प्रेमकथाः बाटोकी फूल, स्कुलकी प्रियसी

सर्वदा

विनोद अर्याल

‘एक गिलास अझै थपिदिनुहोस्, म पैसा तिरिहाल्छु नि त्यत्रो जागिर छ । किन पत्याउनु हुन्न हो’ भन्दै जिस्किँदै थिए जड्याहाहरू ।

म कामले अलि ढिला भएको कारणले रमा दिदी मलाई नै कुरिरहेकी रहिछन् । आउँदावित्तिकै दिदीले सोधिहालिन्, ‘विनय भाई ! आज त धेरै नै ढिला पो गर्नु भयो त ।’

मैले थकित मुद्रामा जवाफ दिएँँ, ‘दिदी ! तपाइलाई थाहै छ नि । आज महिनाको अन्तिम दिन . काम त धेरै भैहाल्छ । अरूको जस्तो समय पुग्यो कि छाडेर हिँड्नु नमिल्ने रहेछ, आफ्नो काम सकाउनै पर्ने ।’

दिदीले हाँस्दै भनिन्, ‘पैसा पनि त धेरै छ नि । नत्र त को पो बस्छ यति ढिलासम्म !’

मैले झर्को मान्दै भनेँ, ‘ह्या दिदी पनि ! खै खाना ल्याउनुस्, भोक लागिसक्यो ।’

दिदीले खाना ल्याइन् । म खाएर आफ्नो कोठातिर लागेँ ।

बाटोमा चुरोट सल्काउँदा सलाई खस्यो । सलाई कता खस्यो पत्तै पाइनँ । मोबाइलको टर्च बालेर यता ता खोजेँ तर भेटिनँ । केवल एउटा फूल देखेँ, जुन मैले त्यो बाटोमा कहिल्यै देखेको थिइनँ या भनौ त्यो पहिलेदेखि नै त्यो बाटोको छेउमा थियोे तर मेरो नजरमा पर्न सकेको थिएन । हेर्दा कति सुन्दर बोटको टुप्पोमा फुलेको फूल रातो-हरियो-पहेँलो रङ्गमिश्रित थियोे । केहिबेर हेरिरहेँ । त्यो फूलको सुवासले मेरो चुरोटको तलतल मेटाइसकेको थियोे, म त्यो फूलको सुगन्धमा मन्त्रमुग्ध भएर हराइसकेको थिएँ ।

अर्को दिन खाना खानको लागि रमा दिदीको होटलतर्फ लागेँ । बाटोमा त्यो फूललाई नियालेर हेरेँ । कति सुन्दर ती हरिया लामालामा पात । पातका रेसाहरू प्रष्टसँग देखिन्थे । कुनै कालिगढले कुँदेर बनाएको एक आकृति जस्तै ती पातहरू । फूलमा केही शीतका थोपाहरु थिए जुन बिहानीको घामका किरणहरूमा टल्किरहेका थिए । लाग्थ्यो, ती शीतका थोपाहरूमोतीका दानाहरू हुन् जो टल्किएका थिए त्यो घामको किरणमा र म एक व्यक्ति जो त्यो रमणीय पललाई नजिकैबाट नियालेर हेरिरहेको थिएँ । हिजो खसेको त्यो सलाईको बट्टा पनि त्यही फुलको लामो पातले छोपिएको थियो तर सलाइको बट्टाले मलाई आकर्षण गर्न सकेन जति त्यो फुलको सुन्दरताले गरेको थियो ।

खानाको लागि ढिला भैसकेको थियो र म रमा दिदीको होटलतर्फ लागेँ ।

रमा दिदीलाई मैले उत्सुकतापुर्वक सोधेँ, ‘दिदी ! त्यो बाटोको छेवैमा रहेको फूलको नाम के हो ?’

उनले पनि अन्जान रुपमा भनिन्, ‘खै भाइ ? सधै त्यहीँ नै देखिरहेकी छु । मलाई पनि नाम थाहा छैन तिमीलाई जस्तै ।’

दैनिकी एक ट्वाकबाट सुरु गर्ने एक व्यक्तिले मलाई हेर्दै भने, ‘भाइ, त्यो फुलको नाम सर्वदा हो । सायद यो नाम कमै मान्छेलाई मात्र थाहा होला ।’ यति भनेर त्यो मान्छे त्यहाँबाट निस्कियो र म पनि अफिसतर्फ ।

हिजोको दिन बैंकमा म थिइनँ । सरकारले बैंकिङ प्रविधिबाट सबै सरकारी शिक्षक तथा कर्मचारीको तलब भत्ता बैंक खातामै राखिदिने योजना बनाएपछि भने हामीलाई भ्याइ नभ्याइ थियो । यदि धेरै खाता खोल्न सकियो भने धेरै नै बैंकिङ कारोबार हाम्रो बैंकबाटै हुने र त्यसको प्रत्यक्ष प्रतिफल बैंकलाई नै हुने भएपछि केन्द्रीय कार्यलयले हामीलाई स्थानीय शिक्षक कर्मचारीको खाता हाम्रो बैंक खोल्नको लागि जे जति गर्न पर्छ गर्नु भन्ने आदेश दिएको थियो र हामीलाई त्यो आदेश पालना गर्नै पर्ने । एकतिर खाताको चटारो भने अर्कोतर्फ महिनाको लगानी लक्ष्य र दुबैको बिचमा हामी कर्मचारी । कहिले ग्राहक रिसले चुर हुँदै कराउछन् । सबै कुरा सुन्नु पर्यो ए। क रुपैयाँ तलमाथि भए पनि गाली खानुपर्ने ग्राहकको । झन् कोहि त यस्ता पनि हुन्छन् कि हामीले उनीहरूको रिन खाएका छौ र सबथोकको जिम्मेवार हामी नै हो । हेर्दा त बैंकको जागिर सजिलो जस्तो हुन्छ तर जोखिम पनि उत्तिकै । कहिले त सानो गल्तीले पनि जेलको हावा खानु पर्ने हुन्छ ।

दिनभरको थकानले मलाई केही गर्नु मन पनि थिएन । साँझको अँध्यारोमा टर्च बालेर त्यहि फूललाई हेरिरहेँ केही क्षण अनि कोठामा फर्किएँ । त्यो फूलले मलाई निकै नै लोभ्याइरहेको छ । खै किन थाहा छैन । बिहानसम्म फूलको नाम पनि थाहा थिएन तर अहिले थाहा भइसकेको छ । हुन त उसको नाम पनि मलाई थाहा थिएन सुरुमा त ।

बुबा र आमाको जागिरको सिलसिलामा हामी सबै परिवार तम्घास पुगेका थियौँ । सायद त्यो पहिलोपटक थियो, जहाँ हामीले सँगै समय बिताएको नत्र त कहिले बुबा कुन जिल्लामा त कहिले आमा कुन जिल्लामा । कहिले बुबाको साथमा त कहिले आमाको साथमा हामी दुई भाइ । म ९ कक्षामा पढ्थेँ र भाइ ५ कक्षामा । हामीलाई सबैको सल्लाहअनुसार त्यहि नजिकैको एउटा बोर्डिङ स्कुलमा भर्ना गरिदिनुभयो । स्कुलको पहिलो दिन सबै कुरा नौलो थियोे । साथीहरू वातावरण परिवेश र सरमिस सबै नौला मेरा लागि तर उनीहरुका लागि म मात्र नौलो । म सरासर कक्षामा गएँ र सबै बेन्चहरूमा तीन चारवटा झोलाहरू देखेँ र लास्ट बेन्चमा भने एउटामात्र झोला थियो । हेर्दा केटाको जस्तो थियोे । प्राय केटीहरूको झोला चिटिक्क परेको हुन्छ, केहि कुराहरूले सिँगारिएको हुन्छ तर त्यो झोला भने त्यस्तो थिएन र म पुर्ण विस्वासका साथ भन्न सक्थेँ । एकैछिनमा एक हुल कक्षाभित्र छिर्यो । त्यो हुलमा सबैले एकैथरिका पोसाक लगाएका थिए एकबाहेक । म सबैलाई नियालेर हेरिरहेको थिएँ । एकैछिनमा त्यो फरक पोसाक लगाएकी एक केटी मेरो नजिकै आएर बसी । सायद त्यो झोला उसैको हुनुपर्थ्यो र थियो पनि ।

म झसङ्ग भएँ । जीवनमा एउटै बेन्चमा कोही केटीसँग कहिल्यै बसेको थिइनँ । म केही बोल्न पनि सकिनँ न त उसलाई नै हेर्न सकेको थिएँ । केवल अगाडिको त्यो ह्वाइट बोर्डमा मात्र हेरिरहेको थिएँ । सायद त्यो हुनुमा एउटै मात्र कारण थियोे, मलाई नसिकाएका कुराहरू । सामाजिक शिक्षा त पढाइयो तर सामाजिक बन्न भने कहिल्यै सिकाइएन । लैंगिक समानताका धेरै निबन्धहरू घोकियो, रटियो तर लौंगिक समानता कसरी हुन्छ कहिल्यै सिकाइएन । सायद म त्यसैको परिणाम भोग्दै थिएँ, त्यो लास्ट बेन्चमा बसेर । एकैछिनमा सर आउनुभयो । सरको लागि हामी नयाँ थियौँ । अन्य साथीहरूका लागि र हामी एक अर्काका लागि पनि । सरले ‘परिचय देऊ’ भन्नुभयो तर ‘के बोल्ने ? कसरी बोल्ने ?’ भन्ने डरले म थिचिएको थिएँ तर मेरो नजिकैबाट आवाज आयोे, ‘मेरो नाम सर्वदा थापा । घर अलि टाढा छ यहाँबाट । मैले ८ सम्मको शिक्षा उहीँ गाउमै लिएकी र माध्यमिक तहको शिक्षा आर्जन गर्न यहाँ आएकी छु आशा छ, सबै साथीहरूले यस कार्यमा साथ सहयोग गर्नुहुनेछ ।’

अनि ऊ बसी । पालो मेरो पालो आएको थियोे भने मुटु बेतालले धड्किरहेको थियोे । बल्लतल्ल उठेँ तर डरले केही बोल्ने सकिनँ । कक्षामा सबैले मलाई नै हेरिरहेका थिए । मानौँ म एउटा चटके हुँ र सबैले मेरो चटक हेरिरहेका छन् । बल्लतल्ल बोली निस्कियो मेरो मुखबाट, ‘म विनय ।’

म बेन्चमा बसेँ । मेरो मुख डरले रातो भएको थियोे भने शरीर तातेर आएको थियो । चिटचिट गर्दै पसिना आएको भान भएको थियो । डरैडरमा पहिलो घन्टी बज्यो । केही शान्तिको महसुस गर्न थालेँ ।

‘विनय तिमी त धेरै आत्तिने रहेछौ । यसरी बोल्दा बिस्तारै नआत्ति बोल्नुपर्छ र पो तिमीले भनेको कुराहरू सबैले राम्रोसँग सुन्छन् नि ।’

उसले पहिलोपटक मसँग बोल्दा नै मलाई बोल्न सिकाउँदै थिई तर मैले कसरी बोल्नुपर्छ भन्ने कुरा पनि सिकेको रैनछु । आफैसँग पछुतो लागिरहेको थियोे र लाज पनि । किनकि स्कुलमा जुन विद्यार्थी राम्रोसँग पढ्ने गर्छ, जो फस्र्ट्, सेकेन्ड, थर्ड हुन्छ, त्यही नै सरको प्रिय हुन्थ्यो सबैकुरामा । उनीहरूलाई नै अगाडि सार्ने गर्थे । वादविवाद, हाजिरी जवाफ, अनेकौं कुराहरूमा सधैं तिनै विद्यार्थीलाई मात्र अगाडि सार्ने गर्थे । र, म भनेँ कहिल्यै त्यो लिस्टमा पर्न सकिनँ । केहि कुरा राम्रो गरे पनि नजरअन्दाज हुने गर्थे । सायद म मात्र थिइनँ त्यस्तो नजरअन्दाज हुनेहरूमा । हजारौं विद्यार्थीहरू यसरी नै नजरअन्दाजमा परिरहेका छन् र उनीहरू भित्रको कला क्षमता पनि ।

मसँग कुनै शब्द थिएन उसँग संवाद अगाडि बढाउने । त्यसैले चुपचाप बसिरहेको थिएँ । यत्तिकैमा उसले प्रश्न गर्न लागि, ‘तिमीले पहिले पनि बोर्डिङ स्कुलमा पढेको थियौ ?’

‘नर्सरीदेखि नै ।’

‘त्यसो भए तिमीलाई इङ्लिस मज्जाले आउँछ होला है ?’

‘आउँछ, आजसम्म सबै विषयहरू इङ्लिसमै पढेको छु र नेपाली पनि आउँछ राम्रोसँग । मलाई बाबाले पढाउनुभएको । म कथाहरु पढ्न पनि बढी रुचाउने गर्छु र यो बानी पनि बाबाले नै पारिदिनुभएको थियो मलाई ।’

‘हेर न, मलाई त इङ्लिस केही पनि आउँदैन । सरकारी स्कुल पढेकी । अहिले आएर इङ्लिस मिडियममा । खै कसरी कभर गर्न सकिएला ? डर पो लागेको छ ।’

मैले नि हत्तपत्त भनिदिएँ, ‘मलाई पनि म्याथ निकै नै गारो लाग्छ । म केही पनि बुझ्दिनँ ।’

‘त्यसो भए त तिमी मलाई इङ्लिस सिकाइदेऊ र म तिमीलाई म्याथ सिकाइदिन्छु ।’

Advertise

उसको प्रस्ताव मेरो लागि ढुंगा खोज्दा देउता भेटिए सरह नै भएको थियोे । हामीबीच मौखिक सम्झौता अनुरूप एकअर्काका कमजोरी एकअर्काका एक बलिया हतियार थिए । ऊ मलाई म्याथ सिकाउँथी । म एक अबोध बालक झै भएर उसलाई ध्यान दिएर सुन्ने गथेँ । केही कुराहरू बुझेजस्तो लाग्थ्यो। केही नबुझेजस्तो । हामी सँगै हिसाब गर्न थाल्यौं र मैले भने कहिल्यै पनि सहि उत्तर निकाल्न सकिनँ । उसले मेरा गल्तीहरु निकालिदिन्थी । मलाई मेरा गल्ती पत्ता लगाउन सिकाएकी थिर्इ । उसलाई इङ्लिसमा भएका सबै विषय सिकाउनुपर्ने थियोे । कसैलाई केही कुरा सिकाउन आफुमा त्यो कुराको राम्रो ज्ञान हुनुपर्छ र म ज्ञान बटुल्न पढ्न लागेको थिएँ । उसको अगाडि आफुलाई सक्षम देखाउनु थियो मलाई । र, मैले ऊसँग सम्झौता पनि गरेको थिएँ । उच्चारणदेखि शब्दको अर्थ र वाक्यको अर्थ उसलाई सबैकुरा बुझाउनुपर्ने । ऊ मेरी शिक्षिका जसले मलाई गणितीय हिसाब सिकाउँछे । नाफाघाटा हिसाब सिकाउँछे र म उसैलाई सुन्छु एक चित्त भएर र ऊ मलाई।

दिनहरू बित्दै गएका थिए । मेरो पढाइको स्तर पनि सुध्रिदै गएको थियोे । अन्तिम तीनबाट पहिलो तीनमा पर्न थालिसकेको थिएँ । कारण थिइ सर्वदा । सर्वदा धेरै नै मिहिनेती थिइ । सजिलै हार मान्ने खालकी थिइन । र, अरू भन्दा भिन्नै । उर्जाशील ।

दिनप्रतिदिन सर्वदाप्रतिको आक्रषण बढ्दै गएको थियोे । मलाई यस्तो लाग्थ्यो कि उसँग सधै यसैगरी नै बस्न पाऊँ । स्कुलपछिको समय अर्को दिनको प्रतिक्षामा हुन्थ्यो । सर्वदा भर्खर पन्ध्र वर्षकी थिइ र म पनि । ऊ स्त्रीमा हुनुपर्ने गुणहरूले भरिएका थिई । ऊ सुन्दरताले भरिएकी थिई । मिलेको जिउ । छातीको भाग केही उठेको थियोे भने मुहार सर्वगुणले भरिएको । पुक्क परेका गाला मिलेका । ती आखीभौँ र ती नयनहरू जसले मलाई हेरिरहन बाध्य बनाएको उसलाई । छुँदा पनि रगत आउँछकी जस्तो लाग्ने उसका ती गुलाफी ओठमा भरिएको त्यो लिपिस्टिकको सजावटले उसलाई एक धरतीकी अप्सराको ताज पहिराएको थियोे । उसको रुपको धेरैले प्रशंसा गर्थे ।

दिनप्रतिदिन उसको चाहले मलाई सताइरहेको थियोे । उसलाई मनभित्रबाट नै प्रेम गर्न थालेको पत्तै पाइनँ । कुन समयदेखि म उसलाई प्रेम गर्न लागेँ, थाहै पाइनँ । प्रेम कुनै समय, स्थान हेरेर हुदोरहेनछ । केवल मनभित्रको चाहनाले प्रेमको बीउ रोप्दोरहेछ । र, केही समयपछि त्यो बीउ प्रेमको विशाल वृक्षमा परिवर्तन हुँदोरहेछ र त्यहीँ नै भयो मभित्र पनि । उसलाई सम्झिदै भविष्यका सुनौला सपनाहरु देख्न थालेको थिएँ । एउटा सानो घरभित्र ऊ र म एक पतिपत्नीको सम्बन्धमा बाँधिएर सँगै बसेको, हिँडेको, डुलेको, रेस्टुरेन्टमा गएर एक अर्कालाई रमाइलो गर्दै खुवाएको इत्यादी गरेका सपनाहरू ।

एकतर्फी मायाले सबैलाई पागल बनाउँछ । बेहोस बनाउँछ । र, म पागल बनिरहेको थिएँ एकतर्फी प्रेममा । एकतर्फी प्रेमको खासै औचित्य हुँदोरहेनछ । प्रेम त दुबै पक्षबाट हुनुपर्छ । र, प्रेम गर्नुको मज्जा नै बेग्लै हुन्छ ।

उसकै सामु गएर मनका सबै कुराहरू खोलेर भन्न मसँग हिम्मत थिएन । त्यसैले कलमको साहारा रोजे । पत्रको बाटो ।

‘सर्वदा, मनमा धेरै कुराहरू खेलिरहेका छन् । तिम्रा अगाडि भन्न असम्भव छ । त्यसैले यो पत्रको बाटो रोजेको छु । आजकाल मनमा तिम्रा यादहरू मात्र आउँछन् । घरिघरि तिम्रै बारेमा सोच्दै मुस्काउँछु त कहिले आफै मख्ख पर्छु । तिम्रो चाहानाले घरिघरि सताउँछ मलाई र छट्पटी हुन्छ तिमी सामु नहुँदा । मेरा हरेक बिहानीहरू तिम्रा यादबाट सुरू हुन्छन् । आजकाल मनभित्र तिमी रहेको महसुस गर्न लागेको छु । तिम्रो त्यो मोहनी रुपको यादमा डुब्न लागेको छु र म डुब्न चाहन्छु तिमीसँगै एक प्रेमको समुन्द्रमा जहाँ तिमी र म एक विश्वासको डोरीको सहायताले प्रेमको गहिराइमा पुग्ने छौँ र त्यहि विश्वास र प्रेमको भरमा जीवनका अनेकौं खुशीहरू एक अर्कामा साट्नेछौँ । म मेरो सारा जीवन तिमीसँगै व्यतित गर्न चाहन्छु । तिम्रो हात समाएर यो जीवनको पवित्रतामा निस्किन चाहन्छु । के तिमी पनि मेरो हात समाएर मेरो साथ दिन्छौं त ? म तिमीलाई प्रेम गर्छु सर्वदा साचो मनले । के तिमी मलाई पनि प्रेम गर्छेउ त ? तिम्रो उही मिल्ने साथी विनय ।’

पत्र उसको हातमा थमाईदिएँ घर जाने समयमा । एसएलसी भनेर होला हामीलाई बिहानैदेखि नै स्कुल बोलाइन थालेको थियोे । बिहानको छ बजेदेखि हाम्रो ट्युसन क्लास अनि त्यो तम्घासको चिसो मुटु नै छुने खालको । बिहानै उठेर स्कुल जानुपर्ने । कुनै पनि विद्यार्थीलाई जीवनमा धेरै मिहिनेत कहिले गरेको थियौँ भनेर प्रश्न गर्ने हो भने सायद प्राय सबैको जवाफ एसएलसी नै हुनेगर्छ । बिहानीको झिसमिसेमा ऊ मलाई कुरेर बसिरहेकी । पत्रको जवाफ कस्तो आउने होला भन्ने कुराले मन डर र त्रासले भरिएको थियोे ।

‘सर्वदा जाऊँ अब ।’ मैले यतिबाहेक धेरै बोल्नै सकिनँ र पत्रको जवाफ पनि माग्न सकिनँ । एकातर्फ लाज थियोे भने अर्कोतर्फ डर र म बीचमा ।

एकैछिनको मौनता पछि उसले भनी, ‘विनय ! आज मलाई किनकिन डर लागिरहेको छ । थाहा छैन । मनमा यस्तो लागिरहेको छ तिमी मलाई बीच बाटोमै छाडेर हिँड्यौ भने म बिचरीको हालत के होला ? विनय म यहीँ कुराबाट पिरोलिएकी छु । हिजोसम्म तिमी मलाई माया गर्दैनौ कि भन्ने पिर थियो । आज बीचमै छाडेर जान्छौं कि भन्ने पिर । जताततै पिरैपिर ।’

सर्वदाको यो कुरा सुनेर मन नै हलुका भएको थियोे ।

‘सर्वदा ! तिमी पिर नगर । म तिमीलाई जीवनका हरेक सुख दुखमा साथ दिनेछु । विश्वास गर सर्वदा । म तिम्रो रहेक पाइलामा सारथी बनेर हिँड्नेछु ।’

मेरो जवाफ सुनेपछि उसले मेरो हात समाएर हिँड्न लागि । उसँग जीवनका हरेक पलमा सँगै जिउने प्रतिज्ञा गरेको थिएँ कुनै सिनेमाको हिरोले आफ्नी प्रियलाई गरेको प्रतिज्ञाजस्तै मैले पनि सर्वदासँग ।

सबै अजिब लाग्दै थियो मलाई । मन हर्षविभोर थियोे । उसको साथले मनका अनेकौं सपनाहरू जुरमुराउन थालेका थिए । हामी एक असल साथीबाट प्रेमजोडीको रुपमा प्रस्तुत भएका थियौँ । ऊ पनि हर्षले मग्न थिर्इ । कहिले मेरो सामु हात फिँजाएर नीलो आकाशमा हेर्दै दुइफन्को मार्थी र मेरो अंगालोमा आएर बेरिन्थी धेरै बेरसम्म । ऊ नयाँ फूल देख्ने बित्तिकै टपक्क टिपेर आफ्नो केशको चुल्ठोमा सजाउने गर्थी । म पनि एउटा फूल उसको चुल्ठोमा सजाइदिन्थेँ । फुलले सजिइँदा ऊ एक परम सुन्दरीजस्ती ।

तम्घासको चिसोमा हामीले प्रेमको पछ्यौरी ओड्न सुरु गरेका थियौँ । हाम्रो शरीर फरक थियोे । मुटु फरक थियोे । तर त्यो मुटुको धड्कन एकनासले धड्किन्थ्यो दुबैको । उसको धड्कनलाई म महसुस गथेँ भने मेरो उसले । उसले ओड्ने त्यो मखमलको पछ्यौरी एकअर्काले मिलेर कैयौं समय व्यतिित गरेका थियौं र त्यहीँ पछ्यौरीभित्र एकअर्का भित्रको तापलाई महसुस गर्थ्यौ । तनमनले हामी एक हुने गर्थ्यौ ।

समय यसरी नै बितेको थियोे । एसएलसी आउन ठिक दुई महिना पहिला कक्षामा सरले सर्वदाको किताब लिएर पढाउन थाल्नुभयो । त्यही किताबको बीचमा भेटियो एउटा पत्र । त्यो पत्र आफैंले मात्र पढ्नुभयो र आफ्नो खल्तीमा राख्नुभयो । केही छिनमा सर्वदा र मलाई अफिसमा बोलाइयो । हामीलाई राम्रोसँग पढ्न र स्कुलले हामीबाट धेरै अपेक्षा राखेको कुरा जानकारी गराउन होला भन्ने ठानेका थियौँ । तर हामीले सोचेअनुरुप थिएन । मैले सर्वदालाई लेखेको पत्र रहेछ, जुन सरले कक्षामा भेटेका थिए । मलाई प्रश्न गरियो, ‘यो पत्र कहिले लेखिएको हो’ भन्दै । मैले सानो स्वरमा ‘आज’ भनिदिएँ । सर्वदा केही अप्ठ्यारो महसुस गर्दै थिइ । र, मैले सरासर कुराहरू मिलाएर भनिदिएँ,’सर, मैले यो पत्र आज लेखेको हुँ र उसलाई थाहै नदिइ किताबको बीचमा राखिदिएको थिएँ ताकि उसले यो पत्र पढोस् भनेर । तर, सर्वदा अनविज्ञ छे यो कुराको बारेमा ।’

यो सुन्नासाथ सर्वदाले केही सहज महसुस गरी र उसलाई अफिसबाट जान अनुमति दिइयो । भाइस प्रिन्सिपल सरले गालामा एक झापड हान्दै ‘क्लासमा लभ लेटर लेख्छस्’ भन्दै गाली गर्न थाले ।

मैले केवल सुनिरहेँ ।

केही क्षणमा बुबालाई बोलाइयो र मेरा सबै कुराहरू बुबालाई सुनाइयो । ती कुरामा सत्य कम र बनावटी कुरा धेरै थिए जसले मलाई रिसको असिम सीमातर्फ धकेल्दै थियोे । अन्त्यमा मलाई एक चरित्रहीन स्त्रीलम्पट पुरुषको रुपमा व्याख्या गरिदै थियोे जुन कुरा मलाई सैह्य भएन र मेरो अगाडि रहेको कुर्सीलाई एक लात हानेर पल्लो कुनामा पुराएर निस्किएँ अफिसबाट ।

क्रोधले उग्र भैसकेको थिएँ म र सिधै क्लासमा छिरेँ र लास्ट बेन्चमा रहेको मेरो झोला उठाएर सर्वदालाई ‘जाने हो’ भन्दै सोधेँ । ऊ केही बोलिन । सरले मलाई नै हेरिरहेका थिए । ‘के भयो भाइ’ भन्दै थिए ।

चुपचाप निस्किएँ । एक हातले झोला कुमपछाडि राखेर निस्किएँ । पाले दाइ रोक्दै थिए मलाई तर रिसको झोकमा उनलाई धक्का दिएर स्कुलबाट निस्किएँ । हुन त म एक मुसो बनेर स्कुल छिरेको थिएँ । निस्किदा बाघजस्तो बनेर निस्किएँ । यो सब कुराहरू बुबाले नियालेर हेर्नुभएको थियोे । म आत्मसन्तुष्ट थिएँ यसरी निस्किदा र यो अन्तिम पटक थियोे ।

साँझ घरमा खाना कम गाली धेरै खाए ।

‘ठाउँमा टेकेर हिड्ने गर्, मर्लास् , कस्तो छोरो जन्मिएछ, वैशले मातिएको’ इत्यादी ।

म चुपचाप कोठाभित्र बसिरहेँ । भाइसँगै सुत्ने गर्थ्यो । उसलाई ढोका खोलिदिएँ अनि बन्द । रातिको करिब एक बजेतिर मलाई पेट दुख्न लाग्यो । खपिनसक्ने तरिकाले । भाइ मस्त निद्रामा थियोे । उसले थाहा पाएन । बल्लतल्ल ढोका खोलेर बुबाको कोठाको ढोका ढक्ढकाउन लागेँ । सायद उहाँहरू पनि मस्त निद्रामै हुनुहुन्थ्यो होला । तर बुबाले थाहा पाएर ढोका खोल्नुभो । म छट्पटाइरहेको थिएँ । बुबाले आँत्तिदै ‘बाबु के भो ? यसरी किन सुतेको ? उठ’ भन्दै मेरो पाखुरामा समाउनु भयो र आमालाई बोलाउनु भो । आमा पनि आएर ‘बाबु के भयो तिमीलाई ? किन यसो गरेको … ?’ केहि कुरा अरू पनि सोध्दै हुनुहुन्थ्यो ।

मैले यति मात्र भनेँ, ‘आमा मलाई पेट … छिटो हस्पिटल जाउँ ।’ त्यो दुखाइलाई सहन सकिरहेको थिइनँ, न त कुनै प्रश्नको जवाफ नै दिन ।

मलाई एपेन्डिक्स भएको रहेछ, चौबीस घन्टाभित्र अप्रेसन गर्नुपर्ने रे । डाक्टरको सल्लाहअनुसार जिल्ला अस्पतालमा मेरो अप्रेसन गरियो । केही दिनको अस्पताल बसाइपछि मलाई घरमा ल्याइयो । केही समय आरामको आवश्यकता थियोे र म घरमै बस्न थालेँ । पुन पढ्न सुरु गरेँ । बुबाले स्कुलमा कुरा मिलाउनु भएछ । मलाई स्कुल जान नपर्ने र केही दिनपछिको सेन्टअप परिक्षामा भने सहभागी हुनुपर्ने र नसके घरबाट नै दिदा फरक नपर्ने कुराले मलाई धेरै सहज बनाएको थियोे ।

केही समयपछि एसएलसी सुरु भयो । म हिँड्न सक्ने भएको थिएँ तर पनि बुबाले मलाई परिक्षा केन्द्रसम्म पुर्याउनु हुन्थ्यो । सर्वदालाई भेटेर बोल्ने ठूलो रहर थियोे । दुई महिना भैसकेको उसँग भेट नभएको । उसले दिएको नम्बरमा फोन लाग्दैनथ्यो न उसले फेसबुक नै चलाउँथी । परिक्षाको अन्तिम दिन परिक्षा सकिएपछि सबै साथीहरू एकै ठाउँमा थिए र सर्वदा पनि त्यही हुलमा । उसको नजिकै गएर ‘सर्वदा के छ ? सन्चै छौ तिमी ?’ भन्दै मैले सोधेँ र उसले मुस्कुराउदै जवाफ दिई, ‘म सञ्चै छु बरू तिमीलाई कस्तो छ ? बिरामी भएछौ थाहै भएन । मैले त पछि मात्र थाहा पाको ।’

‘म अहिले ठिक छु । निकै नै सुधार भएको छ ।’

यत्तिकैमा सर्वदाले ‘ल, म जान्छु ल, पछि भेटौंला’ भन्दै निस्किइ । म अचम्भित थिएँ उसको छोटो कुराकानीबाट ।

मैले साथीलाई सर्वदाको मप्रतिको व्यवहार परिवर्तन हुनुको कारण सोधेँ र उसले जवाफमा ‘सर्वदा भाइस प्रिन्सिपलको कोही नजिकको नातेदार भएको र उसलाई ल्याउने छोड्ने काम उसैले गर्ने’ कुराको जानकारी गरायो ।

बल्ल मलाई थाहा भयो किन ममाथि धेरै आरोपहरु लगाइएका थिए भनेर । सायद सर्वदालाइ पनि दबाब दिएको होला मसँग टाढिनको लागि । बिचरी सर्वदा । सम्झौता गरेकी होली मसँग नभेट्ने । पुरुषले भन्दा धेरै नारीले सम्झौता गर्नुपर्दोरहेछ यहाँ । नारी भएर बाँच्नको लागि समाज, घरपरिवार, नातागोता सबैको डर । साला डरैडर । यो समाजले नारीका कुराहरू बुझ्दैन र आफ्ना सबै सपनाहरूलाई दागबत्ती दिएर कसैको आश्रित भएर बस्नुपर्ने रे । यहाँ कुनै न कुनै नारीको कदर हुन्छ न विचारको न त कुनै सम्बन्धको । घरपरिवारले जोसँग जाउ भन्छन्, त्यसैसँग जानुपर्ने, लोग्नेमान्छेहरू भने छानिछानी मन परेकी केटीलाई बिहे गर्छन् । तर नारीलाई भने त्यो अधिकारबाट यो समाजले बन्चित गरेको छ । के नारीको पनि आफूले मनले रोजेकोसँग बिहे गरी घरजाम गर्ने रहर हुन्न होला र । वास्तवमा भन्नुपर्दा धर्मको कुरा गर्ने यो समाज पापी छ, जहाँ सृष्टिकर्ता नारिका भावनाहरू विचारहरू र उनका सुनौला सपनाहरूको सम्मान गरिँदैन, त्यस समाजमा धर्मको के नै अपेक्षा राख्न सकिन्छ र ।

खानाको लागि बिहानै म रमा दिदीको होटलतर्फ निस्किएँ । बाटोमा एक युवती जो करिब २५-२६ वर्षकी हुनुपर्छ, हेर्दा अत्यन्तै सुन्दरी । कपाल चुल्ठो पारेकी रातो सारीमा सजिएकी । नियालेर हेरेँ, एक युवतीमा हुनुपर्ने सबै गुणले पुर्ण थिइन उनी । उनले फूल टिपेर केशमा सजाएर सेल्फी लिँदै थिइन् । म बाटोमै भए पनि आँखा उनीतर्फ नै थियोे । यत्तिकैमा मेरो पछाडिबाट आवाज आयो, ‘हेलो सर ! यो फूलको नाम के होला ? मलाई अत्यन्तै राम्रो लाग्यो । सर हजुरलाई थाहा होला त ?’

म पछाडि फर्किएर जवाफ दिएँ, ‘सर्वदा ।’

उनले मतर्फ हेर्दै ‘हजुर’ भनिन् ।

‘सर्वदा यो फूलको नाम हो’, मैले प्रष्ट पारिदिएँ उनलाई ।

‘सरी फूलसँगै मेरो नाम पनि सर्वदा’, उनको जवाफ थियो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button