म छोरी मान्छे
अंशु कार्की
अँ ! म छोरी मान्छे हुँ
मैले कहिले समाजको
मर्यादा नाग्नु हुन्न रे !
माइती घरमा हुँदा
छोराछोरी बीचको विभेद
बिहे भइजाँदा
घरमा दिएका पिडा, हिंसा, यातना
म कहिले आफ्नो हकहितबारे बोल्न हुन्न रे !
म धेरै बोले बाइफाले
नबोले म घुसघुसे
चर्को स्वरमा बोले सोमत नभएकी
मसिनो स्वरमा बोले लुसी
म आफ्नै मर्जीले बोल्नै हुन्न रे !
फरिया-चोली लाए म गाउँले-पाखे
पहिरनमा आधुनिकता लेराए
म उत्ताली नक्कली-छाडा
मैले आफ्नो रोजाइका कपडा लाउनै हुन्न रे !
बिहेमा घरभरी दाइजो लेराउनु पर्ने
छोरा नजन्मिए
श्रीमानले अर्को ल्याउन हुने
माइती कम्जोर भए
सबै परिवारको हेला हुने
मेरो आफ्नै जिन्दगी हुन्न रे !
म परिवारमा मिल्न सकिन भने
सँस्कार नभएकी
घरधन्दा बिस्तारै गरे भने
जागर नभएकी
म हरेक क्षण मेसिन जस्तै चल्नु पर्छ रे !
मलाई थकाइ लाग्नै हुन्न रे !
दाइजोको निहुँमा जल्नु पर्ने
संसार देख्नुभन्दा अघि
गर्भ मै तुहिनु पर्ने
घर होस् या कार्यलय या भिडभाड
सवारी साधनमा यात्रा गर्दा होस्
मेरै अस्मितामाथि नजर हुन्छ सबको
मैले प्रतिकार कसैप्रति गर्नै हुन्न रे !
यहाँ दिनहुुँ मेरो अस्मिता लुटिएको छ
मेरा शरीरमाथि
गिद्धे नजर लाउनेहरु
मेरै नजिकका
कोहि बुवा
कोहि काका
कोहि शिक्षक
कोही हाकिम
कोहि ससुरा, आदि-इत्यादि
कोही परका छन्
म निर्मला
म कन्चन
म सुनिता
मेरा मृत शरीरहरु खोला
मन्दिर र झाडीतिर भेटिन्छ
म छोरी मान्छे
मेरो लागि देशको कानुन मौन छ
मैले अन्यायविरुद्ध आवाज उठाउन हुन्न रे !
…
(प्रिय साथी !
तपाईं पनि अंशुजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)