
स्वस्तिका ! मैले तिमीलाई कहाँ खोजिनँ ?
प्रेमकथाः अस्ताउँदो सूर्य
गोविन्द अर्याल (कभर मोडलः लीला अनमोल)
“अस्ताउँदो सूर्यप्रति मेरो गुनासो छ”, ऊ विस्तारै वोल्छ ।
झुस्स दाह्री, आँखामा एकतमासको एकोहोरोपन अनि मुहारमा आक्रोश । अव्यवस्थित पहिरनमा लपेटिएको पुरुष आकृति । उमेरले बयस्क तर अत्यन्तै कमजोर शरिर, झट्ट हेर्दा देखिने उसको परिचय यति नै हो । भौगोलिक दृष्टिले अत्यन्तै रमणीय काठमाडौंको चोभार । मञ्जुश्री पार्कको पूर्वी भाग, जहाँबाट बाग्मतीको संगीतमय कलकल सुन्न सकिन्छ र हरियाली दृश्य देख्न सकिन्छ । पार्कमा मान्छेहरुको उपस्थिति निक्कै पातलो छ, बिहान र दिउँसोको तुलनामा । साँझ सूर्य डाडामाथि चढ्दै गरेको समय ।
ऊ सधै ठिक यसै समयमा त्यहाँ आउँछ रे । उसको आगमनसंगै उसले बोल्ने पहिलो वाक्य “अस्ताउँदो सूर्यप्रति मेरो गुनासो छ ।” त्यहाँ आउने सबैको भनाइ यस्तै छ ।
ऊ को हो ? सधै त्यहाँ किन आउँछ ? उसलाई अस्ताउँदो सूर्यप्रति किन गुनासो छ ? कसैलाई थाहा छैन । अझ भनौ यस व्यस्त शहरमा उसका बारेमा बुझ्ने र जान्ने चासो नै कस्लाई छ र ? उसका बारेमा मात्र किन कसैका बारेमा पनि कसलाई चासो छ र यस शहरमा ? सयौ जनाको ओहोर दोहोर हुने त्यस उद्यानभित्र कहिलेदेखि ऊ आइरहेको छ कसैले भन्न सक्दैन । तर पनि दुई चार जना जस्ले उस्लाई नियमित देख्ने गर्दछन्, उनीहरुको भनाइ अनुसार ऊ विगत छ महिनादेखि यसरी नै आइरहेको छ ।
ऊ सधै यसरी नै यहाँ आउँछ ,अनि अस्ताउँदो सूर्यलाई हेर्छ र त्यही वाक्य वोल्छ, अनि केही वेर घोरिन्छ, घोत्लिन्छ । रिस अनि आक्रोशले दाह्रा किट्छ । उसको यस्तो दिनचर्या हेर्ने त्यस उद्यानमा खासै कोही छैनन् तर पनि दुई चार जना बृद्धहरुले उसको यो क्रिया प्रायः नियाल्छन् । ती प्रौढहरुले एक दुई पटक ऊसंग बोल्ने प्रयास पनि गरेका थिए रे तर ऊ कसैसँग पनि बोल्न चाहेन । झट्ट हेर्दा ऊ उच्च मध्यम वर्गीय परिवारको जस्तै देखिन्छ । उमेर अन्दाजी तीस÷एकतीस बर्षको हुनु पर्छ । साँझ करिव पाँच बजेदेखि झण्डै दुई घण्टा उसले पार्कको पूर्वी भागमा रहेको ढुङ्गामा बसेर बिताउँछ रे ।
तल वाग्मतीको एकोहोरो सुसेली, पारिपट्टी सल्लाको सुसाई अनि चारैतिर देखिने हरिया पाखा पखेरा । यी प्राकृतिक रमणियताले उसलाई छुनै सकेको छैन । ऊ एकोहोरो टोलाइरहन्छ र उही शब्द वारम्बार दोहो¥याइ रहन्छ । उसले दिनहुं अस्ताउँदो सूर्यलाई कति पटक धिक्कारिरहेको हुन्छ, सरापिरहेको हुन्छ, गन्ती छैन । साँझको गोधूलीप्रति उसको कुनै लगाव छैन । सूर्यको रक्तिम किरणबाट ऊ रमाउन सक्दैन । अस्ताउँदो डाँडामाथिको रातो घाम सबैका लागि रमाइलो लागे पनि उसका लागि पीडाको सूचक बन्छ । मञ्जुश्री पार्कमा आउने धेरैले उसलाई यसै रुपमा देखेका छन् । उस्लाइ चिन्ने जान्ने यस उद्यानमा अहिलेसम्म कोही आएको छैन । ऊ को हो ? यहाँ किन आँउछ ? उसको नाम के हो ? आदि धेरै प्रश्न अझै पनि जवाफविहीन छन् ।

केही युवा जमातले ऊ प्रेममा असफल भएको प्रेमी हो, यसैले यसलाई रोमियो भन्नु पर्छ भनी नाम राखेका छन् भने कसैले मजनुको संज्ञा दिएका छन् । विगत छ महिनादेखि एउटै दिनचर्या छ उसको । ऊ प्रायः साँझ पाँच बजेपछि पार्क प्रवेश गर्छ र सात बजेतिर पश्चिमी गेटबाट बाहिरिन्छ । पार्कबाट बाहिरिने क्रममा एक पटक अस्ताउँदो सूर्यलाई ताकेर हेर्छ, क्रोधले आँखा राता राता बनाउँछ अनि नबुझिने गरी केही शव्दहरु बोल्छ र सरासर गेटबाट बाहिर निस्कन्छ । उसको कसैसंग पनि दोहोरो संवाद हुंदैन ।
उसका यस्ता दिनहरु कति आए कति गए । हरेक दिनले उसको विक्षिप्त मनभित्र कति आहत थप्यो, कसैले अनुमान गर्न सक्दैनन् । तर पनि उसका दिनहरु यसै गरी बितिरहेका छन् निरन्तर । उसको यो क्रमिकताले कहिलेसम्म निरन्तरता पाउने हो ? कसैलाई थाहा छैन ।
सधैजसो आज पनि त्यो मजनु उही उपक्रममा छ । सूर्यको तेज कम हुदै गएपछि ऊ उद्यानभित्र छिरिसकेको छ र उहि स्थान रोजिसकेको छ । उसका आँखामा आक्रोश छ, कसैप्रति अगाध समर्पणको भाव छ र मनभित्र एउटा कठोर प्रतिबद्धताको झलक प्रष्ट छ । लाग्दछ, ऊभित्रको मानवीय संवेदना यतिविघ्न उत्ताउलो बनेको छ कि ऊ अब कसैमा समर्पित हुने दृढताभन्दा अरु केही सोच्नै नसक्ने भएको छ ।
मान्छेलाई कसले निर्देशित गर्छ ? मान्छेले आफ्ना क्रियाकलाप कसरी सञ्चालन गर्छ ? ओहो ! मान्छे आफैमा केही पनि होइन रहेछ । मान्छेमा रहेको अन्तरनिहित संवेगले जसरी डो¥यायो, मान्छे त्यतै तानिदै जाँदो रहेछ । मान्छेको भौतिक शरिर आफैमा केही पनि होइन रहेछ । यसलाई सञ्चालन गर्ने मन मष्तिस्क नै सर्वोपरी हुँदो रहेछ ।
आज उसको हाउभाउमा केही वदलाव देखिएको छ । ऊ आज झोक्रिएको अवस्थामा छैन । उसका आँखाहरु एकोहोरिएका छैनन् बरु चञ्चल बनेका छन् । सधैजसो मलीन र गम्भिर हुने मुहारमा चञ्चलता र मादकता थपिएको छ । उसको पहिरन सधै जस्तो ल्याङ्गफ्याङ्ग पनि छैन बरु सुट टाईमा चिटिक्क परेको छ । उसले आज अस्ताउँदो सूर्यलाई गाली पनि गरेको छैन र सधै बस्ने त्यो ढुङ्गामा बसेको पनि छैन । “मेरा सवै यादहरु मेटिदै छन्”, आजको उसको पहिलो वाक्य यस्तो छ । सधै बस्ने ढुङ्गामा उसले केही खोजे झै लाग्छ । घरि यता हेर्छ घरि उता हेर्छ अनि विस्तारै बोल्छ, “मेरा सम्झनाहरु कसले मेटाइ दियो ?” उसको प्रश्न छ, “आज मेरो र स्वस्तिकाको विहे हुने दिन खोइ त जन्ती ?” उस्को अस्पष्ट स्वर बाहिर आउँछ । ऊ आज सुट टाइमा सजिएको सायद त्यसैले होला । त्यस ढुङ्गासंग उसको के सम्बन्ध छ र ढुंङ्गामा उसले के खोजिरहेको छ ? निक्कै सुक्ष्म रुपमा उसले केही खोजिरहेको छ । ढुङ्गामाथि सहलाउंदै गरेको हात र अत्यन्तै कोमलताका साथ गरेको स्पर्शले त्यो ढुङ्गासंग त्यसको कुनै गहिरो सम्बन्ध हुनु पर्छ भन्ने कुरालाई पुष्टि गरिरहेको छ ।
“स्वस्तिका, हेर आज म कति सजिएर आएको छु”, आफ्नो पहिरन हेर्दै त्यही ढुंगासम्मुख ऊ बोल्छ, “आज तिम्रो र मेरो विहे होइन ?” एक क्षणको सुनसानपछि “किन नबोलेकी ? ऊ झर्किन्छ । यताउति आँखा घुमाउँछ । खोजेको चिज भेट्दैन । धेरै बेर खोज्छ, धेरै प्रयत्न गर्छ तर पनि भेट्दैन । उसको खोजाइ के हो ? किन यतिविघ्न लागिपरेको छ ? कसैलाई थाहा छैन । एक्कासी उसका आँखामा आक्रोश भरिएर आउँछ । फेरि पल भरमै निरिह बनेर आँशु झार्न थाल्छ । ऊ टोलाउँछ । एक तमासले पारिपट्टीको पाखालाई घुरिरहन्छ । उसको अनुहारको शुष्कपनले आज ऊ रातभर सुतेको छैन भन्ने प्रष्टाउँछ ।
आँखा लोलाएका र राता छन् । सायद ऊ धेरै रोएको छ । यस्ता कति दिन उसले आफ्नो जिन्दगीको क्यालेण्डरबाट पाना फर्कायो होला ? कस्ले भन्न सक्छ ? हरेक पल पलको पीडा र भावशून्य अन्तरहृदयको व्यथामा कति तड्पियो होला ? कसैलाई थाहा छैन । हाम्रा आँखाले त केवल यौटा विक्षिप्त मानव आकृतिबाहेक अरु देख्न नै सकेको छैन । त्यो मानव आकृति भित्रको उथुलपुथुल र विचलित हुंदै गरेको मनको भेलमा वगेका सुन्दर सपनाहरुको लर्को अँ हँ कसैले देख्नै सक्दैन ।
मान्छे बाहिरबाट देखिने आकृतिजस्तो मात्र हुँदैन । मान्छे पूरै ब्रह्माण्ड हो अझै भनौँ त्यो भन्दा ठूलो केही छ भने त्यो हो, किनभने मान्छेको मनले धेरै ठूला ठूला कल्पना गर्छ र ब्रह्माण्डको त्यो व्योममा गोता लगाउन सक्छ, जहाँ भौतिक रुपमा कोही जान सक्दैन । आज त्यही एउटा सिगों ब्रह्माण्ड विचार शून्य बन्दै गरेको छ ।

“सफल !”, नारी स्वर उसको कानमा पर्छ । उसको दृढता विथोलिन्छ । एउटा चिरपरिचित आवाज उसको कानमा पर्छ । ऊ झस्किन्छ, धेरै दिनपछि ऊ यसरी झस्केको छ । उसले यताउता हेर्छ । फेरि उही चिरपरिचित आवाज उसको कानमा ठोक्किन पुग्छ । कसको आवाज होला ? ठम्याउन सक्दैन । आँखा चिम्म गर्छ । टाउको समात्छ । घुँडा टेक्दै भुइमा टाउको पु¥याउँछ । सायद उसलाई स्मरण हुन्छ ।
“बन्दना !”, आश्चर्य मान्दै ऊ बोल्छ । ऊ आज धेरै समयको अन्तरालपछि यसरी बोलेको छ कसैलाई चिनेर । उसले एक तमासले बन्दनालाई हेरिरहन्छ । उसको हेराइमा वियोगको उत्पीडन झल्किन्छ । निरिहपनको भाव प्रष्टिन्छ र पुराना दिनको झझल्को आएको भान हुन्छ । उसले बन्दनाको आँखामा हेरिरहन्छ ।
“सफल के भयो तिमीलाई ?”, नारी स्वर फेरि उसको कानमा पर्छ ।
“तिमी को ?”, अनौठो हेराइसँगै उसले प्रश्न गर्छ ।
“म बन्दना क्या तिम्रो कलेजको साथी, मलाइ चिनेनौ ?”
“बन्दना, को बन्दना ?”
“स्वस्तिका, म अनि तिमी सम्झ त कलेजका ती दिनहरु”, बन्दनाले पुरानो स्मृती ताजा गराउन खोज्छे ।
“ए तिमी आयौ ? कहाँँ गएकी थियौ ? स्वस्तिका पनि संगै छिन् ? खोइ त स्वस्तिका ?”, उसले एकै चोटी धेरै प्रश्न गर्छ ।
“स्वस्तिका ? के भनेको सफल ?”, बन्दना आश्चर्य पर्दै बोल्छे । ऊ झण्डै एक बर्षपछि अमेरिकाबाट नेपाल आएकी छे । उसलाई त सफल र स्वस्तिकाको गहिरो प्रेमका बारेमा मात्र थाहा थियो । यो बीचमा के के परिघटनाहरु भए, केही थाहा थिएन
।
“बन्दना ! मेरी स्वस्तिका ऊ त्यो ढुंगामा बसेकी छिन् हेर त ।”
“खै त ? त्यहाँ त कोही पनि छैन ।”
“हँ अहिले कता हराइन् त ?”, ऊ बोल्छ । सायद अघि उसले ढुंगाको वरिपरि स्वस्तिकालाई नै खोजिरहेको थियो ।
“सफल के भयो ? मलाई सबै कुरा भनँ ।”
“पहिले मेरो स्वस्तिकालाई ल्याउ अनि मात्र भन्छु”, सफलले जिद्धी गर्छ ।
बन्दनाले सहजै अनुमान लगाइ कि स्वस्तिकाको वियोगमा सफल विक्षिप्त बनिसकेको छ । बन्दनाले धेरै कर गरी । सम्झाई तर सफलमा कुनै परिवर्तन आएन । उसले बन्दनालाई स्वस्तिकाका बारेमा एकोहोरो प्रश्न गरिरह्यो र स्वस्तिकासँग भेट गराउन अनुनय गरिह्यो । घटनाक्रमका बारेमा बन्दनालाई कुनै जानकारी नै भएन ।
समय कति निर्दयी हुँदोरहेछ ? कसैको जीवनमा क्षणिक खुशी दिएर जिन्दगीभरिको खुशी खोस्ने दुस्साहस गर्दोरहेछ । समयले सफललाई दुईचार दिनको खुशी दिएर उसबाट सधै भरिको खुशी खोसेको रहेछ । बन्दना गहिरो चिन्तामा छे । सफलको ओइलाउँदै गरेको जीवनबृक्षलाई कसरी मलजल गरी फेरि हरियाली बनाउने उसको मनले विकल्प खोजिरहेको छ । सफल स्वस्तिका र उसले बिताएका कलेजका ती रमाइला क्षण अब इतिहासको धुमिल पर्दाले छोपिसकेको छ । पुराना सम्झनाहरु मनको कुनामा कतै लुकामारी गरे झैँ लाग्छ । बन्दनाका लागि ती गल्ली चोक र सडकहरु विरानो झै लागिरहेका छन् । सफलको घर जाने यो सडक उसका लागि कहिल्यै पनि यसरी अपरिचित जस्तो लागेको थिएन तर आज उसको मनले सवै स्मृतीमा किन पर्दा हालिरहेको छ ? सफलको घरको त्यो कौसी र चोटाले उसलाई जिउदै निलुँला झैँ गरिरहेको छ ।
“बन्दना !”, सफलकी आमाको आवाज । एक बर्षअघिको आवाजमा जस्तो मिठास छैन ।
“आन्टी नमस्ते ।”
“नमस्ते नानी ।”
“के भयो आण्टि सफललाई ?”
“के भन्नु बन्दना नानी ? विधाताले सबै भताभुङ्ग पा¥यो”, आमाको मनमा पीडा छ ।
“भन्नु न आन्टी म सबै कुरा जान्न चाहन्छु”, बन्दनाको आग्रह ।
“स्वस्तिकाले सफललाई छोडेर गइ”, आँखा पुछ्दै आमा बोलिन् ।
“के भयो खुलस्त भन्नु न”, बन्दनाको पुनः आग्रह ।
“सफलको जिन्दगी उजाड बन्यो बन्दना नानी”, आमाका आँखा रसाएका छन्, बोलीमा पीडा छ ।
घटना सात आठ महिनाअघिको हो । सफल र स्वस्तिका कलेजको अध्ययन पूरा भएको खुशीयालीमा सहपाठीहरुको झुण्डसहित मञ्जुश्री पार्कमा रमाइरहेका थिए । मौसमको मादकता आफैमा रोमाञ्चक थियो । झण्डै साठी जनाको जमातका बीचमा सफल र स्वस्तिका केन्द्रविन्दु थिए । साथीहरुका बीचमा हाँसो, ठट्टा र रमाइलो चलिरहेको थियो । पार्कको पूर्वी भाग जहाँ ठूला ढुंगाहरु लम्पसार सुतिरहेका छन् । मदहोस् निदाइरहेका छन् अनि चिहाएर त्यहाँ आउने सबैको हाँसोमा लुकिलुकी साथ दिइरहेका छन् । मान्छेको जीवनका प्रत्येक पाटाहरु सधै खुशीले मात्र छोपिएको कहाँँ हुदो रहेछ र ? केही क्षण पहिलेसम्मको खुशीमा ग्रहण लाग्न कत्ति पनि समय लाग्दो रहेनछ । सायद विनाशको हुरी चल्यो त्यहाँ । स्तब्धताको हुरी अनि सफलको जीन्दगीका सबै खुशी बढार्ने हुरी । हुरी बतास र धुलोले धुमील बनेको वातावरण । अघिसम्म रमाइरहेका सवै भागाभागको स्थिती । कतिका खुट्टा मर्के, कतिलाई ठेष लाग्यो, कतिका टाउको रुखमा ठोक्किए । नारी चित्कारसँगै गड्याम्मको आवाज पनि सुनियो । भर्खरसम्मको खुशी निराशामा बदलियो । अपरान्हको सूर्यको लालीमा ग्रहणले पुरै निल्यो । सफलको उत्साहपूर्ण जिन्दगीबाट त्यो रक्तिम रविले सबै खुशी खोसेर लग्योे । स्वस्तिकाको लाउँलाउँ र खाउँखाउँको रहरलाग्दो जीवनलाई वाग्मतीले कपलप्प निल्यो नानी । ती चट्टानले चिप्लीदै गरेकी स्वस्तिकालाई बचाउन सकेनन् न त्यो हरियालीले स्वस्तिकाको कोमलताको महसुश नै ग¥यो । ती सवै प्राकृतिक चिजहरु मुकदर्शक बने । कसैले पनि उसलाई बचाउन सकेनन् । अचानकको घटनापछि सफल विक्षिप्त बन्यो । अस्ताउँदो सूर्यपछि भोलिको उज्योलो विहानी लिएर आउँछ भन्छन् तर सफलको जीन्दगीमा भने अन्धकार लिएर आयो । अहो कति पीडादायी बनेको त्यो क्षण ? कति निर्दयी बनेको परिवेश, कल्पनासम्म गर्दा पनि जीउ सिरिङ्ग हुने । सफलले आज पनि त्यही ढुंगामा स्वस्तिका खोजिरहन्छ, जहाँ उसले हाँस्दै गरेकी स्वस्तिकालाई अन्तिम पटक देखेको थियो ।
आमाको आँखामा सागर उर्लिरहेको छ । सफलको विगत सुनेपछि बन्दनाका आँखा पनि रसाएका छन् । अस्ताउँदो सूर्यप्रतिको उसको गुनासो कति मर्मस्पर्शी रहेछ ? बन्दनाले मनमनै एउटा प्रण गरी, “सफलको जिन्दगी अब मैले सम्हाल्नु पर्छ ।” सायद आमाको कारुणिक हेराइमा पनि यहि आग्रह थियो । टिलपिल टिलपिल रसाउंदै गरेका सजल आखामा आमाको आग्रह थियो, “बन्दना तिमी स्वस्तिका बनेर सफलको जिन्दगी बचाउनु पर्छ ।” सायद बन्दनाले आमाको आँखाको भाव पढेको हुनु पर्छ ।
उही समय, उही पार्क अनि स्थान पनि उही । स्वस्तिकाकै हाउभाउमा बन्दना उही कालो ढुंङ्गामा बसेकी छे । आज बन्दनाको पहिरन पनि ठ्याक्कै स्वस्तिकाको जस्तै देखिन्छ । टाढाबाट हेर्दा स्वस्तिकालाई चिन्नेहरु पनि झुक्किन्छन् । सफल आउनु अगाडि नै बन्दना आइसकेकी छे । नियत समयमा सफलको प्रवेश हुन्छ उद्यानमा । स्वस्तिाका बस्ने ढुंगामा बसेकी बन्दनालाई सफलले टाढैबाट देख्छ । उसका आँखामा एक किसिमको चमक देखापर्छ । अस्ताउँदो सूर्यलाई गाली पनि गरेन । उसको यो क्रियालाई बन्दनाले नियालिरहेकी छे टाढैबाट. । उसमा आएको परिवर्तनप्रति बन्दना निक्कै आशावादी बनेकी छे । सायद बन्दनाले स्वस्तिका बनेर सफलको जीवन सम्हाल्ने प्रण गरिसकेकी छे । आजको अस्ताउँदो सूर्यले सफलको अनियन्त्रित बन्दै गरेको जीवन डुंगालाई किनारा लगाउने आशा जगाएको छ ।
“स्वस्तिका”, सफलको बोलीमा उत्साह छ ।
“हो, सफल अब यो बन्दनाभित्र तिमीले सधै स्वस्तिका भेट्नेछौ”, बन्दनाको मौन भाव प्रकट हुन्छ ।
“स्वस्तिका मैले तिमीलाई कहाँ कहाँ खोजिनँ ? तिमी यहाँ पो रहिछौं ।”
सफलको विह्वल मनलाई आफ्नो छातीको स्पर्श दिदै बन्दनाको मसिनो स्वर फुस्किन्छ, “सफल अब तिमीले स्वस्तिकालाई कहि खोज्नु पर्दैन सधै तिम्रै साथ हुनेछ ।”
सफलले बन्दनालाई बेसरी आलिगंन गर्छ । आज अस्ताउँदो सूर्यप्रति सफलको कुनै गुनासो छैन । उसले स्वस्तिका भेटेको छ, फरक स्वरुपमा ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)