आज धरहरा बोल्यो

डोरबहादुर केसी

भौँतारिदै हिड्ने एक ब्याकुल साथी
आज धरहरा फेदमा पुग्यो
उसको जवानी चढ्दै गर्दा
खुसी साट्न खोज्यो,
मनका कुरा उसले खोल्यो
आज धरहरा बोल्यो ।

लड्दै उठ्दै गर्ने मेरो नियति
फेरि उठ्दैछु भन्यो
तिम्रै हातेमालोले
फेरि शहर देख्दैछु भन्यो
साधुवाद छ उसले भन्यो
आज धरहरा बोल्यो ।

अस्थिरताको भुमरीमा तिमी रन्थनिदै गर्दा
मेरो शिर भूईँमा लड्न पुग्यो
अर्धमुर्छित काया हेर्दै
तिमी खण्डहरमा धेरै रोयौं
उसले आज कुरा खोल्यो
आज धरहरा बोल्यो ।

थापा काजीदेखि हालका काजीसम्म
हिजोदेखि आजसम्म
सबै दृश्य उसले टुलुटुलु हेर्यो
इतिहासका सबै पोका
उसले आज साथीसँग खोल्यो
आज धरहरा बोल्यो ।

स्वप्निल निद्रामा
शुख, शान्ति र समृद्धिका मीठा कुरा
उसकै सामु धेरै सुन्यो
मेरो हसिलो मुहार देख्ने मनमा ईच्छा बुन्यो
मित्रवत व्यवहार
उसले आज खोज्यो
आज धरहरा बोल्यो ।

उस्तै पीडा अस्थिर आवाज
मेरो कुरा उसले छिट्टै बुझ्यो
सुन्ने कान
देख्ने आँखा नदेउ न साथी अब भन्यो
उ धुरुधुरु फेरि रोयो
नेत्र दह खोल्यो
आज धरहरा बोल्यो ।


(प्रिय साथी !
तपाईं पनि डोरबहादुरजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको इमेल 
nepalnamcha@gmail.com मा ।)


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button