरिदिने हो भने यहाँका कुनाकाप्चामा रहेर साहित्य रचनाका माध्यमबाट जीवनमा कलात्मकताको खोजी गरिरहेका साहित्यिक हस्तीहरूको जीवनी, प्रवृत्ति, व्यक्तित्व र कृतित्व क्रमशः फैलन गई जिल्लाकै नाम अझ उँचो हुन जाने क्रम निश्चित झैँ छ । आशा गरौँ, यो अभियानमा अवश्यमेव पूर्णता छाउनेछ । नेपाली लेखकहरूको यो सान र सौगातसँगै रामेछापका लेखकहरू पनि अग्रगतिको मार्गमा छलाङ मार्न सक्षम होऊन भन्ने शुभकामना राख्दै अहिलेलाई यो लेख यतिमै समापन गर्छु । जय साहित्य ! जय साहित्यकार !


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button