देश बोल्ने एउटा कविताः खाडीको घाम
स्नेह सायमि
मेरो प्रियतम !
तिमीलाइ मुटुका टुक्रा झैं ठान्ने
बा आमा यतै
तिमीलाइ प्राण ठान्ने
तिम्रो प्रेयसी म यतै
तोते बोलीमा
बा भन्न सिक्दै गरेकी
हाम्रो प्रेमको चिनो यतै
तिमीलाइ अंगालोमा कस्न
आतुर पाखुराहरु यतै
तिमीले चुम्न हतार गर्ने ओठ यतै
तिमीले आराम गर्ने
फराकिलो ओछ्यान यतै
बाली लाग्ने तरेली परेको
खेत यतै
तिमीलाइ मनपर्ने
जर्सीगाइको दुध र मोही यतै
६० डीग्रीको घामको रापमा
जीवनलाइ बार्बेक्यु गर्दै
तिमी एक्लै उतै
स्काइपमा हेरेर नछट्पटिउँ
अब
हाम्रो मायाको लागि
त्यो खाडीको घाममा
भो नसुकाउ आफ्नो ज्यान
आउ र बरु रिसाउ मसँग
नबोल दुई दिन
जाउ हराउ तिम्रा दौंतरीहरुसंग
भो
केही नल्याउ त्यताबाट
सुन, टीभी र फोनको लोभ छैन मलाई
बाँझो छ खेतबारी
बाँझो छ यो छाती
तिमी आउ
तिमी मात्र उभिउm घरको आँगनमा
ट्याक्टर लाउँला खेतमा
फलाउँला स्वाभिमान
स्याहारौंला गाई
दुहौंला माया
आउ
मेरो प्रियतम
यतै आउ
अहिल्यै आउ
उमेर छँदै गरौला यतै
केही नभए
रुवौंला सँगै
खाडीको घाममा पोलिने तिमी
त्यो घामले डढ्ने म
खाडीको घाममा पोलिने तिमी
त्यो घाममा सुक्ने हाम्रो नानी
खाडीको घाममा पोलिने तिमी
त्यो घाममा छटपटिने बा आमाको मन
किन पठाइएछ तिमीलाई खाडी
केही नगदको आशामा
कति ठुलो भरोसा गुमाइएछ
आउ
सँगै अंगालोमा बसौँला
हाँसौला
रोउँला
त्यो खाडीको घाममा
भो नसुकाउ आफ्नो ज्यान